+

पेन किलरले कसरी तुरुन्तै दुखाइ कम गर्छ ?

२०८० पुष  २४ गते ११:५८ २०८० पुष २४ गते ११:५८
Shares
पेन किलरले कसरी तुरुन्तै दुखाइ कम गर्छ ?

पेन किलर । नाम नै काफी छ । यसको काम हो दुखाइ हटाउनु । चाहे चोटपटक लागेर होस् वा अरु रोगव्याधि लागेर, शरीरमा कुनै पनि किसिमको दुखाइ छ भने त्यसको निवारणका लागि हामी ‘पेन किलर’ खाने गर्छौं ।

सामान्य व्यक्तिहरूले बुझ्ने पेन किलरलाई ‘ननस्टेरोइडल एन्टिइन्फ्लामेटरी ड्रग्स’ भनिन्छ । यसको प्रयोग विभिन्न दुखाइबाट अस्थायी रूपमा छुटकारा पाउनको लागि गरिन्छ ।

पेन किलरमा मुख्यत: तीनवटा तत्व हुन्छ, जसले सुन्निन कम गर्ने, दुखाइ कम गर्ने र ज्वरो कम गर्ने गर्छ । सिटामोल, फ्लेक्जन, ब्रुफिन र निम्स आदि पेन किलरका यस्तै केही उदाहरण हुन् ।

पेन किलर खाना साथ दुखाइ कम भएको अनुभव पनि हुन्छ । पेन किलरमा के हुन्छ, जसले दुखाइ केही समयमै कम हुन्छ ? यसको कुनै साइड इफेक्ट छ कि छैन ?

हामीलाई किन दुख्छ ?

चोटपटक लाग्दा वा बिरामी हुँदा किन हाम्रो शरीर दुख्छ ?

जब हामी घाइते हुन्छौं, शरीरले घाउ भएको ठाउँमा बढी रगत आपूर्ति गर्न थाल्छ । यो रगतमा सेतो रक्तकणहरू पनि हुन्छन्, जुन चोट निको पार्नमा संलग्न हुन्छन् । यी सेतो रक्तकणसँगै धेरै महत्त्वपूर्ण रसायनहरू पनि चोटग्रस्त ठाउँमा पुग्छन् । तीमध्ये मुख्य रसायन प्रोस्टाग्ल्याण्डिन हो । यो रसायनले दुखाइ र जलन महसुस गराउँछ ।

पेन किलरले कसरी दुखा कम गर्छ ?

प्रोस्टाग्ल्याण्डिन नामक उक्त रसायनलाई उत्पादन हुन दिएन भने हामीलाई दुखाइ महसुस हुँदैन । पेन किलरले त्यही काम गर्छ । अर्थात् प्यारासिटामोल वा फ्लेक्जन जस्ता पेन किलरले यो रसायनलाई शरीरमा उत्पादन हुन दिंदैन । जब पेनकिलर खाइन्छ, त्यो बिस्तारै रगतमा मिसिन्छ र चोट लागेको ठाउँ तथा मस्तिष्कमा पुग्छ । दुवै ठाउँमा यसले दुखाइ कम गर्न प्रोस्टाग्ल्याण्डिन रसायनको उत्पादनलाई रोक्छ, ताकि मस्तिष्कले हामीलाई दुखाइ छैन भन्ने संकेत दिन्छ ।

कस्तो अवस्थामा पेन किलर खानैपर्छ ?

जब हामीलाई चोट लाग्छ हाम्रो शरीरबाट संकेत सोझै मस्तिष्कमा जान्छ, परिणामस्वरुप हामीलाई सन्देश दिन्छ कि हामी पीडामा छौं । त्यही दुखाइ महसुस भएकै कारण हामी त्यसको निवारण खोज्न थाल्छौं । अर्थात् किन दुख्यो, कसरी निको बनाउने भन्नेतर्फ लाग्छौं ।

यसको सोझो अर्थ के हो भने दुखाइ भनेको संकेत हो । यसले शरीरमा कुनै न कुनै गडबड छ भन्ने जनाउ दिएको हो ।

दुखाइको स्थितिमा कतिपयले पेन किलर खान मान्दैनन् । उनीहरुलाई लाग्छ, ‘दुखाइ सहेको राम्रो हो, पेन किलर खानु नराम्रो हो ।’ तर दुखाइ सहेर बस्दा शारीरिक र मानसिक रुपमा बढी पीडा हुन्छ । चोट पटक लागेर सुन्निएको पनि छ भने सुन्निने समस्या कम गर्न पनि पेन किलर खानु उपयुक्त हुन्छ । दुखाइ असाध्यै छ भने त्यसलाई कम गर्न औषधि खानुपर्छ । ज्वरो कम गर्न पनि पेन किलर खान सकिन्छ ।

हरेक औषधिको फाइदा बेफाइदा दुवै हुन्छ । यस्तोमा पेन किलरका पनि फाइदा बेफाइदा छन् । त्यसैले कुन पेन किलर कस्तो दुखाइका लागि बढी फाइदाजनक हो भन्ने कुरा विशेषज्ञलाई थाहा हुने भएको विशेषज्ञको सल्लाहमा मात्रै पेन किलर खानुपर्छ ।

शरीरको मांसपेशीको दुखाइ, नसाबाट उत्पन्न भएको दुखाइ वा कुनै चोटपटक लागेको कारण उत्पन्न भएको दुखाइ । पहिला दुखाइ कस्तो प्रकारको हो भन्ने कुरा बुझ्नुपर्छ । सबै प्रकारको दुखाइका लागि एउटै पेन किलरले काम गर्दैन ।  हरेक किसिमको दुखाइका लागि विभिन्न प्रकारका पेन किलर बनेको हुन्छ । त्यसैले कुन दुखाइका लागि कुन पेन किलर लिने र कुन दुखाइमा नलिने भन्ने कुरामा सचेत हुन जरुरी छ ।

दीर्घकालीन दुखाइका लागि पनि पेन किलर

दुखाइका प्रकार, अवधि, औषधिको सम्भावित लाभ र जोखिमहरूमा निर्भर गर्दै, दुखाइ कम गर्ने औषधि छनोट गर्नुपर्छ । धेरैजसो पेन किलर दुखाइका लागि प्रभावकारी हुन्छन् । तरजोर्नी खिइएको दुखाइ, नसा च्यापिएको दुखाइ वा विभिन्न रोगका कारण निम्तिएको दुखाइका लागि त्यस्तो पेन किलर कम प्रभावकारी हुन्छ ।

जोर्नी खिइएको दुखाइमा ‘प्लेटलेटरिच प्लाज्मा’ खोपद्वारा बिरामीको उपचार गरिन्छ । प्लेटलेटरिच प्लाज्मा व्यक्तिको आफ्नै रगतबाट उत्पादन गर्न सकिन्छ । खासमा यो एक प्रकारको रक्तकोषिका (प्लेटलेट) हो । प्लेटलेटरिच प्लाज्मामा चोटपटक लागेको बेला पुन:निर्माण गर्न सघाउने ‘ग्रोथ फ्याक्टर’ हुने भएकाले खिइएको ठाउँलाई निको पार्न मद्दत गर्छ । साथै यसले क्षतिग्रस्त लिगामेन्ट, मांसपेशी, हड्डी र जोर्नीहरूलाई निको पार्न पनि सहयोग गर्छ ।

ढाडको नसा च्यापिएर दुखेको छ भने त्यसको कारण अनुसार उपचार खोज्नुपर्छ । यस्तोमा कुन दुखाइ कम गर्न ‘स्टेरोइडयुक्त पेन किलर’ वा ‘लोकल एनेस्थेसिया’ दिने कि च्यापिएको नसा खोल्नका लागि शल्यक्रिया र त्यसपछि फिजियोथेरापी गर्नुपर्ने हुन्छ ।

पेन किलर खाँदा ध्यान दिनुपर्ने कुरा

सबै प्रकारको दुखाइमा चिकित्सकको सल्लाहबिना औषधि पसलमा गएर आफूखुसी पेन किलर खाने बानीले विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छ । पेन किलरको बढी प्रयोग गर्दा सामान्यतया ग्यास्ट्राइटिसको समस्याले सताउँछ । लामो समय पेन किलर खाँदा मिर्गौलाको समस्या, मुटुको समस्या पनि निम्तिन सक्छ । त्यसैले दुखाइको कारण पत्ता लगाएर चिकित्सकको सल्लाहमा मात्र पेन किलर खानुपर्छ ।

पेन किलर खाँदा कुन समयमा खाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । दिनमा तीन पटक खानुपर्ने पेन किलर खाँदैछौं भने सकेसम्म ८ घण्टाको फरकमा खानुपर्छ । त्यसो गर्दा यसले प्रभावकारी रुपमा काम गर्छ । पेन किलरको सेवनले सामान्यतया ग्यास्ट्राइटिसको समस्या निम्त्याउने सम्भावना बढी हुने भएकाले पेन किलर खानुअघि केही खानेकुरा खानु राम्रो हुन्छ ।

‍औषधि डा. अनुजजंग रायमाझी पेन किलर
डा. अनुजजंग रायमाझी
लेखक
डा. अनुजजंग रायमाझी
दुखाइ विशेषज्ञ

डा. रायमाझी हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)मा कार्यरत छन् । उनले एनेस्थेसियोलोजी र क्रिटिकल केयरमा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ४९९५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा