+
+

आयरल्याण्डविरुद्ध फिनिसिङमा चुकेको नेपाल ए

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत १७ गते २०:२७

१७ चैत, काठमाडौं । नेपाल ए ले आयरल्यान्ड ए विरुद्ध दोस्रो टी–२० खेलमा २२५ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा सुरुवातमै विष्फोटक ब्याटिङका साथ ६ ओभरमा १ विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

त्यो सुरुवातपछि धेरैको आशा नेपालले आजको खेल जित्छ भन्ने थियो । तर अन्तिममा नेपाल ४० रनले हार्न पुग्यो ।

पहिलो खेलमा शुक्रबार १०६ रनको शतकीय इनिङ खेलेका लोकेश बमले शनिबार १३ बलमा ३ चौका र २ छक्कासहित २५ रन जोड्दै गज्जबको सुरुवात दिलाए । उनी आउट हुँदा नेपाल ३.१ ओभरमा ४७–१ को अवस्थामा थियो ।

त्यसपछि देव खनाल र कप्तान विनोद भण्डारीले पाएको सुरुवातलाई निरन्तरता दिए । तर उनी १३ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाउँदा स्पिनर बेन हाइटको बलमा क्याचआउट भए । उनलाई गुमाउँदा नेपाल ७ ओभरमा ९३–२ को मजबुत अवस्थामा थियो ।

ह्वाइटकै नवौं ओभरको चौथो क्विक बल देवले चाल पाउन नसक्दा अफ स्टम्प उडेको थियो । देवलाई आफू बोल्ड भएको विश्वास गर्न नै कठिन परेको थियो । केही समय आयरल्यान्डका खेलाडी र अम्पायरसँग कसरी आउट भएको कुरा गरेर बसेका थिए । उनी २५ बलमा ७ चौकासहित ४७ रनमा पेभेलियन फर्किदा नेपाल ८.४ ओभरमा ११०–३ को अवस्थामा थियो ।

नेपालले बाँकी ११.२ ओभरमा जित्नलाई ११५ रन बनाउनुपथ्र्यो । टी–२० क्रिकेटमा प्रतिओभर १०.३६ रन त्यति कठिन मानिदैन । तर त्यसपछि नेपालको खेल निराशाजनक रह्यो । किरण ठगुन्ना ३, आरिफ शेख १४, बसिर अहमद २७, पवन सरार्फ १०, राशिद खान र विपिन खत्री १–१ रनमा आउट भए । नेपाल ९३–१ को अवस्थाबाट १७.५ ओभरमा १८४ रनमा अल आउट भयो ।

नेपाल ए को प्लेइङ–११ मा किरण ठगुन्ना र विपिन खत्री बाहेक अन्य ९ खेलाडीले सिनियर टोलीबाट खेलिसकेका खेलाडी हुन् । विनोद २००९ देखि २०२२ सम्म पहिलो रोजाइमा खेलेका विकेटकिपर हुन् । पछिल्लो समय आरिफ शेख राष्ट्रिय टोलीमा आउने र बाहिरिने भइराखेका छन् ।

आरिफ २०१४ देखि नेपालको ओडीआई टोलीबाट खेल्दै आएका छन् । पवन लगातार मौका पाउँदा पनि खराब प्रदर्शन गर्ने खेलाडी हुन् । अन्य खेलाडी टोलीमा पर्ने र बाहिरिने गरेका छन् ।

शुक्रबार भएको पहिलो टी–२० मा पनि नेपाल २२३ रनको लक्ष्य पछ्याउने क्रममा १५.५ ओभरमा १८९–३ को अवस्थाबाट १९.३ ओभरमा २०१ रनमा सबै विकेट गुमाएको थियो । लोकेश बम ५६ बलमा ९ चौका र ८ छक्कासहित १०६ रन बनाउँदै आउट भएसँगै मुखमै आएको जित नेपालले गुमाएको थियो । अन्तिम २४ बलमा ३४ रन चाहिँदा र हातमा ६ विकेट हुँदा नेपालले २१ रनले हारेको थियो ।

दुबै खेलमा हारको मुख्य कारण मध्यक्रम र तल्लोक्रमका ब्याटर नचल्नु देखियो । नेपालले अप्रत्याशित ब्याटिङ गर्दै विशाल लक्ष्य पछ्याउँदा जितको आशा देखाएपनि अन्तिममा दुबै खेलमा निराशा देखियो । कप्तान विनोदले अनुभवी खेलाडीको कमी हुँदा हारेको प्रतिक्रिया दिए ।

‘दुबै खेल हेर्ने हो भने हामी नै टपमा थियौं । आज पनि ९ ओभरपछि विकेट गएको गयै भयो । ब्याटरहरु नयाँ प¥यो, त्यसले गर्दा दबाब सम्हाल्न अलिकति गाह्रो भएको हो’े, खेलपछि विनोदले भने ।

नेपालले दुबै खेलमा टस जितेर ब्याटिङको निम्तो दिएको आयरल्यान्डले क्रमशः २२२ र २२४ रन बनायो । बलिङ युनिटले अलि राम्रो गर्नुपर्ने विनोद बताउँछन् ।

‘टी–२० मा २२० माथि हुनु भनेको पूरा गर्न कठिन नै हो । १९० को आसपासमा रोके पूरा गर्न सकिन्छ भन्ने कुरा भएको थियो । बलिङ युनिटबाट अलिकति प्रयास हुनुपर्छ । एकै टोलीले इनिङमा २० छक्का हान्छ भने त्यहाँबाट खेलमा फर्किन गाह्रो हुन्छ’, उनले भने ।

पहिलो खेलको अन्तिम ओभरमा नेपालले स्पिनर सागर ढकाललाई बलिङ दिएको थियो । उनको बलमा छक्का ह्याट्रिकसहित ग्यारेथ डेलानीले कुल २३ रन जोडेका थिए । अन्तिम ओभरमा विपिन खत्रीले २५ रन खर्चिए । खेलको अवस्था अनुसार अन्तिममा स्पिनरलाई दिनु परेको उनी बताउँछन् ।

नेपालले तीन खेलको सिरिज २–० ले गुमाइसकेको छ । हिटर नारायण जोशी र तीव्र गतिका बलर विकास आग्री अन्तिम खेलमा पहिलो खेल खेल्ने आशामा हुनेछन् ।

नेपालका ए का कप्तान विनोदले खेल जित्नको लागि नै जाने हुँदा कसले खेल्ने भन्ने त्यसै दिन थाहा हुने बताए ।

‘खेल जित्नलाई खेल्ने हो । बेन्चका सबैलाई मौका दिनुपर्छ भन्ने पनि छैन । बेन्चमा हुने सबै जना राम्रो छन्, हेरौं अब के हुन्छ पर्सि नै थाहा हुन्छ’, उनले भने ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?