+

मान्छेको मुख्य आहार माछामासु होइन, शाकाहार हो

२०८० माघ  ३ गते १३:३९ २०८० माघ ३ गते १३:३९
मान्छेको मुख्य आहार माछामासु होइन, शाकाहार हो

मानिस आफ्नो व्यक्तिगत इच्छा वा खाद्य संस्कृतिअनुसार दैनिक विभिन्न परिकारको छनोट गरी खाने गर्छ । जहाँसम्म स्वादिष्ट परिकारको छनोटको कुरा छ, विश्वभरि माछामासुलाई अत्यन्त स्वादिष्ट एवं बलवर्द्धक खानेकुराको रुपमा खाने गरिन्छ ।

अरु बेला नखाए पनि सुत्केरी हुँदा वा भर्खरै बिरामी भएर तंग्रिंदै गर्दा मासुजन्य खानेकुरा खाने वा खुवाउने चलन हाम्रो समाजमा पहिलेदेखि चलिआएको छ ।

तर यसको सहज पहुँच हुनेखाने सम्पन्न वर्गका लागि बढी हुन्छ । जसकारण आम मानिसको दैनिक भोजनमा दाल, भात, तरकारी अर्थात् वनस्पतिजन्य भोजनको प्राधान्यता रहेको हुनसक्छ । अर्थात् मासुजन्य परिकार साताको एक दिन, कुनै चाडपर्व विशेष खाने आहार भएको छ । र, शाकाहार हाम्रो जीवनको मूल आहार बनेको छ ।

आदिम कालमा के खान्थे मान्छे ?

आजभन्दा करिब १२ देखि १३ हजार वर्षअघि हाम्रा पूर्वजलाई दैनिक सिकार गरेर आफ्नो पेट भर्न सम्भव हुँदैन थियो । त्यसैले आदिम युगमा हाम्रा पुर्खाको खान्कीमा सिकार भन्दा खोजेर ल्याएका कन्दमूल बढी हुने गर्दथ्यो ।

अर्को शब्दमा उनीहरु सिकारी (हन्टर) कम ज्यादा संग्रहक (ग्यादरर) भएको हुनुपर्छ । दूध, मासु, अण्डाको सेवन त्यसबेला सम्भव थिएन । पशुपालनको आधुनिक युगसँगै यी कुरा खान सुरु भयो । औद्योगिक क्रान्तिपछि मासुजन्य पदार्थको औद्योगिक उत्पादन र भण्डारण सम्भव भयो ।

मानिसको आम्दानी वृद्धिसँगै मासुजन्य खाद्यपदार्थको माग विश्वभरि बढ्यो । २१ औं शताब्दीसम्म आइपुग्दा मासुजन्य खानेकुराको खपत अत्यधिक हुन थालेको छ । मासु धेरै खाँदा मोटोपन र दीर्घरोगको समस्या बढ्न थाल्यो ।

मानिस शाकाहार वा मांसहार ?

पूर्वीय होस् वा पश्चिमी सभ्यता, शाकाहार वा मांसहारको पक्ष विपक्षमा प्राचीनकालदेखि मानिसका आ–आफ्ना धारणा छन् । मान्छे पूर्णत: शाकाहारी हो वा मांसहारी ?

यसको दाबी गर्न नसके पनि मान्छेको शारीरिक बनावट, पाचन प्रणाली, अनि भावनात्मक वा आत्मिक चेतनाको अवस्थाले शाकाहार नै मानिसको मूल भोजन हुनुपर्ने देखिन्छ ।

मान्छेको पाचननली लामो (अधिकतम ९ मिटर) हुन्छ । तर पेटको अम्लियता मांसाहारी प्राणीभन्दा कम (४–५ पीएच) हुन्छ । यसको अर्थ हो, मांसाहार भोजन गर्ने प्राणीको आन्द्राको लम्बाई छोटो हुन्छ । जस्तो, बाघ, भालुको आन्द्रा छोटो हुन्छ ।

मानिसको आन्द्रा धेरै लामो हुन्छ । हामीले खाने कुनै पनि खानेकुरा पचाउन त्यो लामो प्रक्रियाबाट गुज्रिनुपर्ने हुन्छ । जसले छिटो मासु पचाउन सकिंदैन ।

नङ अनि दाँतको बनावट जनावरको भन्दा सानो आकारको हुन्छ । जसले गर्दा आफैंले सिकार गर्ने र मासु पचाउने क्षमता कम हुने देखिन्छ । यही हिसाबले पनि मासु मानव शरीरको लागि अनुकूल र सही छैन भन्ने तर्कहरु धेरै छन् । यी त भए जैविक पक्ष ।

यसबाहेक आफैं मरेको जीव नखाने, प्राणीलाई सकेसम्म मार्न नचाहने, कसैले हत्या गरेको देख्दा दु:खी हुने वा भावनात्मक रुपमा पीडा महसुस गर्ने मानिसका शारीरिक एवं मानसिक स्वभावका कारण पनि शाकाहार नै सहज वा प्राकृतिक खानपान हुनुपर्छ ।

भारतबाहेकका देशमा अल्पसंख्यक

यसो भए पनि अहिलेको युगमा शाकाहारीहरु भारत बाहेकका देशमा अल्पसंख्यामा छन् । वर्ल्ड एनिमल फाउन्डेसन अर्गनाइजेसनका अनुसार विश्वव्यापी रुपमा हेर्ने हो भने २२ प्रतिशत मात्र शाकाहार छन् ।

अमेरिका, अस्ट्रेलिया जस्ता मुलुकमा मात्र करिब तीन प्रतिशत जनसंख्या शाकाहार रहेका छन् । मासुको स्वादले मानिसलाई यस्तो लोभ्यायो कि अमेरिकाका बासिन्दा प्रतिव्यक्ति औसतमा करिब २५२ पाउण्ड मासु सेवन गर्छन् । विश्वमा धनी कहलिएका मात्र होइन, कम विकसित मुलुकमा पनि उनीहरुको आर्थिक विकाससँगै मासुको खपत बढेको देखिन्छ ।

अर्कोतर्फ, शाकाहारवाद (भेजेटेरियनिजम)प्रति मानिसको आकर्षण पनि कम भएको छैन, बरु बढ्दो छ । शाकाहारी एउटा दर्शन अनि चलन चाहिं पुरानो हो । पूर्वीय दर्शनमा शाकाहारलाई अहिंस्रक (काटमार नगर्ने) जीवनशैलीको एउटा अभिन्न पक्षको रुपमा लिने गरिन्छ । साथै, मासु तामासिक भोजन हो । यसले हाम्रो आवेग, क्रोध, रिस, उत्तेजना बढाउँछ ।

जापान जस्तो मांसहारीको बाहुल्य भएको देशमा पनि त्यहाको पारम्परिक भोजनमा शाकाहारलाई प्राथमिकता दिइन्थ्यो । पूर्वीय समाजमा मात्र होइन, छैटौं शताब्दीका ग्रीकका दार्शनिक एवं गणितज्ञ पाईथागोरस मांसाहारको विपक्षमा उभिएको पाइन्छ ।

अरु कुरा जस्तै शाकाहारलाई हेर्ने वा अपनाउने दृष्टिकोण समय अनुसार परिवर्तन हुँदै आएको छ । त्यसैले सबै शाकाहारहरु एकै धारणा वा मान्यता बोकेका हुँदैनन् । नेपाल, भारतमा शाकाहारी भनेको माछामासु नखाने तर दूध-दही खानेहरुलाई बुझाउँछ । अंग्रेजीमा यस्तो शाकाहारलाई ‘लक्टोभेजिटेरियन’ भनिन्छ । आजभोलि अण्डालाई पनि शाकाहारी मानेर खाने चलन पनि सुरु भएको छ ।

पश्चिमी मुलुकहरुमा वनस्पतिजन्य खानेकुरा मात्र खाने, कुनै पनि प्राणीजन्य पदार्थ (दूध, घिउ, चीज लगायत) नखाने पूर्ण शाकाहारी वा भेगन संस्कृतिको लोकप्रियता बढ्दो छ ।

शाकाहारी जीवन

जहाँसम्म शाकाहार बन्ने कुरा छ, प्रत्येक व्यक्ति, परिवार वा समाजको त्यसलाई अपनाउने आ–आफ्नो प्रेरणा हुन सक्छ । भारत, नेपाल जस्तो हिन्दु बाहुल्यता भएको देशमा शाकाहारको मूल प्रेरणा वा कारण पारिवारिक वा सामाजिक सांस्कृतिक निरन्तरता, धार्मिक वा आध्यात्मिक चिन्तन हुनसक्छ । र, केहीमा जनावरप्रतिको करुणा पनि कारण हुनसक्छ भने पश्चिमी समाजमा यो व्यक्ति विशेषको स्वास्थ्य चेतना, जनावरप्रतिको करुणा वा नैतिक जिम्मेवारी, वातावरण संरक्षणप्रतिको बढ्दो सचेतनाको प्रतिविम्ब हुनसक्छ ।

शाकाहार परिकार कति स्वस्थ्यकर ?

भोजन हाम्रो जीवनको आधारभूत आवश्यकता र अधिकार हो भन्नुमा दुई मत नहोला । किनकि त्यसमा भएका पोषक तत्वहरु शरीरले पाउँदा हाम्रो शरीरको वृद्धि, विकास, मर्मत र सञ्चालन सम्भव हुन्छ । अर्कोतर्फ, अस्वस्थकर अनि अपाच्य भोजन कैयौं रोगका कारण पनि बन्न सक्छ ।

त्यसैले कस्तो भोजनबाट शरीर स्वस्थ भएर दीर्घजीवन जिउन सम्भव हुन्छ, यो एक चिन्तन, मनन अनि अनुसन्धानको विषय बनेको छ । विभिन्न अध्ययन अनि अनुसन्धानहरुको नतिजाले शाकाहार हुँदा मोटोपन कम गर्न, हृदयरोग अनि मधुमेहबाट बच्न निकै सहयोगी हुने देखाउँछ ।

अन्तर्राष्ट्रिय पोर्टल नेसनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित एक रिपोर्ट अनुसार मांसाहारी (नन- भेजेटेरियन) भन्दा शाकाहारीहरुमा हृदयरोग हुने जोखिम २९ प्रतिशत कम हुने देखाएको छ । शाकाहार भोजनबाट प्राप्त हुने भिटामिन सी, रेसादारबाट फाइबर, अनि फाइटोकेमिकल (वनस्पतिबाट प्राप्त फाइटोकेमिकलले कोषिकालाई वातावरणीय विषाक्त पदार्थहरू र शरीरको प्राकृतिक रासायनिक प्रक्रियाबाट हुने क्षतिबाट बचाउँछ) शरीर स्वस्थ्य राख्न, बुढोपन घटाउन अनि उमेरसँगै आउने रोगसँग लड्न नभई नहुने तत्व हुन् ।

संसारका सय वर्षभन्दा बढी बाँचेका ९० प्रतिशतको भोजन शाकाहारी हुने गरेको छ । वनस्पतिको उत्पादनबाट जरा, पात, फूल, फल, गानो (टुबर) विभिन्न रङ अनि फरक-फरक ढंगमा परिकार बनाएर खाने गरिन्छ । तीतोमा करेलादेखि गुलियोमा सक्खरखण्ड एउटै थालीमा खान सकिन्छ ।

शाकाहारको अर्को अत्यन्त महत्वपूर्ण पक्ष वनस्पतिमा पाइने रेसादार तत्व (फाइबर) हो, जुन हाम्रो पेटको तल्लो भाग (कोलोन)मा बस्ने सूक्ष्म जीवाणुको सन्तुलित बनावट विकासका लागि आवश्यक हुन्छ । यसको प्रभाव हाम्रो शरीरिक र मानसिक स्वस्थ्यमा पर्छ । नपच्ने फाइबर पेटको कब्जियत हटाउन नभई नहुने भएकाले पनि प्रशस्त सागपात, फलफूल खानुपर्छ । किनकि यी तत्व मासुजन्य परिकारमा पाइँदैन ।

शाकाहारी हुँदैमा शरीर दीर्घजीवी हुँदैन 

शाकाहारी हुँदैमा शरीर स्वस्थ र दीर्घजीवी हुने भन्ने चाहिं होइन । शरीरलाई नभई नहुने कतिपय अत्यावश्यक एमिनो एसिड (इसेन्सियल एमिनो एसिड) अनि चिल्लो पदार्थ शाकाहारी परिकारमा उपलब्ध हुँदैन, भए पनि अत्यन्त कम हुन्छ ।

जस्तै,  भिटामिन बी १२, भिटामिन डी, ओमेगा ३ (मस्तिष्क विकासमा नभई नहुने ईपीए अनि डीएचए फ्याटी एसिड) शाकाहारी भोजनबाट शरीरले प्राप्त गर्न सक्दैन । अर्कोतर्फ दूध, दही, अण्डा, माछामासु प्रोटिन र भिटामिनका रामा स्रोत हुन् ।

मासुको विकल्प

विशेषगरी भेगनहरुमा यी तत्वको कमी भए पनि त्यसको विकल्प नभएको होइन । यी तत्व आजभोलि बजारमा सप्लिमेन्टको रुपमा किनेर खान सकिन्छ । गेडागुडी त्यसमा पनि भटमासबाट मासुमा पाइने प्रोटिन जस्तै सबै एमिनो एसिड शरीरले प्राप्त गर्न सक्छ ।

च्याउमा प्रशस्त प्रोटिन, भिटामिन खनिज, फाइबर अनि फाइटोकेमिकल पाइन्छ । धेरैलाई थाहा नहुन सक्छ च्याउलाई घाममा केहीबेर सुकाउने हो भने त्यसमा भिटामिन डीको निर्माण हुन्छ । यसरी शाकाहारी भएर पनि शरीरलाई चाहिने सबै अत्यावश्यक पोषक तत्व उपलब्ध हुनसक्छ । च्याउ, तोफु जस्ता खानेकुरामा मासुमा पाइने स्वाद पाइने भएकाले यी मासुको विकल्प पनि बन्न सक्छन् ।

शाकाहार र मांसहारमा के उपयुक्त ?

शाकाहार वा मांसहार दुवैको आ–आफ्नो सकारात्मक एवं नकारात्मक पक्ष छन् । तर आजको बसिरहने जीवनशैली र प्रोसेस फुडको जगजगी भएको समयमा सकेसम्म शाकाहार जीवनशैली बढी स्वस्थकर मानिन्छ ।

तर शाकाहार भन्दैमा अधिक प्रोसेस गरेका परिकारहरु (जस्तै, मैदा, बिस्कट, चाउचाउ) अनि गुलियो पेय पदार्थले फाइदाभन्दा बढी बेफाइदा गर्छ । त्यस्तै मासुजन्य खानेकुरा शक्तिदायक (उच्च क्यालोरीयुक्त) हुन्छ । तर त्यसमा हानिकारक बोसो (स्याचुरेटेड फ्याट) र कोलेस्टेरोल पनि शरीरले ग्रहण गर्छ । आज औद्योगिक देशहरुमा जनावरबाट पाइने प्रोटिनको सेवन आवश्यकता भन्दा बढी गरिन्छ । अतिरिक्त प्रोटिन शरीरमा भण्डार भएर रहन सक्दैन, त्यो बोसोमा परिणत भएर बस्छ र मोटोपन बढाउँछ । यो बुझ्न जरुरी छ कि जिब्रोलाई मीठो लागे पनि हाम्रो शरीर मांसाहारको अत्यधिक सेवनका लागि तयार हुन अझै सकेको छैन ।

यसको प्रमाण पश्चिमी मुलुकहरु जहाँ मासुजन्य परिकार अत्यधिक सेवन गरिन्छ । क्यान्सर, हृदयरोग जस्ता नसर्ने रोग महामारीको रुपमा फैलिनुमा यो एउटा कारण हो । उच्च तापमा पकाएको मासुजन्य परिकार स्वादमा मीठो भए पनि त्यसमा कार्सिनोजेनको निर्माण हुने गर्छ । जसको अधिक सेवन क्यान्सरको कारण बन्न सक्ने केही अध्ययनको निष्कर्ष छ । अध्ययनअनुसार विशेषगरी अत्यधिक प्रशोधन गरिएका रातो मासु खाँदा बुढेसकालमा कोलोन क्यान्सरको जोखिम बढाउँछ । त्यसैले विज्ञहरु वनस्पतिजन्य प्रोटिनलाई आफ्नो नियमित खानपिनमा बढी सामेल गराउन सल्लाह दिन्छन् ।

वातावरणीय स्वास्थ्य

विश्वमा मासुको खपत घटाउनु भनेको वातावरणीय स्वास्थ्य सुदृढ पार्नु पनि हो । मासु र दूधजन्य खानेकुराका लागि गरिने पशुपालनमा मात्र विश्वको ठूलो खेतीयोग्य जमिन खर्च भइरहेको छ । त्यसका लागी पिउने पानी, अनि खानाको उत्पादन गर्नु अर्को वातावरणीय चुनौती हो । अर्थात् मासुजन्य परिकारको सेवन यसरी विश्वव्यापी बढ्दै जाने हो भने त्यसले जनस्वास्थ्यका साथै वातावरणीय समस्या निम्त्याउने निश्चित छ ।

यस दृष्टिकोणमा पनि शाकाहार वा न्यूनतम मासुको सेवन आजको एक आवश्यकता हो । तसर्थ भन्न सकिन्छ, मासु नखाँदा वा कम खाँदा कुनै ठूलो हानि हुँदैन । तर शाकाहारवाद कमजोर हुने हो भने जीवन र जगतको स्वास्थ्य कमजोर हुँदै जानेछ ।

आहार जीवनशैली मांसाहारी शाकाहारी
डा. जीवन प्रसाईं
लेखक
डा. जीवन प्रसाईं
लेखक तथा अनुसन्धानकर्ता

डा. प्रसाईं हाल संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अलाबामामा कार्यरत छन् ।  उनले मेडिकल एण्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा पीएचडी गरेका छन् । दुई दशकभन्दा बढी समयदेखि जडिबुटी र खाद्यपदार्थको क्षेत्रमा काम गरेका प्रसाईं पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरुको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गरिरहेका छन् । उनी वैज्ञानिक अनुसन्धान केन्द्र नेसनल इन्स्टिच्युट […]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय