+
+
विचार :

‘नायक’ खोजिरहेको जमात र विषाक्त राजनीति

मेखराज उदय मेखराज उदय
२०८० मंसिर २६ गते १४:३४

एलेजांद्रो जोडोरीव्स्कीको एक रचना भन्छ– ‘बर्डस् बर्न इन ए केज थिंक लाइङ इज एन इलनेस ।’ (पिंजडामा जन्मिएको पक्षी सोच्दछ कि उड्नु एक बिमारी हो ।)

फ्रेन्च फिल्म डाइरेक्टर, स्क्रिप्ट राइटर, अभिनेता, पटकथाकार तथा संगीतकार जोडोरीव्स्की यथार्थवादी कथामा आधारित फिल्म निर्माण गर्ने निर्देशकका रूपमा विख्यात छन् । प्रस्तुत उद्धरण उनको गीतको एक अंश हो ।

हामी कुन राजनीतिक, सामाजिक–सांस्कृतिक र आर्थिक हैसियत एवं मनोविज्ञानमा बाँचिरहेका छौं ? ठूला भनिएका क्रान्ति, जनआन्दोलन, विद्रोह आदिद्वारा स्थापित राज्यसत्ता, शासन व्यवस्था, प्रणाली, नीति एवं नेतृत्व विरुद्ध जनआक्रोश बढ्दै गइरहेको देखिन्छ । असन्तुष्टि, वैराग्यता, हीनता, छटपटी, अन्योलता, भरोसा विहीनता, अविश्वासको पहाड अग्लिंदैछ ।

जनतामा पुनः परिवर्तनको महसुस हुनुलाई सामान्य वा स्वाभाविक प्रक्रिया मान्न सकिन्छ । असन्तुष्टि नै मानव विकास र उन्नतिको आधार हो । विज्ञान र मानव चेतनाले सधैं खोज, अनुसन्धान, थप प्रगति, विकल्प निरन्तर खोजिरहन उत्प्रेरित गरिरहन्छ । निरन्तर प्रश्न गरिरहनु उन्नतिको बाटो हिंड्नु हो ।

तत्कालीन समस्याको उचाइ

गणतन्त्र, लोकतन्त्र, संघीयता अर्थात् वर्तमान व्यवस्थाले रोजगारी सृजना किन गरेन ? समानता, शान्ति, समृद्धि, विकास, विभेदहरूबाट मुक्ति, न्याय, अवसर, निःशुल्क र सर्वसुलभ शिक्षा तथा स्वास्थ्य सेवा, जनताको हित र संरक्षण गरेको छ ? छैन भने, गर्न नसक्नाका कारण के हुन् ?

नेताको परिवार, आसेपासे दैनिक प्रगतिपथमा उचाइ चढिरहेका छन् भने सर्वसाधारण जनताको दैनिकी झन्–झन् कष्टसाध्य बन्नुको खास कारण के हो ? जनता र नेता वा नेताका परिवारबीच आकाश–जमिनको असमानता कसरी देखाप¥यो ? सरकार, सरकारमा सहभागी मुख्य दल, संसद् र प्रतिपक्षी दलले जनताको प्रश्नको जवाफ दिनु अनिवार्य छैन ? पक्कै पनि अनिवार्य छ ।

सवाल उठाउनु स्वाभाविक छ । कुनै एउटा खोजको पूर्णता प्राप्त गरेपछि सन्तुष्ट भई बसिरहने मानवको स्वभाव भएको भए, आज विश्व विज्ञान प्रविधि, आर्थिक, सामाजिक क्षेत्रमा चामत्कारिक प्रगतिको युगसम्म आइपुग्ने नै थिएन । यसका पर्याप्त उदाहरण पेश गर्न सकिन्छ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको डेढ दशक पूरा भइसकेको छ । संविधान निर्माणको समेत आठ वर्ष पूरा भयो । जनआन्दोलन, परिवर्तन, संविधानसभाको गठन, संविधानको घोषणा आदि पृष्ठभूमि तथा परिघटनाहरूमा प्रमुख भूमिका खेलेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी आदि प्रमुख दलहरू नै निरन्तर सत्ता र शक्तिमा छन् ।

यी तीन दलका प्रमुख नेता पालैपालो राष्ट्रपति, सरकारप्रमुख प्रधानमन्त्री बने । त्यस्तै ती दलका नेता नै संसद् आदि संवैधानिक अंगका प्रमुख, प्रदेश मुख्यमन्त्री छन् ।

विडम्बना व्यवस्थाको पन्ध्रवर्षे लक्का जवान कालसम्म पनि शासकीय व्यवहार लोकतान्त्रिक, समावेशी र विधि अनुरूप चल्न सकेन । जनताका कतिपय संवैधानिक हक समेत लत्याइए, कार्यान्वयन हुनसकेका छैनन् ।

संघीयता विरुद्ध षड्यन्त्र तथा घाँटी निमोठ्ने कार्य अद्यापि जारी छ । गणतन्त्रमा समेत उही दलपतिको हुकुमी शासन, गुटको षड्यन्त्र, भ्रष्टाचार, परिवारवाद, अकुत सम्पत्ति, सत्ता र शक्तिको अटुट मोह एवं नश्लवाद र जातीय उच्चताको अहंकारी राजनीति, स्वार्थको द्वन्द्वमा रत्तिभर परिवर्तन देखा परेन । दलका बेरोजगार नेता व्यवस्थापन गर्न सहज बनेको बाहेक संघीय शासनको औचित्य पुष्टि हुन दिइएन ।

पुराना दलका पुरातन दलपतिको एकात्मक र उच्च जातिवादी मानसिकता, कर्मचारीतन्त्रको असहयोग इत्यादि संघीयता कार्यान्वयनमा देखिएका जटिलताका मूलभूत कारण हुन् । संघीयता कार्यान्वयनमा ऐन, कानुन बनाउन संघीय (केन्द्रीय) सरकार, संसद् गैरजिम्मेवार र अक्षम देखिए । बरु हाल संघीयता खारेजीको माग जबर्जस्त हाबी हुन थालेको छ ।

नायकको खोजी र निराशा

चामत्कारिक ढंगले देश र जनताको (निरपेक्ष होइन, सापेक्षतामा र स्वार्थ अनुकूल) यावत् समस्याको एक्लै समाधान गर्न सक्ने योग्य नायक (पुरुष) को व्यग्रतापूर्वक खोजी भइरहेको छ । वर्तमान व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता आदिलाई एक्लै गल्र्यामगुर्लुम ढलाएर पुरानै राज्य व्यवस्था ल्याइदिन सक्ने योग्य नायकको तृष्णा पुरातन शक्तिको मस्तिष्कमा रहेको कल्पनाको पटकथाको पात्र हो ।

त्यस्तो नायकको खोजीका क्रममा मिलेको पहिलो सफलता भने काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको विजयलाई मान्नुपर्ने हुन्छ । गत वर्ष सम्पन्न गरिएको संघीय तथा प्रदेश सभाको संयुक्त निर्वाचनमा मेयर शाहले प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई मात्रै मतदान गरी प्रदेश सभा सदस्यका कुनै पनि उम्मेदवारलाई मतदान नगर्नु र प्रदेश तहको बहिष्कार गर्ने हर्कतले नायक खोज्न हिंडेका अराजक जमातलाई बहुत खुसी तुल्याएको थियो । बेलाबखत देखापर्ने उनका गैरसंवैधानिक समेतका कथित राष्ट्रवादी काम, स्टन्टबाजी र हिरोपन्थी व्यवहार प्रदर्शनबाट एक जमात खुब हर्षाेल्लासपूर्ण मनस्थितिमा देखिने गरेका छन् ।

खासमा नायकको खोजी अभियान बालेन्द्र शाह, रवि लामिछाने, एमाले अध्यक्ष केपी ओली, पूर्व कमरेड तथा व्यवसायी दुर्गा प्रसाईं हुँदै हाल पूर्व राजा ज्ञानेन्द्र शाहसम्म आइपुगेको छ । कथित धार्मिक अतिवादी, नश्लीय जातिवादी, पश्चगामी, दरबारका रैती आदि अराजक जमातका लागि नायक नै खोज्ने हो भने अढाइ शताब्दी शासन गरेको ‘लिगेसी’ बोकेका पूर्व राजपरिवार सबैभन्दा उपयुक्त हुने उनीहरूको ठहर छ ।

उसो त पूर्व राजा ज्ञानेन्द्र शाह वा राजपरिवारका कुनै सदस्यबाट हालसम्म प्रत्यक्ष रूपमा राजतन्त्र पुनस्र्थापना निमित्त औपचारिक अपील वा इच्छा राखी सार्वजनिक आह्वान गरेको ज्ञात छैन । तथापि अप्रत्यक्षतः राजतन्त्र पुनस्र्थापना निम्ति ज्ञानेन्द्रको महत्वाकांक्षा बढेको तथ्यमा देखापर्छ । राजावादी दल राप्रपाको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसम्मलाई भेट गर्ने गरेका जस्ता विवादित कार्य भने हँुदै आइरहेका छन् ।

केही समयअघि ज्ञानेन्द्र शाहले भारत उत्तरप्रदेशका मुख्यमन्त्री अजय सिंह बिष्ट (योगी आदित्यनाथ) सँग हात जोडेर झुक्दै अभिवादन गरेको तस्वीर सार्वजनिक भएका थिए ।

नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह योगी आदित्यनाथसँग विनयपूर्वक झुक्नुको धार्मिक कारण छन् । हिन्दु धर्म मनुस्मृति अनुसार ‘क्षत्री ९० वर्षको किन नहोस् दश वर्षको ब्राह्मणको अगाडि झुक्नुपर्दछ ।’ अतः आफ्नै विवेकहीन, मूर्खतापूर्ण कदम आदि समेत कारणले गुमाउन बाध्य पारिएको सत्ता विरासत पुनः प्राप्तिको मनोकांक्षा असम्भव भएतापनि उनको मनमा आशा जाग्न थालेको हुनसक्ने सामान्य छनक भने बेलाबखत उनले दिने गरेका छन् ।

गोर्खाली राजा भनेर परिचित पृथ्वीनारायण शाहवंशको शासन नेपालमा करिब १४० वर्ष चल्यो । उनीहरू नेपालमा कहाँबाट आए ? उनीहरूको वंश, शासनको पृष्ठभूमि र आधार के हुन् भन्ने सम्बन्धमा धेरै तथ्यहरू अस्पष्ट छन् । खस राजाको उपाधि प्राप्त गरेतापनि शाह थर वा उपाधि कहाँबाट प्राप्त गरे ? यो प्रश्न समेत अनुत्तरित नै छ ।

शाह थर वा उपाधि हिन्दु जातिको नभई मुस्लिम राजवंशको थर, उपाधि हो । राजा राम शाहको पालामा लेखिएको गोर्खा राजवंशावली बमोजिम शाह वंशका पुर्खाहरू भारतको चितौड गढ राज्यबाट मुस्लिम आक्रमणबाट बच्न नेपाल पसेका थिए ।

त्यसअनुसार भूपाल राणा जी राव र उनका छोराहरू हरिहर सिंह र अजय सिंह नेपाल पसेका थिए । तर चितौड गढका राजा गुहिलवंशी सिसोदियाहरूको गोत्र वैशम्पायन हो । यता नेपालका शाह वंशको गोत्र भारद्वाज भएतापनि पछि पृथ्वीनारायणले काशीमा गई भारतीय पण्डितहरूद्वारा आफ्नो गोत्र गरिवर्तन गरी कश्यप बनाएका थिए ।

वर्णन अनुसार चितौड गढका राजा भट्टारक ऋषिराज राणाजीका ३३औं वंशका राजा भूपति राणाजीका उदयरस, फत्तेसिंह र मनमथ नामका तीन छोरा थिए । फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन् । ती सुन्दरीलाई हरण गर्ने उद्देश्यले मुसलमानहरूले चितौड गढमा भीषण आक्रमण गरे ।

फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितौड गढलाई ध्वस्त पारिदिएपछि मनमथ बाहेक सबै मारिए । जीवित रहेका मनमथले उज्जैनमा शरण लिएर ज्यान जोगाए । त्यहीं उनका दुई छोराहरूको जन्म भयो, ब्राह्मणिक र भूपाल ।

ती दाजुभाइबीच आपसी मेल नभएका कारण भड्किएका भूपाल मुसलमानहरूको भयले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे । तिनै भूपालका सन्ततिलाई हाल नेपालका कालीगण्डकी, रिडी क्षेत्रका दानवीर र सोझा मूलवासी राजाहरूले राजपुत्रका सन्तानहरू रहेछौ, बाबुसाहेब हौ अब हाम्रो राजा बन भनेर राजगद्दीमा बसाए । आफ्नो राजगद्दी सुम्पेका मूलवासी राजाहरूले भव्य स्वागत, भोज, बाजागाजा, राजकीय सम्मान सहित उनीहरूलाई राजा घोषित गरे ।

पछि भूपालका दुई सन्तानमध्ये हरिहर सिंह ढोडमा गए र त्यहाँबाट भिरकोट, सतहुँ र गह्रौ राज्यलाई कब्जामा लिए ।

अर्काेतर्फ नेपालका शाहवंशीय राजाहरूको आदि पुर्खा जयन खान रहेको प्रमाण भेटिन्छ । खान्चा र मिचा खान शाहवंशका पुर्खा हुन् भनिन्छ । मिचा खानले पहिले नुवाकोट (स्याड्जा) मा गएर राज्य गरेका थिए । उनका सन्तान कुलमण्डन खानले दिल्लीका बादशाहबाट ‘शाह’ पदवी लिएका थिए । उनको पालादेखि खान राजवंशले नामको पछाडि शाह जोडेका थिए ।

शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलतः गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राज खानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुङेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन खान (शाह)का छोरा यशोब्रह्म शाहलाई मागी आफ्नो राज्यको राजा बनाएका थिए । यसरी शाह वंश खान अर्थात् मुस्लिम वंश रहेको प्रमाणित हुन्छ ।

मुस्लिम शासकहरूको आक्रमणबाट ज्यान जोगाउन नेपाल पसेका उनीहरूले नेपाल भूमिमा करिब डेढ दशक शासन गरे । नेपाल एकीकरणको सुरुवात गोर्खाली राजा पृथ्वीनारायणले गरे । पृथ्वीनारायणको राज्य एकीकरण र विस्तार अगावै वर्णव्यवस्था भित्रिएको भएतापनि नेपालमा क्रूर र अमानवीय जात व्यवस्था, छुवाछूत प्रथा, सती प्रथालाई संस्थागत गर्न शाहवंशको सबैभन्दा महत्वपूर्ण योगदान छ ।

राजाको जेठो छोरो राजा हुने सामन्ती परम्पराको पुनः निरन्तरता अब स्वीकार्य हुनै सक्दैन । अबको दायित्व शाहवंशका राजाहरूले ध्वस्त पारेका राजनीतिक, सामाजिक संरचना र पद्धतिको पुनःनिर्माण एवं समायोजन गरी समानता, न्याय, बराबरी, विधिको शासन स्थापित र संस्थागत गर्न जरूरी छ ।

नेपालमा लोकतन्त्रको भविष्यबारे चिन्तन र चिन्ता गरिन्छ । नागरिक (जनता होइन) ले स्वतन्त्र, भयरहित, निःस्वार्थ ढंगले आफ्नो मतदानद्वारा जनप्रतिनिधि चुन्न पाउनु र चुन्नु लोकतन्त्रको भविष्य सुनिश्चित गर्न पर्याप्त छ ।

जनताको सामूहिक र बहुपक्षीय सहमति, बृहत्तर सहभागिताबाट गरिने निर्णय नै सर्वहितकारी हुन्छ । दक्षिण भारतीय कतिपय चलचित्रका नायकको जस्तो एक्लै सयौं आधुनिक हतियारधारी र संगठित खलनायकहरूलाई सखाप पारेका काल्पनिक वा सत्यमा असम्भव तर दृश्यमा देखाइए जस्तो नायकको व्यापक खोजीमा धार्मिक अतिवादी तथा पूर्व दरबारिया शक्ति लागेका देखिन्छन् ।

त्यस्तो नायकको खोजी वा उपस्थितिले लोकतन्त्र, गणतन्त्र, विधिको शासन मुलुकको वर्तमान संविधान मात्रै होइन देशको समग्र भविष्यमाथि संकट आइपर्छ । विकास, उन्नति र समृद्धिको बाधक नायकको खोजी गर्न छाडेर मुलुक बनाउन सामूहिक, समावेशी, प्रगतिशील र लोकतान्त्रिक शक्ति निर्माण गर्न लागौं ।

लोकतन्त्रमा दल वा दलका नेता दुवैको विकल्प खोज्न सकिन्छ । दलपति, गुट, एकल जातिवादी सत्ता, भालेवादको अक्षमतालाई ढाकछोप गर्न विश्वकै सर्वाेत्तम व्यवस्था लोकतन्त्रको अन्त्येष्टि गर्ने प्रयास सफल बन्न दिनुहुँदैन । लोकतन्त्र मासिए हाम्रो अधिकार, नागरिक सर्वाेच्चता, विधिको शासन केही जोगिन सम्भव छैन । बेलैमा सचेत बनौं ।

लेखकको बारेमा
मेखराज उदय

राजनीतिक विश्लेषक मेखराज परियार गोरखाका वामपन्थी युवा हुन् । पूर्वमाओवादीका तत्कालीन पोलिटब्युरो रहेका उनी हाल कुनै पनि दलमा आवद्ध छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?