+
+

फेसबुक पार्टी भनी उडाइएको अभियानले पाकिस्तानमा ल्याइरहेको हलचल

मैदानमा खडा गरिएका नयाँ उम्मेदवार र इमरानले जेलभित्रैबाट चलाएको अभियानले चुनावकै नक्सा बदल्यो । इमरान खान समर्थक युवाले हाँकेको सामाजिक सञ्जालका सामु नवाज शरिफ रक्षात्मक बन्न पुगे ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १७:०९

२६ माघ काठमाडौं । चुनाव अनेकन् सम्भावनाहरुको खेल हो भन्ने कथनलाई पाकिस्तानमा जारी मतगणनाले पुनर्पुष्टि गर्दैछ ।

लामो समय विदेश बसी फर्केका नवाज शरिफ अनि हाल जेलमा रहेका इमरान खानको व्यक्तित्व परीक्षण पनि यो चुनावमा भइरहेको छ ।

पाकिस्तानको निर्वाचनमा इमरान खानको दल तेहरिक ए इन्साफ (पीटीआई) ले सैन्य सत्ता समर्थित दल पाकिस्तान मुस्लिम लिग पीएमएल (एन) लाई कडा चुनौती दिइरहेको छ । जारी मत गणनामा उसले नवाज शरिफको दललाई कडा चुनौती दिइरहेको हो ।

सार्वजनिक परिणाम अनुसार पीएमएल (एन) ले ४३ सिट ल्याउँदा इमरान खानको पार्टी पीटीआई समर्थित उम्मेदवारले ५५ सिट ल्याएको अलजजिराले देखाएको छ ।

पीटीआईका अधिकांश नेता जेलभित्रै रहँदा यो परिणाम कसरी सम्भव भयो त ?

सैन्य सत्ताको दमनका बाबजुद पीटीआईले कसरी कडा चुनौती दिनसक्यो ?

पहिले चर्चा गरौं इमरान लगायत अधिकांश शीर्षस्थ नेता जेलभित्रै रहँदा पनि पार्टीका उम्मेदवारले उत्साहजनक परिणाम ल्याउन कसरी सके भन्नेबारे ।

पाकिस्तानमा मे ९ मा इमरान खानका समर्थकहरुले उनलाई प्रधानमन्त्रीबाट षड्यन्त्रपूर्वक हटाउँदै गिरफ्तार गरिएको भन्दै बृहत् प्रदर्शन गरेका थिए । त्यसबखत खानका समर्थकहरुले पहिलोपटक सैनिक हेडक्वाटरमा समेत आक्रमण गरेका थिए । त्यसपछि खान समर्थित ११ हजार कार्यकर्तालाई सैन्य सत्ताले गिरफ्तार गरेको थियो ।

त्यस पार्टीका प्रभावशाली नेताहरुलाई समेत गिरफ्तार गर्ने तयारी भएपछि धेरैले हिरासतबाट बच्नका निम्ति राजीनामा नै दिएका थिए । प्रधानमन्त्रीबाट हटाइएदेखि गिरफ्तार पर्दाका बखतसम्म खानले पाकिस्तानमा निर्वाचनको माग राख्दै आए ।

पाकिस्तानमा सन् २०२२ नोभेम्बरमै चुनावको तयारी भए पनि निर्वाचन आयोगले प्रक्रिया पूरा गर्न समय लाग्ने बताएपछि पटक पटक सरेको थियो । अन्तत: हिजो फेब्रुअरी ८ मा चुनाव भयो ।

फेब्रुअरी ८ को चुनाव पनि पीटीआईका निम्ति कम्ता सकसपूर्ण भएन । पीटीआईका प्रमुख गोहार खान हिरासतभित्रै थिए । उनलाई चुनावमा उठ्न समेत प्रतिबन्ध थियो । दल दर्ताको समय आउँदै गर्दा खानको दलको चुनाव चिन्ह ब्याट खोसियो । अर्कोतर्फ प्रभावशाली नेताहरु जेलमा रहेको र केहीले राजीनामा दिएका कारण परीक्षण नै नभएका धेरै उम्मेदवारलाई मैदानमा पठाउन पीटीआई विवश थियो ।

प्रारम्भिक मत परिणामले खानको दल पनि उत्साहित भएको छ । उसले हार स्वीकार गर्न नवाज शरिफलाई चुनौती दिएको छ । पीटीआईको आधिकारिक एक्स ह्याण्डलमा लेखिएको छ, ‘दिउँसै लुट मच्चाउने प्रवृत्तिलाई अब पाकिस्तानी जनताले स्वीकार गर्नेछैनन् । हार मान्दै पाकिस्तानी जनताले तिमीलाई स्वीकार नगर्नेमा विश्वास गर ।’

चुनावी मैदानमा खडा गरिएका नयाँ अनुहार र खानले जेलभित्रैबाटै चलाएको चुनावी अभियान उनका लागि फाइदाजनक भएको विश्लेषक माइकल कल्गम्यानले बीबीसीसँग बताएका छन् । ‘अधिकांश नेतालाई जेलभित्रै राखिएको थियो । पीटीआईले हार्ने निश्चित रहेकाले मतदान गरेर नि के फाइदा पुग्ला त भन्ने मनसायमा थिए, तर खानको दलले नयाँ उम्मेदवार उठाएपछि र सामाजिक सञ्जालको उच्चतम उपयोग गरेपछि नतिजाले पीटीआई र त्यसका समर्थक उत्साहित छन् ।’

पीटीआईले सामाजिक सञ्जालको प्रयोग कसरी गरेको थियो ?

पीटीआईका समर्थकहरु युवा नै थिए । ३१ प्रतिशत नागरिकको हातमा स्मार्ट फोन रहेकाले सामाजिक सञ्जालबाटै पार्टीको चुनावी प्रचार गर्ने निधोमा पीटीआई पुग्यो । पीटीआई स्वयंको सामाजिक सञ्जालमा मजबुत उपस्थिति छ । पीपीपी, पीएमएल एनको तुलनामा पीटीआईलाई पछ्याउनेहरु लाखौंले बढी छन् । तीन प्रमुख दलमध्ये एक्स, इन्स्टा र टिकटकमा एकाउन्ट भएका खान मात्रै एक पात्र हुन् । त्यसैले खानको दललाई सैन्य सत्ताले फेसबुक पार्टी भन्दै उडाएको थियो ।

चुनाव चिन्ह सैन्य सत्ताले खोसेपछि हरेक निर्वाचन क्षेत्रमा पीटीआई समर्थित उम्मेदवार र त्यसको चुनाव चिह्न पहिचानका लागि वेबसाइट नै तयार गरिएको थियो । त्यस्तै मतदातालाई आकर्षित गर्नका निम्ति चुनावी गीत र टिकटकमा चुनावी चिह्नका प्रहारका साथै मतदाता शिक्षा पनि पीटीआईले डिजिटल माध्यमबाटै सञ्चालन गर्‍यो ।

एआईको प्रयोगमार्फत डिसेम्बरमा चुनावी र्‍यालीका निम्ति समेत खानको सम्बोधन आएको थियो । राजनीतिक विश्लेषक सलिम मन्सुरले भनेका छन्, ‘सामाजिक सञ्जालको तागतलाई नजरअन्दाज गर्दै सैन्य सत्ताले खानको दललाई फेसबुक पार्टी भन्यो । फेसबुक र सामाजिक सञ्जालकै अभियानबाट उसले मतदातालाई रिझायो ।’

दमनको आक्रोश सैन्य सत्तातर्फ

मतदाताहरुले सैन्य दमनको आक्रोश सैन्य सत्तातर्फ नै पोखेको विश्लेषण पनि भइरहेको छ । अर्कोतर्फ सैन्य सत्ता समर्थित उम्मेदवार नवाज शरिफले मतदाताका एजेण्डा बेवास्ता गर्दा र विलासी चुनावी प्रचार शैली पछ्याउनाले पनि यस्तो नतिजा आएको पीएमएल एनकै समर्थकहरुले द डनसँग बताएका छन् ।

आफ्नो मतको सम्मान सरिफले नगरेकोमा धेरै मतदाता उनीसँग आक्रोशित रहेको पनि पाइएको छ । ‘हामीले उनको कार्यकालबाट पाकिस्तानको आर्थिक सुधार चाहेका थियौं तर हाम्रो मतको समेत सम्मान नगरी उनी स्वनिर्वासनमा गए । चुनावी प्रचारमा आउँदा हेलिकप्टरमा आउँछन्’ एक समर्थकको भनाइ उद्धृत गर्दै द डनले लेखेको छ ।

सैन्य सत्ताले दर्जनौं मुद्दा लगाएर खानलाई जेल चलान गरेको थियो । पीटीआईका उम्मेदवारहरुमाथि समेत उम्मेदवारीका क्रममा धरपकड भएका थिए ।

‘सैन्य सत्ताले हाम्रो पार्टीलाई टुक्रा टुक्रा बनाउन खोजिरहेको छ तर यो नै हामी बलियो छौं र फेरि उदाउन सक्छौं भनेर देखाउने बेला हो’ जेलभित्रबाटै खानको समर्थकहरुलाई सन्देश थियो ।

लोकप्रिय नेतालाई प्रतिशोधपूर्ण ढंगबाट जेल चलान गर्ने र समर्थकहरुलाई समेत धरपकड र दमन गर्ने सैन्य सत्ताको कदमको जवाफ मतदान मार्फत जनताले दिएको रुपमा पनि प्रारम्भिक परिणामलाई अर्थ्याइएको छ ।

यसले के संकेत गर्छ ?

निर्वाचन परिणामले खानप्रति मतदाताको भरोसा नटुटेको संकेत गर्छ । खानमाथि दर्जनौं अनियमितताका उजुरी प्रतिशोधपूर्ण रहेकोमा मतदाता विश्वस्त रहेको परिणामले देखाएको छ । मिश्रित मतपरिणामले कसैको पनि एकल बहुमत नआउने संकेत देखाएको विश्लेषकहरुले बताएका छन् ।

यसले गर्दा पाकिस्तान अघि रहेका तमाम आर्थिक चुनौती सामनाका लागि कठिनाइ हुने राजनीतिक विश्लेषक अब्बास नसिरले अलजजिरा समक्ष बताएका छन् । ‘यो निर्वाचन परिणामले गठबन्धन सरकार बन्ने देखाएको छ । सैन्य समर्थन प्राप्त गर्नेले सरकारको नेतृत्व गर्ने देखिन्छ । यस्तो अवस्थामा गहिरो आर्थिक संकटको चुस्त व्यवस्थापनमा असर पुग्नेनै छ’ अलजजिरासँग उनले भनेका छन् ।

पाकिस्तानमा हाल निर्वाचन परिणाम सुनाउनका लागि निकै ढिलाइ भइरहेको छ । यसले मतदाताहरुमा आक्रोश समेत उब्जिएको छ । कतिपय ठाउँमा प्रदर्शन हुँदा खान समर्थकहरु गिरफ्तारमा परेका छन् ।

पीटीआईका उम्मेदवारलाई पराजित गर्नका निम्ति सैन्य सत्ताबाट अझै जालझेल भइरहेको आरोप समर्थकहरुले लगाएका छन् । निर्वाचन परिणामले गठबन्धन सरकार बन्ने देखाए पनि सरकारको नेतृत्व गर्दै कसले आर्थिक समस्याबाट पार लगाउला पाकिस्तानी जनता प्रतीक्षामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?