+
+

सत्तापक्ष र प्रतिपक्षको ब्याख्या नेपालमा बिग्रियो : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १७:०८

१६ कात्तिक, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सत्तापक्ष र प्रतिपक्षको व्‍याख्या नेपालमा बिग्रिएको बताएका छन् । हाल काहीँ न कहीँ कुनै न कुनै रुपमा सबै पार्टी सत्तामा रहेको उनको भनाई छ ।

बिहीबार संघीय संसदको चालू अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभामा भएको सदनको कामकारबाहीको समीक्षात्मक बैठकमा बोल्दै उनले भने, ‘अहिले देशमा ७६१ वटा सरकार छ । अपवाद बाहेक कुन पार्टी सरकारमा छैन ? सत्तापक्ष र प्रतिपक्षको ब्याख्या नेपालमा बिग्रिएको छ । काहीँ न कहीँ कुनै न कुनै रुपमा सबै पार्टी सत्तामा छ ।’

संघीय संसदमा मुठ्ठीभर सांसदहरुको सिण्डिकेड, पार्टीहरुको सिण्डिकेड रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘प्रतिपक्ष र सत्तापक्ष हुनुपर्ने हो नि कहाँ देखौं हामीले ? कार्य व्यवस्था परामर्श समिति गठन गर्नुभयो देखेकै छौं, समिति सभापतिहरु बाडफाँड गर्नुभयो देखेकै छौं, संवैधानिक समितिहरु बनाउनुभयो हेरेकै छौं । कस्तो प्रतिस्पर्धा रहेछ ?’

उनी सत्तापक्ष र प्रतिपक्ष कहाँ छ भनी प्रश्न गर्छन । साथै सत्तापक्ष र प्रतिपक्ष भनेर नाटक नर्गन पनि उनको आग्रह छ । ‘यो बेकारको नाटक किन देखाउनुहुन्छ ? सत्तापक्ष प्रतिपक्ष सबै मिलेर देश लुटिराख्नुभएको छ यथार्थ यही त हो ।’

संसदमा सिण्डिकेडको लाचार छायाँ

अध्यक्ष साह संसदमा सिण्डिकेडको लाचार छायाँ रहेको बताउँछन् । सिण्डिकेडकै कारण संसद प्रभावकारी हुन नसकेको उनको भनाइ छ । ‘संसद प्रभावकारी देखिएको छैन । संसदहरुले बोलेको सुनुवाई हुँदैन । यसको गम्भीर समीक्षा जरुरी छ’ अध्यक्ष साह भन्छन्, ‘मेरो बिचारमा संसद लाचार भएकै कारण, संसद सिण्डिकेडको सिकार भएकै कारण दलको कारिन्दा भएकै कारण प्रभावकारी सकेन ।’

सांसदहरु स्वयममा संसदमा स्वतन्त्र हुन नसकेको उनको टिप्पणी छ ।

‘सेडुयल हेर्ने हो भने शून्य समयमा स्वतन्त्र ढंगले बोल्न पाउँछ । अरु सबै सेडुयलमा दलको नेता, सचेतकको इशारा हुन्छ । यदि दलको नेताले मन पराएन भने बोल्न पनि पाउनुहुन्न’ साह प्रश्न गर्छन, ‘यो कस्तो स्वतन्त्रताको अभ्यास गर्र्दछौं ? कस्तो लोकतन्त्रको अभ्यास गर्दैर्छौं ?’

संसद भनेको जनप्रतिनिधिहरुको सर्वोच्चता भन्ने बुझ्ने गरिएको उल्लेख गर्दै उनी जनताबाट निर्वाचितहरुको सर्वोच्चता भनेर लोकतन्त्र भनिएको बताउँछन् । ‘तर, यहाँ हामी जो अभ्यास गरिरहेका छौं लाचार छायाँ जस्तो । भन्ने र गर्ने कुरामा नमिलेकै कारण यस्तो भएको हो’ उनी अगाडि थप्छन्, ‘यो देशको दुर्दशा हो ।’

सांसदमा नेताहरुले लम्बे भाषण गर्ने गरेको र सबैको सार एउटै हुने गरेको उनको भनाइ छ ‘सारमा लाग्छ ऊ राम्रो छ र अरु नराम्रो छ ।’

सबैजसो दल सरकारी निकायमा विगतमा रहेको अहिले पनि भएको उल्लेख गर्दै उनी अर्को पक्षतिर मात्रै प्रश्न उठाउने प्रवृति गलत रहेको बताउँछन् ।

‘अर्को तिर औंलो उठाइरहेका छौं । सायद आफूतिर प्रश्न गर्दैनौं’ उनी भन्छन्, ‘एउटै देखिन्छ बोल्ने र गर्नेमा मेल छैन । बोल्नमा महान कुराहरु रोष्ट्रममा देखिन्छ काम हेरौं उल्टो उल्टो देखिन्छ ।’

‘व्यवस्थालाई लुक्ने ढाल बनाइयो’

शासन व्यवस्थालाई शासकहरुले लुक्ने ढालको रुपमा प्रयोग गर्ने गरेको उनको टिप्पणी छ ।

विगतमा राजतन्त्रको निरंकुशता छोप्न पंचायती व्यवस्थाको ढाल चाहिएको उल्लेख गर्दै उनले थपे, ‘रावणले सितालाई अपहरण गर्न जोगीको भेष चाहिएको थियो । त्यस्तै गरी अहिले लुक्नेहरुलाई लोकतन्त्र र गणतन्त्र ढाल भएको छ । के यसैलाई लोकतन्त्र भन्छ ? यसैलाई गणतन्त्र भन्छ ?’

मुठ्ठीभरका नेताहरुको मनोमानीलाई लोकतन्त्र र गणतन्त्र कसरी अफवाह गरिरहेको उनको टिप्पणी छ । जनताको जनप्रतिनिधिहरुको सर्वोच्चतालाई लोकतन्त्र भनिने भएता पनि त्यस्ते अवस्था नरहेको उनले दोहोर्‍याए ।

‘पार्टीको मातहत रहने संसदलाई, दललाई जो गैर निर्वाचित पार्टी हो संसदलाई नियमन गर्छ, संसदलाई उठबस गराउँछ, सांसदलाई हटाउने राख्ने निर्णय गर्छन त्यो पार्टी सिस्टमलाई लोकतन्त्र, गणतन्त्र भन्ने ? यही तन्त्र रह्यो भने, यसरी गरिराख्यो भने भनाइ र गराइमा मेल हुँदैन’ अध्यक्ष साहले भने ।

लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ तर संसदमा प्रतिस्पर्धा नदिखिने गरेको भन्दै उनले संसदीय कामकारबाही सिडिकेडमा चलिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?