+

‘खानेकुराकै कारण मात्रै अपचको समस्या आउने होइन’

२०८० फागुन  २४ गते १३:४६ २०८० फागुन २४ गते १३:४६
‘खानेकुराकै कारण मात्रै अपचको समस्या आउने होइन’

अपच भन्नाले पातलो दिसा हुने र दिसा राम्ररी नहुने समस्या हो भन्ने पनि आम बुझाइ छ । तर अपच हुँदा खाना राम्ररी नपचेर पेट फुल्ने, थोरै खाना खाँदा पनि पेट भरिएको अनुभव हुने, पेटमा ग्यास भरिने, छाती पोल्ने, घाँटी दुख्ने, खोकी लाग्ने, असहज महसुस हुने जस्ता लक्षण देखिन्छन् ।

पाचन प्रणालीमा गडबडी भई खाना नपच्ने समस्या हुनुलाई अपच भनिने जनरल फिजिसियन, पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउँछन् ।

अपच धेरैको आम समस्या भएको छ । यस्तोमा अपचको कारण के हो ? अपच हुनुमा तनाव कति जिम्मेवार छ ? लगायत विषयमा डा. भण्डारीसँग अनलाइनखबरकी सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश :

अपचको समस्या देखा के कारणले हुन्छ ?

माथिल्लो पेट आमाशयको पाचन प्रणाली कमजोर भएर यस्तो समस्या देखा पर्छ । अनियन्त्रित खाना, जीवनशैलीमा परिवर्तन,  मोटोपन आदिको कारण शरीरले खाना पचाउन जति रासायनिक तत्त्व, हार्मोनहरु निकाल्छ । त्यसको सन्तुलन बिग्रिएर अपचको समस्या देखिन्छ ।

हाम्रो शरीरमा एसिड पैदा हुन्छ । हामीले खाएको खाना अझ विशेष प्रोटिन पचाउन एसिड चाहिन्छ । तर एसिडको सन्तुलन बिग्रिंदा अपच हुन्छ ।

अपचको कारण अन्य ग्मभीर समस्या आउन सक्छ ?

सामान्यतया अपचकै कारण केही गम्भीर समस्या त निम्तिंदैन । यसले असहज महसुस भने गराउँछ । तर लामो समयसम्म अपच भइरहँदा भने खाने नलीमा घाउ हुने, अल्सर हुने समस्या देखिन सक्छ । साथै एकदमै लामो समय अपच भइरहँदा कसैकसैमा खाने नलीको क्यान्सर नै पनि देखिन सक्छ ।

खानेकुराकै कारण पनि अपच हुन्छ ?

अपच हुनुमा धुम्रपान र मद्यपान पनि एक कारण हो । साथै प्रशोधित खानेकुरा, जंकफुड, फास्टफुड र धेरै मात्रामा चिया कफी जस्तो क्याफिनेटेड पेय पदार्थ, कोक, फन्टा, चकलेट जस्ता खानेकुराले पनि अपचको समस्या निम्ताउँछ ।

अपच हुनुमा तनाव पनि जिम्मेवार हुन्छ ?

पेट र मस्तिष्कलाई इन्डोक्राइन मार्ग, न्युरो र प्रतिरक्षा मार्गको मद्दतले जोड्ने गर्छ । न्युरोन्सयुक्त एन्टेरिक नर्भ सिस्टमको सहाराले हाम्रो शरीरको क्रियामा ठूलो भूमिका खेल्छ, जसको मद्दतले पेट र मस्तिष्कको बीचमा सबै सञ्चार हुन्छ । तनाव हुँदा त्यसको सन्देश पेटमा जान्छ र पेटको समस्या देखा पर्छ ।

लामो समय तनावपूर्ण अवस्था हुँदा स्ट्रेस हर्मोन उत्पादन हुन्छ र त्यसले आमाशयमा असर गरेर अपचको समस्या देखा पर्न सक्छ ।

राम्रै खानपान गर्दा पनि अपच हुने सम्भावना कति हुन्छ ?

राम्रो खानपान गरेको छु तैपनि मलाई अपच भयो भन्ने पनि होला कतिलाई । तर राम्रै खानाको पनि मात्रा नमिलाउँदा अपचको समस्या हुन्छ ।

हरेक मान्छेको पेटको आ–आफ्नो क्षमता हुन्छ कसैले चार पिस मासु पचाउन सक्छन् भने कसैले ६ पिस पचाउन सक्लान् । त्यसैले आफ्नो शरीरलाई बुझ्नुपर्छ । चाहिने भन्दा धेरै मात्रामा खाने व्यक्तिमा मोटोपन र अपचको समस्या देखा पर्छ ।

बढ्दो उमेरसँगै खानाको मात्रा कम गरिएन भने अपचको समस्या देखा पर्छ । २० वर्षको उमेरमा व्यक्तिको पाचन प्रणाली र ४० वर्षको उमेर उसको पाचन प्रणाली एउटै हुँदैन । पेट पनि उमेरसँगै कमजोर हुँदै जान्छ ।

अपच भरहनुले के कुराको संकेत गर्छ ?

कुनै पनि बिरामीले मलाई लामो समयदेखि बारम्बार अपच भइरहन्छ भन्छन् भने म उनीहरूलाई दुईवटा प्रश्न सोध्ने गर्छु, तनाव कति लिनुहुन्छ ?  दुखाइ कम गर्ने औषधि कति खानुहुन्छ ?

फ्लेक्जन, निम्स, लगायतका दुखाइ कम गर्ने औषधि खाने व्यक्तिमा ग्यास्ट्रिक र अपचको समस्या हुन्छ । साथै मानसिक तनाव लिइरहने व्यक्तिमा पनि अपचको समस्या भइरहन्छ ।

पाचन क्षमता बलियो वा राम्रो बनाउने उपाय के हुनसक्छ ?

पाचन क्षमता बलियो बनाउने उपाय अपनाउनु भन्दा पहिले एउटा कुरा जान्नु जरुरी छ । धेरै बिरामी मुटु, छातीको दुखाइ र पेटको समस्याको दुखाइमा झुक्किने गर्छन् । ग्यास्ट्राइटिसको दुखाइ र मुटुको दुखाइ कहिलेकाहीं छुट्याउन गाह्रो हुन्छ । त्यसैले यी दुईलाई छुट्याउनुपर्छ ।

प्रायजसो मुटुको दुखाइ खप्नै नसक्ने गरी भारी भएर केहीले थिचेको जसरी दुख्छ । यो ठाउँमा दुखेको छ भनेर देखाउन पनि गाह्रो हुन्छ । दुखाइ देब्रे कुम वा हाततिर सरेको छ भने त्यो मुटुको दुखाइ हो ।

छातीको मध्यभाग दुखाइ भन्दा बढी पोल्ने खालको हुन्छ । मुखमा अमिलो पानी आउँछ । घाँटीमा केही अड्केको जस्तो हुन्छ । करङको बिच भागबाट दुखाइ सुरु भएर माथितिर सर्दै आएको छ भने त्यो ग्यास्ट्राइटिस तथा अपचको दुखाइ हो ।

अपचको समस्याबाट बच्न के गर्ने ?

अपचको समस्याबाट बच्न र पाचन प्रणालीलाई बलियो बनाउन सबैभन्दा पहिले त खाना नियन्त्रण गर्नुपर्छ । बढ्दो उमेरसँगै खानाको मात्रा घटाउने तर बारम्बार खाने गर्नुपर्छ ।

बिहानको समयमा शरीरको खाना पचाउने क्षमता बढी हुन्छ । दिन ढल्दै जाँदा पाचन प्रणाली कमजोर हुँदै जान्छ । त्यसैले राति ढिला खाना खाने र खाना खाने बित्तिकै सुत्ने गर्दा पनि पाचन प्रणाली कमजोर हुन्छ । रातिको खाना सकेसम्म ८ बजेभन्दा अघि नै खाने, ढिलो हुन्छ भने पनि खाना खाएको एक घण्टासम्म ओछ्यानमा नपल्टिने । यसो गर्दा पनि पाचन प्रणाली बलियो हुन्छ ।

धेरै मात्रामा चिया, कफी जस्ता क्याफिनेटड पेय पदार्थ सेवन नगर्ने । साथै प्याकेट बन्द खानेकुरा, प्रशोधित खानेकुरा कम खाने, चुरोट र रक्सीको सेवन कम गर्नुपर्‍यो ।

यसमा मानसिक स्थिति र व्यायामको पनि त भूमिका हुन्छ होला नि ?

सकारात्मक सोच राख्ने, मोटोपन नियन्त्रण गर्ने र दैनिक व्यायाम गरेर अपचको समस्याबाट बच्न सकिन्छ र पाचन प्रणालीलाई बलियो बनाउन सकिन्छ । अनावश्यक रूपमा ब्रुफेन, फ्लेक्सन जस्ता दुखाइ कम गर्ने औषधि नखाने,  प्रशस्त मात्रामा पानी पिउँदा पनि पाचन प्रणाली राम्रो हुन्छ ।

डिप्रेसन तथा सुगरको औषधि सेवन गर्नेहरूमा बारम्बार अपचको समस्या देखा पर्छ भने चिकित्सकको सल्लाहमा औषधि परिवर्तन गर्नुपर्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

अपच डा. अवशेष भण्डारी पाचन प्रणाली स्वास्थ्य
डा. अवशेष भण्डारी
लेखक
डा. अवशेष भण्डारी
जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०८८४ अध्ययन : एमबीबीएस, एमडी (ग्यास्ट्रोइन्ट्रोलोजी) हाल काठमाडौंस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय