+
+
सहकारी संकट–३६ :

कल्याण उपकार सहकारी पीडित सडकमा, अध्यक्ष गुरुङको खातामा भेटियो ७५ लाख

एक महिनाअघि निकालेका थिए साढे २ करोड

बचतकर्ताले सडक आन्दोलनदेखि प्रहरीसम्म धाउँदा पनि रकम फिर्ता पाएका छैनन् । तर, सहकारी सञ्चालकको खातामा ७५ लाख रुपैयाँ भेटिएको हो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ वैशाख ३० गते २०:१८

३० वैशाख, काठमाडौं । ललितपुरस्थित कल्याण उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिलाबहादुर गुरुङको खातामा ७५ लाख रुपैयाँ भेटिएको छ । गुरुङलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको खातामा उक्त रकम भेटिएको हो ।

बचतकर्ताले सडक आन्दोलनदेखि प्रहरीसम्म धाउँदा पनि रकम फिर्ता पाएका छैनन् । तर, सहकारी सञ्चालकको खातामा ७५ लाख रुपैयाँ भेटिएको हो ।

गुरुङले आफ्नो खातामा रहेको ७५ लाख रुपैयाँ श्रीमती नन्दाकुमारी बम्जनको खातामा ट्रान्सफर गरेको भेटिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एक अनुसन्धान अधिकृतका अनुसार कुमारी बैंकमा रहेको खाताको रकम गुरुङले सहकारीमा समस्या आउन थालेपछि श्रीमतीको खातामा ट्रान्सफर गरेको देखिएको हो ।

नन्दाकुमारी गुरुङकी श्रीमतीका साथै कल्याण उपकार सहकारी जावलाखेल केन्द्रकी शाखा प्रमुख तथा पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् ।

सिन्धुली दुधौली नगरपालिका–७ स्थायी ठेगाना भएकी ४८ वर्षीया नन्दाकुमारी श्रीमान पक्राउ परेपछि हालसम्म फरार छिन् ।

७५ लाख रुपैयाँ भने सहकारीको नभएको दाबी गुरुङले गरेका छन् । आफ्नो व्यक्तिगत कारोबार तथा जग्गा खरिद–बिक्री गर्दाको रकम रहेको दाबी गुरुङको छ ।

‘अहिले देखिएको ७५ लाख रुपैयाँ जग्गा खरिद–बिक्रीको र कुमारी बैंकको प्रमोटर सेयर बिक्री गरेको रकम हो । उक्त रकम मैले श्रीमतीको खातामा ट्रान्सफर गरेको हो,’ गुरुङले बयानमा भनेका छन् ।

त्यसैगरी गुरुङको नाममा भक्तपुर दधिकोटमा समेत जग्गा भेटिएको छ । उक्त जग्गा भने कञ्चन हाउजिङको सेयर खरिद गरेको रकमबाट किनेको दाबी गुरुङको छ ।

त्यस्तै संस्थाको कारोबार गर्दासमेत नियम विपरीत गुरुङको आफ्नो बैंक खाताबाट कारोबार गरेको भेटिएको छ । २०६२ सालमा सूर्यदर्शन सहकारी संस्थामार्फत खोलिएको खातामा ‘केवाईसी अपडेट’ गरेर गुरुङले कल्याण सहकारीको संस्थागत काम आफ्नो व्यक्तिगत खाताबाट गरी रकम अनियमितता गरेको भेटिएको एक अनुसन्धान अधिकृतले बताए ।

‘संस्थागत कारोबार भनिएको छ । तर, कारोबार भने संस्थागत खाताबाट भन्दा पनि गुरुङको व्यक्तिगत खाताबाट कारोबार भएको देखिन्छ,’ ती अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

यति मात्रै होइन, एक महिनाअघि हिरासतमा रहेका गुरुङ र कल्याण उपकार सहकारीमै संलग्न रही हाल फरार रामहरि अधिकारीले २ करोड ६० लाख रुपैयाँ आफ्नो खाताबाट समेत निकालेका थिए ।

हाम्रो नयाँ कृषि सहकारी ठगीमा पक्राउ परेपछि उनीहरू पीडितलाई २ करोड ६० लाख रुपैयाँ बुझाएर रिहा भएका थिए । बचतकर्ताको रकम फिर्ता गर्नुको सट्टा अपचलन गरी आफ्नो खातामा राख्दै उनीहरूले ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी अनुसन्धान क्रममा सहकारीले बचतकर्ताको रकम घरजग्गामा लगानी गरेको पनि खुलेको छ । सञ्चालक समितिबाट निर्णय गरेर नै काठमाडौं, ललितपुर र भक्तपुरमा सहकारीका नाममा घरजग्गा खरिद गरिएको छ ।

उपत्यका बाहिर सिन्धुली, काभ्रे, चितवनदेखि झापा लगायत जिल्लामा ८१ करोड रुपैयाँभन्दा बढी मूल्यको जग्गा किनबेच गरेको भेटिएको एक अनुसन्धान अधिकारीले बताए ।

२ माघ २०६४ देखि सञ्चालनमा आएको कल्याण सेभिङ एन्ड क्रेडिट लिमिटेड २०७१ मा उपकार सेभिङ एन्ड क्रेडिटसँग मर्ज भएर कल्याण उपकार सेभिङ एन्ड क्रेडिट लिमिटेडका रूपमा सञ्चालनमा आएको थियो । आकर्षक ब्याज दिने भन्दै सहकारीमा रकम जम्मा गर्न लगाएर बचतकर्ताको रकम फिर्ता नगरी अपचलन गरेको आरोप सहकारीमाथि छ ।

रकम फिर्ता गर्न माग गर्दै बचतकर्ताहरूले दबाब दिँदै धर्ना दिन थालेपछि १ कात्तिक २०८० देखि यो सहकारी बन्द भएको थियो ।

५८ करोड ७९ लाख ४९ हजार १ सय ६८ रुपैयाँ ठगी गरिएको भन्दै २ सय ९९ पीडितबाट १ सय १८ वटा जाहेरी जिल्ला प्रहरी परिसर ललितपुरमा परेको थियो ।

१ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । तर, पक्राउ परेको मितिले २५ दिनभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेकाले अदालतमा मुद्दा दर्ता गरिएको छ ।

पीडित अझै आउने क्रम जारी रहेकाले अब पूरक अभियोजन लगाएर मुद्दा पठाइने जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

५ वैशाखमा सहकारी अध्यक्ष गुरुङलाइ ललितपुर प्रहरीले पक्राउ गरेको थियो । उनीसहित १४ जनालाई प्रतिवादी बनाउँदै ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।

न्यायाधीश धनिश्वर पौडेलको इजलासमा आइतबार प्रतिवादी गुरुङको बयान भएको थियो । सोमबार थुनछेक बहस सकिएपछि धरौटी वा साधारण तारेखमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश आउने छ ।

अहिले हिरासतमा रहेका गुरुङ हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलनमा पनि मुछिएका थिए । २ करोड ६० लाख रुपैयाँ अपचलन भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हाम्रो नयाँ कृषिका उपाध्यक्ष समेत रहेका गुरुङसहितका व्यक्तिलाई पक्राउ गरेको थियो ।

बचतकर्ताको रकम फिर्ता गरेपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि गुरुङ छुटेका थिए । लगत्तै गुरुङलाई ललितपुर प्रहरीले पक्राउ गरेको थियो ।

यी हुन् फरार १३ अभियुक्त

कल्याण उपकार सहकारीको बचत अपचलनबारे अनुसन्धान गर्न भन्दै सहकारी विभागले प्रहरी परिसर ललितपुरलाई २१ मंसिर २०८० मै पत्राचार गरेको थियो । त्यसअनुसार सुरुमा सात जनाविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको थियो ।

जसमा ओखलढुंगा सिद्धिचरण नगरपालिका–४ घर भएका कल्याण सहकारी अध्यक्ष गुरुङसहित काठमाडौं महानगरपालिका–१८ का सञ्चालक सदस्य रोशनमान वैद्य, काठमाडौं–९ का अर्का सञ्चालक सदस्य रामकृष्ण जयखु श्रेष्ठ, सञ्चालक सदस्य काठमाडौं–१६ का मोहनकृष्ण गुरुङ, सञ्चालक सदस्य ललितपुर–२० की चण्डिका श्रेष्ठ जोशी, ओखलढुंगा रुम्जाटारकी सञ्चालक सदस्य मुंङ्गा गुरुङ र काठमाडौं–१५ की सञ्चालक सदस्य सरिता महर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

अनुसन्धान क्रममा अहिले थप सातविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएर मुद्दा दर्ता भएको छ । जसमा सहकारीका लेखा समिति संयोजक ७९ वर्षीय वीरेन्द्रकुमार बाटाजु, लेखा समिति सदस्य किरणमान सिंह, लेखा समिति सदस्य सुस्मिता बम्जन, अध्यक्ष गुरुङकी श्रीमती तथा जावलाखेल केन्द्रकी शाखा प्रमुख नन्दाकुमारी बम्जन, सहकारीका हालका सीईओ राामहरि अधिकारी, ऋण अधिकृत प्रदीप तण्डुकार र ऋण शाखा प्रमुख कृष्ण नेपाल फरार छन् ।

यसअघि हाम्रो नयाँ कृषि सहकारी अपचलन प्रकरणमा अध्यक्ष गुरुङसहित रामहरि अधिकारी पनि पक्राउ परेका थिए । उनीहरू दुवै सँगै छुटे लगत्तै गुरुङ पक्राउ परे पनि रामहरिलाई ललितपुर प्रहरीले पक्राउ गरेको थिएन ।

त्यतिबेला अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको थिएन । गुरुङमाथि अनुसन्धान गर्ने क्रममा अधिकारी समेत तानिएपछि उनीसहित सातविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, त्यतिबेलासम्म उनी फरार भइसकेका थिए ।

सहकारी संकट
लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?