+
+

बिरामीको मर्म बुझेर उपचार गर्ने डाक्टर मधु

डा. मधु श्रेष्ठको सरलताभित्र आदर्श र इमान्दारिता छ । उनी बिरामीको उपचार मात्रै गर्दिनन्, बिरामीको मर्म पनि बुझ्छिन् । प्रसूतिमा आएका गरिब, विपन्नलाई आफैं भेट्छिन् । बिरामीको अवस्थाको चित्रण गर्छिन् । र, साथीहरुसँग पैसा उठाएरै भए पनि निःशुल्क उपचार गराउँछिन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० माघ २८ गते १८:१७

काठमाडौं । आमाको कोखभित्र लुटपुट गरिरहेको शिशुले जब बाहिरी संसार देख्छ डा. मधु श्रेष्ठको अनुभवी आँखा तिनको मुहार नियाल्न थाल्छन् । यो विशेष क्षणले उनलाई उच्चतम सुखानुभूति गराउँछ ।

डा. मधुले आफ्नो उपचार दौरानमा हजारौं महिलाको सुत्केरी गराइसकेकी छन् । उनले सुत्केरी गराएका कैयौंका नाति-नातिनी, पनाति-पनातिनी पनि भइसकेका छन् । ‘यस दौरान कहिले तरूनी भइयो, कहिले बुढी भइयो थाहा नै पाइएन,’ वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. श्रेष्ठ भन्छिन् ।

बिरामी रोग निको हुने आशा बोकेर जब अस्पतालमा पुग्छन्, हरेक बिरामीलाई लाग्छ चिकित्सकले बढी समय दिउन्, मेरो कुरा सुनिदिउन् । तर अपवादमै भेटिन्छन् यस्ता चिकित्सक ।

चिकित्सकको मुस्कानले बिरामीको आधा पीडा घट्छ । तर नेपालमा अझै पनि चिकित्सक र बिरामीबीच सुमधुर सम्बन्धको खासै विकास भएको छैन । डा. मधुले जीवनमा सिकेको एक मूलमन्त्र हो- बिरामीसँग गर्ने व्यवहार । रसियामा एमबीबीएस अध्ययन क्रममा बिरामीसँग सामीप्यता कसरी बढाउने, कसरी बोल्ने र कसरी बिरामीको ‘हिस्ट्री’ लिने सिक्ने अवसर पाइन् । त्यही कुरा उनले आफ्नो जीवनमा उतार्ने कोसिस गरिन् ।

‘बिरामीले चिकित्सकलाई समेत खुलेर आफ्ना कुरा राख्न सक्दैनन् । पहिला उनीहरुको मनोविज्ञान बुझ्नुपर्छ । पर्याप्त समेत दिएर कुरा गर्न सके मात्रै उनीहरुको समस्या पत्ता लगाउन सकिन्छ,’ उनी भन्छिन् ।

डा. मधु गरिब-निमुखाकै उपचारमा खटिनुपर्छ भन्ने दृढता राखिन्छन् । उनमा न अब्बलताको रवाफ छ, न दम्भ । मिजासिली स्वभावकी डा. मधु हरेक बिरामीलाई उपचार गर्दा बिरामीकै नजरबाट आफूलाई हेर्ने कोसिस गर्छिन् । बिरामीको समस्यालाई नजिकबाट हेर्छिन् र रोगको निदान गर्ने प्रयासमा लाग्छिन् । बिरामीलाई रोगबारे बुझाउँछिन् । कुन औषधि खाँदै हुनुहुन्छ, किन औषधि खानुपर्‍यो लगायतका कुरा सरल भाषामा बुझाउँछिन् ।

‘बिरामीलाई बुझाउन सरल भाषाको प्रयोग गर्नुपर्छ । बिरामी जब सन्तुष्ट हुन्छन् । अनि मात्रै आफ्नो धर्म निर्वाह गरेको आत्मबोध हुन्छ,’ डा. मधु भन्छिन् ।

उनको सरलताभित्र आदर्श र इमान्दारिता छ । उनी बिरामीको उपचार मात्रै गर्दिनन्, बिरामीको मर्म पनि बुझ्छिन् । प्रसूतिमा आएका गरिब, विपन्नलाई आफैं भेट्छिन् । बिरामीको अवस्थाको चित्रण गर्छिन् । र, साथीहरुसँग पैसा उठाएरै भए पनि निःशुल्क उपचार गराउँछिन् ।

सकेसम्म बिरामीलाई गुणस्तरीय सेवा दिन तल्लीन हुन्छिन् । भएका पूर्वाधारको भरपुर सदुपयोग गर्दै एकदमै गुणस्तरीय सेवा कसरी दिने भन्नेमै उनको ध्यान केन्द्रित हुन्छ । उनी धनी र गरिबले एउटै किसिमको स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मान्यता राख्छिन् ।

‘मैले ३० वर्षअघि रसियामा सिकेको कुरा अहिले नेपालमा हल्का–हल्का रुपमा देखेको छु । चिकित्सक र बिरामीले एकअर्कोलाई गर्ने व्यवहार नै राम्रो छैन,’ डा. मधु भन्छिन् ।

साथीको खिसीट्युरीले अब्बल डाक्टर बनिन्

काठमाडौंको नरदेवीमा जन्मिएकी डा. श्रेष्ठले कान्ति ईश्वरी माध्यमिक विद्यालयबाट एसएलसी पास गरिन् भने त्रिचन्द्र कलेजबाट आईएस्सी । घरपरिवार सम्पन्न भएकाले पनि अध्ययन गर्न आर्थिक समस्या थिएन ।

भारतलगायत एसियाली मुलुकमा दैनिकजसो बलात्कार, सम्पत्तिको निहुँमा श्रीमतीलाई आगो लगाएको समाचार आइरहन्थ्यो । यस्ता घटनाले उनको मानसपलमा नराम्रो छाप बस्यो, जसकारण एमबीबीएसको अध्ययन युरोपकै मुलुकबाट गर्ने योजना बनाइन् । घरको आर्थिक अवस्थाले धान्ने भएका कारण उनले रसिया रोजिन् ।

रसिया उनका लागि नौलो थियो । उनले त्यसलाई समस्याका रूपमा नभई अवसरका रूपमा लिइन् । जीवनकै एक दुर्लभ सौभाग्य ठानिन् र अध्ययन गर्न थालिन् । एक वर्षसम्म उनलाई भाषाको निकै समस्या भयो । केही कुरा गर्दा ईशाराबाट गर्नुपर्थ्यो । बजारमा सामान किन्नसमेत गाह्रो परेको थियो ।

उनले सात वर्ष रसियामा बिताइन् । २०४७ सालमा सरकारी छात्रवृत्तिमा ‘रसियन कल्चर सेन्टर’बाट एमबीबीएस अध्ययन पनि पूरा गरिन् । जब रसियाबाट एमबीबीएस सकेर नेपाल फर्किन्, साथीहरूले खिसीट्युरी गर्न थाले । रसियाबाट पढेर आएको तिमीलाई के नै आउँछ र ? यहाँ तिमीले जागिर खान सक्छौं र ? यस्तै प्रश्नको सामना डा. श्रेष्ठले गर्नुपर्‍यो ।

रसियामा आफ्नै किसिमको मेडिसिन हुन्छ । अन्य देशभन्दा फरक किसिमको तौरतरिका अपनाइन्छ । रोग फरक छ । त्यही अनुसारको पठनपाठन हुन्छ । त्यसबेला उनलाई पेशा नै परिवर्तन गरौं भन्ने पनि नलागेको होइन । व्यापार गर्ने कि भन्ने मनमा उब्जिएको पनि थियो । तर आफैंले लगानी गर्न पुँजी थिएन । २०४८ सालमा तत्कालीन पूर्वाञ्चल क्षेत्रीय अस्पतालमा करारबाट जागिर सुरू गरिन् । ‘साथीले काम गर्न सक्दिनौं’ भनेको शब्द उनले मनमा गढेको थियो ।

अब्बल बनेर देखाउने ‘ईख’ले रातदिन आकस्मिक कक्षमा काम गर्न थालिन् । तर रसियामा पढेको र नेपालमा हुने स्वास्थ्य सेवा एकदमै फरक थियो ।

‘रसियामा चिकेन फंक्स (ठेउला) भनेको देखेको थिइनँ । नेपालमा पहिलो पटक देख्दा अलमल्ल परें,’ उनी सुनाउँछिन्, ‘त्यहाँ नसर्ने रोगको बारेमा पढियो तर नेपालमा सरुवा रोगको उपचार गर्नुपर्ने ।’

उनलाई लाग्यो ‘केही बनेर देखाउनु छ भने थप मेहनत गर्नैपर्छ ।’ नेपालमा भएका रोगबारे अध्ययन गर्न थालिन् ।

अस्पतालमा भखरै बेलायतबाट चिकित्सक आएका थिए । उनले ती चिकित्सकबाट थप सिक्ने अवसर पाइन् । उनको त्यो इमान्दारिता र लगनशीलतालाई देखेर ती चिकित्सकले बेलायतमा थप अध्ययनका लागि सिफारिस समेत गरेका थिए ।

तर केही वर्ष अझै नेपालमा काम गर्ने इच्छाले लोकसेवाबाट सरकारी २०४९ सालमा जागिरमा प्रवेश गर्ने अठोट गरिन् । जब लोकसेवाको नतिजा प्रकाशित भयो उनी दंग परिन् । हेप्ने गरेको साथीभन्दा सातौं स्थान अगाडिमा निस्कियो । ‘त्यो साथीको २० औं नम्बरमा नाम निस्किंदा मेरो १३ औं स्थानमा निस्कियो । अनि त त्यसपछि साथीको बोली नै बन्द भयो,’ उनी भन्छिन्, ‘ईखले मान्छेलाई सफल बनाउने रहेछ ।’

करिब थप सात महिना पूर्वाञ्चल क्षेत्रीय अस्पतालमा बिताइन् । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सरुवा भइन् तर त्यहाँ काम नै नहुने, दिनभर सुतेर बिताउनुपर्ने भयो । चञ्चल स्वभावकी डा. श्रेष्ठले परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सरुवा मागिन् ।

त्यहाँ पनि डाक्टर-डाक्टरबीच हुने गरेको द्वन्द्व देखिन् । एकले अर्काको कुरा काट्ने गरेको सुनिन् । अस्पतालमा काम गर्ने वातावरण राम्रो नलाएपछि उनी इन्टरनल मेडिसिन (ग्यास्ट्रो) अध्ययन गर्न बंगलादेश गइन् । तर घरमा आमा बिरामी भएसँगै ६ महिनामै नेपाल फर्किनुपर्‍यो ।

जब फेल भइन्….

डा. श्रेष्ठलाई इन्टरनल मेडिसिनको अध्ययनमा तीव्र लगाव थियो । त्यसबेला त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षाको स्नातकोत्तर (पीजी तह) भर्ना खुलेको थियो । तर फर्म भर्दा दुईवटा विषय छान्नुपर्ने हुन्थ्यो । उनले इन्टरनल मेडिसिन र गाइनोकोलोजी लगाइन् । तर विडम्बना रोजाइभन्दा छनोटमा परेको गाइनोमा नाम निस्कियो ।

उनका लागि गाइनो विषय ‘फलामको चिउरा’ चपाएभन्दा कम थिएन । ‘रुचिभन्दा बाहिरको विषय पढ्न गाह्रो भयो । त्यसबेला बेकारमा पढेछु जस्तो लाग्यो । बीचमै पढाइ छोडौं जस्तो लागेको थियो,’ उनी ती दिन स्मरण गर्छिन् ।

पहिलो वर्षको परीक्षामा त उनी फेल नै भइन् । सँगै पढ्ने साथीले गिज्याउन छाडेनन् । तर त्यसबेला उनले पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्माको साथ पाइन् । उनको काम गर्ने तौरतरिका र सेवा गर्ने भावले बिस्तारै डा. श्रेष्ठलाई छुन थालिसकेको थियो । उनले अठोट गरिन्, ‘स्त्रीरोग विशेषज्ञ जसरी पनि बन्छु ।’

समय यसरी पल्टियो, गाइनो सर्जरीमा उनी एक अब्बल बनेर निस्किइन् । ‘हिजोका दिनमा सर्जरी आउँदैन भनेर हेप्ने साथीले अप्रेसन गर्न लागेको छु, तिम्रो साथ चाहिन्छ भन्ने गर्थे,’ उनी सुनाउँछिन् ।

सरकारको छात्रवृत्तिमा सिटमा अध्ययन गरेपछि दुई वर्ष सरकारले दुर्गम ठाँउ खटाउने गर्थ्यो । त्यसका लागि उनले काभ्रेको सुनथान प्राथमिक स्वास्थ्य केन्द्र रोजिन् । त्यहाँ काम गर्दा उनले गाउँका गरिबका थुप्रै पीडा देखिन् । क्षयरोग, घाउ, चोटपटक लागेका बिरामी आउँथे । सर्जरी गर्नुपर्ने बिरामी आउँदा  काठमाडौं रेफर गर्नुको विकल्प थिएन । त्यसपछि परोपकार प्रसूतिमा पुनः जोडिइन् । यस अवधिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट युरो गाइनोमा फेलोसिप गरिन् । प्रसूतिमा काम गर्दै जाँदा सहप्राध्यापक हुँदै प्राध्यापक भइन् ।

अहो ! कस्तो पीडा 

प्रसूति गृहमा काम गर्दा वर्षैपिच्छे गर्भवती भएर आउने महिलाहरु धेरै देखिन् । अस्पताल आइपुग्दा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्थ्यो । जन्मिन नसकेर शिशुले गर्भमै मृत्युवरण गरिरहेका हुन्थे ।

देखिन्, भोगिन् र धेरै सुनिन् प्रसव वेदना पीडा । जसले उनको मन बेचैन हुन्थ्यो । कलिलै उमेरमा आङ खसेर (पाठेघर) अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्थे । अधिकांशले चुरा वा कपडा पोको बनाएर समेत योनीभित्र राखेका हुन्थे ।

‘कतिपयले समस्याको बारेमा खुलेर भन्न लाज मान्थे । कतिपय उपचार खर्च होला भनेर रोग लुकाएर बस्थे,’ डा. श्रेष्ठ भन्छिन्, ‘तर पहिलाको तुलनामा केही कमी भए पनि अझै पनि समाजमा महिला खुलेर बोल्न सकेका हुँदैनन् ।’

जीवनको यस कालखण्डमा पनि यति सक्रिय भएर लाग्नु आफैंमा अनुकरणीय छ । सरकारी जागिरबाट २०७७ साल पुसदेखि अवकाश भइसकेकी छन् । ६० वर्ष पुगेर सरकारले पो विश्राम दियो, उनको सीप, ज्ञान र क्षमताले विश्राम लिएको छैन । त्यसैले प्रसूति गृहमा करारमा सेवा गरिरहेकी छन् ।

उनी स्नातकोत्तर तहका विद्यार्थी पनि पढाउँछिन् । साताको दुई दिन शल्यक्रिया, दुई दिन ओपीडीमा बिरामी पनि हेर्छिन् । आफूलाई सक्रिय राख्न सबै कुराको ज्ञान हुनु आवश्यक भएको उनी बताउँछिन् । इन्टरनेटमा उपलब्ध लेख, रचना, विद्यार्थीले गरेका अध्ययन र अनुसन्धानका आधारमा उनी अपडेट हुन्छिन् । कतिपय बिरामी अन्यत्र उपचार सम्भव नभएपछि मात्र उनीकहाँ जँचाउन आइपुग्छन् ।

डा. श्रेष्ठलाई असफलताले नै सफलताको बाटो डोर्‍यायो । जीवनले धेरै कुरा सिकायो । मानिसलाई स्वास्थ्यप्रति सचेत रहन पनि सिकायो । समाजको मनोविज्ञान बुझायो । प्रसूति गृहमा उनले २० वर्ष सेवा गरिन्, तर उनलाई निजी अस्पतालको मोहले कहिल्यै छोएन ।

‘धनीहरूले त ठूला अस्पताल रोज्छन् । प्रसूति गृहमा सबै किसिमका बिरामी आउँछन् । र, ती एकदमै जरुरी सेवा चाहिने खालका हुन्छन्,’ उनको दृढ संकल्प छ, ‘जहिलेसम्म सक्छु सरकारीमा रमाउन चाहन्छु ।’

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?