+

मासु कति खाने ?

२०८० चैत  ८ गते १२:५२ २०८० चैत ८ गते १२:५२
मासु कति खाने ?

मासुलाई प्रोटिनको राम्रो स्रोतको रूपमा मानिन्छ । मासुबाट प्राप्त हुने प्रोटिनमा बढी ‘बायोलोजिकल भ्यालु’ हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ ।

सही ढंगले सही मात्रामा मासु खाने हो भने त्यसले शरीरलाई फाइदा गर्छ । तर सही किसिमको मासु छनोट गर्न, भण्डारण गर्न, पकाउन र खान जानिंदैन भने त्यसबेला मासु हानिकारक बन्ने पोषणविद् आरेम कार्की बताउँछन् ।

दैनिक कति मासु खाने ?

मानिसको तौल, शारीरिक बनावट, कामको प्रकृति, व्यायाम र स्वास्थ्य अवस्थाअनुसार मासु कति खाने भन्ने कुरा निर्धारण हुन्छ । एक वयस्क मान्छेले दैनिक प्रतिकिलो तौल एक ग्राम मासु खान सक्छन् । उदाहरणका लागि ७० केजी तौल भएको व्यक्तिले ७० ग्राम मासु (चारदेखि पाँच टुक्रा) मासु खानु राम्रो हुने पोषणविद् कार्की बताउँछन् ।

जर्मन पोषण समाज र विश्व क्यान्सर अनुसन्धान कोषले एक हप्तामा ५०० ग्राम भन्दा बढी मासु नखान सुझाव दिन्छ । साथै ससेज र सलामी जस्ता प्रशोधित मासुबाट जोगिनुपर्ने बताउँछ । यसमा सोडियम नाइट्रेट हुन्छ, जसले स्वास्थ्यलाई हानि पुर्‍याउँछ ।

एक सामान्य व्यक्तिले दैनिक लगभग एक सय ग्राम (पाँचदेखि छ टुक्रा) मासु खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर कुनै व्यक्तिले दैनिक ३०० ग्राम मासु खान्छ भने शरीरमा प्रोटिनको मात्रा बढी भएर कालान्तरमा युरिक एसिडको समस्या, मिर्गौलासम्बन्धी समस्या निम्तिने सम्भावना बढ्ने कार्की बताउँछन् ।

पोषणविद् आरेम कार्की

मासुमा पाइने मूल पोषक तत्त्व

विशेषगरी मासुमा प्रोटिन, भिटामिन बी-१२ तथा फलामको मात्रा उच्च हुने पोषणविद् भूपाल बानियाँ बताउँछन् । ‘मासुबाट प्राप्त हुने प्रोटिनमा बढी बायोलोजिकल भ्यालु भएको हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ,’ उनी भन्छन् ।

‘नेपालीहरूको खानामा प्रोटिनको मुख्य स्रोतको रूपमा मासु रहँदै आएको छ । मासुमा अन्न वा बिरुवाबाट आउने प्रोटिनभन्दा शरीरलाई चाहिने सबैखाले प्रोटिन र खनिज तत्त्व पाइन्छ,’ बानियाँ भन्छन्, ‘मासुमा भिटामिन र चिल्लो पदार्थ पनि पाइने भएकाले यो पोषिलो हुन्छ । कुपोषण भएकाहरूको वजन बढाउन तथा शल्यक्रिया गरेकाहरूको घाउ चाँडो निको पार्न समेत मासुमा भएको प्रोटिनले मद्दत गर्छ ।’

पोषणका लागि सबैभन्दा उपयुक्त मासु

सेतो मासुमा रातो मासुमा भन्दा बोसो, प्रोटिन र कम क्यालोरी हुन्छ । साथै ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पनि पाइन्छ । जसले गर्दा एलडीएलको अर्थात् खराब कोलेस्टेरोल स्तर कम गर्न र एचडीएल (राम्रो कोलेस्टेरोल)को स्तर बढाउन मद्दत गर्छ । त्यसैले पोषणको लागि सबैभन्दा उपयुक्त मासु सेतो मासु अर्थात् कुखुराको मासु भएको पोषणविद् बानियाँ बताउँछन् ।

बेलायती अखबार द गार्डियनको रिपोर्टअनुसार रातो मासु र प्रशोधित मासु खाँदा मानिसमा मुटुरोग, टाइप–२ मधुमेह र निश्चित प्रकारको क्यान्सरको जोखिम निकै बढ्छ ।

नेपालमा पाइने मासुमा एन्टिबायोटिक

पोषणको लागि सबैभन्दा उपयुक्त कुखुराको मासु भनिरहँदा नेपालमा पाइने कुखुराको मासुबाट पोषण त पाइन्छ सँगै विभिन्न रोग पनि बढाइरहेको बानियाँ बताउँछन् ।

मासु जाँच ऐन प्रभावकारी रूपमा लागू हुन नसक्दा नेपालमा उपभोक्ताले गुणस्तरहीन मासु खान बाध्य भएको उनी बताउँछन् । ‘व्यवसायीले बिना परीक्षण मासु बिक्री वितरण गर्दा यहाँका नागरिक गुणस्तरहीन र अस्वस्थकर मासु खान बाध्य छन्,’ उनी भन्छन् ।

पोषणविद् भूपाल बानियाँ

रातो मासु भन्दा कुखुराको मासु स्वास्थकर भनेर हामी कुखुराको मासु खान्छौं । तर कुखुरालाई छिटो बिक्री योग्य बनाउन व्यसायीहरुले दानामा धेरै मात्रामा  विभिन्न प्रकारको एन्टिबायोटिक प्रयोग गर्छन्,’ उनी भन्छन्, ‘यस्तो धेरै मात्रामा एन्टिबायोटिक प्रयोग गरेर उत्पादन गरिएको कुखुराको मासु खाँदा पनि कालान्तरमा मिर्गौला कलेजो खराब हुनसक्ने सम्भावना बढ्न सक्छ ।’

एन्टिबायोटिक प्रयोग गरेको कुखुराको मासु खाँदा शरीरमा कतिपय संक्रामक जीवाणुहरूले औषधि प्रतिरोध गर्ने क्षमता अर्थात् ‘एन्टिबायोटिक रेजिस्टन्स’ विकास गर्छन् । जसले गर्दा बिरामी पर्दा एन्टिबायोटिक औषधिहरूको प्रभावकारिता कम देखिन थालेको बानियाँ बताउँछन् ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले २०७९-८० मा कुखुराको मासुमा औषधिको अवशेषबारे गरेको अनुसन्धानअनुसार ६० वटा कुखुराको परीक्षण गर्दा दुई वटामा औषधिको अवशेष बढी पाइएको थियो ।

त्यस्तै, भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन विभागले २०७३-७४ मा कुखुराको मासुको १८० वटा नमुना परीक्षण गर्दा ११५ वटामा एन्टिबायोटिकको अवशेष भेटिएको थियो । एन्टिबायोटिकको अवशेष देखिएको मासुको उपभोग मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

आहार तथा पोषण खानेकुरा मासु
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड कसरी हुन्छ ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?