+

‘प्रदूषणले बालबालिकामा दीर्घकालीन असर निम्त्याउन सक्छ’

२०८१ वैशाख  १८ गते १९:१० २०८१ वैशाख १८ गते १९:१०
‘प्रदूषणले बालबालिकामा दीर्घकालीन असर निम्त्याउन सक्छ’

काठमाडौं । पछिल्लो समय काठमाडौं लगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषण उच्च देखिएको छ । अझ काठमाडौं त विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा समेत पर्‍यो । प्रदूषण मापन गर्ने विधिका आधारमा भन्ने हो भने सामान्य अवस्थाको तुलनामा चार गुणा बढी प्रदूषित छ काठमाडौंको हावा । हावामा मिश्रित ‘पार्टिकुलेट म्याटर’ (कणतत्व) को मात्राका आधारमा यसो भनिएको हो ।

वायुमण्डलमा धुलोका मसिना कण अर्थात् पीएम २.५ को मात्रालाई आधार मानेर वायु प्रदूषणको अवस्था निर्धारण गरिन्छ । पीएम २.५ भनेको हावामा हुने २.५ माइक्रोमिटर व्यासका मसिना धुलोका कण हुन्, यी ठोस तथा रसायनको मिश्रित रूप हो ।

पीएम २.५ निकै मसिनो हुने हुँदा यो हानिकारक कण शरीरमा प्रवेश गरेर फोक्सोलाई गम्भीर रूपमा असर गर्न सक्ने र त्यसले स्वास्थ्यमा असर पर्ने हुनसक्छ ।

यस्तोमा अहिले बढिरहेको वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा कस्तो समस्या निम्तिन सक्छ ? आस्थामा भएका बालबालिकामा यसले कस्तो असर गर्छ ? यिनै विषयमा केन्द्रित रहेर श्वासप्रश्वास, बाल तथा सघनरोग विशेषज्ञ डा. जगतजीवन घिमिरेसँग अनलाइनखबरकी सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश :

काठमाडौ लगायत प्रमुख सहरहरूमा प्रदूषण बढ्नुको कारण के हो ?

काठमाडौं लगायत प्रमुख सहरहरूमा गाडीको चाप बढी छ । त्यसबाट निस्कने धुवाँ, बाटोहरू राम्रा छैनन् त्यहाँबाट आउने धुलो र पछिल्लो समय उपत्यका नजिक लागेको डढेलोका प्रदूषण धेरै बढेको हो ।

यसरी बढेको वायु प्रदूषणले बालबालिकामा के कस्तो असर गर्छ ?

प्रदूषणले बालबालिकामा दुई किसिमले असर गरेको छ । एउटा तत्काल हुने असर र अर्को कालान्तरमा हुने असर ।

प्रदूषणको कारण बच्चामा तत्कालीन रुपमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा परिरहेको छ । जुन बच्चालाई श्वासप्रश्वाससम्बन्धी समस्या थिएन, उनीहरूमा यो प्रदूषण बढेपछि श्वासप्रश्वाससम्बन्धी समस्या, खोकी लाग्ने, घाँटी खसखस हुने र स्याँस्याँ हुने जस्ता समस्या देखा परेका छन् ।

पहिले नै आस्थामा भएका बच्चाहरूमा भने प्रदूषण बढेपछि खोकी बढ्ने, स्याँस्याँ बढ्ने, घ्यारघ्यार हुने जस्ता लक्षण बढ्ने हुन्छ । साथै, निमोनिया र भाइरल इन्फेक्सन पनि बढेको छ ।

प्रदूषणयुक्त वातावरणमा लामो समय बस्ने बालबालिकामा दीर्घकालीन रुपमा असर देखा पर्छ । लामो समय प्रदूषणको सम्पर्कमा बसिरहँदा श्वासप्रश्वास नलीहरू साँघुरिंदै जाने, फोक्सोको क्षमता कमजोर हुँदै जाने जस्ता समस्या देखा पर्छ ।

कुन उमेरका बालबालिकामा यस्तो समस्या बढ देखिन्छ ?

वायु प्रदूषणको असर बच्चा आमाको पेटमा भएदेखि नै हुन्छ । यदि गर्भवती महिला धेरै प्रदूषणको सम्पर्कमा आइन् भने बच्चा जन्मिंदै उसको फोक्सो कमजोर हुने, फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या हुने र सानै उमेरमा दम हुने जस्ता समस्या देखिन्छ ।

बच्चा जन्मेदेखि नै प्रदूषणको सम्पर्कमा आइरह्यो भने त मुटुसम्बन्धी समस्या समेत देखा पर्ने गरेको छ । साथै प्रदूषणले बच्चाको विकास क्रममा पनि असर गर्छ ।

बढ्दो वायु प्रदूषणकै कारणले पछिल्लो समय बालबालिकामा आस्थामाको समस्या एकदमै धेरै बढेको छ । प्रदूषण यसरी नै बढ्दै जाने हो भने त्यो प्रदूषण फोक्सोमा पुगेर फोक्सोको क्षमता धेरै कमजोर हुँदै जान्छ । यसरी हेर्दा नवजात शिशुदेखि वयस्कसम्मलाई वायु प्रदूषणले असर गरेको पाइन्छ ।

प्रदूषणले वयस्कहरूमा त आँखा पोल्ने समस्या देखा पर्छ, बच्चामा पनि यो समस्या देखिन्छ ?

प्रदूषणको कारण आँखा पोल्ने, रातो हुने, नाक पोल्ने भएको छ भने त्यो एलर्जी हो । यस्तो समस्या वयस्कमा मात्र हैन, बालबालिकामा पनि देखा पर्छ । पछिल्लो समय प्रदूषणको कारण एलर्जीको समस्या लिएर अस्पताल आउने बच्चाको संख्या बढेको छ ।

वायु प्रदूषणले हुने जोखिमलाई कम गर्न के गर्ने ?

वायु प्रदूषणले मानव लगायत सम्पूर्ण प्राणी जगतको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पुर्‍याइरहेको हुन्छ । त्यसैले वायु प्रदूषण गराउने कारण पत्ता लगाई त्यसलाई न्यूनीकरण र नियन्त्रणका लागि   सरकारले ध्यान दिनुपर्छ ।

नीति नियम तहबाटै हावालाई स्वच्छ राख्न गाडीको प्रदूषण कम गर्ने उपाय खोज्ने, डढेलो नियन्त्रण गर्ने उपाय खोज्ने, फोहोर जलाउन निषेध गर्ने, घरभित्रको वायु प्रदूषण कम गर्न सुधारिएको चुलो तथा विद्युतीय चुलो प्रवर्द्धनको कार्य गर्नुपर्छ ।

प्रदूषण बढेको बेला यसबाट स्वास्थ्यमा पर्ने असरबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुन जरुरी छ । धेरै नै प्रदूषण बढेको बेला बालबालिकालाई त्यसको असरबाट बचाउन घरबाट अनावश्यक रुपमा बाहिर ननिस्किनेबारे सूचना दिनुपर्छ ।

बालबालिकालाई प्रदूषणको कारण हुने स्वास्थ्य समस्याबाट कसरी जोगाउने ?

प्रदूषण बढेको बेला बालबालिकालाई बाहिर धुलोमा खेल्न नपठाउने घरभित्र नै राख्ने गर्नुपर्छ । बाहिर निस्किनै परे मास्क र चस्मा लगाइदिनुपर्छ ।

घर वरपर धेरै धुलो उडेको छ भने त्यसलाई कम गर्न पानी छम्किने, घरभित्रको धुलोलाई कम गर्न कुचो लगाउने भन्दा पुछ्ने गर्नुपर्छ । साथै धुलो टाँस्सिएर बस्ने कारपेटको प्रयोग पनि सकेसम्म गर्नुहुँदैन ।

प्रदूषण र बच्चाको आस्थामा एकअर्कासँग सम्बन्धित हुन्छन् । प्रदूषण बढेपछि आस्थामा भएका बच्चामा स्याँस्याँ बढ्ने, अस्पताल नै भर्ना हुनुपर्ने समेत हुन्छ । त्यसैले आस्थामा भएका बालबालिकाको विशेष ख्याल राख्नुपर्छ ।

इन्हेलर प्रयोग गरिरहेका बच्चाले प्रदूषण बढेको बेला औषधि छोड्नु हुँदैन, केही समस्या देखा परे विशेषज्ञ चिकित्सकको सल्लाह लिनुपर्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

डा. जगतजीवन घिमिरे बालबालिका वायु प्रदूषण श्वासप्रश्वास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?

बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ? (भिडियो)

बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ? (भिडियो)

गर्भावस्थामा योनीस्राव भयो, कारण के होला ?

गर्भावस्थामा योनीस्राव भयो, कारण के होला ?

७ सर्वोत्तम पेय, जुन घरमै बनाउन सकिन्छ

७ सर्वोत्तम पेय, जुन घरमै बनाउन सकिन्छ

शल्यक्रियाबाट कसरी मुसा हटाउन सकिन्छ, कति लाग्छ खर्च ?

शल्यक्रियाबाट कसरी मुसा हटाउन सकिन्छ, कति लाग्छ खर्च ?

मुटुलाई स्वस्थ राख्ने अनस्याचुरेटेड फ्याट कुन खानेकुराबाट पाइन्छ ?

मुटुलाई स्वस्थ राख्ने अनस्याचुरेटेड फ्याट कुन खानेकुराबाट पाइन्छ ?