+

शरीरमा कसरी पैदा हुन्छ लभ हार्मोन ‘अक्सिटोसिन’ ?

२०८० फागुन  ३ गते १४:४१ २०८० फागुन ३ गते १४:४१
शरीरमा कसरी पैदा हुन्छ लभ हार्मोन ‘अक्सिटोसिन’ ?

हामी किन कसैप्रति आकर्षित हुन्छौं ? किन हामीलाई कोही मनपर्छ ? किन माया लाग्छ ? झट्ट बुझ्दा त यो भावनात्मक स्थिति हो । तर हाम्रो भावलाई पनि नियन्त्रण गर्ने शरीरभित्र रसायन हुन्छन् । माया, प्रेम, स्नेह वा सुखको अनुभूत गराउन पनि एक किसिमको रसायनले काम गरिरहेको हुन्छ ।

उक्त हार्मोन हो, अक्सिटोसिन । यो हार्मोन महिला र पुरुषको शरीरमा समान मात्रामा उत्पादन हुन्छ । यसले मिर्गौला, स्तन, पाठेघर, प्रोटेस्ट आदिलाई मात्र प्रभाव पारिरहेको हुँदैन, हाम्रो मनोवैज्ञानिक अवस्थालाई पनि नियन्त्रण गरिरहेको हुन्छ ।

आमा र बच्चाबीच जुन प्रेमिल सम्बन्ध हुन्छ, त्यो अक्सिटोसिन हार्मोनकै कारण हुन्छ । प्रेमी-प्रेमिकालाई एकअर्कामा आकर्षित गराख्न अक्सिटोसिनले भूमिका खेलेको हुन्छ । त्यससँगै तनाव हटाउन, मदिराको लत छुटाउन, डिप्रेसनबाट मुक्त हुन पनि यो हार्मोनले खास काम गर्छ ।

के हो अक्सिटोसिन हर्मोन ?

अक्सिटोसिन हार्मोनको बारेमा जान्न पहिले पिट्युटरी ग्रन्थी बुझ्नुपर्छ । हाम्रो शरीरमा हुने अनगिन्ती ग्रन्थीमध्ये एक हो पिट्युटरी । यसलाई शरीरको ‘मास्टर ग्ल्यान्ड अफ ह्युमन बडी’ पनि भनिन्छ ।

यो ग्रन्थीको आकार चामलको गेडा जत्रो हुन्छ । र, दिमागको बीच भागमा हुन्छ । यसले शरीरलाई जरुरी मुख्य नौवटा हार्मोन उत्पादन गर्छ । साथै शरीरको विभिन्न भागमा पुर्‍याउने काम पनि गर्छ । पिट्युटरी ग्रन्थीमा तीन भाग हुन्छ । अगाडिको भागबाट ६ वटा, पछाडिको भागबाट दुईवटा र बीचको भागबाट एउटा हार्मोन उत्पादन हुन्छ ।

यी हार्मोनले मूलत: महिलाको प्रजनन् प्रणालीका लागि खास भूमिका खेल्छ । त्यस्तै पुरुषहरुमा यसले पुरुषहरुमा टेस्टोस्टेरोन हार्मोन उत्पादन गर्ने क्षमतालाई सुधार गर्छ । हाम्रो चिन्ता र तनाव हटाउन पनि यो हार्मोनले काम गर्छ । त्यसो त डोपामाइन र सेरोटोनिन नामक हार्मोनले पनि हामीलाई खुसी राख्नका लागि उत्तिकै भूमिका खेल्छ ।

कसरी बन्छ अक्सिटोसिन हर्मोन ?

शरीरमा अक्सिटोसिन हार्मोन उत्पादनका लागि निम्न कारणले उत्तेजित पार्न सक्छ । बच्चालाई स्तनपान गराउँदा, माया गर्दा, अँगालो हाल्दा, चुम्बन गर्दा, शारीरिक सम्बन्ध बनाउँदा अक्सिटोसिन हार्मोन उत्पादन हुन्छ ।

यो हार्मोनले विश्वास बढाउने, सुखानूभूति दिने, सम्बन्ध बढाउने काम गर्छ ।

पिट्युटरी ग्रन्थीले जब अक्सिटोसिन हार्मोन रिलिज गर्छ, तब सम्बन्धित अंगमा सकारात्मक प्रतिक्रिया देखाउन सक्रिय हुन्छ । उदाहरणको लागि एउटी आमाले बच्चालाई स्तनपान गराउँछिन् । बच्चाको ओठले निप्पलमा स्पर्श गर्दा शरीरका स्नायुहरु उत्तेजित हुन्छन् । यतिबेला पिट्युटरी ग्रन्थीले अक्सिटोसिन हार्मोन उत्पादन गर्छ । जब बच्चाले दूध चुस्न बन्द गर्छ, उक्त हार्मोन पनि उत्पादन हुन छाड्छ ।

अक्सिटोसिनको उपयोग

अक्सिटोसिनको प्रयोग एनालग वा सिन्थेटिक औषधि बनाउन पनि प्रयोग गरिन्छ । यसबाहेक अक्सिटोसिन हर्मोन नसामा दिने (इन्ट्राभस्कुलर इन्जेक्सन) वा आन्तरिक स्प्रेका माध्यमबाट वा मासुमा दिने गरिन्छ । यसबाहेक यसलाई गिजाबाट सोसिने गरी सुर्ती च्यापे जस्तै पनि राख्ने गरिन्छ । यसका अन्य उपयोग पनि छन् ।

गर्भपतन भएपछि पनि कतिपय अवस्थामा चिकित्सकले पाठेघर सफा गर्नुपर्ने हुन्छ । तर कहिलेकाहीं कुनै कारणले पाठेघरमा केही अवशेष रहन सक्छ, जसकारण ब्याक्टेरिया बढ्न थाल्छ र गम्भीर संक्रमणमा परिणत हुन्छन् । यस्तो अवस्थामा अक्सिटोसिन पाठेघरको पूर्ण सरसफाइका लागि निकै उपयोगी हुन्छ । गर्भावस्थाको संकुचन बढाएर, यसलाई सफा गर्न धेरै सहयोगी हुनसक्छ ।

प्रसवोत्तर महिलामा कहिलेकाहीं स्तन गानिने समस्या हुन्छ । स्तनबाट दूध राम्ररी निस्कन नसक्दा स्तनमा कडा दुखाइ र सुन्निने समस्या हुन्छ । यस्तो दुखाइ कम गर्न र गानिएका दूध निखार्न पनि इन्ट्रानाजल अक्सिटोसिन (नाकभित्र स्प्रेका रुपमा छर्केर) दिइन्छ ।

त्यस्तै सुत्केरीपछि महिलालाई अक्सिटोसिन इन्जेक्सन दिइन्छ, जसले रक्तश्राव नियन्त्रण गर्छ ।

अक्सिटोसिनका साइड इफेक्ट

अक्सिटोसिन स्वास्थ्यका लागि धेरै लाभदायक छ । तर यो धेरै मात्रामा (हाई डोज) लिइयो भने निम्न असर देखिन सक्छ । जस्तै गर्भावस्थामा पाठेघरको संकुचनको तीव्रता अनियन्त्रित भयो भने पाठेघर नै फुट्ने सम्भावना बढ्छ ।

सुत्केरीको समयमा अक्सिटोसिन दिंदा यसको साइड इफेक्ट नवजात शिशुमा जन्डिसको रूपमा देखा पर्नसक्छ । जसकारण यसलाई ठिक्क मात्रामा प्रयोग गर्नुपर्छ ।

अक्सिटोसिनका कारण कतिपय बिरामीलाई वाकवाकी लाग्ने वा बान्ता हुन सक्छ । मुटुसँग सम्बन्धित समस्या जस्तै टाउको दुख्ने, मुटुको धड्कन कहिले छिटो कहिले ढिलो हुने हुनसक्छ ।

सुत्केरीको बेला कसैको रगत धेरै बग्यो भने पनि अक्सिटोसिन हार्मोन बन्दैन । मस्तिष्कको ट्युमर र पिट्युटरी ग्रन्थीमा समस्या भएमा अक्सिटोसिन हार्मोन उत्पादन थपघट वा बन्द हुने गर्छ ।

अक्सिटोसिन प्रा.डा. राजीव झा लभ हार्मोन
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय