+
+

चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा   

रासस रासस
२०८० फागुन ८ गते १३:२३

८ फागुन, चौतारा । चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो ।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताए ।

खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ । रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उनले जानकारी दिए ।

भूकम्प र कोरोनापछि खुलेको तातोपानी नाकामा पाँच वर्षदेखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनी अन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो ।

सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ । ठेक्का आर्थिक वर्ष ०७९/८० मा सम्झौता भएको थियो ।

सम्झौताअनुसार सिल्क मार्केटले रासायनिक मल समयमै ल्याउन सकेन । गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताउँछन् । कृषि सामग्री कम्पनी लिमिटेडसँग कुराकानी गरिरहेको र प्रक्रिया पूरा भएपछि मल काठमाडौं लगिने शेर्पा बताउँछन् । मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाउने किसान भने समस्यामा परेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?