+

युवापुस्तामा फेसन नै बन्दैछ ई-सिगरेट, जोखिममा स्वास्थ्य

२०८० मंसिर  ३ गते १३:१८ २०८० मंसिर ३ गते १३:१८
युवापुस्तामा फेसन नै बन्दैछ ई-सिगरेट, जोखिममा स्वास्थ्य

काठमाडौं । बेलायतमा बस्ने १२ वर्षीया सारा ग्रिफिनलाई गत सेप्टेम्बरमा दमले सतायो । केही दिनदेखि अस्पतालको कोमामा रहेकी साराहको अवस्था अहिले सुधार भइरहेको छ । तर भेप सेवन गर्ने लतले उनको फोक्सोलाई नराम्ररी क्षति पुर्‍याएको छ ।

बीबीसीका अनुसार सो बालिकाको एउटा फोक्सो लगभग पूर्ण रूपमा नष्ट भएको छ । चिकित्सकका अनुसार उनको श्वासप्रश्वास प्रणाली १२ वर्षको बच्चाको सट्टा ८० वर्षको वृद्धको जस्तै भएको छ । १२ वर्षीयाको  श्वासप्रश्वास प्रणाली ८० वर्षको जस्तो बनाउन सक्ने भेप अहिले पश्चिमी मुलुकमा मात्र होइन, पूर्वीय देशमा पनि उत्तिकै मौलाइरहेको छ । सुर्तीजन्य पदार्थमा भेप (ई-सिगरेट) टाउको दुखाइ बन्न थालेको छ ।

के हो भेप ?

भेप एक विद्युतीय चुरोट हो जुन ब्याट्रीबाट चल्छ । मानिसहरूले यसमा तरल पदार्थलाई सास फेर्न सकिने वाष्पमा तताउन प्रयोग गर्छन् । श्वास लिने बाफमा निकोटिन (सुर्तीमा लाग्ने लत लाग्ने औषधि), स्वाद र विषाक्त पदार्थहरू समावेश हुने भएकाले यसलाई क्यान्सर निम्त्याउन सक्ने सुर्तीजन्य पदार्थ मानिन्छ ।

युवापिढीमा भेप फेसन नै बन्न थाल्यो  

नेपालमा भेप प्रयोग गर्नेमध्ये स्कुल पढ्ने उमेरका केटाकेटीको संख्या बढ्दो रहेको चिकित्सकहरु बताउँछन् । छातीरोग विशेषज्ञ निरज बम भन्छन्, ‘युवापिंढीमा भेप फेसनजस्तै भइसक्यो । सहरी क्षेत्रमा पढ्ने किशोरवस्था सुरु भइसकेका स्कुल र प्लस टु पढ्ने उमेर समूह भेपको लतमा फसिरहेका छन् ।’

मनोचिकित्सक डा. निराजन भट्टराई चुरोट खान डराउने वा संकोच मान्ने युवालाई भेपले सहज बनाइदिएको बताउँछन् । ‘चुरोट पिउन मन भए पनि अभिभावकको छेउमा डर र लाज मान्ने केटाकेटी निर्धक्क भएर सबको अगाडि भेप लिन्छन् । खुलेआम भेप तान्ने स्टाइलको रुपमा लिनु समस्या बनेको छ । जसकारण भेप प्रयोगकर्ताको संख्या बढ्दो छ, ’ डा. भट्टराई भन्छन् ।

डा. निराजन भट्टराई, मनोचिकित्सक

स्वास्थ्य जोखिममा

डा. बम चुरोटसरह उपभोग भइरहेको भेपको प्रयोगले स्वास्थ्यलाई अल्पकालीन तथा दीर्घकालीन समस्या निम्त्याउने बताउँछन् । उनका अनुसार अल्पकालीन प्रभावमा बान्ता, वाकवाकी, खोकी, सास फेर्न गाह्रो हुने, मुख पोल्ने र दम तथा निमोनिया हुने हुन सक्छ । यसले पार्ने दीर्घकालीन प्रभावहरूमा फोक्सोमा संक्रमण र क्षति, मुटुरोग, क्यान्सर र मस्तिष्कको समस्या हुन सक्छ ।

डा. बम थप्छन्, ‘निकोटिनयुक्त वस्तु स्वास्थ्यका लागि हानिकारक नै मानिन्छ, जसकारण धेरैजसो देशले यसलाई प्रतिबन्ध लगाएका छन् । नेपालमा पनि  प्रतिबन्धित नै हुनुपर्ने हो ।’

तथ्यांक के भन्छ ?

हालै  बेलायतमा भएको सर्वेक्षणअनुसार ११ देखि  १७ वर्षका पाँचमध्ये एक बच्चाले भेपको प्रयोग गर्छन् । यो संख्या सन् २०२० को भन्दा तीन गुणा बढी हो ।

नेपालको सन्दर्भमा भने यसबारे अनुसन्धान भएको छैन । जसकारण कति संख्याले भेपको प्रयोग गर्छन् भनेर किटान गर्न सकिंदैन । तर ओपीडीमा आउने फोक्सोसम्बन्धी समस्या भएका धेरैमा भेप र हुक्का प्रयोग गर्ने गरेको भेटिने डा. बम बताउँछन् । जसकारण नेपालमा बिस्तारै चुरोट न्यूनीकरण गर्न हम्मे परेको जस्तै भेप र हुक्का जस्ता सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रण गर्न सास्ती हुने उनी बताउँछन् ।

कलिलो उमेरमा बढी प्रभाव

डा. बमका अनुसार भेपिङले कम उमेर समूहलाई दोहोरो खतरा निम्त्याउँछ । ‘पहिलो, यसमा प्रयोग हुने विभिन्न रसायन, निकोटिनले फोक्सोलाई हानि गर्छ । कलिलै उमेरमा फोक्सो कमजोर गराउँछ । दोस्रो, एक पटक लत लागेपछि सिगरेटको लत लिने सम्भावना झनै बढ्छ,’ उनी भन्छन् । निकोटिनले बालबालिका तथा किशोरकिशोरीको दिमागको विकासमा असर गर्छ । जसले भविष्यमा उनीहरूको पढाइमा समेत ध्यान केन्द्रित हुन नसक्ने उनको भनाइ छ ।

डा. नीरज बम, छातीरोग विशेषज्ञ

चुरोट छोड्नुको विकल्प होइन भेप   

सन् २००३ मा ई–सिगरेट बनाउने चिनियाँ फर्मासिस्ट होन लिकले यसको मद्दतले सजिलै धुम्रपान छोड्न सक्ने दाबी गरेका थिए । तर मानिसहरूलाई चुरोटको लतबाट छुटकारा दिन सघाउन सिर्जना गरिएको ई–चुरोट अहिले विश्वका लागि ठूलो चुनौती बनेको छ । ई–सिगरेटको प्रयोगले चुरोटको लत छोड्न मद्दत गर्छ भन्ने कुनै प्रामाणिक अनुसन्धान नभएको डा. बम बताउँछन् ।

के चुरोट भन्दा भेप कम घातक छ त ? डा. बम भन्छन्, ‘दुई प्रकारको विषमध्ये कुन राम्रो हुन्छ भन्ने कुरा एउटै हो । ई–सिगरेटको माध्यमबाट धुम्रपान छोड्ने सम्भावना पूर्णतया भ्रम हो । दुवैमा निकोटिन जस्ता हानिकारक पदार्थ पाइन्छ ।’

भेपको लत कसरी बस्छ ?

मनोचिकित्सक डा. भट्टराईका अनुसार हरेक दिन लगातार भेपिङ उपभोग लत लाग्ने सम्भावना हुन्छ । सामाजिक सञ्जाल, देखासिकी र साथीभाइको दबाबमा खान सुरु गरी बिस्तारै रहर हुँदै लत बस्दै गएको देखिन्छ । ‘चिया दिनकै पिउन थाल्यो भने बानी लागेको जस्तै भेपमा हुने निकोटिनले जति खायो त्यति लत बस्दै जान्छ । निकोटिनले डोपामाइन (आनन्दको हार्मोन)को लेभल बढाइदिन्छ । जसले गर्दा खाने चाहना बढदै जान्छ । निकोटिनको भूमिका भनेकै यसमा निर्भर पार्नु हो । धेरैजसोले भने चुरोटको लत हटाउने नाममा यो खाइरहेका हुन्छन । जसले बिस्तारै यसको लत बसाउँछ,’ डा. भट्टराई भन्छन् ।

लतको उपचार सम्भव

भेपको लत छुटाउन सम्भव छ । तर त्यसमा परिवारको साथ, स्वयंको इच्छा र मेडिकल उपचार आवश्यक हुने डा. भट्टराई बताउँछन् । यसको लतको उपचारमा सुरुमा लत कतिको छ त्यसअनुसारको निकोटिनलाई कम गराउने चुइङगम, निकोटिन स्प्रे दिइन्छ । त्यसपछि केही औषधिउपचार र थेरापीले निकोटिनको चाहाना विस्तारै कम गराउने डा. भट्टराई बताउँछन् ।

ई-सिगरेट धुम्रपान भेप
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय