+
+
वर्षान्त : २०८० :

स्क्रिप्ट ‘स्टार’ बन्न सुरु भएको वर्ष

पुरानो पुस्ता पुनः फिल्म निर्माणमा जुर्मुराएको अवस्था छ तर, कस्तो फिल्म चल्छ भन्नेमा उनीहरु अलमल देखिन्छन् । कम्तीमा यो अलमल, सुखद भविष्यतर्फको संक्रमण हो ।

विष्णु शर्मा विष्णु शर्मा
२०८० चैत २९ गते २०:२५

प्रायः ठट्यौली पाराको भाषण रुचाउने नीर शाह यति क्रोधित, मुखर र प्रष्ट कहिल्यै सुनिएनन् । जति उनी चैत पहिलो साता काठमाडौंमा आयोजित निफ फिल्म फेस्टिभलमा सुनिए ।

भन्दै थिए– ‘हरेक साल असफल हुने ९५ फिल्मका कारणले गर्दा चलचित्रकर्म यहाँसम्म आइपुगेको होइन । हरेक साल सफलताको श्रेणी चढेका पाँच फिल्मले गर्दा चलचित्रकर्मीले यो श्रेणी चढेका हुन् । त्यो पाँच चारमा नझरुञ्जेल, त्यो चार तीनमा नझरुञ्जेल, हामीले दुःखमनाउ गर्नुपर्ने कुनै कारण नै छैन ।’

शाहका यी अभिव्यक्तिमा असहमत हुन सकिएला तर, बेवास्ता गर्ने सुविधा छैन । किनभने, असोजमा ५८ वर्ष टेकेको नेपाली फिल्म अहिले यही ‘एन्टीथेसिस’को शिकार बनिरहेको छ ।

संख्या र गुणको यो विमर्श बुझ्न २०८० सालको बक्स अफिस गणितबारे चर्चा गरौं । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार २०८० सालमा ५२ राष्ट्रिय र ८६ अन्तर्राष्ट्रिय फिल्म रिलिज भए । जसमध्ये ७ घरेलु र २१ विदेशी फिल्म व्यवसायिक सफल रहे । १७ करोड १७ लाख ग्रस कलेक्सनसहित ‘जारी’ धेरै कमाउने नेपाली फिल्म बन्यो । ४५ फिल्म बक्स अफिसमा असफल रहे ।

विदेशीतर्फ भारतका ‘एनिमल’ र ‘जवान’ले सर्वाधिक पैसा छापे । ‘ओपेनहाइमर’ र ‘बार्बी’ धेरै कमाउने हलिउड फिल्म बने । यसवर्ष नेपालको फिल्म बजारको आयतन एकदेखि डेढ अर्ब हाराहारीमा देखिन्छ । घरेलु फिल्मले ४०-५० करोडको हिस्सा ओगट्दा विदेशी फिल्मले ६० करोडसम्मको कमाइ गरेको हिसाब छ । यी अंकगणितले प्रस्तुत गर्ने केही तस्वीरमा घरेलु फिल्म बजारको ल्याण्डस्केपमा परिवर्तनका केही बाछिटा स्पष्ट देखिन्छ ।

यसवर्ष रिलिज हुने घरेलु फिल्मको संख्या आधाले घटेको देखिन्छ । प्रदर्शन हुने फिल्मको संख्या आधा घटे भनेर दुःखी हुनुपर्ने कारण छैन । लगानीकर्तामा शुद्धीकरण प्रयत्न भएको छ, जुन सकारात्मक हो । हलिउड कमाइमा वृद्धि देखिन्छ । अंग्रेजीले हिन्दीकै हाराहारीमा कमाइ गरेको छ । विदेशीतर्फ फ्रेन्चाइजी फिल्मले बढी कमाएका छन् ।

रिलिज तथ्यांक र कमाइको आयाम हेर्दा यो वर्ष ‘कालो बादलमा चाँदीको घेरा’ले पोतिएको छ । यो आलेखमा व्यवसायिक पाटो मात्र होइन, सन् २०८० लाई वस्तुगत र विषयगत कोणबाट हेर्ने प्रयास गरिनेछ ।

स्टारडम हैन, स्क्रिप्टको जगमा उभिएको वर्ष

५८ वर्षे इतिहास बोकेको नेपाली फिल्मले ६० को दशकदेखि जुन संकट भोग्दै आएको छ, त्यो पटकथासँग सम्बन्धित छ । अहिले नेपाली फिल्ममा विचारका दुईवटा पाठशाला छन्, एउटा स्कुलले ‘स्टारडम’लाई प्रधान ठान्छ र अर्को स्कुलले पटकथालाई ।

२०८० साल ‘स्क्रिप्ट स्टार’ भएको वर्ष हो । यसवर्ष पैसा छापेका फिल्म स्टारडम हैन, बलियो स्क्रिप्टको जगमा उभिएका शिल्प हुन् । यसको सामाजिक प्रभावको आयाममा बहस गर्न सकिएला तर, ‘जारी’ बलियो व्याकरणीय संरचनामा उभिएको फिल्म हो । ‘हल्कारा’, ‘ढोरपाटन’, ‘डाकिनी’जस्ता कलात्मक फिल्मदेखि बक्स अफिसमा चम्किएका ‘दिमाग खराब’, ‘महाजात्रा’को सशक्तता पनि त्यो हो ।

स्क्रिप्ट कमजोर भए स्टारडमले पनि जोगाउन सक्दैन भन्ने पुष्टि यसैवर्षको ‘छड्के २.०’मा देखियो । अनमोल केसी अभिनित उक्त फिल्मको पहिलो दिनकै शो क्यान्सिल हुनेदेखि अकुपेन्सी १० प्रतिशत पनि नपुगेको दुर्भाग्यपूर्ण तस्वीर देखियो । यो कुरालाई अभिनेताले आत्मसमीक्षा गरेका छन् र स्क्रिप्ट बलिया भएका फिल्ममा काम गर्ने बताइसकेका छन् ।

यसवर्ष दयाहाङ राईका ८ (डिग्री माइला २०८१ सालमा गणना हुनेछ)  फिल्म रिलिज भए जसमा ४ फिल्म मात्र चले । ती चार फिल्म पनि दयाहाङको ‘स्टारडम’मा होइन, स्क्रिप्टको भव्यता र सामथ्र्यले चलेका हुन् । जुन चलेनन्, त्यसमा स्क्रिप्टले ‘सिनेम्याटिक अपिलिङ’ सिर्जना गर्न सकेन ।

यही कारण २०८० साल स्क्रिप्टप्रति चासो बढेको वर्ष हो । यो वर्ष ‘स्क्रिप्ट डक्टरिङ’को अवधारणा सुरु भयो । निश्चल बस्नेत, प्रदीप भट्टराई, सन्तोष सेनहरुले ‘स्क्रिप्ट डक्टरिङ’लाई आत्मसात गरे । भुवन केसी र अशोक शर्माहरु त्यसलाई पछ्याउँदैछन् ।

‘स्टारडम’ले फिल्म चल्छ र चल्नुपर्छ भन्ने परम्परागत फिल्म मार्केटिङ र मेकिङप्रति उनीहरुको जुन अभिरुचि थियो, २०८० सालसम्म आइपुग्दा यसप्रति उनीहरुको विश्वास उडेको देखिन्छ । उनीहरुले आगामी प्रोजेक्टका लागि ‘स्क्रिप्ट डक्टरिङ’ थालेका छन् । हामी जुन कुरालाई ‘मेनस्ट्रिम’ भनिरहेका छौं, त्यो सोच र शैलीबाट उदाएका उनीहरुमा देखिएको यो परिवर्तनको गम्भीर अर्थ छ ।

स्टारलाई मात्र बेचेर फिल्म चलाउन खोज्ने पुरानो पुस्ता अब गम्भीर ढंगले फिल्म व्याकरणको खोजीतर्फ अघि बढ्दैछ । २०८१ सालमा यो ट्रेन्ड अझै वृद्धि हुनसक्छ जसको सुरुवात भैसकेको छ । आउँदो वर्ष ब्याकरण सुधारको प्रयत्न यति तीव्रताको साथ अघि बढ्नेछ कि मेकर फिल्म साहित्यिक र प्राज्ञिक उत्पादन हो भन्ने मूल्यलाई आत्मसात गर्दैछन् ।

हुनसक्छ, यही कारण अघिल्लो पुस्ता कस्तो कथा बिक्री हुन्छ भन्ने बुझ्न प्रयत्नरत छन् । पुरानो पुस्ता पुनः फिल्म निर्माणमा जुर्मुराएको अवस्था छ तर, कस्तो फिल्म चल्छ भन्नेमा उनीहरु अलमल देखिन्छन् । कम्तीमा यो अलमल, सुखद् भविष्यतर्फको संक्रमण हो ।

दयाहाङले डोर्‍याएको वर्ष

२०८० सालमा नेपाली फिल्मको बजार र वितरणको मनोविज्ञान दयाहाङ प्रेरित रह्यो । दयाहाङ बिना फिल्म चल्दैन भन्ने मनोविज्ञान मेकरमा पाइयो । दयाहाङलाई लिएर फिल्म बनाएका निर्माता पनि उनले पब्लिसिटीमा समय दिन सक्दैनन् वा उनकै अर्को फिल्मसँग जुध्ला कि भन्ने भयमा छन् ।

यस्तो असामाञ्जस्यको स्थिति २०८१ सालमा अझै बढ्नेछ, किनभने, आउने वर्ष रिलिज हुने आधाआधीको सुटिङ सकिएको छ । आउने वर्ष पनि दयाहाङ प्रेरित हुने निश्चित छ । यसको अर्थ,यो प्रवृत्तिले निरन्तरता पाउनेछ । दयाहाङ स्वयमलाई थाहा छैन, उनले कति फिल्म साइन गरे । दयाहाङले जुन दबाबमा अहिले काम गरिरहेका छन्, यसको उत्तर उनलाई मात्र थाहा छ ।

यो परिदृश्यमा यतिबेलाको सबैभन्दा महत्वपूर्ण प्रश्न– अब निर्माताले दयाहाङमा लगानी गर्ने कि स्क्रिप्टमा ? यो अन्योल र प्रश्न २०८१ सालमा अझै सघन हुनेछ । किनभने, २०८० सालमा रिलिज भएका दयाहाङका ८ मध्ये ४ फिल्म मात्र चल्न सके । तर, यी चार फिल्मको केन्द्रमा बलियो स्क्रिप्टको संरचना थियो । नत्र, निकै हाइप पाएका उनका बाँकी चार फिल्म बक्सअफिसमा असफल रहे ।

दयाहाङ जुन राजनीतिक र सामाजिक पृष्ठभूमिमा घरेलु फिल्मको केन्द्रमा स्थापित भए, यो समय उनी आफैले निर्मम समीक्षा गर्नुपर्ने टाइमलाइन पनि हो । यतिबेला दयाहाङ घरेलु फिल्ममा व्यक्ति होइनन्, प्रवृत्तिकै रुपमा स्थापित भैसके । दयाहाङमाथि गरिएको लगानी र फिल्म अफरको सूची हेर्दा लाग्छ, उनी कम्तीमा केही वर्ष व्यस्त हुनेछन् ।

सोसल–रियालिज्म’बाट मुक्त हुन नसकेको वर्ष

२०८० साल सामाजिक यथार्थवादी मनोविज्ञानका फिल्म वरपर घुम्यो । दर्शकलाई वाक्कै पार्ने गरि नेपाली फिल्म ‘सोसल रियाजिल्म’को चक्करबाट बाहिर निस्कन सकेको छैन, यसको असर अझै केही वर्षसम्म देखिने पक्का छ ।

फिल्ममेकरको एउटा तप्कामा ‘सामाजिक यथार्थवाद’को विकल्प खोज्नुपर्ने वहस सुरु भैसकेको छ । २०८० सालमा फिडेल देवकोटाको ‘द रेड सुट्केस’, इयान स्कट क्लेमेटको ‘बसेनजी’, आशुतोष कार्कीको ‘जम्प’ले २०८० सालमा यो वहसको थालनी गरिदिए ।

समाजमा आधारित भएर मात्र फिल्म बनाउनुपर्छ भन्ने सोच पुरानो भैसक्यो । हलिउड र बलिउडले यो अवधारणा छाडिसकेको उहिल्यै हो । २०८० सम्म हामी ‘सोसल रियालिज्म’लाई कटु सत्य मानेर फिल्म बनाइरहेका छौं । अहिले हामीले फिक्सनलाई अंगीकार नै नगरेको, अथवा बहिष्कार गरेको जस्तो भइरहेको छ । फिक्सनको आयाममा नेपाली फिल्म धेरै कमजोर छ । कल्पनाशीलतामा आधारित सिर्जनशीलतालाई अब अधिकतम रूपमा प्रयोग गर्नुपर्छ ।

फिल्म समाजको ऐना हो र यसमा समाजको प्रतिविम्व देखिनुपर्छ भन्ने भाष्य पुरानो भइसक्यो । सरकारी निकाय र ‘मूलधार’ फिल्म समाजको ऐना हो भन्ने न्यारेटिभमै अलमलिएको देखिन्छ । २०८० साल यही मनोविज्ञान वरपर घुम्यो र सिंगो ८० को दशक यही भाष्य वरपर घुम्ने पक्का छ । त्यतिञ्जेलसम्म ‘सोसल रियालिज्म’को गति धीमा हुनसक्छ र काल्पनिकता (फिक्सन) प्रभावशाली बन्न सक्ने देखिन्छ ।

विदेशी फेस्टिभलमा दबदबाको वर्ष

हामी जेलाई अन्तर्राष्ट्रियकरण भनिरहेका छौं, त्यो अपूर्ण छ । नेपाली फिल्म डायस्पोरा र फेस्टिभलमा पुगेको हो, अन्तर्राष्ट्रिय बजारमा होइन । विदेशी बक्सअफिस मार्केट र ओटीटी प्लाटफर्ममा पहुँच छैन । २०८० सालमा पनि नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारतर्फको यात्रा थालनी गर्न सकेन । डायस्पोरा र फेस्टिभलमा लोभलाग्दो उपस्थिति चाहिं देखियो ।

यसवर्ष विदेशी महोत्सवमा नेपाली फिल्मले जुन छलाङ मार्‍यो, यो अभूतपूर्व हो । मीनबहादुर भामको ‘शाम्बाला’ बर्लिनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विधामा छनोट हुने पहिलो नेपाली मात्र होइन दक्षिण एसियाली फिल्म बन्यो । टोरन्टोमा वल्र्ड प्रिमियर भएको नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ पहिलोपटक बेइजिङमा छनोट भयो । टोरन्टो, बुसान, साओ पाउलो, मुम्बईमा यो फिल्म स्क्रिनिङ भयो ।

‘द रेड सुट्केस’ भेनिस प्रिमियर हुँदै मुम्बई, हेडेलवर्ग, जेनेभिया, सर्वियामा स्क्रिनिङ भयो । यो फिल्मलाई अमेरिकी टेलिभिजन एचबीओले युरोपका १६ देशका लागि ओटीटी अधिकार खरिद गरेपछि यसको लगानी सुनिश्चत भैसक्यो । ‘गुराँस’ बुसान, मुम्बई, केरला, कोलकाता, कार्लोभो भारीमा स्क्रिनिङ भयो । ‘ढोरपाटन’ सेफिल्ड डकफेस्ट, ‘साक्षी रुख’ बुसान, रोट्रड्याम, क्लेरमोन्ट फेराडमा छनोट भयो । सरकारी सहयोग बिनै अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली फिल्मको यो उपस्थिती अभूतपूर्व छ जसले ‘अन्तर्राष्ट्रियकरण’तर्फको यात्रालाई अझै गतिशिल तुल्याउन सक्छ ।

कथानक मात्र हैन, अन्तर्राष्ट्रिय फेस्टिभलमा छोटा फिल्मको उपस्थिती बलियो छ । केसाङ छेतेनको ‘डाइभर्सिटी प्लाजा’ डकुमेन्ट्रीका लागि प्रख्यात डक न्युयोर्कसम्मै पुग्यो । सर्ट फिल्मतर्फ सुनिल गुरुङको ‘विन्डहर्स’, विदुषी गिरीको ‘चिसो घर’ र ‘हेलेना’ मुम्बईमा पुगे । काठमाडौंको निफ फेस्टिभलमा नीर शाहले अबको ध्यान छोटा फिल्मतर्फ हुनुपर्ने बताएका थिए । यी दिग्गज फिल्ममेकरको सर्ट फिल्मप्रतिको बुझाइले धेरै हदसम्म अहिलेको यथार्थ दर्शाउँछ ।

२०८० सालमा नेपाली फिल्म फेस्टिभलमै सीमित रहे । अन्तर्राष्ट्रिय बजारमा फैलिन सकेनन् । छनोट र स्क्रिनिङ मात्र चक्र बन्यो । अब फेस्टिभल छिचोल्न जरुरी छ । यसका लागि हामी जुन चीजलाई ‘मेनस्ट्रिम’ भनिरहेका छौ, यी फिल्म र वैकल्पिक मनोविज्ञानमा बनेका क्राफ्टबीच बलियो मर्जर हुनु जरुरी छ । यी दुई फिल्मबीच ब्याकरण, मनोविज्ञान र प्रयत्नको एकता आवश्यकता भैसक्यो ।

यसको उदाहरण यसवर्ष अस्कर जितेको क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘ओपेनहाइमर’लाई लिन सक्छौं । यो फिल्मले विश्व बक्सअफिसमा ९६० मिलियन डलर कमायो, उति नै आर्टहाउस फिल्म रुचाउने दर्शकको पनि मन जित्यो । एकातिर व्यवसायिक विश्व र अर्कोतिर आर्टहाउस सर्किट, दुवैलाई सन्तुलनमा राखेर जसरी यसले चर्चा बटुल्यो, यो शैलीको बजारीकरण र क्राफ्ट नेपालले किन नसिक्ने ?

बेस्ट–सेलर उपन्यासकारको फिल्म डेब्यु वर्ष

बेस्ट–सेलर लेखक धमाधम पटकथा लेखनमा जुटेका छन् । २०८० साल साहित्यकारलाई फिल्म लेखनमा डोर्‍याउने महत्वपूर्ण वर्ष बन्यो । फिल्म निर्देशकको माध्यम भएपनि उपन्यासकारको फिल्म लेखन र निर्देशन डेब्युले ‘दृश्यभाषाको खडेरी’ तोडिने विश्वास छ । घरेलु फिल्ममा औपन्यासिकताको रिक्तताबीच समकालिन नेपाली साहित्यका ठूला नाम एकपछि अर्को गरी चलचित्रकर्ममा जोडिएका छन् ।

२०८० सालको वैशाख १ गते रिलिज भएको ‘जारी’ प्रतिष्ठित कवि तथा कथाकार उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय फिचर हो । यो फिल्म यसवर्षकै सर्वाधिक कमाउने फिल्म मात्र बनेन्, यसैवर्ष सुब्बाले दोस्रो निर्देशकीय फिचर ‘मनसरा’को छायांकन सके । कुमार नगरकोटीले लेखेको कथामा नीर शाह फिल्म बनाउँदैछन् । यो बेनामे फिल्मलाई फेन्टासी वा स्वैरकल्पना जनरामा राखिएको छ ।

नेपाली पाठकमाझ चर्चित अर्का आख्यानकार बुद्धिसागर तीन फिल्म लेखिरहेका छन् । अर्जुन कुमारसँग ‘बर्मजङको भिडियो’, निश्चल बस्नेतसँग ‘जिन्दावाद’ र दीपेन्द्र के खनालसँग ‘के घर के डेरा : घर नम्बर २’ को पटकथा उनी लेख्दैछन् । रिलिजको हिसाबले ‘के घेरा के डेरा’को सिरिज पहिलो हुनेछ, जसको प्रदर्शन मिति आगामी तिहारलाई तय छ ।

आख्यानकारको प्रवेशले फिल्मको औपन्यासीकरण उत्कृष्ट हुने अपेक्षा छ । नेपाली फिल्मको विकासक्रममा जसरी नाटकबाट आएका मान्छेले नाट्य संरचनामा योगदान दिए, उपन्यासबाट आएकाले औपन्यासिकतामा मद्दत गर्न सक्छन् । किनभने, जसरी पनि कथाको खोजी भैरहेको स्थिती हो अहिले । दृश्यको व्याख्या गर्न सक्ने मान्छे दृश्यभाषामा आउनु सुखद् कुरा हो ।

नायकत्व’ निर्माणमा चुकेको वर्ष

२०८० साल नायक निर्माणको अवसरबाट चुकेको वर्ष बन्यो । देखिने गरि नयाँ–पुराना फिल्म कलाकार रजतपटमा स्थापित भएनन् । राजेश हमालपछि नेपाली फिल्मले गुमाएको सबैभन्दा उल्लेखनीय पक्ष यसको नायकत्व निर्माणको प्रक्रिया हो । हलिउड र बलिउड यतिबेला नायक निर्माणतर्फ अग्रसर छन् । उनीहरु नायक केन्द्रित ब्रह्माण्ड सिर्जनामा केन्द्रित छन् ।

यसवर्ष बलिउडमा यशराज ब्यानर र रोहित सेट्टीले कप्स युनिभर्स घोषणा गरे । साउथमा केजीएफ र सलार युनिभर्स घोषणा भए । हलिउड मार्वल सिनेम्याटिक, डीसी कमिक्ससहित अन्य बलशाली नायक निर्माणको प्रक्रियामा छ । हलिउड र बलिउडमा जति पनि सिनेम्याटिक युनिभर्स बनेका छन्, ती सबैको केन्द्रमा शक्तिशाली नायकको रचना गरिएको छ ।

नेपालमा पनि केही निर्माताले यसवर्ष युनिभर्स शैलीमा फिल्म लैजाने चर्चा त गरे तर बलियो नायक बिना युनिभर्सको परिकल्पना हुन सक्दैन ।

राजेश हमालपछि हामीले नायक जन्माउन सकेनौं । नेपाली फिल्मको हिरो निर्माणमा सामाजिक यथार्थवाद बाधक बनिरहेको देखिन्छ । हुनसक्छ, यही कारण दयाहाङ राईले निर्वाह गर्ने चरित्रमा ‘हिरोइज्म’ सिर्जना हुन सकिरहेको छैन ।

किनभने ‘सोसल रियालिज्म’ले जहिल्यै चरित्रको कुरा गर्छ, तर नायक निर्माणको समग्र प्रक्रियालाई यसले मद्दत गर्दैन । हामी जसलाई मेगास्टार र हिरो भनेर भन्छौं, यो भनाइ र गराइको प्रक्रियामा गहिरो अन्तरविरोध देखिन्छ ।

राजनीतिसँग रिसाइरहेको सिनेमा

२०८० सालमा राजनीतिक कथावस्तुको ट्रेन्ड चल्यो । प्रसाद २, ऐंचो पैंचो, दिमाग खराब, महाजात्रा, काँडेतार, नांगो गाउँजस्ता फिल्मले घरेलु राजनीतिमा आफ्नो स्टेटमेन्ट दिने प्रयत्न गरे । ‘काँडेतार’ले नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्छ भन्ने कथा भन्यो । ‘दिमाग खराब’ले वैकल्पिक राजनीतिको भाष्य सिर्जना गर्‍यो ।

‘महाजात्रा’ले आर्थिक र राजनीतिक विकृतिलाई कटाक्ष गर्‍यो । ‘नांगो गाउँ’ले राजनीति मात्र होइन, जनता स्वयम सुध्रनुपर्छ भन्ने वास्तविकता पस्कियो । ‘ऐंचोपैंचो’ले राजनीतिक दाउपेचको कथा भन्यो । जे भएपनि, यी फिल्ममा असन्तुष्टि र आक्रोश थिए । यसवर्षलाई राजनीतिसँग रिसाइरहेको सिनेमाको रुपमा व्याख्या गर्न सकिन्छ ।

राजनीतिलाई मनोरञ्जनको आधारमा बनाएका यी फिल्ममध्ये केहीले बक्स अफिसमा राम्रै कमाइ पनि गरे । ‘महाजात्रा’ र ‘दिमाग खराब’ हेर्न सर्वसाधारण मात्र हैन, नेताको पनि लस्कर लाग्यो । २०८० साल राष्ट्रिय राजनीतिका धेरै नेता हलसम्म पुगेको वर्षको रुपमा पनि स्मरणीय हुनेछ ।

नेपालमा हलिउड बजार विस्तारको वर्ष

२०८० सालमा नेपालमा रिलिज भएका कुल ८६ अन्तर्राष्ट्रिय फिल्ममध्ये २१ वटा बक्स अफिसमा चले । जसमध्ये १० वटा हलिउड फिल्मले राम्रै कमाइ गरे । बाँकी एनिमल, जवान, डंकी, शैतान, गदर २, ओएमजी २ सहितका भारतीय फिल्म थिए ।

यसवर्ष नेपालमा ओपेनहाइमर, बार्बी, फास्ट एक्स, मिसन इम्पोसिबल, कुङ्फु पाण्डा ४, मार्वल्स, आक्वाम्यान, ड्युन २, गोडजिलाले उत्कृष्ट कमाइ गरे । पछिल्लो समय नेपाली बजारमा हलिउडको बजार क्रमशः वृद्धि हुँदै गएको देखिन्छ ।

यसो हुनुमा सहरी र अर्धसहरी क्षेत्रमा मल्टिप्लेक्सको स्थापना, ओटीटीसहितको प्रविधिमा पहुँच, अंग्रेजी भाषा पढेर हुर्किएको पछिल्लो पुस्ताको जनसांख्यिक वृद्धि प्रमुख कारण छन् । काठमाडौं मात्र हैन, नेपाली र भारतीय फिल्मको परम्परागत बजार मानिने पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज र पूर्वी सहरमा समेत पछिल्लो समय अंग्रेजी फिल्मको सेयर राम्रो देखिन्छ ।

केही ट्रेन्ड जसको अर्थ महत्वपूर्ण छ

२०८० साल परिवारसँग कनेक्ट भएको वर्ष बन्यो । ‘महाजात्रा’ यसको उदाहरण हो । परिवार केन्द्रित यस्ता फिल्मले परिवारका सबै सदस्यलाई हलसम्म तान्न भूमिका खेले । परिवारका सदस्य बसेर फिल्म हेर्ने संस्कृति प्रवद्र्धनमा महाजात्रा, जारीजस्ता फिल्मले मद्दत गरे । फिल्ममा परिवारको लगाव देखियो ।

पर्दाबाट ‘सिनेम्याटिक भ्यालु’ हराइरहेको बेला २०८० सालमा मुख्यतः तीन फिल्मले त्यो मूल्यलाई जोगाउन प्रयत्न गरे– राजन कठेतको ‘ढोरपाटन’, खिन्से नोर्बुको ‘डाकिनी’ र फिडेलको ‘द रेड सुट्केस’ । नेपालको पहिलो एनिमेटेड फिल्मको रुपमा इतिहास रच्ने तयारीमा रहेको ‘सलिना : योद्धा राजकुमारी’ले हलबाट उचित शो नपाएको भन्दै अन्तिम समयमा रिलिज स्थगित गर्‍यो । नेपाली फिल्मले यसवर्ष एउटा उत्कृष्ट मौका गुमायो ।

केही वर्षयता फिल्मको ‘इको–सिस्टम’ निर्माण गर्ने कुरामा वितरक र प्रदर्शकको नियन्त्रण कसिलो देखिएको छ । जुन नयाँ सर्जक, आर्टहाउस फिल्म र सिर्जनात्मक स्वतन्त्रताका लागि पक्कै पनि सुखद होइन । खासगरि, ‘खुला बजार प्रतिस्पर्धा’को वकालत गर्ने प्रदर्शकको यो प्रवृत्तिमा कलात्मक फिल्म हुर्कन पाउँदैनन् जसका केही उदाहरण हामीले केही वर्षदेखि हेर्दै आएका छौं ।

‘काँडेतार’ले चल्दाचल्दै शो उतार्‍यो, ‘उपहार’का निर्माता र प्रदर्शक आमनेसामने भए, ‘रेड सुट्केस’ले क्यूएफएक्स चेनमा रिलिज नगर्ने घोषणा गर्‍यो । यी र यस्ता श्रृंखला पछिल्लो समय बढिरहेका छन् जसलाई चलचित्र संघले तत्काल कदम चाल्नु जरुरी छ ।

२०८० साल राज्यले फिल्म नबुझेको र बुझाउन नसकिएको वर्ष बन्यो । सेन्सर बोर्डले फिल्म निर्माण इजाजतको लागि भन्दै सेन्सर कार्यविधिको नाममा २० बुँदे शर्त राखेर जसरी सिर्जनात्मक स्वतन्त्रतामा हस्तक्षेप गर्ने किसिमले प्रावधान ल्यायो, यो आपत्तिजनक थियो । त्यसपछि अहिलेसम्म कार्यविधिको अन्तिम मस्यौदा सार्वजनिक भइसकेको छैन ।

सेन्सर बोर्ड र चलचित्र विकास बोर्ड दुवै फिल्म निकायको कमजोर भूमिकामाझ वर्ष बित्यो, किनभने दुवै संस्थाले नीतिगत सवालमा कुनै उल्लेखनीय काम गर्न सकेनन् । यी दुवै फिल्मी निकाय दलीय कार्यकर्ता भर्तीको थलो बने, जसको नतिजा हामी अहिले भोगिरहेका छौं । कर्मचारी र दलीय नियन्त्रणको छायामा सिर्जनात्मक स्वतन्त्रता र यसको विकास चुनौतीपूर्ण बन्छ, बनिरहेकै छ ।

२०८१ मा फिल्मको संख्या अझै घट्न सक्छ

२०८१ साल २०८० सालकै मनोविज्ञान वरपर घुम्नेछ । आउँदो वर्षको दशैंसम्म रिलिज तयारीमा रहेका फिल्म अहिल्यैदेखि तयार छन् । जसले गर्दा, त्यतिबेलासम्मको फिल्मको चित्र स्पष्ट छ । सरकारले आगामी वर्ष नयाँ फिल्म र संस्कृति नीति संसदमा पेश गर्ने तयारी गरेको छ । २०२६ सालको कानुनले चलेको फिल्मका लागि आगामी वर्ष महत्वपूर्ण हुनेछ । त्यो आसपास फिल्म, संगीत र संस्कृति नीतिबारे महत्वपूर्ण विमर्श चल्न सक्छन् ।

२०८१ सालमा नेपाली फिल्म वृत्तमा कृत्रिम बौद्धिकता (एआई)लाई आधार बनाएर सीजीआई, भीएफएक्स र एनिमेसनको काममा वृद्धि हुनसक्छ र तयारी सुरु भइसकेको छ । केही अन्तर्राष्ट्रिय एनिमेसन स्टुडियोले आउने वर्ष नेपालबाट पनि काम गर्ने चर्चा छ । नेपाली विद्यार्थी र प्राविधिकले पनि आउने वर्ष एआई प्रविधि सिक्ने प्रयास हुने देखिन्छ ।

आउने वर्ष पनि नेपाली फिल्म दयाहाङ राईलाई केन्द्र मानेर वरपर घुम्नसक्छ । सुरुमा चर्चा गरिएजस्तो ‘दयाहाङ फोबिया’ले २०८१ सालमा पनि निरन्तरता पाउनेछ किनभने, आउने वर्ष उनकै फिल्मको सूची धेरै छ । अनमोल केसी, प्रदीप खड्का र पल शाहका पनि फिल्म रिलिज हुनेछन् । त्योभन्दा पनि महत्वपूर्ण कुरा, पुराना मेकर पुनः एकपटक जुर्मुराउनेछन् ।

वर्षेनी सय वा सो भन्दा बढी हाराहारीमा नेपाली फिल्म बन्दै आइरहेका थिए । त्यसबाट आधा घटेर २०८० सालमा ५२ फिल्म मात्र रिलिज भए । २०८१ सालमा त्यसबाट पनि २० प्रतिशत संख्या घट्न सक्ने प्रक्षेपण छ । यसो हुनुमा केही कारण जिम्मेवार छन् । मुख्यः कारण नयाँ–पुराना निर्मातामा दयाहाङमाथिको निर्भरता बढ्दो छ । उनी नभए फिल्म नचल्ने मनोविज्ञान बढी छ ।

दोस्रो मुख्य कारण– नयाँ र पुराना निर्मातामा कस्तो स्क्रिप्ट चल्छ भन्ने ठूलै अलमल छ । यो अलमलले स्क्रिप्टमाथि लगानी गर्ने परिस्थिति नहुनसक्छ । आर्थिक मन्दी र महंगीको असरले यसवर्ष कम फिल्म बने । निर्माण लागत करोडभन्दा माथि पुग्नु र लगानी उठ्ने सुनिश्चितता पनि नभएकाले २०८१ साल धेरै निर्माताका लागि ‘पर्ख र हेर’को वर्ष हुनेछ ।

यी कारणले फिल्ममेकिङमा एउटा शुद्धीकरण अवश्य हुनेछ, जुन सकारात्मक अवश्य हो । विभिन्न रहर र स्वार्थ बोकेका मान्छेको शुद्धीकरण आगामी वर्ष अझै देखिन सक्छ । ‘मुर्गा प्रवृत्ति’मा ब्यापक गिरावट आइसकेको छ र यसमा मिडियाको पनि ठूलो भूमिका देखिन्छ । किनभने, रहर भएपनि प्रवेश गर्ने आँट कम देखिन्छ ।

स्टारको अनुहार हेरेर लगानी गरिहाल्ने विदेशस्थित वितरकले अब त्यस्तो गर्नेछैनन् । जसको सीधा असर फिल्म निर्माणमा देखिनेछ किनभने डायस्पोरा फिल्म लगानीको सबैभन्दा ठूलो स्रोतमध्ये एक हो । २०८० सालमा डायस्पोराका वितरकले जति लगानी गरे, यसमा उनीहरुलाई नाफाभन्दा घाटा पुगेको छ । संख्या घट्छ भन्ने प्रमुख कारण यो पनि हो ।

आगामी दिनमा स्क्रिप्ट र निर्देशकमा नेपाली फिल्मले धेरै लगानी गर्नुपर्ने देखिन्छ । ‘स्टार’माथि अहिलेसम्म गरिएको लगानीले फाइदा भएन । स्क्रिप्ट र निर्देशकलाई स्टार मानेर अघि २०८१ साल उज्ज्वल हुनसक्छ ।

गत असोजमा नेपाली फिल्म इतिहासले ५८ वर्ष टेकेको छ । झण्डै ६ दशकको यात्रामा नेपाली फिल्मले सिक्दै, लड्दै र अस्तित्व जोगाउँदै अघि बढेको छ । बलिउडको छायामा समाप्त भएको अर्को पाकिस्तानी फिल्म उद्योग बन्नबाट नेपाली फिल्म क्षेत्र जोगिएको छ । ६ दशकमा नेपाली फिल्मको यो सबैभन्दा ठूलो उपलब्धि हो ।

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?