+
+

एनएसएलको प्लेअफमा पुग्ने चार टोलीलाई चिन्नुस्

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० पुष ७ गते २१:०८
शनिबार काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच भएको खेल । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

७ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को प्लेअफमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ ।

शनिबार भएको लिग चरणको अन्तिम दुई खेलपछि प्लेअफ पुग्ने टोलीको टुङ्गो लागेको हो । अझ साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटीबीच भएको लिगकै अन्तिम खेलपछि मात्रै प्लेअफको अन्तिम छिनोफानो भएको हो ।

जित्नैपर्ने खेलमा काठमाडौंले ललितपुरलाई १-० ले हराएर प्लेअफमा स्थान पक्का गर्‍यो । हारेपनि ललितपुरले झापा एफसीलाई गोल अन्तरमा पछि पारेर प्लेअफ पुग्यो । अन्तिम खेलमा काठमाडौंले ललितपुरलाई हराउँदा धनगढी पनि भाग्यमानी बन्दै दोस्रो भयो र पहिलो क्वालिफायर खेल्ने अवसर पाएको छ । उता झापा भने गोल अन्तरमा ललितपुरसँग पछि पर्दै बाहिरिएको छ ।

काठमाडौं र ललितपुरसँगै पोखरा थण्डर्स, धनगढी एफसी प्लेअफमा पुगेका हुन् । नयाँ टोली वीरगञ्ज युनाइटेडलाई पनि प्लेअफ पुग्ने अवसर थियो । तर शनिबार भएको पहिलो खेलमा बुटवल लुम्बिनीसँग १-० ले पराजित भएपछि वीरगञ्जको सम्भावना समाप्त भयो ।

फ्रेन्चाइज लिग एनएसएलको यो दोस्रो संस्करण हो । सिंगल राउण्ड लिग भएपनि यस पटक एनएसएलमा लिग चरणका खेलहरु रोमाञ्चक भए । विशेषगरी पछिल्ला खेलहरुमा अनपेक्षित नतिजा आउँदा प्लेअफ पुग्ने टोलीको निर्णयका लागि अन्तिम खेलसम्म नै कुर्नुपर्‍यो ।

सुरुवातमा उपाधि दाबेदार देखिएका टोली धनगढी, ललितपुर र पोखराले अपराजित यात्रा अन्तिसम्म जारी राख्न सकेनन् । लिग चरणमा कुनै पनि टोली अपराजित रहेन । यस पटकको एनएसएलमा पहिलो संस्करण खेलेका ७ मध्ये ६ र तीन नयाँ टोली गरी ९ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

पहिलो संस्करण खेलेको विराटनगर सिटीले यस पटक एनएसएल खेलेन । यस्तै झापा एफसी, स्पोर्टिङ इलाम र वीरगञ्ज युनाइटेड तीन नयाँ टोलीले यस पटक एनएसएलमा डेब्यु गरे । तर तीनै टोली लिग चरणबाटै बाहिरिए ।

यस पटक सबै टोलीले कम्तीमा दुई खेल जिते । पोखरा थण्डर्सले पहिलो पटक प्लेअफ यात्रा तय गर्दा सर्वाधिक ४ खेल जित्यो । साविक उपविजेता धनगढी र साविक विजेता काठमाडौंले समान ३ खेल जित्यो ।

समान १० अंक जोडेको झापा र बुटवल क्रमश: पाँचौ र छैटौ स्थानमा रहे । ९ अंकसहित चितवन सातौं भयो । समान ८ अंक जोडेको दुई नयाँ टोली वीरगंज र स्पोर्टिङ इलाम क्रमश आठौं र  नवौं (अन्तिम) स्थानमा रहे ।

अब शीर्ष स्थानको पोखरा र दोस्रो स्थानको धनगढीबीच पहिलो क्वालिफायर खेल सोमबार हुनेछ । यस्तै तेस्रो भएको काठमाडौं र चौथो भएको ललितपुरबीच मंगलबार इलिमिनेटर हुनेछ ।

यी हुन् प्लेअफ पुग्ने चार टोली

पोखरा थण्डर्स

पहिलो सिजन गोल अन्तरमा पछि पर्दै प्लेअफ पुग्न चुकेको पोखरा थण्डर्स यस सिजन प्लेअफ पुग्ने पहिलो टोली बन्यो । पोखराले ८ खेल खेल्दा ४ जित, ३ बराबरी र १ हारको नतिजाबाट सर्वाधिक १५ अंक जोड्यो ।

लिगको अन्तिम खेलमा धनगढी एफसीसँग १-१ को बराबरी खेलेपछि पोखराले शीर्ष स्थान सुरक्षित गरेको थियो ।

शीर्ष दुईमा रहने टिमलाई दुईवटा फाइदा हुन्छ । एउटा, जितेमा सिधै फाइनल पुग्नेछ भने अर्को, पराजित भएमा पनि फेरि अवसर पाउनेछ । पराजित भएमा इलिमिनेटरको विजेतासँग फेरि खेल्न पाउनेछ ।

पोखराले एनएसएलको पहिलो खेलमै चितवनलाई १-० ले पराजित गर्दै जितसहित सुरुवात गरेको थियो । त्यसपछि ललितपुर सिटीसँग गोलरहित बराबरी खेलेको पोखराले झापा एफसीसँग अन्तिम समयमा गोल खाँदा १-१ को बराबरी खेलेर अंक बाँडेको थियो ।

पोखरा साविक विजेता काठमाडौंसँग मात्र पराजित भएको थियो ।

धनगढी एफसी

साविक उपविजेता धनगढी एफसी दोस्रो हुँदै प्लेअफ पुगेको हो । ८ खेलमध्ये ३ जित, ४ बराबरी र १ हारको नतिजासँगै उसले १३ अंक जोडेको थियो । धनगढीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानको पोखरासँग खेल्नेछ ।

पहिलो सिजन पनि धनगढी लिग चरणमा दोस्रो भएको थियो र पहिलो क्वालिफायरमा काठमाडौंलाई हराएर फाइनल पुगेको थियो । तर पछि फाइनलमा काठमाडौसँग नै पराजित हुँदै उपविजेता बन्यो ।

धनगढीले यस सिजन लिगमा ८ खेल खेल्दा ३ खेल जित्यो र सर्वाधिक ४ बराबरी खेल्यो । १ खेलमा भने धनगढी पराजित भयो । नयाँ टोली झापासँग मात्र धनगढी पराजित भएको थियो ।

काठमाडौं रेजर्स

अन्तिम खेलमा भ्याली डर्बीमा ललितपुर सिटीलाई १-० ले हराएपछि काठमाडौं रेजर्सले प्लेअफमा स्थान बनाएको हो । काठमाडौंले ८ खेलमा ३ जित र ३ बराबरी र दुई खेलमा हारको नतिजा निकाल्यो ।

पहिलो खेलमा इलामलाई हराएर विजयी सुरुवात गरेको काठमाडौंले त्यसपछि चितवन र झापासँग बराबरी खेल्यो भने बुटवलसँग पराजित भयो । लगातार तीन खेल जितविहीन हुँदा दबाबमा परेको काठमाडौंले त्यसपछि पोखरालाई हरायो । तर धनगढीसँग बराबरी र वीरगञ्जसँग हारपछि काठमाडौं झन् दबाबमा थियो ।

तर अन्तिम खेलमा ललितपुरलाई हराएर काठमाडौंले आफ्नो उपाधि रक्षा अभियान कायम राखेको छ ।

ललितपुर सिटी एफसी

यस सिजन ललितपुरको प्रदर्शनमा एकरुपता रहेन । सुरुवाती ६ खेलमा अपराजित रहेको ललितपुर त्यसपछिका दुई खेलमा पराजित भए पनि भाग्यमानी बन्दै चौथो भएर प्लेअफ पुग्यो । ललितपुरले पनि अन्तिम दिनमा मात्र प्लेअफमा स्थान बनाएको हो ।

ललितपुरले पहिलो खेलमै बुटवल लुम्बिनी हराएर राम्रो सुरुवात गरेको थियो । त्यसपछि लगातार तीन बराबरी खेलेको उसले पाँचौं खेलमा चितवनलाई पराजित गर्‍यो । त्यसपछि पनि एक बराबरी खेलेको ललितपुर अन्तिम दुई खेलमा इलाम र काठमाडौंसँग पराजित भयो ।

ललितपुरले पोखरा, झापा र धनगढीसँग गोलरहित तथा वीरगञ्ज युनाइटेडसँग २-२ को बराबरी खेलेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?