+

डाक्टरलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

२०८० चैत  २२ गते १४:०३ २०८० चैत २२ गते १४:०३
डाक्टरलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

सन् २०२० मा गरिएको एक अध्ययनअनुसार १२ फरक अंगको शल्यक्रिया गर्ने ५३ जना सर्जनमध्ये ६५ प्रतिशतमा गर्दनको, ३० प्रतिशतमा मेरुदण्डको र ११ प्रतिशतमा काँधको समस्या पाइएको थियो ।

कतिपय रोग र शारीरिक समस्या यस्ता हुन्छन्, जो पेशागत कारणले देखापर्छ । मान्छेको पेशाअनुरुप उनीहरुको जीवनशैली प्रभावित हुन्छ । लामो समय उभिनुपर्ने, एकै ठाउँमा बसिरहनुपर्ने, जोखिमपूर्ण काम गर्नुपर्ने, कतिपय हानिकारक रसायनको सम्पर्कमा रहनुपर्ने जस्ता कामले गर्दा उनीहरुमा सोही अनुरुपको रोग लाग्ने जोखिम हुन्छ । यस्तो जोखिमबाट अछुतो छैनन्, चिकित्सक पनि ।

चिकित्सक, जो बाह्रैमास बिरामीको सम्पर्कमा हुनुपर्छ । बिरामीको दुखाइ–पीडा सुन्नुपर्छ । लामो समय एकै ठाउँ बसेर वा उभिएर काम गर्नुपर्छ । यस्तो परिस्थितिमा उनीहरुलाई पनि कतिपय रोगको जोखिम हुनसक्छ ।

संक्रामक रोग

मौसमको कारणले रुघाखोकी, ज्वरो आउँछ । बिरामी अस्पताल पुग्छन् । अस्पतालमा उनीहरु चिकित्सकलाई भेट्छन् । उपचारको क्रममा धेरैजना भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा रुघाखोकी, क्षयरोग, कोरोना भाइरस, डेंगु जस्ता सरुवा रोग उपचाररत् चिकित्सकलाई सर्ने जोखिम हुन्छ ।

त्यस्तै, प्रयोगशालामा काम गर्ने चिकित्सकले कहिलेकाहीं अञ्जान एचआईभी, हेपोटाइटिस बी जस्ता रोगको बिरामीको उपचारको क्रममा तिखो सुई वा कैंचीले आफ्नो छाला काट्न पुग्छ, जसले गर्दा भाइरस रगतको माध्यमबाट सर्न सक्छ ।

रेडिएसन एक्सपोजर (विकिरण प्रभाव)

जो चिकित्सक लामो समय वा निरन्तरजसो विकिरणको सामीप्यमा बसेर काम गर्छन्, उनीहरुका शरीरलाई पनि हानि गर्ने विकिरणले असर गर्ने जोखिम हुन्छ । एक्स-रे, सिटिस्क्यान, ईआरसीपी, रेडियोथेरापी र केमोथेरापीजस्ता सेवा वा प्रविधिमा संलग्न अर्थात् विकिरणको सामीप्यमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको शरीरमा थोरै थोरै मात्रा गरेर विकिरणले प्रवेश गरेमा अल्पकालीन वा दीर्घकालीन रुपमा तिनीहरूको डीएनएलाई क्षति पुर्‍याउन सक्छ ।

यसले क्यान्सरको जोखिम पनि हुनसक्छ । इन्टरभेनसनल रेडियोलोजिस्ट र कार्डियोलोजिस्ट जसले फ्लुओलोरोस्कोपी प्रविधि प्रयोग गर्छन्, उनीहरुमा ब्रेन ट्युमरको जोखिम बढी हुन्छ ।

कम्मर, ढाड दुखाइ तथा भेरीकोजको समस्या

कतिपय चिकित्सकलाई ढाड दुखाइ, गर्दन तथा कम्मर दुखाइको समस्या हुन्छ । विशेषगरी सर्जनहरुमा यो समस्या बढ्ता देखिन्छ । किनभने उनीहरु एकै आसनमा घण्टौं उभिएर शल्यक्रिया वा अन्य उपचार गरिरहेका हुन्छन् ।

सर्जन मात्र होइन अन्य चिकित्सक जो एकै समय उभिएर वा एकै पोजिसनमा बसेर काम गर्छन्, उनीहरुमा हाड, जोर्नी तथा नसासम्बन्धी समस्या देखिन्छ ।

त्यस्तै लामो समयसम्म उभिंदा भेरीकोज (पिंडौलामा रक्तनसा फुल्ने) को समस्या देखिन्छ । शरीरका सबै अंगको रगत रक्तनसाबाट मुटुमा पुग्नुपर्छ । मुटुले ती रगतलाई छानेर पुनः शरीरको सबै भागमा पुर्‍याउँछ । तर लामो समयसम्म उभिई काम गर्नुपर्ने व्यक्तिको पिंडौलाका रक्तनसामा रहेका भल्बहरुले बिस्तारै खुकुलो हुँदै गएपछि खुट्टातिरको रगत मुटुमा पुग्न कठिन हुन्छ । जसकारण रगत मुटुमा पुग्न नसकी पिंडौलातिरै थुप्रिएर त्यहाँको रक्तनसा फुलिएर गड्ँयौला जसरी गुजुल्टिएर बसेको देखिन्छ ।

निद्राको समस्या

चिकित्सकमा सबैभन्दा ठूलो समस्या हो, निद्रा नपर्नु वा निद्रा नपुग्नु । तालिममा होस् वा उपचारको क्रममा चिकित्सकले दिनरात नभनी ड्युटी गर्नुपर्ने हुन्छ । जसकारण निद्रा पुग्दैन । आपतकालीन अवस्थामा त आधारातमा समेत फोन आएर कुराकानी गर्नुपर्ने, फोनमै लामो समय कुरा गर्नुपर्ने वा तुरुन्त अस्पताल पुग्नुपर्ने हुन्छ । जसकारण उनीहरुमा एक्युट डिप्राइभेसन र क्रोनिक डिप्राइभेसनको समस्या हुन्छ ।

एक्युटस्लिप स्लिप डिप्राइभेसन-एक्युट स्लिप डिप्राइभेसन भन्नाले केही दिन सुत्न नपाउँदा देखिन सक्ने समस्या हो । जो चिकित्सक वा स्वास्थ्यकर्मीको सातामा दुई, तीन रात निद्रा नपुग्दा काममा ध्यान दिन नसक्ने, कुनै कुरा स्मरण गर्न नसक्ने र शरीरमा ऊर्जा नहुने हुनसक्छ ।

त्यस्तै, क्रोनिक स्लिप डिप्राइभेसनको समस्या त्यस्ता स्वास्थ्यकर्मीलाई हुनसक्छ, जो दिनहुँजसो राति ड्युटी गर्छन् । उनीहरुमा खान, पिउन र सुत्ने समयको तालमेल नमिल्दा शरीरमा ऊर्जा नहुने, तनाव भइरहने र बिस्तारै मधुमेह, उच्च रक्तचाप, डिप्रेसन र मस्तिष्कघात हुनसक्छ ।

मनोगत समस्या

अस्पतालमा दिनकै बिरामीको कोलाहाल, उनीहरुको पीडा, कति प्रयास गर्दा पनि बिरामीको उपचारमा सफलता नमिल्दा वा उपचारको क्रममा भवितव्य हुन जाँदा चिकित्सकलाई त्यस्तो वातावरणले तनाव हुनसक्छ ।

कहिलेकाहीं बिरामीको जीवन र मृत्युको निर्णयसम्म लिनुपर्ने हुन्छ । यस्तोमा चिकित्सकलाई तनाव हुने गर्छ । कतिपय अवस्थामा आफ्नो ड्युटीको कारण घरमै समय दिन नपाउँदा पनि उनीहरुमा तनाव सिर्जना हु्नसक्छ ।

त्यसबाहेक कहिलेकाहीं उपचार गर्दागर्दै बिरामीको मृत्यु हुँदा चिकित्सकमाथि भीडले हातपात गर्नेसम्मका घटना हुन्छन् । कतिपय बेला यसले शारीरिक चोट त दिन्छ नै,  उनीहरुमा यस्तो घटनाले दीर्घकालसम्म मानसिक समस्या पनि दिनसक्छ ।

पाचनको समस्या

चिकित्सकहरु खाना खाने समयमा नखाएमा वा बाहिरको खानेकुरा बढी खाएमा पाचन समस्या हुन्छ भन्ने कुरामा सचेत छन् । तर पनि उनीहरुको खाने ठेगान हुँदैन । धेरैजसो समय अस्पतालमै बिताउनुपर्ने हुँदा बाहिरको खानेकुरा पनि खानुपर्ने बाध्यता हुनसक्छ । जसकारण उनीहरुमा ग्यास्ट्राइटिस, कब्जियत, पायल्स, अपच जस्ता पाचन समस्या देखिन सक्छ ।

चिकित्सकलाई रोग प्रा. डा. लोचन कार्की स्वास्थ्य समस्या
प्रा.डा. लोचन कार्की
लेखक
प्रा.डा. लोचन कार्की
जनरल फिजिसियन 

मेडिकल काउन्सिल दर्ता नम्बर : ४६८७ एमबीबीएस, एमडी, पोस्ट ग्राजुएसन इन एभिएसन मेडिसिन वीर अस्पताल, फ्रन्टलाइन अस्पताल, हिमाल अस्पतालमा कार्यरत, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय