+

कसरी चिन्ने एन्टिबायोटिक औषधि, किन जथाभावी खान हुँदैन ?

२०८१ वैशाख  ५ गते २०:३० २०८१ वैशाख ५ गते २०:३०
कसरी चिन्ने एन्टिबायोटिक औषधि, किन जथाभावी खान हुँदैन ?

काठमाडौं । चिकित्सा विज्ञानका लागि ‘एन्टिबायोटिक’ वरदान मात्र होइन, अभिशाप पनि हुनसक्ने संशय गरिंदैछ । किनभने यसको प्रयोग यति व्यापक हुँदै गएको छ कि भोलिको दिन मान्छेको शरीरमा एन्टिबायोटिकले काम नै गर्न छाड्ने पो हो कि भनी चिन्ता गर्न थालिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चेतावनी दिइरहेको छ- ‘अरुको सल्लाह वा आफूखुसी एन्टिबायोटिक सेवन गर्दा ज्यानै जान सक्छ ।’

हामीकहाँ एन्टिबायोटिकको प्रयोग जथाभावी हुने गरेको चिकित्सकहरु बताउँछन् । यसले खासगरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर गर्नसक्ने उनीहरुको भनाइ छ । त्यसो त आम मान्छे एन्टिबायोटिकको संवेदनशीलताबारे पनि त्यति सचेत पनि छैनन् । एन्टिबायोटिकलाई सामान्य औषधिसरह मान्ने गरिएको छ ।

सरल भाषामा बुझौं, के हो एन्टिबायोटिक ?

वीर अस्पतालका जनरल फिजिसियन डा. लोचन कार्की भन्छन्, ‘एन्टी भनेको मार्ने वा वृद्धि–विकास रोक्ने र बायो भनेको जीवाणु हो । ब्याक्टेरियालाई नाश गर्ने औषधि वा गोली हो ।’

यसलाई सरल भाषामा बुझ्नुपर्दा जीवाणु नष्ट गर्ने वा वृद्धि–विकास हुन नदिने औषधि हो एन्टिबायोटिक ।

शरीरमा कुनै किसिमको ब्याक्टेरियाको संक्रमण भएमा एन्टिबायोटिक दिइन्छ । ब्याक्टेरिया छ कि छैन भन्ने कुरा चिकित्सकीय जाँचबाट पत्ता लाग्छ । यदि संक्रमण भएमा कुन र कति मात्रामा एन्टिबायोटिक खाने हो भनेर चिकित्सकले सिफारिस गर्छन् ।

‘स्वास्थ्य परीक्षण नगरी एन्टिबायोटिक दिन मिल्दैन,’ डा. कार्की भन्छन्, ‘किनभने संक्रमण ब्याक्टेरियाले मात्रा नभई विभिन्न कारणले हुनसक्छ । जस्तै फंगस, प्रोटाजोवा इत्यादि सूक्ष्म जीवाणुमा एन्टिबायोटिक औषधिले काम गर्दैन । यी जीवाणुलाई एन्टिबायोटिकले कुनै पनि असर गर्दैन र नष्ट गर्न सक्दैन । त्यसैले ब्याक्टेरियाबाट हुने संक्रमणका लागि मात्रै एन्टिबायोटिकको प्रयोग गरिन्छ ।’

डा. लोचन कार्की । फाइल तस्वीर

पछिल्लो समय चिकित्सकको परामर्श बिना नै एन्टिबायोटिकको प्रयोग भइरहेको उनी बताउँछन् । ब्याक्टेरियाको संक्रमण हो कि होइन ? केही पनि जाँच नगरी औषधि पसलबाट किनेर खाने चलन छ । यसले भविष्यमा नकारात्मक असर गर्नसक्छ ।

ब्याक्टेरियाको बनावट र कामको आधारमा एन्टिबायोटिक दिने गरिन्छ । जस्तै कुनै एन्टिबायोटिकले ब्याक्टेरियालाई नै पूर्ण रुपमा नष्ट गर्न दिइन्छ भने कुनै त्यसको वृद्धिविकासमा रोक लगाउन, कुनै ब्याक्टेरियाको प्रोटिन वा शक्ति नष्ट गर्ने काम गर्ने उनी बताउँछन् । त्यसैले यत्तिकै अँध्यारो गोली हाने जस्तै एन्टिबायोटिकको प्रयोग गर्नु हुँदैन ।

प्रचलित एन्टिबायोटिक

विश्वभर अहिले एकदमै प्रचलित पेनिसिलिन र सेफालोस्पिोरिन नामक एन्टिबायोटिक रहेको डा. कार्की बताउँछन् । यसले ब्याक्टेरियाको सेल वाल नै नष्ट गर्ने काम गर्छ । त्यस्तै एजिर्थ्योमाइसिन एन्टिबायोटिकले ब्याक्टेरियाले बनाउने प्रोटिनमा रोक लगाएर काम गर्छ । जसलाई मेडिकल भाषामा प्रोटिन सिन्थेसिस भनिन्छ ।

ब्याक्टेरियालाई ग्राम पोजेटिभ र ग्राम नेगेटिभ दुवै खालको संक्रमण हुनसक्छ । त्यसैले कुन खालको ब्याक्टेरियाको संक्रमण भएको छ पत्ता लगाएर मात्र एन्टिबायोटिक दिने गरिन्छ । त्यसैले जाँच गरेर मात्र एन्टिबायोटिकको प्रयोग गर्नु हुचुवाको भरमा नखानु भन्ने गरिन्छ । किनभने यो बाहिर जाँच नगरी थाहा हुँदैन ।

विदेशको हकमा चिकित्सकको सिफारिस (प्रिस्काइब) बिना एन्टिबायोटिक किन्न पाउँदैन र दिंदैन पनि । विदेशमा आभेर द काउन्टर औषधि मात्र किन्न पाइन्छ जस्तै रुघाखोकी, ज्वरो, टाउको दुखाइ, एन्टिएलर्जी, जुन चिकित्सकको परामर्श बिना खान मिल्छ । तर नेपालको हकमा त्यस्तो छैन । नेपालमा यत्तिकै चक्लेट किने जसरी किन्न पाइन्छ । कुनै प्रतिबन्ध नलगाएको उनी बताउँछन् ।

डोज पूरा नगरी खाँदा अझ खतरनाक

डोज पूरा नगरी आधा अधुरो खाँदा ब्याक्टेरियाले आफ्नो बनावट परिवर्तन गर्छ र अझ ब्याक्टेरिया सक्रिय हुँदै जान्छन्, उनले भनेपछि त्यही ब्याक्टेरियाको मार्ने एन्टिबायोटिकले पनि काम गर्ने हुन्छ । त्यसलाई एन्टिबायोटिक रेसिस्टेयान्ट भनिन्छ ।

के हो एन्टिबायोटिक रेसिस्ट्यान्ट ?

एन्टिबायोटिक रेसिस्ट्यान्ट भन्नाले एन्टिबायोटिकको सही प्रयोग नहुँदा बिस्तारै बिस्तारै त्यहाँ भएको ब्याक्टेरियाहरूले आफूभित्रको बनावटमा परिवर्तन ल्याउनु हो । त्यस परिवर्तनले ब्याक्टेरियाले एन्टिबायोटिकविरुद्ध लड्न सक्ने क्षमता विकास वृद्धि गर्छ, जसले गर्दा सोही ब्याक्टेरियालाई नष्ट गर्ने एन्टिबायोटिक प्रयोग गर्दा कुनै असर गर्दैन ।

यस्तो अवस्थालाई एन्टिबायोटिक रेसिस्ट्यान्ट भनिन्छ । जथाभावी एन्टिबायोटिक प्रयोग गर्दा बिस्तारै सबै एन्टिबायोटिकको ब्याक्टेरियाविरुद्ध लड्न सक्ने क्षमता ह्रास हुँदै जान्छ र उपचार सम्भव हुँदैन । मृत्युवरण हुनुपर्ने हुन्छ । त्यसैले हामीसँग उपलब्ध भएका एन्टिबायोटिकलाई जोगाउनुपर्ने अवस्था रहेको डा. कार्की सुझाउँछन् । यसलाई दुरुपयोग गर्न बन्द गर्नुपर्न उनको भनाइ छ । त्यसैले चिकित्सकको परामर्श बिना एन्टिबायोटिक किन्नु पनि हुँदैन र खानु पनि हुँदैन ।

कस्तो अवस्थामा सेवन गर्ने ?

कुनै पनि संक्रमण दुई-चार दिनमा ठीक भएन भने चिकित्सकलाई जाँच गराएर ब्याक्टेरियाले संक्रमण भएको अवस्थामा एन्टिबायोटिक खान सकिन्छ ।

हिजोआज एन्टिबायोटिकलाई अँध्यारोमा गोली हाने जसरी प्रयोग गरिरहेको पाइन्छ । ब्याक्टेरिया संक्रमण कुन प्रकारको हो, त्यो पत्ता लगाएर खाँदा ब्याक्टेरिया पनि मर्छ र रोग पनि निको हुन्छ । पछि सोही औषधिले पनि काम गर्छ । एन्टिबायोटिक रेसिस्ट्यान्टको जोखिम पनि हुँदैन । उदाहरणका लागि, चरालाई मार्न तोप पड्काउनुपर्ने आवश्यकता हुँदैन गुलेलीले नै काम गर्छ । त्यस्तै हात्तीलाई गुलेली काम गर्दैन, त्यसको लागि तोप नै चाहिन्छ ।

सामान्य मान्छेले कसरी छट्याउने एन्टिबायोटिक ?

‘मेडिकल फिल्डमा काम गर्ने चिकित्सक, नर्स, फार्मेसिस्टलाई एन्टिबायोटिक हो कि होइन सहजै थाहा हुन्छ तर सर्वसाधारणलाई यत्तिकै औषधिको नाम र खोल हेरेर एन्टिबायोटिक हो कि होइन ? थाहा पाउन सकिंदैन,’ उनी भन्छन्, ‘त्यसैले सर्वसाधारणले एन्टिबायोटिक चिन्न कि त चिकित्सकलाई सोध्नुपर्ने हुन्छ, कि त औषधि पसलमा फार्मेसिस्टलाई सोध्नुपर्छ । अर्को भनेको गुगलमा सर्च गरेर मात्र थाहा पाउन सकिन्छ ।’

पछिल्लो समय एन्टिबायोटिकको असर बिस्तारै कम हुँदै गइरहेको छ । अर्थात् ब्याक्टेरियाविरुद्ध लड्न सक्ने क्षमता अब एन्टिबायोटिकमा छैन, जसलाई चिकित्सकको भाषामा ड्रग रेसिस्टट्यान्ट पनि भन्ने गरिन्छ । एन्टिबायोटिक वर्षौंदेखि जथाभावी प्रयोग भएको हुँदा एन्टिबायोटिकले ब्याक्टेरियाविरुद्ध काम गर्ने क्षमता निकै कम हुँदै गइरहेको छ ।

एन्टिबायोटिक जथाभावी खाँदा के हुन्छ ?

बालबालिकाको आवश्यकताअनुसार एन्टिबायोटिक दिन सकिन्छ, तर चिकित्सकलाई जाँच गराएर मात्र । बालिबालिकाको हकमा सकेसम्म एन्टिबायोटिक नचलाउने र यसलाई अन्तिम विकल्पको रुपमा मात्र प्रयोग गर्नुपर्छ । त्यसैले बालबालिकालाई कुनै संक्रमण भएमा हतारहतार एन्टिबायोटिक दिनु हुँदैन ।

संक्रमण भएको चार-पाँच दिनसम्म सर्वेक्षण गर्नुपर्छ । किनभने बच्चाको एन्टिबडी बनाउन मद्दत गर्छ । रोगसँग लड्ने क्षमता वृद्धि भएर एन्टिबायोटिकबिना नै ब्याक्टेरियालाई नष्ट गर्छ । बिस्तारै उमेरसँगै रोगप्रतिरोधात्मक क्षमता बढ्दै जान्छ र एन्टिबायोटिकको प्रयोग गर्नुपर्ने अवस्था आउँदैन ।

‘तर स-साना समस्यामा पनि बच्चालाई एन्टिबायोटिक दिएमा रोगप्रतिरोधात्मक क्षमता ह्रास हुँदै जाने र एन्टिबडी विकास नहुने हुनसक्छ,’ डा. कार्की भन्छन्, ‘पछि गएर कुनै पनि एन्टिबायोटिक औषधिले काम नगर्ने हुनसक्छ । किनभने शरीरभित्रको ब्याक्टेरियाले पनि त्यही अनुसार आफूलाई विकास गरिसकेको हुन्छ ।

बालरोग विशेषज्ञ डा. रामभक्त सुवेदी उपयुक्त डोज सही तरिकाले प्रयोग नगर्दा हुनसक्छ । ‘तर  चिकित्सकको निगरानीमा प्रयोग गरेमा समस्या हुँदैन । जथाभावी प्रयोग गरेमा हुनसक्छ । किनभने कसैलाई मलम दिनुपर्ने हुन्छ भने कसैलाई ट्याब्लेट, इन्जेक्सन कुनै एन्टिबायोटिक नै नचाहिने पनि हुनसक्छ,’ उनी भन्छन् ।

डा. रामभक्त सुवेदी । फाइल तस्वीर

रोगको प्रकृति र ब्याक्टेरियाको संक्रमणअनुसार एन्टिबायोटिकको मात्रा फरक-फरक हुने उनी बताउँछन् । सामान्यतया ५, ७, १०, १२, १४ दिन र महिनौंसम्म खानुपर्ने हुन्छ । क्षयरोगको हकमा ६ महिना, ९ महिना र १२ महिनासम्म एन्टिबायोटिक सेवन गर्नुपर्ने डा. सुवेदी बताउँछन् । किनभने पूर्ण रुपमा एन्टिबायोटिक प्रयोग गरेमा भने सबै ब्याक्टेरिया मर्छ, तर पूरा पाँच दिनको लागि दिएको एन्टिबायोटिक दुई दिन मात्रै खाएर छोड्यो भने त्यसले सबै ब्याक्टेरिया मर्दैन र शरीरभित्र बाँकी रहेको ब्याक्टेरियाले आफूलाई अझ बलियो रुपमा प्रस्तुत गर्छ । जसले गर्दा पछि सोही ब्याक्टेरिया संक्रमण हुँदा एन्टिबायोटिकले पनि काम गर्ने हुन्छ ।

एउटा प्रचलित भनाइ छ- एभ्री एक्सन ह्याज अपोजिट रियाक्सन अर्थात् प्रत्येक कार्यको विपरीत प्रतिक्रिया हुन्छ । तर जसले नराम्रो कम र राम्रो काम बढी गर्छ भने त्यसलाई नराम्रोमा गनिंदैन । त्यसैले एन्टिबायोटिकको पनि केही साइड-इफेक्ट हुन्छ । त्यसैले चिकित्सकलाई जाँच गराएर मात्र एन्टिबायोटिक खानुपर्छ भनिएको हो । किनभने कसैलाई पहिल्यैदेखि कलेजो, मिर्गौला, फोक्सोको समस्या छ भने त्यही अनुरुप साइड-इफेक्ट कम हुने एन्टिबायोटिक चलाइन्छ । कसैलाई एलर्जी हुन्छ भने एलर्जीको प्रकृतिअनुसार एन्टिबायोटिक दिइन्छ । चिकित्सकको परामर्शअनुसार सेवन गरेमा दीर्घकालीन नकारात्मक असर केही पनि हुँदैन ।

कुन उमेरका बालबलिकालाई एन्टिबायोटिक खुवाउन सकिन्छ ?

एन्टिबायोटिक भर्खर जन्मेको शिशुदेखि मर्न आँटेको बिरामीसम्मलाई चलाउन सकिन्छ । तर रोग, जटिलताको आधारमा आवश्यकताअनुसार एन्टिबायोटिक डोज दिनुपर्ने उनको भनाइ छ । एन्टिबायोटिकको मात्रा उमेर, तौल र ब्याक्टेरियाको संक्रमणको आधारमा दिने सकिने डा. सुवेदी बताउँछन् ।

मासु र दूधमा पनि एन्टिबायोटिक ?

हिजोआज बोइलर कुखुरा र दूधमा समेत एन्टिबायोटिक प्रयोग गरिन्छ । त्यस्तो खानेकुरा खानु र एन्टिबायोटिक औषधि खानु उस्तै हुने डा. सुवेदी बताउँछन् । ‘त्यस्ता खानेकुरा खाँदा ब्याक्टेरियाहरुको मेमोरी बन्छ । त्यसपछि सोही ब्याक्टेरियाविरुद्धको एन्टिबायोटिक प्रयोग गर्दा असर नगर्ने सम्भावना हुन्छ,’ उनी भन्छन् ।

सन् १९४१ मा विश्वमा पहिलो पटक एन्टिबायोटिक मानव शरीरमा प्रयोग गरिएको थियो । त्यसबेला शरीरमा देखिएको संक्रमण एन्टिबायोटिकले निको पारेको थियो ।

‍औषधि एन्टिबायोटिक
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कस्तो अवस्थामा बच्चालाई एनआईसीयूमा राखिन्छ ?

कस्तो अवस्थामा बच्चालाई एनआईसीयूमा राखिन्छ ?

तौल घटाउने सप्लिमेन्ट खान सुझाउँदैनन् चिकित्सक, बजारमा किन छ्यापछ्याप्ती ?

तौल घटाउने सप्लिमेन्ट खान सुझाउँदैनन् चिकित्सक, बजारमा किन छ्यापछ्याप्ती ?

अनियन्त्रित रिसले स्वास्थ्यमा कस्तो असर पार्छ ?

अनियन्त्रित रिसले स्वास्थ्यमा कस्तो असर पार्छ ?

कृत्रिम रुपमा पकाइएका फलफूलबारे जान्नैपर्ने कुरा

कृत्रिम रुपमा पकाइएका फलफूलबारे जान्नैपर्ने कुरा

मधुमेह : १० भ्रम र सत्य

मधुमेह : १० भ्रम र सत्य

राँगाको मासुमा हुनसक्छ फित्तेजुका, के हानि गर्छ ?

राँगाको मासुमा हुनसक्छ फित्तेजुका, के हानि गर्छ ?