News Summary
Generated by OK AI. Editorially reviewed.- कोलकता नाइट राइडर्सले आन्द्रे रसेलको सम्मानमा १२ नम्बर जर्सी रिटायर गरेको छ।
- रसेलले केकेआरका लागि २६५१ रन र १२३ विकेट लिएका छन् र दुई पटक आईपीएल उपाधि जितेका छन्।
- रसेलले यस सिजन केकेआरको पावर कोच भएर युवा खेलाडीलाई फिनिसिङ कला सिकाउनेछन्।
११ चैत, काठमाडौं । कोलकता नाइट राइडर्स (केकेआर) ले आन्द्रे रसेलको सम्मानमा १२ नम्बर जर्सी रिटायर गरेको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं संस्करणअघि मंगलबार कोलकतामा आयोजिति अप्लग्ड इन कोलकता कार्यक्रममा केकेआरले उक्त घोषणा गरेको हो ।
यो निर्णयपछि अब केकेआरमा फेरि कुनै पनि खेलाडीले १२ नम्बर जर्सी लगाउने छैनन् । केकेआरका सीईओ वेन्की माइसोरले स्टेजमा उक्त खुलासा गर्दै रसेलको सम्मानमा यो निर्णय गरेको बताए । ‘तपाईंको सम्मानमा हामी यो नम्बर केकेआरका लागि रिटायर गर्न चाहन्छौं।’
रसेलले आफ्नो आक्रमक प्रदर्शनबाट केकेआरका लागि पछिल्लो एक दशक भन्दा बढी समय उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो जर्सीलाई आइकोनिक बनाएका थिए ।
आईपीएलको पछिल्लो अक्सअघि रसेलले केकेआर छाड्न सक्ने संकेत गरिएको थियो । तर उनले व्यक्तिगत भिडियो सार्वजनिक गर्दै आफूले आईपीएलमा केकेआर बाहेक अन्य टिमबाट नखेल्ने स्पष्ट पारेका थिए ।
यस सिजन रसेलले मैदानमा ब्याट र बलबाट आफ्नो त देखाउने छैनन् तर केकेआरको पावर कोच बनेर उनले युवा खेलाडीहरूलाई फिनिसिङ कला सिकाउनेछन् ।
केकेआरमा रहँदा रसेलले ब्याटिङमा २ हजार ६५१ रन बनाउनुका साथै १२३ विकेट समेत लिएका छन् । रसेलले केकेआरबाट दुई पटक आईपीएल उपाधि जितिसकेका छन् । केकेआरले आईपीएल जित्दा रसेलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सन २०१२ मा दिल्ली डेयरडेभिल्स (हालको दिल्ली क्यापिटल्स) बाट आईपीएल यात्रा सुरु गरेका रसेलले सन् २०२४ मा केकेआमार अनुबन्ध भएयता आफ्नो आक्रमक खेल देखाउँदै आएका थिए ।
केकेआरमा आफ्नो खेलाडी छँदाको यात्रा भिडियोमा हेर्दा रसेल भावुक बनेका थिए । ‘उक्त भिडियो हेर्दा म केही भावुक बनें’ रसेलले भने ।
‘दशकभन्दा बढी समयसम्म उत्कृष्ट उपलब्धिहरू हासिल गर्न पाउँदा र दुई पटक उपाधि जित्ने टोलीको हिस्सा हुन पाउँदा निकै विशेष अनुभव रह्यो । त्यो सफलताले सबैका लागि कस्तो अर्थ राख्छ भनेर देख्नु नै अलग किसिमको खुशी हो । विश्वकप जित्नु विशेष अनुभव हुन्छ, तर आईपीएल जित्नु बिल्कुल फरक अनुभूति हो । हामीले पछिल्लो पटक उपाधि जित्दा म भावुक बनेको थिएँ’ रसेलले भने, ‘जब तपाईंले मैदानमा आफ्नो सबै कुरा दिइसक्नुभएको हुन्छ, तब खेलबाट टाढा हुँदा कुनै पछुतो रहँदैन । मैले खेलेको प्रत्येक खेललाई मैले आफ्नो आईपीएल करियरको अन्तिम खेल जस्तो मानेर खेलेँ ।’
अब प्रशिक्षकको भूमिकालाई लिएर रसेल निकै उत्सहित छन् । उनले भने, ‘यस भूमिकामा रहन पाउँदा मलाई कुनै पछुतो छैन । म निकै उत्साहित छु ।’
उनले केकेआरका मुख्य प्रशिक्षक अभिषेक नायर र सहायक प्रशिक्षक शेन वाट्सन प्रशिक्षकहरूसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे ।
यसैबीच केकेआरले नयाँ सिजनका लागि रिंकु सिंहलाई उपकप्तान नियुक्त गरेको छ । यसअघि नै अजिन्क्या रहानले कप्तानी गर्ने निश्चित भइसकेको छ ।
प्रतिक्रिया 4