+
+

एनएसएलका ६ विशेषता : विदेशी खेलाडीले बढाएको प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १४:१८

९ पुस, काठमाडौं । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा ९ फ्रेन्चाइज टोली सम्मिलित एनएसएल फुटबल प्लेअफ चरणमा पुगेको छ ।

सहभागी ९ टोलीले एक अर्काविरुद्ध लिग खेलिसकेका छन् र शीर्ष ४ टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्दैछन् ।

पछिल्लो समय नेपालको घरेलु फुटबल निरन्तर नभइरहेको अवस्थामा एनएसएसमार्फत नेपाली फुटबल एक पटक चलायमान भएको छ ।

फरक तरिकाले पनि नेपाली फुटबल प्रतियोगिता आयोजना गर्न सम्भव छ भन्ने यसले देखाएको छ ।

मैदानमा खेलाडी र टिमहरुबीच शीर्ष बन्ने भन्ने होडबाजी चलिरहँदा मैदान बाहिर पनि एनएसएलको छुट्टै माहोल भयो ।

एनएसएल शहीद स्मारक लिग भन्दा फरक छ । एनएसएल खेल्ने टिम स्टार होटलमा बस्छ । आफ्नै बस चढेर खेलाडीहरु आउने जाने गर्छन् । आकर्षक जर्सी हरु लगाएर खेल्छन् । यस्तै यस्तै ।

यस बाहेक दर्शकका लागि भनेर आयोजक छुट्टै मनोरञ्जनसहित केही विशेष प्याकेज ल्याएको छ । जसले एनएसएललाई अझ विशेष बनाएको छ।

२०७८ सालमा पहिलो पटक एनएसएल हुँदा कोभिडको महामारी चलिरहेको थियो । तपनि आयोजकले दर्शक बिना नै एनएसएल गर्‍यो । यस पटक दर्शकसहितको खेल भइरहेकाले दर्शकका लागि केही व्यवस्था पनि गरिएको छ ।

१. चियर लिडर्स

फुटबलमा चियर लिडर्स ‼ हो रंगशालमा एनएसएल भइरहँदा हामी चियरलिडर्स पनि देख्न सक्छौँ ।

विदेशी फ्रेन्चाइज क्रिकेट लिगहरु इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट, बिग बास लिग लगायत लिगमा हामीले चियर लिडर्सको आकर्षक प्रस्तुति देख्दै आएको थियौँ । यस्तै नेपालमै भएको एभरेष्ट प्रिमियर लगमा पनि यो व्यवस्था गरेको थियो ।

तर नेपाली पुटबलमा भने पहिलो पटक चियर्स लिडर्सको व्यवस्था गरिएको छ ।

दर्शकका लागि यो अर्को नयाँ विषय हो फुटबलमा चियर लिडर्स । खेल सुरु हुनुअघि, हाफ टाइम ब्रेक र खेल सकिएपछि, गोल गरेपछि चियर लिडर्सले आकर्षक प्रस्तुति दिन्छन् । साभारण प्यारापिटको बीचमा बनाइएको स्टेजमा उनीहरुले विभिन्न गीतमा प्रस्तुति दिँदै आएका छन् ।

खेलको माहोल तताउने र दर्शकलाई नयाँ मनोरञ्जन दिने उद्देश्यले यसो गरिएको हो । यस्तै केही खेलअघि कलाकार ल्याएर सांगितिक प्रस्तुति समेत दिने गरिएको छ ।

२. डिजिटल रनिङ बोर्ड

एनएसएलमा भएको अर्को नयाँ प्रयोग हो डिजिटल रनिङ बोर्ड । विदेशमा यो विषयमा सामान्य भएपनि नेपालमा भने पहिलो पटक राखिएको हो ।

यसअघि रंगशालमा फुटबल हुँदा मैदानको बाहिरी भागमा विभिन्न कम्पनीको फ्लेक्स विज्ञापन बोर्ड राखिने गरेको थियो । तर एनएसएलमार्फत नेपाली फुटबलमा पहिलो पटक डिजिटल रनिङ बोर्ड राख्न सुरु गरिएको छ ।

२०७८ मा भएको एनएसएलमा यो व्यस्था थिएन । यस पटक भने आयोजकले डिटिजल बोर्ड राखेको हो ।

अहिले विदेशी फुटबलमा जस्तै डिजिटल बोर्डमा विज्ञापनहरु कुदिरहेको देख्न सकिन्छ ।

एनएसएल आयोजकको विज्ञापन, एनएसएलको प्रायोजक र सहभागी ९ फ्रेन्चाइझको प्रायोजकहरुको नाम उक्त रनिङ बोर्डमा देखाउने गरिन्छ ।

३. फ्रि टिकट

यस पटक भएको अर्को आकर्षक प्रयोग हो फ्रि टिकट । यो भने आयोजकले नभई विभिन्न फ्रेन्चाइजहरुले दर्शक तान्नलाई ल्याएको योजना हो ।

साँझको समयमा खेल हुँदा चिसो बढि हुन्छ । जसले गर्दा दर्शकहरु रंगशालातिर त्यति आएका छैनन् । दर्शक नहुँदा फुटबल खेल्न पनि खेलाडीलाई उति जोश हुँदैन । त्यसैले यस पटक सहभागी टिमहरुले फ्रि टिकेट दिने व्यवस्था गरेको हो ।

त्यसमा अघि आउँछ ललितपुर सिटी एफसी । ललितपुरले सुरुमा ५०० वटा फ्रि टिकट बाँडेको थियो । त्यसपछि हरेक खेलमा एक हजार भन्दा बढी कहिले कहीँ दुई हजार फ्रि टिकट उपलब्ध गराउँदै आएको छ ।

बुटवल लुम्बिनीले आफ्नो स्पोन्सर करेन्ट चाउचाउको खोल ल्याउनेलाई पनि टिकट दिने व्यवस्था गरेको थियो । एफसी चितवनले पनि फ्रि टिकट दिने गरेको थियो ।

४. फ्यान अफ दि म्याच

अर्को आकर्षक व्यवस्था भनेको फ्यान अफ द म्याच हो । यस पटक एनएसएलमा फ्यान अफ द म्याचको पनि व्यवस्था गरिएको छ र हरेक खेलमा एक फ्यानले यो अवार्ड पाउनेछन् । साथै नगद ५ हजार पनि प्राप्त गर्नेछन् ।

आयोजकको अफिसियल फोटोग्राफरले फोटो खिच्नेछन् र त्यसबाट उत्कृष्ट फ्यान चयन गरिनेछ ।

उक्त फ्यानले खेलको प्लेअर अफ दि म्याचसँग पनि फोटो खिचाउने अवसर पाउनेछन् ।

५. फुड कोर्ट

दशरथ रंगशालमा सरकारको मातहतमा छ । यसको रेखदेख लगायत काम राष्ट्रिय खेलकुद परिषदले गर्दै आएको छ । जसले गर्दा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै रंगशाला भित्र खाने कुराहरु लैजान दिँदैन ।

यसअघि ए डिभिजन लिग लगायत अन्य खेलहरु हुँदा पनि दर्शकका लागि रंगशाल भित्र खाने कुराको व्यवस्था थिएन ।

तर यसपटक भने एनएसएको आयोजकले दर्शकका लागि फुडकोर्टको छुट्टै व्यवस्था गरेको छ । जसले गर्दा दर्शकले विभिन्न खाले कुरा खाँदै खेलको मज्जा लिन सक्नेछन् ।

आयोजकले यस पटक सुरक्षा व्यवस्थालाई राम्रोसँग म्यानेज गरेको छ ।

यस्तै दर्शकका लागि आयोजकले मैदानको दक्षिण तर्फको गेटबाट भीआईपी प्यारापिट जाने स्थानमा र उत्तरपट्टी आर्मीको गेटतर्फ पनि फुट कोर्ड राखेको छ ।

जहाँ समर्थकले विभिन्न खानेकुरादेखि जुस कफी लिन सक्छन् । यस्तै भीआईपी प्यारापिटमा पनि दुई फुडकोर्ट राखेको छ । यसबाट फुटबल कोर्ट सञ्चालकले केही आम्दानी पनि गरेका छन् ।

६. खेल प्रतिस्पर्धा र विदेशी खेलाडी

एनएसएलको खेलको स्तर प्रतिस्पर्धात्मक देखिएको छ । केही खेलको स्तर अहिलेसम्मकै राम्रो छ ।

झापा र इलामबीचको खेलपछि इलामका प्रशिक्षक मेघराज केसीले खुलेरै तारिफ गरेका थिए । उनले यति राम्रो खेल नेपाली फुटबलमा बिरलै भएको बताएका थिए । त्यस खेलमा उनले आफूले दर्शकको रुपमा समेत मनोरन्जन लिएको बताएका थिए ।

यस पटक सहभागी टोलीले ६ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । त्यसमा पनि ५ विदेशी एकै पटक मैदानमा खेल्न पाउँछ । दुई टिमको गरी २२ खेलाडी मैदानमा उत्रँदा लगभग आधा जति (१०) खेलाडी विदेशी हुँदा खेलको प्रतिस्पर्धा पनि बढ्ने नै भयो ।

प्ले अफमा पुगेका ४ टिमका प्रशिक्षक र कप्तान ।

एनएसएल सुरु हुनुअघि नै प्रशिक्षकहरुले यस पटक विदेशी खेलाडीको प्रदर्शन निर्णायक हुने बताएका थिए । विदेशीले राम्रो प्रदर्शन गर्दा त्यसले खेलको नतिजा नै परिवर्तन हुने देखिँदै आएको छ ।

सर्वाधिक ५ गोल गर्नेमा वीरगञ्ज युनाइटेडका विलियम ओपोकु र पोखरा थन्डर्सका मोसे ग्यावाह छन् । यस्तै सर्वाधिक क्लिनसिट राख्नेमा झापाका किपर स्टेफन क्युपिक छन् । उनले ५ खेलमा गोल खाएनन् ।

यसपटक युरोपियन लिग खेलिसकेका युरोपा लिगमा प्रतिस्पर्धा गरेकादेखि विश्वकप खेलेका खेलाडीहरु समेत नेपाली मैदानमा उत्रिएका छन् । अनि टचलाइनमा स्पेन देखि अष्ट्रेलियासम्मका प्रशिक्षक छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?