+

पेन किलरले कसरी तुरुन्तै दुखाइ कम गर्छ ?

२०८० पुष  २४ गते ११:५८ २०८० पुष २४ गते ११:५८
पेन किलरले कसरी तुरुन्तै दुखाइ कम गर्छ ?

पेन किलर । नाम नै काफी छ । यसको काम हो दुखाइ हटाउनु । चाहे चोटपटक लागेर होस् वा अरु रोगव्याधि लागेर, शरीरमा कुनै पनि किसिमको दुखाइ छ भने त्यसको निवारणका लागि हामी ‘पेन किलर’ खाने गर्छौं ।

सामान्य व्यक्तिहरूले बुझ्ने पेन किलरलाई ‘ननस्टेरोइडल एन्टिइन्फ्लामेटरी ड्रग्स’ भनिन्छ । यसको प्रयोग विभिन्न दुखाइबाट अस्थायी रूपमा छुटकारा पाउनको लागि गरिन्छ ।

पेन किलरमा मुख्यत: तीनवटा तत्व हुन्छ, जसले सुन्निन कम गर्ने, दुखाइ कम गर्ने र ज्वरो कम गर्ने गर्छ । सिटामोल, फ्लेक्जन, ब्रुफिन र निम्स आदि पेन किलरका यस्तै केही उदाहरण हुन् ।

पेन किलर खाना साथ दुखाइ कम भएको अनुभव पनि हुन्छ । पेन किलरमा के हुन्छ, जसले दुखाइ केही समयमै कम हुन्छ ? यसको कुनै साइड इफेक्ट छ कि छैन ?

हामीलाई किन दुख्छ ?

चोटपटक लाग्दा वा बिरामी हुँदा किन हाम्रो शरीर दुख्छ ?

जब हामी घाइते हुन्छौं, शरीरले घाउ भएको ठाउँमा बढी रगत आपूर्ति गर्न थाल्छ । यो रगतमा सेतो रक्तकणहरू पनि हुन्छन्, जुन चोट निको पार्नमा संलग्न हुन्छन् । यी सेतो रक्तकणसँगै धेरै महत्त्वपूर्ण रसायनहरू पनि चोटग्रस्त ठाउँमा पुग्छन् । तीमध्ये मुख्य रसायन प्रोस्टाग्ल्याण्डिन हो । यो रसायनले दुखाइ र जलन महसुस गराउँछ ।

पेन किलरले कसरी दुखा कम गर्छ ?

प्रोस्टाग्ल्याण्डिन नामक उक्त रसायनलाई उत्पादन हुन दिएन भने हामीलाई दुखाइ महसुस हुँदैन । पेन किलरले त्यही काम गर्छ । अर्थात् प्यारासिटामोल वा फ्लेक्जन जस्ता पेन किलरले यो रसायनलाई शरीरमा उत्पादन हुन दिंदैन । जब पेनकिलर खाइन्छ, त्यो बिस्तारै रगतमा मिसिन्छ र चोट लागेको ठाउँ तथा मस्तिष्कमा पुग्छ । दुवै ठाउँमा यसले दुखाइ कम गर्न प्रोस्टाग्ल्याण्डिन रसायनको उत्पादनलाई रोक्छ, ताकि मस्तिष्कले हामीलाई दुखाइ छैन भन्ने संकेत दिन्छ ।

कस्तो अवस्थामा पेन किलर खानैपर्छ ?

जब हामीलाई चोट लाग्छ हाम्रो शरीरबाट संकेत सोझै मस्तिष्कमा जान्छ, परिणामस्वरुप हामीलाई सन्देश दिन्छ कि हामी पीडामा छौं । त्यही दुखाइ महसुस भएकै कारण हामी त्यसको निवारण खोज्न थाल्छौं । अर्थात् किन दुख्यो, कसरी निको बनाउने भन्नेतर्फ लाग्छौं ।

यसको सोझो अर्थ के हो भने दुखाइ भनेको संकेत हो । यसले शरीरमा कुनै न कुनै गडबड छ भन्ने जनाउ दिएको हो ।

दुखाइको स्थितिमा कतिपयले पेन किलर खान मान्दैनन् । उनीहरुलाई लाग्छ, ‘दुखाइ सहेको राम्रो हो, पेन किलर खानु नराम्रो हो ।’ तर दुखाइ सहेर बस्दा शारीरिक र मानसिक रुपमा बढी पीडा हुन्छ । चोट पटक लागेर सुन्निएको पनि छ भने सुन्निने समस्या कम गर्न पनि पेन किलर खानु उपयुक्त हुन्छ । दुखाइ असाध्यै छ भने त्यसलाई कम गर्न औषधि खानुपर्छ । ज्वरो कम गर्न पनि पेन किलर खान सकिन्छ ।

हरेक औषधिको फाइदा बेफाइदा दुवै हुन्छ । यस्तोमा पेन किलरका पनि फाइदा बेफाइदा छन् । त्यसैले कुन पेन किलर कस्तो दुखाइका लागि बढी फाइदाजनक हो भन्ने कुरा विशेषज्ञलाई थाहा हुने भएको विशेषज्ञको सल्लाहमा मात्रै पेन किलर खानुपर्छ ।

शरीरको मांसपेशीको दुखाइ, नसाबाट उत्पन्न भएको दुखाइ वा कुनै चोटपटक लागेको कारण उत्पन्न भएको दुखाइ । पहिला दुखाइ कस्तो प्रकारको हो भन्ने कुरा बुझ्नुपर्छ । सबै प्रकारको दुखाइका लागि एउटै पेन किलरले काम गर्दैन ।  हरेक किसिमको दुखाइका लागि विभिन्न प्रकारका पेन किलर बनेको हुन्छ । त्यसैले कुन दुखाइका लागि कुन पेन किलर लिने र कुन दुखाइमा नलिने भन्ने कुरामा सचेत हुन जरुरी छ ।

दीर्घकालीन दुखाइका लागि पनि पेन किलर

दुखाइका प्रकार, अवधि, औषधिको सम्भावित लाभ र जोखिमहरूमा निर्भर गर्दै, दुखाइ कम गर्ने औषधि छनोट गर्नुपर्छ । धेरैजसो पेन किलर दुखाइका लागि प्रभावकारी हुन्छन् । तरजोर्नी खिइएको दुखाइ, नसा च्यापिएको दुखाइ वा विभिन्न रोगका कारण निम्तिएको दुखाइका लागि त्यस्तो पेन किलर कम प्रभावकारी हुन्छ ।

जोर्नी खिइएको दुखाइमा ‘प्लेटलेटरिच प्लाज्मा’ खोपद्वारा बिरामीको उपचार गरिन्छ । प्लेटलेटरिच प्लाज्मा व्यक्तिको आफ्नै रगतबाट उत्पादन गर्न सकिन्छ । खासमा यो एक प्रकारको रक्तकोषिका (प्लेटलेट) हो । प्लेटलेटरिच प्लाज्मामा चोटपटक लागेको बेला पुन:निर्माण गर्न सघाउने ‘ग्रोथ फ्याक्टर’ हुने भएकाले खिइएको ठाउँलाई निको पार्न मद्दत गर्छ । साथै यसले क्षतिग्रस्त लिगामेन्ट, मांसपेशी, हड्डी र जोर्नीहरूलाई निको पार्न पनि सहयोग गर्छ ।

ढाडको नसा च्यापिएर दुखेको छ भने त्यसको कारण अनुसार उपचार खोज्नुपर्छ । यस्तोमा कुन दुखाइ कम गर्न ‘स्टेरोइडयुक्त पेन किलर’ वा ‘लोकल एनेस्थेसिया’ दिने कि च्यापिएको नसा खोल्नका लागि शल्यक्रिया र त्यसपछि फिजियोथेरापी गर्नुपर्ने हुन्छ ।

पेन किलर खाँदा ध्यान दिनुपर्ने कुरा

सबै प्रकारको दुखाइमा चिकित्सकको सल्लाहबिना औषधि पसलमा गएर आफूखुसी पेन किलर खाने बानीले विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छ । पेन किलरको बढी प्रयोग गर्दा सामान्यतया ग्यास्ट्राइटिसको समस्याले सताउँछ । लामो समय पेन किलर खाँदा मिर्गौलाको समस्या, मुटुको समस्या पनि निम्तिन सक्छ । त्यसैले दुखाइको कारण पत्ता लगाएर चिकित्सकको सल्लाहमा मात्र पेन किलर खानुपर्छ ।

पेन किलर खाँदा कुन समयमा खाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । दिनमा तीन पटक खानुपर्ने पेन किलर खाँदैछौं भने सकेसम्म ८ घण्टाको फरकमा खानुपर्छ । त्यसो गर्दा यसले प्रभावकारी रुपमा काम गर्छ । पेन किलरको सेवनले सामान्यतया ग्यास्ट्राइटिसको समस्या निम्त्याउने सम्भावना बढी हुने भएकाले पेन किलर खानुअघि केही खानेकुरा खानु राम्रो हुन्छ ।

‍औषधि डा. अनुजजंग रायमाझी पेन किलर
डा. अनुजजंग रायमाझी
लेखक
डा. अनुजजंग रायमाझी
दुखाइ विशेषज्ञ

डा. रायमाझी हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)मा कार्यरत छन् । उनले एनेस्थेसियोलोजी र क्रिटिकल केयरमा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ४९९५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?