+
+

राष्ट्रपति नपाएपछि बाबुराम पार्टी एकताको विपक्षमा उभिए : महिन्द्र राय यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते १९:०६

८ वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बन्न नसकेपछि माओवादी केन्द्रसँग पार्टी एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् ।

शनिबार नेपाल समाजवादी पार्टीको यादव पक्षले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले अर्का अध्यक्ष डा. भट्टराईले राष्ट्रपति पद नपाएपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको बताएका हुन् ।

‘उहाँलाई राष्ट्रपति बनाइदिएको भए, उहाँको राष्ट्रपतिको प्रस्ताव थियो, यो पार्टी १५ दिनमा एकता हुन्थ्यो । बन्न सक्नुभएन । मलाई थाहा छ, डा. सापले मलाई भन्नुभयो–राष्ट्रपति भएन, हिसिला यमीको लागि उपराष्ट्रपतिको लागि कुरा गर्न जाऔँ, मैले कुरा गरेको छु प्रचण्डसँग । मैले डा. सापलाई भनेँ, तपाई पनि हिँड्नुस्, प्रचण्डजीले भन्नुभयो–मैले उपराष्ट्रपति जनता समाजवादीलाई दिएँ । डा. साब विचलित हुनुभयो’, यादवले भने ।

बाबुरामले राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट हिसिलालाई उम्मेदवार बनाउन खोजेको पनि यादवले आरोप लगाए । ‘प्रचण्डजीकहाँ गएर उहाँले माग्नुभयो, गण्डकी प्रदेशबाट मेरो श्रीमतीको लागि एउटा सिट दिनुस्’, उनले भने । तर नपाएपछि पार्टी एकताको विपक्षमा उभिएको यादवको भनाइ छ ।

आफूहरुलाई बाबुरामले मन्त्री पदको लोभमा पार्टी एकता गरेको आरोप लगाए पनि पदको लोभ उनले बढी गरेको यादवको आरोप छ । ‘यो देशमा हामीभन्दा बढी लोभी पापी बाबुराम भट्टराई हो । म प्रमाणित गर्नसक्छु । अनि बाबुरामले हामीलाई भन्न मिल्छ ?’ उनले प्रश्न गरे ।

नेपाल समाजवादी पार्टीको अध्यक्ष यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितको टोलीले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । तर अर्का अध्यक्ष डा. बाबुरा भट्टराई भने माओवादीसँग एकताको विपक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?