+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
कभर स्टोरी :

नेता बन्न आफैं दल खोल्ने कम्युनिस्ट महारोग

निर्वाचन आयोगमा दर्ता भएका ११९ दलमध्ये दुई दर्जन माथि कम्युनिस्ट पार्टी मात्रै छन् । यसमा अध्यक्ष बिरामी हुँदा पार्टी नै थला पर्ने, उपाध्यक्षको नाम अध्यक्षलाई थाहा नहुने र सदस्यमध्ये आधाको भोट पनि नपाउने कम्युनिस्ट पार्टी समेत छन् ।

दिपेश शाही दिपेश शाही
२०८० फागुन ११ गते २०:५९

११ फागुन, काठमाडौं । नेकपा मार्क्सवादी (पुष्पलाल) का अध्यक्ष मानध्वज गुरुङ डेढ महिनादेखि अस्वस्थ छन् । जसका कारण उनको पार्टीले सञ्चालन गरिरहेको प्रशिक्षण दुई महिनादेखि स्थगित छ । कहिले सञ्चो हुन्छ र पार्टीको प्रशिक्षण सुरु हुन्छ भन्ने अध्यक्ष गुरुङलाई पनि थाहा छैन ।

गुरुङ कम्युनिस्ट पार्टीमा लागेको झण्डै पाँच दशक नाघ्यो । उनी अध्यक्ष रहेको यो पार्टीको इतिहास पनि लामै छ । २०२८ सालको झापा विद्रोहपछि बनेका विभिन्न कम्युनिस्ट घटकमध्येकै एक हो, नेकपा मार्क्सवादी । गुरुङ सुरुदेखि नै यही पार्टीमा लाग्दै आएका कम्युनिस्ट कार्यकर्ता हुन् ।

२०४७ सालमा मार्क्सवादी र नेकपा (माले) एकीकरण भएर नेकपा एमाले बन्यो । उनी पनि केही समय एमालेमा बसे । तर, २०४९ सालमा एमालेको पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) कार्यक्रम पारित भएपछि उनी लगायतको समूह असन्तुष्ट बन्यो । असन्तुष्टमध्येका केही एमालेमै बसे, केहीले पुरानै मार्क्सवादी पार्टी पुनर्गठन गरे ।

एकीकरणकै बेला पनि एउटा असन्तुष्ट समूहले नेकपा मार्क्सवादीका नाममा पार्टी सञ्चालन गरिरहेको थियो । त्यसपछि एमालेबाट निस्केकाहरूले प्रभुनारायण चौधरीको नेतृत्वमा नेकपा मार्क्सवादी (पुष्पलाल) बनाए । चौधरीले २०६३ सालमा नेतृत्व छाडेपछि माधव ज्ञवालीले त्यसको नेतृत्व लिए । ज्ञवालीको २०६८ सालमा मृत्यु भयो । त्यस बेलादेखि गुरुङ यो पार्टीका अध्यक्ष छन् ।

गुरुङकै शब्दमा ‘जवानीमा आफ्नो स्वास्थ्यको ख्याल नगरी व्यवस्था बदल्न हिंडेकोले बुढ्यौली लाग्दै गएपछि स्वास्थ्यमा समस्या देखिन थाल्यो । लामो समयदेखि ग्यास्ट्रिकले उनको आन्द्रामा घाउ बनाएको छ ।’ त्यसैले अहिले उनी औषधि खाएर आराम गरिरहेका छन् ।

अध्यक्ष गुरुङको स्वास्थ्य अवस्था जस्तै छ, उनको पार्टीको स्वास्थ्य पनि । ‘जिल्लामा रहेका सम्पर्क कमिटीले कार्यक्रम आयोजना गरिरहन्छन् । बिरामी परेपछि ती सबै रोकिएका छन्’ गुरुङले भने, ‘औषधि खान थालेको डेढ महिना पुग्न लाग्यो । सञ्चो भयो भने यही महिनादेखि प्रशिक्षणलाई निरन्तरता दिने योजना छ ।’

नेकपा मार्क्सवादी (पुष्पलाल) का अध्यक्ष मानध्वज गुरुङ (वायाँ) ।

गुरुङले काठमाडौंमा आफ्नै घरपायक हुने गरी बूढानीलकण्ठमा पार्टीको केन्द्रीय कार्यालय स्थापना गरेका छन् । पार्टीका सदस्यबाट उठाएको लेबी र केन्द्रीयस्तरका नेताहरूबाट उठाउने विशेष लेबीबाट पार्टी सञ्चालन भइरहेको उनको भनाइ छ ।

उनको पार्टीमा ३५ जनाको केन्द्रीय समिति र १५ जनाको पोलिटब्यूरो छ । गुरुङ अध्यक्ष छन् भने दीपक ज्ञवाली महासचिव । यसबाहेक अन्य पदाधिकारी छैनन् । देशभर पार्टी सदस्यता संख्या ६ हजार माथि र ३३ जिल्लामा सम्पर्क समिति रहेको अध्यक्ष गुरुङको दाबी छ ।

तर, अहिलेसम्मका हरेक निर्वाचनमा निरन्तर भाग लिंदै आए पनि यो पार्टीले कहीं पनि प्रतिनिधि जिताउन सकेको छैन । पछिल्लो चुनावमा पार्टीले गैंती चिह्नमा समानुपातिक मत प्राप्त गरे पनि यो कति थियो भन्ने उनलाई पनि थाहा छैन ।

निर्वाचन आयोगको विवरण केलाएर उनले ‘थाहा छैन’ भनेर बाहिर ल्याउन नचाहेको विवरण हामीले फेला पारेका छौं । गएको संघीय निर्वाचनमा उनको पार्टीले पाँचथरमा ८, लमजुङमा ३, गुल्मी–१ मा ५ र डोल्पामा ५१ मत पाएको देखिन्छ । यसरी औसतमा निकाल्दा पनि उनको पार्टीले देशभर २ हजार मत कटाउन सकेको देखिंदैन । यसले देखाउँछ उनको पार्टीको संरचना भनेकै उनी र उनका महासचिव मात्रै हुन् ।

****

अर्को एउटा कम्युनिष्ट पार्टी छ, नेकपा मार्क्सवादी । पार्टीका अध्यक्ष छन्, अम्बिकाप्रसाद थैव । अध्यक्ष थैवकै शब्दमा यो पार्टी पनि ‘जेनतेन चलेकै छ ।’ तर पार्टीको इतिहास नेकपा मार्क्सवादी (पुष्पलाल) भन्दा लामो छ ।

यो त्यही मार्क्सवादी पार्टी हो, जो २०४७ सालमा मालेसँग मिलेर एमाले बन्दा असन्तुष्टहरूले पुनर्गठन गरेका थिए । नेकपा मार्क्सवादीका नाममा यो समूहले पार्टी सञ्चालन गरिरहेका कारण असन्तुष्ट समूहले नेकपा मार्क्सवादी (पुष्पलाल) खोल्नु परेको थियो ।

विरासत पुरानै भए पनि अहिले यो पार्टी कति अस्तव्यस्त छ भन्ने थाहा पाउन अध्यक्ष थैवकै जवाफ पर्याप्त छ । पार्टी सदस्य कति छन् अध्यक्षलाई जानकारी छैन । काठमाडौंको टोखास्थित बखुण्डोलमा केन्द्रीय कार्यालय छ । थैव पनि ३२/३३ जिल्लामा आफ्नो पार्टीको कमिटी रहेको अनुमान गर्छन् ।

पार्टीको केन्द्रीय समितिमा १५ जना छन् सबैको नाम नजाने पनि महासचिव परशुराम प्याकुरेल भएको थैवलाई जानकारी छ । हामीले पार्टीको उपाध्यक्ष को हो भनेर प्रश्न गर्दा उनले जवाफ दिन सकेनन् । प्रश्न दोहोर्‍याएपछि उनले भने ‘उपाध्यक्ष रामकरण राव हुनुहुन्छ क्यारे ! कोषाध्यक्ष छैनन्, आर्थिक विभाग प्रमुख दामोदर ढकाल हुनुहुन्छ ।’ उनले हाकाहाकी भने, ‘पदाधिकारी राखेका छैनौं ।’

यतिसम्म कि यो पार्टीको आफ्नो विधान पनि नभएको अध्यक्षले बताए । अध्यक्ष थैवले भने, ‘पार्टीको विधान त छैन, तर नेपालमा वाम विकास र प्रजातान्त्रिक आन्दोलनको एक झलक शीर्षकमा एउटा किताब लेखेको छु । त्यो नै हाम्रो मार्गदर्शन हो ।’

****

नेकपा समाजवादी । परिचित नाम जस्तो लाग्ने यो पार्टी गठनको रोचक सन्दर्भ छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट कारबाहीमा परेपछि उक्त पार्टीको किसान संगठनका अध्यक्ष राजु कार्की नयाँ पार्टी खोल्ने कि कुनै पुरानैमा प्रवेश गर्ने भन्नेमा दोधारमा थिए । पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीमा जाने विकल्प उनका अगाडि थिए पनि ।

नेकपा समाजवादीका अध्यक्ष राजु कार्की

त्यही बेला २०७८ भदौमा नेकपा एमाले विभाजित भयो । माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पर्‍यो । त्यसभन्दा अघि नै पार्टीको नाम के राख्ने भनेर चर्चा भइरहेको थियो । पार्टीको नाम नेकपा समाजवादी राख्ने र पछि माओवादीसँग एकता गर्ने भनेर हल्ला चलेको पनि थियो ।

तर माधवकुमार नेपाल पक्षले एमालेबाट विभाजनको निर्णय गर्न समय लिएसँगै विप्लव नेतृत्वको नेकपाबाट कारबाहीमा परेका कार्कीले नेकपा समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका थिए । पहिले नै निवेदन परिसकेकाले आयोगले उक्त नाम माधवकुमार नेपाललाई दिन मानेन । जसका कारण माधवकुमार नेपालको पार्टीले नेकपा एकीकृत समाजवादी नाम पायो ।

‘माधव नेपाल र हाम्रो पार्टी एकैपटक गठन भएको हो । आयोगमा दर्ता त भएन, तर निवेदन उहाँको भन्दा पहिले हामीले दिएका थियौं । त्यसैले यो नाम पाइयो’, नेकपा समाजवादीका संयोजक कार्की भन्छन् । कार्कीले अहिले काठमाडौंको सामाखुशीमा पार्टी कार्यालय खोलेका छन् । उनको पार्टीमा ५३ जनाको केन्द्रीय समिति र तीमध्येबाट ११ जनाको स्थायी कमिटी छ । पछिल्लो दुई वर्षमा करिब एक हजार सदस्य भएको अनुमान गर्ने कार्कीले पनि सदस्यहरूको यकिन विवरण भन्न सकेनन् ।

पार्टीमा कुनै पदाधिकारी छैनन् । गठनलगत्तै मानबहादुर तामाङलाई उनले प्रवक्ताको जिम्मेवारी दिएका थिए । तर २०७९ को आम निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि पार्टी छाड्ने जोखिम देखेर कार्कीले अरूलाई जिम्मेवारी दिन आँट गरेका छैनन् ।

गएको संघीय निर्वाचनमा अरू तीन पार्टीसँग मिलेर एउटै चिह्न लिएर चुनाव लड्दा पनि ललितपुर–१ मा १७, कास्की ३ मा ११, रुकुमपूर्वमा ४९ र सुर्खेत १ मा ९ मत पाएको देखिन्छ । यसरी औसतमा निकाल्दा पनि उनको पार्टीले देशभर १५०० मत कटाउन सकेको देखिंदैन ।

‘हाम्रा लागि संसदीय राजनीति साह्रै गाह्रो भयो, दल चलाउन के कसो गर्ने भन्ने मेसो नै पाउन सकिएन’, कार्की भन्छन् ।

पार्टीको स्थायी कमिटीको हालै भएको जुम मिटिङले फागुन महिनाको अन्तिमदेखि पूर्व–पश्चिम अभियानमा जाने निर्णय गरेको कार्की बताउँछन् । बाबुराम भट्टराई, विप्लव र देव गुरुङसँग भेटेरै पार्टी एकताका विषयमा छलफल गरेको, तर कसैले पनि आफूलाई नपत्याएको कार्कीको गुनासो छ ।

****

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भएपछि अलग्गिएका जोगमान लामाको नेतृत्वमा गठन भएको एउटा पार्टी छ, नेकपा परिवर्तन । काठमाडौंको कालीमाटीमा केन्द्रीय कार्यालय रहेको नेकपा परिवर्तनका अध्यक्ष लामा एमालेसँगको एकताअघि माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य थिए ।

प्रचण्डले माओवादी केन्द्रलाई एमालेमा विलय गराएको भनेर उनले पार्टी परित्याग गरी नयाँ पार्टी खोलेका थिए । उनको पार्टीमा अहिले ५१ जनाको केन्द्रीय समिति र ५ जनाको पदाधिकारी टिम छ ।

१५०० देखि दुई हजारसम्म संगठित सदस्य रहेको दाबी गर्ने लामाले लेबी मार्फत आर्थिक परिचालन भइरहेको बताए । ‘विभिन्न पेशामा जोडिएका साथीहरू छौं । पेशालाई जोगाउँदै पार्टी निर्माण गर्ने भनेका छौं’, उनी भन्छन् ।

बागमती प्रदेशका ५ वटा जिल्लामा जिल्ला कमिटी गठन गरेका उनले प्रदेशस्तर र त्यसभन्दा अन्य संगठन बनाइनसकेको बताए । ‘पार्टी संगठन निर्माणको अभियान चलिरहेको बताउने’ उनको पार्टीको लक्ष्य चाहिं ‘सबै जाति र वर्गको राज्यसत्ता स्थापना गर्ने’ भन्ने छ ।

नेकपा (परिवर्तन) ले गएको संघीय चुनावमा समानुपातिकतर्फ ल्याएको भोट बिर्सनलायक नै छ । सुनसरी–१ मा उसले १५ भोट ल्याएको छ भने धादिङ क्षेत्र नम्बर १ मा ११ भोट ल्याएको छ । यस्तै रूपन्देही ३ मा उसले १० भोट पाउँदा डोटीमा २३ मत पाएको छ ।

पुच्छर जोड्यो, पार्टी खोल्यो 

निर्वाचन आयोगमा दर्ता भएका ११८ वटा राजनीतिक दलमध्ये दुई दर्जन बढी कम्युनिस्ट पार्टीहरू मात्रै छन् । माथिका उदाहरणहरू तिनैमध्येका केही हुन् ।

मूलधारको राजनीतिमा सक्रिय नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बाहेक अन्य दुईवटा कम्युनिस्ट पार्टीहरू संसद्को राजनीतिमा झिनो उपस्थिति देखाउन सफल छन् । त्यस बाहेक केही कम्युनिस्ट पार्टीले संसद् बाहिर आफ्नो राजनीतिक उपस्थिति देखाएका छन् ।

बाँकी कम्युनिस्ट पार्टीहरू गुमनाम छन् । तिनको न कुनै संगठन छ न कहीं कतै उपस्थिति नै । नामको अगाडि कम्युनिस्ट पार्टी राख्ने र निर्वाचन आयोगमा दल दर्ता गर्ने बाहेक उनीहरूको कुनै अर्थपूर्ण अस्तित्व देखिंदैन ।

तर यतिका कम्युनिस्ट पार्टीहरू किन खुलेका हुन् र ती कसरी जीवित छन् ? राजनीतिक समाजशास्त्री उद्धव प्याकुरेल निर्वाचन आयोगमा दर्ता हुँदैमा र कम्युनिस्ट नाम राख्दैमा ती पार्टी सञ्चालन भइरहेका छन् भन्न नमिल्ने बताउँछन् ।

‘आयोगकै तथ्यांक हेर्दा पनि दर्ता भएका कम्युनिस्ट पार्टीहरू कति छन् भन्ने थाहा हुन्छ । ती सबै पार्टी सर्भाइभ गर्न सकिरहेका छैनन् । गठबन्धन र मोर्चा बनाउँदा समेत मत ल्याउन सकेका छैनन्’ प्याकुरेल भन्छन्, ‘मेरो पनि पार्टी छ, म पनि नेता हुँ भन्न मात्रै दल दर्ता भइरहेको देखिन्छ ।’

पछिल्लो आम निर्वाचनमा भाग लिने उद्देश्यका साथ आयोगमा दर्ता भएका दलहरूको संख्या करिब दुई दर्जन छ । जसमा केही दलहरू लामो समयदेखि हरेक निर्वाचनका बेला आयोगमा दर्ता त हुन्छन्, तर त्यसपछि निष्क्रिय रहन्छन् ।

नेकपा मार्क्सवादी, नेकपा मार्क्सवादी (पुष्पलाल), नेकपा संयुक्त मार्क्सवादी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, सर्वहारा समाजवाद नेपाल, नेपाल साम्यवादी दल, नेकपा माले (साम्यवादी), आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल, जनताको जनवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेकपा परिवर्तन, नेकपा संयुक्त, समाजवादी केन्द्र नेपाल र नेकपा (गौरवशाली) नामका कम्युनिस्ट पार्टीहरू निर्वाचन आयोगमा दर्ता छन् ।

यस्तै गोपाल किराँती नेतृत्वको नेकपा माओवादी समाजवादी, सीपी मैनाली नेतृत्वको नेकपा माले, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पनि दर्ता छन् । यिनले कुनै पनि तहको जनप्रतिनिधि जिताउन सकेका छैनन् त्यसबाहेक बेलाबखत चर्चामा आउने बाहेक सामाजिक, राजनीतिक एजेन्डामा सार्वजनिक उपस्थिति पनि देखिन्न ।

यस्तै नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संघदेखि स्थानीय तहसम्म थोरै भए पनि उपस्थिति जनाउन सकेका छन् । यीमध्ये नेमकिपा भक्तपुरको एउटा निर्वाचन क्षेत्रमा सीमित हुँदै गएको छ भने राष्ट्रिय जनमोर्चा गठबन्धनसँग मिलेर एक सिट लिने हैसियतमा झरेको छ ।

संसद् बाहिर केही कम्युनिस्ट पार्टीहरू अस्तित्वमा छन् । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा यी मध्येमा पर्छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह ।

मसालले आफूलाई अर्धभूमिगत रहेको बताउँदै आएको छ । खोजेको बेला सहजै भेटिने महासचिव मोहनविक्रम सिंह आधिकारिक रूपमा आफू भूमिगत रहेको दावी गर्छन् । संसदीय चुनावलाई सदुपयोग गर्न मसालले चित्रबहादुर केसीको नेतृत्वमा राष्ट्रिय जनमोर्चा गठन गरेको छ ।

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पनि संसद् बाहिरको दल हो । यसले पनि चुनावलाई सदुपयोग गर्ने रणनीति अन्तर्गत भन्दै पार्टीका उपाध्यक्ष सीपी गजुरेलको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल निर्वाचन आयोगमा दर्ता गरेको छ । तर चुनावी परिणाम भने शून्य छ ।

वैद्यको नेतृत्वमा नयाँ पार्टी गठन भएको दुई वर्षपछि त्यसले ‘क्रान्ति गर्न नसक्ने’ ठानेर नेत्रविक्रम चन्द विप्लवले पार्टी फुटाएर नेकपा गठन गरेको १० वर्ष पुग्यो । तर भ्रष्टाचारी विरुद्ध कारबाही गर्ने भनेर बेलाबखत भौतिक आक्रमणमा उत्रिनु बाहेक उसले पनि कुनै क्रान्ति गर्न सकेको देखिन्न ।

यसरी हेर्दा नेपालको कम्युनिस्ट आन्दोलनमा टुटफुट यसको नियमित कामको अंग नै बनेको देखिन्छ । २००६ सालमा स्थापना भएयता करिब डेढ दशकसम्म एकीकृत भएर चलिरहे पनि २०१९ सालपछि फुटको लहर चलेको इतिहास छ । तर अनौठो के छ भने टुक्रा–टुक्रामा विभाजित हुँदा पनि कम्युनिस्ट नेताहरूसँग किन पार्टी फुटाउनु परेको हो भन्ने बलियो जवाफ चाहिं हुने गर्छ । उनीहरू ‘प्रतिक्रियावादी भासमा फस्नबाट जोगिन’, ‘प्रतिक्रान्तिकारी गद्दारहरूबाट कम्युनिस्ट आन्दोलन जोगाउन’, ‘जनताका उपलब्धिलाई विदेशीको पाउमा चढाउनबाट रोक्न’ नयाँ पार्टी गठन गरेको दाबी गर्छन् ।

अध्येता तथा राजनीतिक विश्लेषक रामचन्द्र श्रेष्ठ सबैलाई एउटै दृष्टिकोणले हेर्न नहुने ठान्छन् । ‘केही पार्टीहरूको अहिले संसद्मा प्रतिनिधित्व र जनाधार कमजोर भए पनि इतिहास लामो छ । तर नेपालको कम्युनिस्ट आन्दोलनका सुरुवातका वैचारिक मतभेददेखि नै उनीहरूको उपस्थिति छ’ श्रेष्ठ भन्छन्, ‘पछिल्लो समय जति पनि पार्टी बनेका छन्, ती माओवादी आन्दोलनको विसर्जनसँगै उदाएका हुन् । वैद्य, विप्लव लगायत जति पनि पार्टीहरू छन् ती सबै त्यसैका परिणति हुन् ।’

विश्लेषक श्रेष्ठका विचारमा यो ती पार्टीको मात्रै नभएर नेपालको सिंगो कम्युनिस्ट आन्दोलनको प्रश्न भएको बताउँछन् । पार्टीलाई एक गराउने अस्त्र विचार र आन्दोलन भए पनि पछिल्लो समय त्यसको अभावका कारण विभाजन देखिएको उनको तर्क छ ।

हुनत २०१९ देखि २०४७ सम्म कम्युनिस्ट आन्दोलनभित्र फुट र विभाजनको अवधि रह्यो । यस अवधिमा धेरै कम्युनिस्ट समूह देखिन्छन् । यी रायमाझी, पुष्पलाल, रोहित, पूर्वी मेची कोशी प्रान्तीय समिति, को–अर्डिनेशन केन्द्र, केन्द्रीय न्युक्लियस र चौम आदिमा विभक्त थिए ।

२०५२ सालमा माओवादी ‘जनयुद्ध’ सुरु हुने बेलासम्म पनि केही फुटका घटना भएका छन् । त्यसपछि विश्लेषक श्रेष्ठले भने जस्तै एकैपटक माओवादी शान्ति प्रक्रियामा आएपछि कम्युनिस्ट पार्टी खुलेका देखिन्छन् । वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत पार्टीहरू माओवादीबाट विभाजन भएर बनेका हुन् ।

आधारभूत रूपमा एउटै विचार र सिद्धान्त बोक्ने भनिने पार्टीहरूमा किन यति धेरै फुट आउँछ ? राजनीतिक समाजशास्त्री प्याकुरेलका भनाइमा यसमा नेपाली समाजको चरित्र धेरै हदसम्म जिम्मेवार छ ।

‘नेपाल एउटा सामन्तवादी लिगेसीबाट हुर्केको समाज हो । हाम्रो अघिल्लो पुस्ता सामन्तवादकै चरम अवस्थामा हुर्केको हो । हामी पनि अहिले त्यसभन्दा बाहिर जान सकेका छैनौं’ प्याकुरेल भन्छन्, ‘समाज जब सामन्ती र दमनकारी हुन्छ त्यो समाजमा मान्छेलाई सुषुप्त हिसाबले त्यस्तै हुने महत्वाकांक्षा हुन्छ ।’

समाजशास्त्री प्याकुरेलका विचारमा बाहिर अरूको दमनविरुद्ध आवाज उठाउँछ, तर भित्रभित्रै ऊ आफैं पनि कमजोरलाई दबाउन लालायित हुन्छ । अहिलेका कम्युनिस्ट पार्टीहरूलाई त्यससँग जोडेर हेर्नुपर्छ ।

आदर्शको स्खलन : भ्रष्ट व्यक्ति उपल्लो तहमा

विश्लेषक श्रेष्ठ समाजका मूलभूत समस्या पहिचानमै समस्या रहेकाले धेरै कम्युनिस्ट पार्टीहरू कामयावी हुन नसकेको तर्क गर्छन् । ‘खास समस्या नेपाली समाजका चुनौतीको पहिचान गर्न नसक्नुमा छ । यी पार्टीहरू ठूलो अलमलमा छन्’ श्रेष्ठ भन्छन्, ‘विश्व अर्थ–राजनीति जटिल बन्दै गएको छ । त्यसमा हिजोको शास्त्रले काम गरिरहेको छैन । समस्याको पहिचान नै गर्न नसकेपछि जनताको बीचमा जान पनि सकेनन् ।’

विद्यमान राजनीतिक व्यवस्थामा जनाधार बनाउने दुई तरिका छन् । सत्तामा जाने, राज्य संयन्त्रमा हालीमुहाली गर्ने, स्रोतको दोहन गर्ने र आसेपासेलाई बाँडेर राजनीतिमा टिक्ने एउटा चक्र छ । अर्को, राजनीतिक संगठन मार्फत जनताका एजेन्डामाथि बोलेर स्थापित हुने ।

श्रेष्ठका भनाइमा, यहाँ समस्या एकतिर, पार्टीको भाषा अर्कोतिर हुन्छ । उदाहरणका लागि अहिले वैदेशिक रोजगारको मामिला चर्को ढंगले उठिरहेको छ । तर त्यसले यहाँको अर्थतन्त्रमा कहाँ असर गरिरहेको छ भन्ने कुरा कसैले पनि पहिल्याउनै सकेको देखिंदैन । यसो हुँदा समाजको नयाँ पुस्ता कम्युनिस्ट पार्टीसँग जोडिनै सकेको छैन ।

राजनीतिक समाजशास्त्री प्याकुरेल नेपालको हकमा सिद्धान्त अनुसार कम्युनिस्ट हुन कुनै नैतिक आचरणको पालना गरिरहनु पर्दैन, जसले गर्दा उनीहरू समाज राजनीतिमा स्थापित भन्दा विस्थापित हुने क्रम बढ्दो छ ।

‘नेपालमा कम्युनिस्ट हुन अभ्यासमा गरिबमुखी हुनुपर्दैन, लैंगिकमुखी हुनुपर्दैन, धार्मिक अतिवादको विरोधी पनि हुनुपर्दैन’ उनी भन्छन्, ‘दुईवटा श्रीमती राख्ने नेता पनि कम्युनिस्ट पार्टीबाट चुनावमा उठेर जितिरहेका छन् । समाजमा भ्रष्ट छवि भएको व्यक्ति नै कम्युनिस्ट पार्टीको उपल्लो तहको नेता छ । यसले पतन बाहेक केही गराउँदैन ।’

कभर स्टोरी
लेखक
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?