+

लगातार एन्टीबायोटिक औषधि खाँदा ज्यानै जाने जोखिम

२०८० मंसिर  १५ गते १२:३१ २०८० मंसिर १५ गते १२:३१
लगातार एन्टीबायोटिक औषधि खाँदा ज्यानै जाने जोखिम

सामान्य ज्वरो, रुघाखोकी लाग्नासाथ बिना प्रेसक्रिप्सन फार्मेसीमा गएर एन्टीबायोटिक औषधि किनेर खाइहाल्ने आम बानी नै छ । एन्टीबायोटिक हरेक रोगको समाधान नै हो भन्ने हामी ठान्छौं । तर हेक्का नराखी जथाभावी सेवन गर्दा यसले तत्काल केही नगरे पनि दीर्घकालमा सानै रोगका कारण पनि ज्यानै जाने जोखिम हुन्छ ।

त्यसैले एन्टीबायोटिक औषधि के हो ? के काम गर्छ ? कस्तो बेलामा खाने ? भन्नेबारे स्पष्ट हुन आवश्यक छ ।

कुनै पनि सूक्ष्म जीवविरुद्ध चलाइने औषधिहरु एन्टीबायोटिक औषधि हुन् । जस्तै, ब्याक्टेरियाविरुद्ध चलाइने औषधिलाई एन्टीब्याक्टेरियल, भाइरसविरुद्ध चलाउने औषधिलाई एन्टीभाइरल र ढुसीविरुद्ध चलाइने औषधिलाई एन्टीफंगल औषधि भनिन्छ । यी सबै औषधि एन्टीबायोटिक औषधि हुन्, जुन आवश्यकता अनुसार सन्तुलनमा मात्र लिनुपर्छ ।

कसरी काम गर्छ ?

यो शक्तशाली औषधि हो । जसको सही रुपमा प्रयोग गरी संक्रामक रोगको उपचार भई ज्यान समेत बचाउन सक्छ । यसले शरीरमा फैलिएको जीवाणुलाई रोक्ने तथा मार्ने काम गर्छ ।

हानिकारक ब्याक्टेरिया फैलिएर दुई गुणा भएर हानि गर्नुअघि शरीरको प्रतिरोध क्षमताले नै सामना गरिरहेको हुन्छ । सेतो रक्त कोषले ब्याक्टेरियालाई हमला गर्छ । यद्यपि, कहिलेकाहीं ब्याक्टेरिया यति फैलिसकेको हुन्छ कि प्रतिरोध शक्तिले सखाप पार्न हम्मेहम्मे पर्छ । यस्तोमा एन्टीबायोटिक औषधिले संक्रमणलाई रोक्न मद्दत गर्छ ।

एन्टीबायोटिक एक प्रकारको एन्टीमाइक्रोबियल एजेन्ट हो, जुन ब्याक्टेरियाबाट हुने संक्रमणको उपचार गर्न प्रयोग गरिन्छ । एन्टीबायोटिक्सले ब्याक्टेरियाको संरचना र कार्यलाई लक्षित गर्छ, तिनीहरूको वृद्धिलाई रोक्छ ।

एन्टबायोटिक धेरै तरिकामा लिन सकिन्छ

जब कुनै व्यक्तिमा ब्याक्टेरियाको संक्रमण हुन्छ, डाक्टरहरूले समस्या कम गर्न ‘एन्टीबायोटिक’ प्रयोग गर्छन् । एन्टीबायोटिक सामान्यतया टयाब्लेटको रूपमा लिइन्छ । तर जब संक्रमण गम्भीर हुन्छ वा टयाब्लेट प्रभावकारी हुँदैन, तब सुईको माध्यमबाट औषधि दिनुपर्ने हुन्छ । जटिल गम्भीर संक्रमणहरूको लागि भने नसामा सीधै एन्टीबायोटिक दिइन्छ ।

ओभर द काउन्टर’ लिनु खतरनाक

सबै प्रकारका समस्यामा एन्टीबायोटिकको प्रयोग गरेमा आफ्नो स्वास्थ्य समस्या कम हुन्छ भन्ने धेरैलाई लाग्छ । जसकारण हल्का ज्वरो, रुघाखोकी आँउदा पनि सहजै डाक्टरको सल्लाहबिना एन्टीबायोटिक लिने परिपाटी छ । फार्मेसीहरुले पनि सहजै यस्ता औषधि दिन्छन्, जुन गलत हो । यसरी मनलाग्दी किनबेच गर्न सरकारले रोक लगाउनुपर्ने देखिन्छ । किनभने मनलाग्दी बिक्री वितरणले ज्यान जोखिममा पर्छ ।

यो औषधि लिनुअघि तौल, एलर्जीको समस्या, उमेर हेर्नुपर्छ । कहिलेकाहीं केही रोगमा यस्तो औषधिले राम्रो प्रतिक्रिया  नदिन सक्छ । त्यसैले औषधि लिनुपूर्व अन्य रोग छ कि छैन जान्नु जरुरी छ । यी सबै पक्षलाई मूल्यांकन गरेर मात्र औषधि चलाउनुपर्ने हुन्छ । त्यति मात्र होइन, औषधि कति खाने ? कति मात्रामा खाने ? यी जानकारी नभएको स्थानबाट किनेर खाने अलि ठीक भएको जस्तो लाग्दा छोड्ने गर्ने बानी धेरैको हुन्छ । जसले गर्दा औषधिले फाइदाको सट्टा हानि गर्छ ।

लगातार सेवनले सूक्ष्म जीवहरुले प्रतिरोध शक्तिको विकास गर्छ । ब्याक्टेरियाले आफूलाई यस्तो परिवर्तन गर्छ कि कुनै पनि औषधिले उनीहरूमा असर गर्दैन । जब कुनै पनि प्रभाव हुँदैन, ब्याक्टेरिया सजिलै आफ्नो संख्या बढ्छ ।

फलस्वरुप सामान्यभन्दा सामान्य संक्रमणको लागि पनि उच्च डोज भएको औषधि चलाउन पर्ने अवस्था आउँछ ।

एन्टीबायोटिकको प्रयोग नै गर्नु नपर्ने समस्यामा प्रयोग गरिरहेका खण्डमा बिस्तारै एन्टीबायोटिक औषधिले नै काम नगर्ने हुन सक्छ । पहिला ठीक भइरहेको औषधिले काम गर्न छाड्ने अवस्था आउँछ । कहिलेकाहीं कुनै पनि औषधिले नछुने अवस्था पनि हुन सक्छ । अवस्था गम्भीर भयो भने बिरामीको ज्यान समेत जान सक्छ । जसकारण एन्टीबायोटिक प्रतिरोध आजको समयमा गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ ।

संक्रमण थप गम्भीर हुन सक्छ

गलत एन्टीबायोटिक लिएमा औषधिको एलर्जी हुन सक्छ, यस्तो अवस्थामा समस्या अझ विकराल हुन सक्छ । कहिलेकाहीं चिकित्सकको सिफारिसमा सेवन गरे पनि औषधिको पूर्ण मात्रा प्रयोग नगरीकन बीचमैमा छाड्दा ‘एन्टीमाइक्रोबियल रेसिस्टन्स’ हुन्छ । एन्टीबायोटिक अत्यधिक र पूर्ण मात्रा सेवन नगर्दा शरीरमा कीटाणु रहिरहन्छ । औषधि सेवन गर्दागर्दै निको भएको आभास भई बीचैमा छाड्दा र चिकित्सकहरूले नै सिफारिस गरेको औषधिले काम नगर्ने, निको हुन समय लाग्ने अवस्था ‘एन्टीमाइक्रोबियल रेसिस्टन्स’ हो ।

एन्टीबायोटिकले काम नगर्दा लामो समयसम्म निको नभएर अस्पताल धाउनुपर्ने बाध्यता र धेरै खर्च हुने भएकाले सचेत हुन जरुरी छ ।

कस्तो अवस्थामा प्रयोग गर्ने ?

एन्टीबायोटिक जीवाणु संक्रमण, घाँटीको संक्रमण, खोकी, पिसाब नलीको संक्रमण र ब्याक्टेरियाले हुने सेप्सिस, र चरम संक्रमण जस्ता गम्भीर समस्याहरूको उपचार गर्न मात्र आवश्यक हुन्छ ।

यी अवस्थामा जरुरी हुँदैन

एन्टीबायोटिकले चिसो, खोकी, ज्वरो जस्ता भाइरल संक्रमणलाई हटाउन सक्दैन । जस्तै, नाक बग्ने, घाँटी दुख्ने, ज्वरो आउने, छाती दुख्ने, भीड लाग्ने र ब्रोन्काइटिस जस्ता धेरै सामान्य समस्यामा एन्टीबायोटिकले काम गर्दैन ।

साथै, एन्टीबायोटिकले अन्य ब्याक्टेरियल संक्रमणहरु जस्तै, साइनस इन्फेक्सन र केही कानको इन्फेक्सनमा काम गर्दैन । तसर्थ, यस्तो समयमा एन्टीबायोटिकको अत्यधिक प्रयोगले स्वास्थ्यमा धेरै प्रकारका हानि पुर्‍याउन सक्छ ।

साइड इफेक्ट

कुनै पनि औषधि जस्तै, एन्टीबायोटिक पनि धेरै साइड इफेक्ट हुन सक्छ । एन्टीबायोटिक सही र उचित मात्रामा प्रयोग भएमा धेरैजसो एन्टीबायोटिकहरूले कुनै समस्या उत्पन्न गर्दैनन् । तर कतिपय अवस्थामा एन्टीबायोटिकको सामान्य साइड-इफेक्टले बढी बिरामी महसुस गर्ने, शरीरको कुनै भागमा सुन्निने, पाचनसम्बन्धी समस्या जस्तै अपच र पखाला, एलर्जी र केही दुर्लभ अवस्थामा एनाफिलेक्सिस जस्ता गम्भीर एलर्जी हुने सम्भावना हुन्छ । यदि यी लक्षण देखा पर्न थाले भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।

एन्टीबायोटिक डा. अमित गौली स्वास्थ्य
डा. अमित गौली
लेखक
डा. अमित गौली
कन्सल्टेन्ट फिजिसियन, इन्टरनल मेडिसिन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११३६२ अध्ययन : एमबीबीएस, एमडी हाल काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय