+

बच्चालाई ब्रेन ट्युमर भएमा के कस्तो लक्षण देखिन्छ ?

२०८० पुष  २० गते ७:०६ २०८० पुष २० गते ७:०६
बच्चालाई ब्रेन ट्युमर भएमा के कस्तो लक्षण देखिन्छ ?

बच्चाहरुलाई चाहिँ ‘ब्रेन ट्युमर’ नभइदिए हुन्थ्यो भन्ने कामना गर्छु म । किनभने ब्रेन ट्युमर भइसकेपछि उनीहरुमा जोखिम एकदमै धेरै हुन्छ । एक त उपचार सहज हुन्न, अर्को निको हुने संभावना कम हुन्छ ।

मलाई भगवानप्रति गुनासो छ, बच्चालाई जन्मजात त्यत्रो ट्युमर दिएर किन पठाउनु ?

तर, हाम्रो मनोकांक्षा विपरित बच्चामा ट्युमरको अवस्था धेरै देखिएको छ । खासगरी जन्मजात नै यो समस्या आएको छ । किन यस्तो भइरहेको छ त ? यसको ठ्याक्कै जवाफ दिन सकिदैन । किनभने क्यान्सरबारे अहिलेसम्म अनगिन्ती खोज–अध्ययन (रिसर्च) भएका छन् । तर, यसबाट त्यस्तो ठूलो उपलब्धी हासिल भएको छैन ।

सामान्यत ट्युमर हुने आम कारण भनेको जिनको खराबी हो । जिनको खराबी किन हुन्छ ? यसको ठ्याक्कै कारण पत्ता लागेको छैन । यद्यपि जिन सामान्य हिसाबले जसरी विकास हुनुपर्ने थियो, त्यसरी नहुँदा समस्या आउँछ । जिनको पनि आफ्नै ‘कोडिङ’ हुन्छ । कहिले काहीँ कोडिङ नमिलेर असामान्य कोष विकास हुन्छ । त्यही कोष बढ्दै गएर ट्युमर बन्न सक्छ । र, क्यान्सरको रुप लिनसक्छ ।

अर्को कुरा चाहिँ के पनि हो भने वंशानुगत रुपमा यस्तो रोग आफ्नो पुस्तामा सर्दै आउँछ भनिन्छ । तर, त्यसो हो भने एक जना मान्छेको चार जना बच्चा छ । चार जनामा नै ट्युमर त हुँदैन नि । एक जनामा हुनसक्छ । बाँकी तीनमा किन भएन ?

यो ट्युमर विकास हुने, क्यान्सर बन्ने कुरामा एउटा मात्र ठोस कारण वा जवाफ छैन । यसमा विभिन्न कुराले प्रभाव पारेको हुनसक्छ । पहिले एउटा ट्युमर देखिन्थ्यो । अब त्यसैको विभिन्न उप–प्रकार (सब–टाइप)हरु देखिन थाले । उस्तै उपचार गर्दा कोही निको हुन्छ, कोही हुँदैनन् ।

बच्चामा ट्युमर बढी जोखिम

वयस्कको तुलनामा बच्चाको मस्तिष्कमा ट्युमर हुनु बढी जोखिमपूर्ण छ । यसो हुनुमा पनि धेरै कारण छन् । एक त बच्चाले आफुलाई के समस्या भइरहेको छ व्यक्त गर्न सक्दैनन् । टाउको दुखिरहेको छ, आँखा कमजोर हुँदै गएको छ, कान सुन्ने क्षमता कम हुँदै गएको छ भने पनि बच्चाले भन्दैनन् ।

एक बर्षभन्दा कम उमेरका बच्चा छन् भने त बोली नै नआउने भइहाल्यो । अरु बच्चाले पनि आफ्नो शरीरमा हुँदै गएको खराब परिवर्तनलाई व्यक्त गर्ने मेलोमेसो पाउँदैनन् । त्यही कारण जब उनीहरुलाई अस्पताल ल्याइन्छ, त्यसबेला समस्या जटिल भइसकेको हुन्छ । ट्युमर ठूलो भइसकेको हुन्छ ।

सानो टाउको, ठूलो ट्युमर । जटिल उपचार, कमजोर शरीर । बच्चाको शरीरले ट्युमरको शल्यक्रिया थेग्न गाह्रो हुन्छ । फेरी अहिलेसम्म के देखिएको छ भने बच्चाको टाउकोमा आउने ट्युमर एकदमै अप्ठ्यारो ठाउँमा हुने । मूलत तीन किसिमको ट्युमर उनीहरुमा देखिन्छ, जो एकदमै खराब ट्युमर हो ।

अब ट्युमर त शल्यक्रिया गरेर निकालिन्छ । तर, यदि क्यान्सर भइसकेको छ भने थप उपचार गर्न असहज हुन्छ । उनीहरुलाई किमोथेरापी दिन पनि कठिन छ, रेडियोथेरापी पनि ।

बच्चामा ब्रेन ट्युमरको कुनै लक्षण हुन्छ ?

सबै रोगहरुको लक्षण त हुन्छ तर कति थाहा पाइन्छ, कति थाहा पाइदैन । यसैगरी कतिपय लक्षणहरु आपसमा अर्को रोगसँग मिल्दो हुन्छ । त्यसैले लक्षणले कहिले काहीँ झुक्याउन सक्छ ।

ब्रेन वा मस्तिष्कमा चाहिँ कुनै समस्या छ भने बच्चाले टाउको अड्याउन सक्दैनन् । हामीले घाँटीको बलमा टाउको ठाडो राख्ने, यताउता घुमाउने गर्छौं । तर, मस्तिष्कमा समस्या छ भने टाउको झुकाउन सक्छ । विस्तारै घाँटीले थेग्न सक्दैन । बच्चाहरु कमजोर र सानो हुँदै जान्छन् ।

यसैगरी बच्चाको टाउको बढ्दै जानसक्छ । सानो बच्चाको टाउको कसरी बढ्दैछ भनेर हामीले मिहिन रुपमा ख्याल गर्दैनौं । यदि अस्वभाविक रुपमा बढ्दै गएको छ भने त्यहाँ कुनै समस्या हुनसक्छ ।

यसैगरी अर्को स्पष्ट लक्षण के भने, शिशुको जुन तालु हुन्छ सानोमा त्यो खुला हुन्छ । गिलो वा लचकदार हुन्छ । पछि क्रमस त्यो छोपिदै जानुपर्ने हुन्छ । सामान्यत शिशु तीन महिनाको उमेर भएपछि तालु छोपिन सुरु गर्नुपर्छ र क्रसम एक–ढेड बर्षसम्म पूर्ण रुपले छोपिसक्नु पर्ने हुन्छ । यदि कुनै शिशुको तालु छोपिएन वा खुलै रह्यो भने उनीहरुको टाउकोमा समस्या हुन्छ भनेर शंका गर्नुपर्ने हुन्छ । परीक्षण र उपचारका लागि पहल गर्नुपर्ने हुन्छ ।

अभिभावकमा यस किसिमको सचेतना हुन जरुरी छ कि, आफ्नो शिशु स्वभाविक छ वा छैन ? उनीहरु के कारणले रोइरहेका छन् ? किन दूध खान मानिरहेका छैनन् ? किन सामान्य जस्ता देखिएका छैनन् ?

के छ उपचार ?

विदेशतिर खासगरी उन्नत मुलुकमा गर्भावस्थामा नै शिशुको स्वास्थ्यबारे जाँच गरिन्छ । ट्युमर छ वा छैन भनेर पनि आमाको गर्भमा छँदै हेरिन्छ । यदि ट्युमर छ भने त्यो कस्तो खालको हो ? पहिलो वा दोस्रो चरणको ट्युमरलाई शल्यक्रिया गरे पनि हुन्छ । अतः आमाको गर्भभित्र रहँदै शिशुको ट्युमर शल्यक्रिया गरी हटाइन्छ । तर, तेस्रो र चौथो चरणमा पुगिसकेको छ भने उक्त शिशु नजन्माउनका लागि चिकित्सकले अभिभावकलाई सुझाव दिने गर्छन् ।

तर, हामीकहाँ यस्तो प्रविधि वा प्रणाली छैन । त्यसैले जन्मिएपछि मात्र कतिपय रोग पत्ता लाग्छ । त्यो पनि लक्षण देखा पर्न थालेपछि मात्र । जब लक्षण देखापर्न थाल्छ, त्यसबेला उपचार ढिलो भइसकेको पनि हुनसक्छ ।

हामीकहाँ कुनै शिशु वा बच्चामा भनौं, ब्रेन ट्युमर छ भने उपचार एकदमै असहज र जोखिमयुक्त छ । उपचार गरेर पनि राम्रो नतिजा आउँछ भन्न सकिदैन ।

त्यसो भए बच्चामा यस्तो समस्या हुनै नदिन के गर्ने ? यसको पनि ठ्याक्कै जवाफ छैन । माथि पनि उल्लेख गरेका छौं, अहिलेसम्म कैयौं खोज अध्ययन भएर पनि क्यान्सरको मूल जड फेला पार्न सकिएको छैन । यद्यपि जोखिम अवस्थाहरु भने घटाउन सकिन्छ ।

जस्तो, गर्भावस्थामा आमाले चुरोट तान्छ, रक्सी पिउँछ, लागुऔषध लिन्छ भने उनीहरुको बच्चामा यस्तो समस्या बढी भएको देखिन्छ । त्यसैले गर्भावस्थामा सकेसम्म यी कुराहरुबाट टाढा रहनुपर्छ । साथै शिशु वा बच्चा स्वभाविक रुपमा हुर्कदै, बढ्दैछ वा छैन ? यसमा आमाबुवाले सुक्ष्म रुपले ख्याल राख्नुपर्छ । बच्चामा कुनै अस्वभाविक अवस्था देखिए तुरुन्त सर्तक हुनुपर्छ ।

ट्युमर बच्चामा ब्रेन ट्युमर
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय