+

जोर्नी किन खिइन्छ, के छ उपचार ?

२०८० पुष  १५ गते १४:२४ २०८० पुष १५ गते १४:२४
जोर्नी किन खिइन्छ, के छ उपचार ?

शरीर जति बुढो हुँदै जान्छ । त्यति नै बिस्तारै शरीर कमजोर हुँदै जान्छ । यस्तोमा खानपान तथा जीवनशैलीमा ध्यान दिएन भने झन् छिट्टै रोगले गाँज्छ । उमेर बित्दै गएपछि सबैभन्दा बढी सताउने समस्यामध्ये एक जोर्नी खिइने समस्या हो ।

जोर्नी खिइएमा शरीरलाई चुस्त ढंगले चलायमान राख्ने र हड्डीको संरक्षण गर्ने जोर्नीको कार्यमा बाधा पुग्छ । र, कालान्तरमा जोर्नीले काम गर्न सक्दैन । शरीरको कार्यसञ्चालन नै प्रभावित हुन्छ ।

विश्वव्यापी रुपमा तीव्र गतिमा बढ्दै

जोर्नी खिइने समस्याले विश्व नै प्रभावित छ । हाल विश्वका ५५ वर्ष वा सोभन्दा माथिका ८० प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको जोर्नी खिइने समस्याबाट पीडित छन् ।

‘द ल्यान्सेट रुमाटोलोजी’ जर्नलमा प्रकाशित अध्ययनका अनुसार सन् २०५० सम्ममा विश्वभर करिब एक अर्ब मानिस ओस्टियोआर्थराइटिस वा जोर्नी दुख्ने समस्याबाट पीडित हुने अनुमान गरिएको छ ।

जम्मा २०० देशको ३० वर्षको अध्ययनले जोर्नी खिइने समस्याको तथ्यांकमा विश्लेषण गरिएको थियो । सन् १९९० मा २५ करोड मात्र यस समस्याबाट पीडित थिए भने २०२० मा १३२ प्रतिशतले बढेर साढे ५९ करोडमा यो समस्या देखियो ।

विगत तीन दशकमा केसहरू तीव्र रूपमा बढेको तीन मुख्य कारक उमेर, जनसंख्या वृद्धि र मोटोपन रहेको अध्ययनले उल्लेख गरेको छ ।

जोर्नी खिइनु भनेको के हो ?

कुनै कारणवश जोर्नीको तन्तुहरु, त्यहाँको मांसपेशी र कुरकुरे हड्डी पातलिंदै जानुलाई बोलीचालीको भाषामा जोर्नी खिइएको भनिन्छ । यसलाई चिकित्सकीय भाषामा यसलाई ‘ओस्टिओ आथ्र्राइटिस’ भनिन्छ ।

यो समस्याले उमेर ढल्किंदै गएपछि बढी सताउँछ । महिलामा यो समस्या प्रायः रजनोवृत्तिपछि (महिनावारी सुकेपछि) हुनसक्छ । पुरुषमा ६०-७० वर्षको उमेरपछि जोर्नी कमजोर हुन थाल्छ ।

यद्यपि, धेरै उकालो-ओरालो हिंड्ने, लामो समयसम्म निहुरिएर काम गर्ने, अत्यधिक तौल उठाउने र भारी बोक्ने व्यक्तिमा यो समस्या उमेरअगावै पनि देखिनसक्छ ।

कसरी जोर्नी खिइन्छ ?

जोर्नीको वरपर मांसपेशीहरु हुन्छन् । जसको काम जोर्नीहरुलाई आड दिएर सन्तुलनमा राख्नु हो । जब मांसपेशी कमजोर हुँदै जान्छ तब जोर्नी बसेको ठाँउको सन्तुलन बिग्रिन्छ । र, कुरकुरे हड्डी कमजोर हुँदै पातलिन्छ । दुई हड्डीलाई अड्याएर कुसनको रुपमा बसेको कुरकुरे हड्डी पातलिएपछि हड्डीबीच घर्षण हुन थाल्छ । घर्षण हुँदै गएपछि हड्डीको छेउछेउमा नयाँ हड्डी पलाउँछ । र, जोर्नीभित्र रहेको एक प्रकारको तरल पदार्थ ‘साइनोभियल फ्लुईड’ हड्डीहरुमा पसेर सिस्ट (मासुको डल्ला) बन्न थाल्छ । र, हड्डीबीच देखिनुपर्ने अन्तर हराएर जोडिएको जस्तो देन्छि । यो नै जोर्नी खिइने प्रक्रिया हो ।

शरीरमा भएको कुनै पनि जोर्नी खिइन सक्छ । तर सबैभन्दा बढी शरीरले भार थेग्ने भागको जोर्नीहरु जस्तै घुँडा, मेरुदण्ड र कम्मरको जोर्नी खिइन्छ । धेरैलाई सताउने समस्या नै यही हो ।

बुढयौलीमा किन बढी खिइन्छ ?

मानिसको उमेर बढेसँगै शरीरका अंगहरुको कार्य क्षमता घट्दै जान्छ । दाँतको जराले ठाँउ छाडेर दाँत झरेको जस्तै, बिस्तारै हाड तथा जोर्नी र शरीरको मांसपेशी पनि कमजोर हुँदै जान्छन् । यी अंगमा क्षति हुँदै गएमा बिस्तारै जोर्नी खिइन सक्छ । यस्तोमा सामान्य चोटपटक लाग्दा पनि जोर्नी खिइन सक्छ । यसको मुख्य कारण बुढयौली भए पनि शतप्रतिशत सबैमा हुन्छ भन्ने हुँदैन ।

अन्य कारण

-एउटै जोर्नी आवश्यकभन्दा बढी बारम्बार प्रयोग भइराख्नु वा शरीरले थाम्नै नसक्ने गरी भार उठाउने काम गर्नु ।

-जोर्नीमा क्षयरोग जस्ता संक्रमण भई कुरकुरे हड्डीमा असर गर्नु ।

-बाथ तथा युरिक एसिड बढेर जोर्नीको झिल्लीमा असर गरेमा ।

-चोटपटकका कारण रक्तधमिनीमा क्षति पुगेर रक्तसञ्चार नभएमा ।

-धुम्रपान तथा मदिरापान अत्यधिक गर्नु । यसमा हुने हानिकारक निकोटिनले जोर्नीलाई कमजोर बनाइदिन्छ ।

जोर्नी खिइएपछि देखिने समस्या

जोर्नी खिइने सुरुवात भएसँगै हल्का दुखाइ सुरु हुन्छ । बिस्तारै जोर्नी खिइएको भाग जाम भई चलायमान राख्न कठिन हुन्छ । जसकारण दैनिक रुपमा गर्ने काम गर्न पनि नसक्ने हुन्छ । जस्तै, पलेंटी कसेर बस्दा,  हिंडडुल गर्दा, बसेपछि उठ्नै नसक्ने, काम गर्दा, भर्‍याङ चढ्दा वा ओर्लिंदा असहज हुन्छ । जोर्नी दुख्ने क्रम यथावत रहेमा त्यो दुखाइ बढ्दै जान्छ र सहनै नसक्ने अवस्था हुन्छ ।

जोर्नी खिइने समस्या बढ्दै गएमा डिप्रेसन समेत गराउन सक्छ । किनकि दैनिक काम गर्न नसक्ने अवस्थामा अरुमा भर पर्नुपर्ने र सहन नसक्ने दुखाइ हुने जस्ता समस्याबारे सोच्दा शारीरिक दुखाइ त छँदैछ मानसिक समस्या समेत देखिने गरेको छ ।

स्पाइनको जोर्नी खिइएमा ढाड दुख्ने, खिइँदै गएपछि ढाडको नसा च्यापिने र गम्भीर रुपमा लिंदै गएमा हातखुट्टालाई असर गर्न सक्छ ।

पहिचान

यसको पहिचानको लागि एक्सरे, एमआरआई, सिटिस्क्यान, डेक्जा स्क्यान र अल्ट्रासाउन्ड गर्न सकिन्छ ।

उपचार

जोर्नी खिइने समस्याको उपचार कति खिइएको छ भन्नेमा भर पर्छ । जोर्नी खिइने समस्या सुरुवाती चरणमा घरेलु उपचार गर्न सकिन्छ । यदि खिइन सुरु मात्र गरेको छ भने घरमै खानपान र जीवनशैलीमा ध्यान दिए केही हदसम्म निको पार्न सकिन्छ । जस्तै, फिजियोथेरापी गर्ने, शारीरिक व्यायाम गर्ने, पानी पर्याप्त मात्रामा पिउने, भिटामिनयुक्त खानेकुरा खाने, चिकित्सकलाई देखाएर आवश्यक परे क्याल्सियमको सप्लिमेन्ट खाने, दुखाइको महसुस भए खाने र लगाउने औषधि प्रयोग गर्नुपर्छ । तर कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना खानु हुँदैन ।

मध्यम अवस्थाको समस्या भए व्यायाम, फिजियोथेरापीसँगै खिइएको जोर्नीमा स्टेरोइड खोप दिइन्छ । यसले सुन्निएको र खिइएको जोर्नी कम गर्न मद्दत गर्छ । मेडिकल फुटवेयरले पनि केही हदसम्म घुँडाको समस्या कम हुनसक्छ ।

त्यस्तै, चोटपटक तथा युरिक एसिडको समस्याले हो भने त्यसलाई पनि व्यस्थापन गर्नुपर्छ । यदि यी उपचारले पनि असर नगरेमा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ ।

जोर्नी प्रत्यारोपण कसरी गरिन्छ ?

जोर्नी खिइएको समस्याको अन्तिम र एक मात्र विकल्प प्रत्यारोपण हो । प्रत्यारोपण भनेको खिइएको जोर्नी निकालेर त्यसको ठाउँमा धातुको (कृत्रिम) जोर्नी राख्नु हो । प्रत्यारोपण गरेपछि १५ देखि २० वर्षसम्म जोर्नीको कार्य प्राकृतिक जोर्नीले जस्तै सहज ढंगले गर्न सक्छ ।

यद्यपि, तत्काल संक्रमणमा रहेको जोर्नीको प्रत्यारोपण गर्न सकिंदैन । संक्रमण भएमा औषधिले संक्रमण हटाएर मात्र गर्न सकिन्छ ।

कति खर्च लाग्छ ?

जोर्नी प्रत्यारोपण गर्दा कस्तो खालको जोर्नी राख्ने भन्ने कुराले फरक पार्छ । सामान्यतया दुईदेखि तीन लाख रुपैयाँमा जोर्नी प्रत्यारोपण गर्न सकिन्छ ।

जोर्नी कमजोर हुन नदिन के गर्ने ?

-शारीरिक व्यायाम गर्ने

-जोर्नीलाई हानि गर्ने र जोखिम पुर्‍याउने कारक तत्वबाट टाढा रहने

-एकदमै कडा शारीरिक श्रम नगर्ने

-शरीरले थाम्न नसक्ने तौल नउठाउने

-भिटामिन, फस्फोरस र क्यालसियमयुक्त खानेकुरामा जोड दिने

-र, जोर्नीमा संक्रमण भएमा तत्काल उपचार गर्ने

जोर्नी खिइने जोर्नी प्रत्यारोपण डा. नवीन पौडेल
डा. नवीन पौडेल
लेखक
डा. नवीन पौडेल
अर्थोपेडिक सर्जन

डा. पौडेल हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत छन् । उनले अर्थोपेडिक तथा ट्रमा सर्जरीमा  एमएस र अर्थोप्लासी र सपोर्ट मेडिसिनमा फेलोसिप गरेका छन् । डा. पौडेलको नेपाल मेडिकल दर्ता नम्बर ११२८९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?

बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ? (भिडियो)

बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ? (भिडियो)

गर्भावस्थामा योनीस्राव भयो, कारण के होला ?

गर्भावस्थामा योनीस्राव भयो, कारण के होला ?

७ सर्वोत्तम पेय, जुन घरमै बनाउन सकिन्छ

७ सर्वोत्तम पेय, जुन घरमै बनाउन सकिन्छ

शल्यक्रियाबाट कसरी मुसा हटाउन सकिन्छ, कति लाग्छ खर्च ?

शल्यक्रियाबाट कसरी मुसा हटाउन सकिन्छ, कति लाग्छ खर्च ?

मुटुलाई स्वस्थ राख्ने अनस्याचुरेटेड फ्याट कुन खानेकुराबाट पाइन्छ ?

मुटुलाई स्वस्थ राख्ने अनस्याचुरेटेड फ्याट कुन खानेकुराबाट पाइन्छ ?