+
+

युवा लक्षित स्टार्टअप बिजनेसलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १४:१०

१२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरूका लागि स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले नवप्रवर्तनशील सोच र जोश भएका नवयुवाहरूमा उद्यमशीलता प्रवर्धन गर्न सातै प्रदेश केन्द्रित व्यवसाय प्रवर्धन अभियान सञ्चालनको तयारी गर्न उनले निर्देशन दिए ।

स्टार्टअप फण्डको समेत परिचालन गरी वर्षेनी कम्तीमा २० हजार युवाहरूको नवीनतम सोचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, स्टार्टअप र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि ‘जबमिटर’ को व्यवस्था गर्न विशेष योजना तयार गर्न समेत उनले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका कूटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवर्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्न निर्देशन दिए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग तथा वाणिज्य प्रवर्धनका लागि विनियोजित रकम थोरै हुँदा निर्धारित कार्यक्रम सञ्चालन गर्न बाधा पुगेको बताउँदै त्यसका लागि सरकारकै तर्फबाट एकीकृत समाधान खोजिनुपर्ने बताए ।

बैठकमा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधनमा समेटिएका विषयहरू कार्ययोजना बनाएर कार्यान्वयनमा जान निर्देशन दिँदै अब उप्रान्त मन्त्रालयगत आंकडाका आधारमा मूल्यांकन हुने बताए ।

उनले औद्योगिक क्षेत्र घोषणा गरिएका क्षेत्रहरूको कामलाई प्राथमिकता दिएर काम गर्न सचिवहरूलाई निर्देशन दिए ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले नयाँ नीति, योजना, कार्यक्रम र बजेटबीच तादाम्यता आवश्यक रहेको, अन्तरनिकाय समन्वय प्रभावकारी नहुँदा नीतिमा एकीकरण र कार्यक्रम छरिएको अवस्था रहेको बताउँदै उद्यमशीलता प्रवर्धन, लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास, कर्मचारीको क्षमता अभिवृद्धि र नवप्रतर्वनमुखी कार्यक्रममा मन्त्रालय केन्द्रित भएको बताए ।

द्विपक्षीय एवम् बहुपक्षीय फोरमहरूमा नेपालको उद्योग तथा वाणिज्य प्रवर्धनका निम्ति पैरबी गर्नुपर्नेमा जोड दिँदै सचिव दुवाडीले युवाका निम्ति “उठौं नेपाल अभियान” नाराका साथ स्टार्टअफ बिजनेसको अवधारणा अगाडि सारिएको जानकारी दिए ।

उनले वातावरणीय प्रभाव मूल्यांकनका लागि समयसीमा तोक्नुपर्ने, प्रधानमन्त्रीको पदावलीबाट सञ्चालित कार्यक्रमहरूलाई एकीकृत गर्नुपर्ने, सुपथ मूल्य पसल बाह्रै महिना सञ्चालन गरी मूल्य नियन्त्रणका निम्ति तयारी गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?