+
+

फ्रेन्च क्लबमा साम्बा

नेपालका लागि कीर्तिमानी ४३ गोल गरेकी सावित्रा दक्षिण एसियाकै स्टार फरवार्ड समेत हुन् । नेपालमा महिला फुटबलको घरेलु गतिविधि लगभग शून्यको स्थितिमा रहँदा सावित्रा भने अन्तर्राष्ट्रिय लिगहरुमा छाइरहेकी छन् र उपाधि पनि जितेकी छन् ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० माघ १९ गते १०:३२

१९ माघ, काठमाडौं । नेपाली महिला फुटबलकी स्टार सावित्रा भण्डारी (साम्बा) अब फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । उनलाई फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गरेको हो ।

क्लबले बिहीबार सावित्रालाई अनुबन्ध गरेको जानकारी दिँदै अफिसियल फेसबुक पेजमा भिडियो पनि पोष्ट गरेको छ । त्यसमा सावित्राले पनि फ्रेन्च लिग खेल्न आफू उत्साहित रहेको प्रतिक्रिया दिएकी छन् ।

सावित्रा मेडिकल परीक्षणका लागि सोमबार फ्रान्स प्रस्थान गरेकी थिइन् । मेडिकल पास भएपछि क्लबले अनुबन्ध गरेको खबर सार्वजनिक गरेको होे ।

नेपालका लागि सर्वाधिक गोलकर्ता सावित्राले यसअघि इजरायलको हापोएल रानानाबाट लिग खेल्दै युरोपियन फुटबलको स्वाद लिइसकेकी छन् । इजरायल एसियन राष्ट्र भए पनि त्यहाँको क्लबले युरोपियन लिग खेल्दै आएको छ । अब भने सावित्राले पुरापुर युरोपकै लिग खेल्नेछिन् ।

साविधा अनुबन्ध हुन लागेको क्लब गुइनगाम्प हाल फ्रान्सको शीर्ष श्रेणीको महिला लिग डिभिजन वान फेमिनाइनमा १२ खेलबाट ८ अंकसहित दशौं स्थानमा छ । लिगमा कूल १२ टोलीले खेलिरहेका छन् ।

नेपालका लागि कीर्तिमानी ४३ गोल गरेकी सावित्रा दक्षिण एसियाकै स्टार फरवार्ड समेत हुन् । नेपालमा महिला फुटबलको घरेलु गतिविधि लगभग शून्यको स्थितिमा रहँदा सावित्रा भने अन्तर्राष्ट्रिय लिगहरुमा छाइरहेकी छन् र उपाधि पनि जितेकी छन् ।

इजरायलको लिग खेल्दै युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी सावित्रा प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्वका कारण लिग रोकिँदा बीचमै नेपाल फर्केकी थिइन् । झण्डै चार महिनाको अन्तरालमा उनले अर्को उडान भर्दैछिन् ।

सावित्राको ‘टर्निङ प्वाइन्ट’

विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्ने सावित्राले युरोपियन लिग खेल्नुअघि छिमेकी भारतको लिग खेल्दै लगातार तीन पटक लिग उपाधि जितेकी थिइन् । उनले सन् २०१८/१९ को सिजन सेथु एफसीबाट खेल्दै भारतीय महिला लिग जितेकी थिइन् । त्यसपछि उनले अर्को सिजन गोकुलम केरलाबाट खेल्दै उपाधि जितिन् ।

२०२२/२३ मा गोकुलमबाटै खेल्दै उपाधि जितेर उनले भारतीय लिगमा उपाधिमाथि ह्याट्रिक नै गरिन् । त्यस सिजन उनले २९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी थिइन् । उनले भारतीय महिला लिगमा सर्वाधिक ५९ गोल गरिसकेकी छन् ।

भारतीय लिगमा राम्रो प्रदर्शन गरेपछि नै उनीमाथि युरोपियन क्लबहरुको नजर परेको थियो । नेपाली पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस मार्फत उनी इजरायलको हापोएल रानानामा अनुबन्ध भएकी थिइन् । त्यो नै उनको लागि महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ बन्यो । अहिले उनी फ्रेन्च लिगमा पुगेकी छन् । त्यहाँ पनि राम्रो प्रदर्शन गरेमा सावित्राले नेपाली फुटबललाई नै अन्तर्राष्ट्रिय स्तरमा चिनाउनेछिन् ।

गत असारमा इजरायलको क्लबमा अनुबन्ध भएपछि सावित्राले त्यो युरोपियन क्लबको सुरुवाती यात्रा भएको बताएकी थिइन् । एक वर्ष पनि नबित्दै सावित्राले अर्को छलाङ मारिसकेकी छन् ।

एक दशकमै छलाङ

कुनै समय चोटका कारण झण्डै एक वर्ष नै मैदान बाहिर बस्नुपरेको पीडा समेत सावित्राले अनुभव गरिसकेकी छन् । तर उनी कुनै पनि कुरा असम्भव छैन भन्ने सोचेर अघि बढ्छिन् र त्यसैको नतिजा पनि हात पार्दैछिन् । फुटबल खेल्न थालेको एक दशकमा सावित्राले यी सबै उपब्धिहरु आत्मसाथ गरेकी हुन् ।

लमजुङको सिम्पानीकी सावित्राले सुरुमा राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्समा प्रतिस्पर्धा गरेकी थिइन् । तर २०७० सालमा घलेगाउँमा भएको एउटा फुटबल प्रतियोगिताले उनको करियरमा फरक ल्यायो । त्यहाँ एन्फाका सहायक रेफ्री शुक्र तामाङ पनि पुगेका थिए र त्यस प्रतियोगितामा सावित्राको प्रदर्शन देखेर उनै शुक्रले सावित्रालाई एपीएफ सम्मको यात्रा तय गराइदिए । त्यसपछि बाँकी जे भयो त्यो इतिहास बनिसकेको छ ।

२०७१ सालमा सावित्रा एपीएफ क्लबमा अनुबन्ध भइन् । अर्को वर्षदेखि उनी त्यही जागिरे भइन् । अनि फुटबलबाट देशको नाम चर्चित बनाउन लागिपरिन् । त्यसपछि उनी राष्ट्रिय टिममा पर्दै सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा खेल्न गइन् । त्यहाँ उनले भुटान विरुद्ध पहिलो खेलमै वैकल्पिक खेलाडीको रुपमा डेब्यु गर्दै देशका लागि पहिलो गोल गरेकी थिइन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?