+

अभिभावकले नै बच्चालाई आँखाको दृष्टि समस्यामा धकेल्दैछन्

२०८१ जेठ  ९ गते १४:१७ २०८१ जेठ ९ गते १४:१७
अभिभावकले नै बच्चालाई आँखाको दृष्टि समस्यामा धकेल्दैछन्

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को पछिल्लो तथ्यांकअनुसार विश्वमा हाल करिब दुई अर्ब ६० करोड मानिसमा कुनै न कुनै रुपमा आँखामा समस्या छ । सन् २०५० सम्म यो संख्या बढेर पाँच अर्ब पुग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १० प्रतिशतमा गम्भीर दृष्टिविहीनको समस्या हुनसक्ने आँकलन छ ।

किन बढिरहेको छ आँखाको समस्या ?

आँखाको समस्या बढ्ने प्रमुख कारण आधुनिक जीवनशैली हो । अबको १० देखि २० वर्षसम्ममा आँखाको समस्याले डरलाग्दो रुप लिनसक्ने देखिन्छ । अहिले प्रविधिको विकास भएको छ । सहरीकरण बढेको छ । खानपान पहिलेभन्दा बदलिएको छ । बदलिएको जीवनशैलीले शरीरलाई मात्र होइन, आँखालाई पनि समस्या पार्छ ।

जुनबेला आधुनिक साधन थिएन, त्यसबेला बच्चाहरु बढीभन्दा बढी समय हजुरबा-हजुरआमासँग बिताउँथे । उनीहरु खुल्ला ठाउँमा खेल्ने, हिंडने गर्थे । जसकारण टाढासम्म हरियाली वातावरणमा उनीहरुको आँखा पुग्थ्यो । साथै, विषादी नभएका ताजा पोषणयुक्त खानेकुरा खान पाउँथे । आँखा तेजिलो हुन्थ्यो । र, वंशाणुगत बाहेक आँखाको समस्या बुढयौलीमा मात्र देख्न हुन्थे ।

तर अहिले हेर्ने हो भने बच्चा बामे सर्न पाएको हुँदैन । उनीहरुलाई भुलाउने बहानामा मोबाइल हातमा राखिदिएको हुन्छ । बिस्तारै उसको लत मोबाइलमा बस्छ । र, परिवारसँग घुलमिल हुन खोज्दैन । बाहिर जान मन नगर्ने, स्कुल जान मन नगर्ने, साथी बनाउन मन नगर्ने र समय खाना खाँदादेखि सुत्दासम्म डिजिटल उपकरणमा व्यस्त हुन्छन् ।

यसरी बिहान उठेदेखि मोबाइल नै चलाएर भिडियो गेम हेर्ने, सामाजिक सञ्जालमा भिडियो मात्र हेर्ने,  विद्यालयबाट फर्केपछि चारदेखि पाँच घन्टासम्म कोठाभित्र बसेर गृहकार्य गर्न लगाउने, कोठाभित्रै खेल्ने, विद्यालयमा पनि अधिकांश समय कक्षाकोठामा बिताउने र खाली समयमा डिजिटल उपकरण (कम्प्युटर, मोबाइल तथा भिडियो गेम) प्रयोग गर्दा आँखाको नजिक राखेर आँखा पटक्कै नझिम्काउने गर्दा आँखा सुक्खा हुने, आँखाको दृष्टि नजिकको वस्तु मात्रै हेर्ने वातावरणमा अभ्यस्त हुन थालेसँगै मायोपियाको समस्या बढेको छ ।

के हो मायोपिया ?

मायोपिया भनेको दृष्टिदोष हो । जसमा बालबालिकाले नजिकको वस्तु देख्ने र टाढाको वस्तु नदेख्ने समस्या हुन्छ ।

एकैठाँउमा निरन्तर नजिकको वस्तु हेर्दा आँखाको आकार परिवर्तन हुँदै आउँछ । हातखुट्टाको अंग जस्तै आकार बढ्दै जाने भएकाले जति बढ्यो, त्यति पावर घट्छ, जसले मायोपिया भएको बुझिन्छ । त्यति मात्र होइन, आँखाको पर्दामा समस्या ल्याउँछ । बेलैमा उपचार गरेर सामान्य पावरमा ल्याउन सकेन भने आँखाको दृष्टि गुम्दै जान्छ ।

मायोपिया भएमा विद्यालय जाने बालबालिकामा टाढाको नदेख्ने, अर्थात् बोर्डमा लेखेको नदेख्ने समस्या धेरै बालबालिकामा देखिन्छ । यस्ता लक्षणका बिरामी आँखा अस्पतालको ओपीडीमा पहिलेभन्दा अहिले बढेको छ ।

नेपालमा मात्र होइन, विश्वभरमा यो समस्या छ । हाल विश्वमा २० देखि ३० प्रतिशतमा मायोपियाको समस्या छ । यस्ता समस्या बालबालिकादेखि नै देखियो भने भविष्यमा उमेर नपुग्दै उनीहरुमा दृष्टिदोषको समस्या देखिनसक्छ ।

नेसनल इन्टिच्युट हेल्थमा प्रकाशित अध्ययनअनुसार २०५० सम्म ३० प्रतिशतबाट बढेर ५० प्रतिशत बढ्ने देखिन्छ । मायोपिया कतिपयमा प्याथोलोजिकल र वंशाणुगत पनि देखिन्छ, जुन केही प्रतिशतमा मात्रै देखिने भएपनि दृष्टिमा असर पार्ने खालको हुन्छ । जुन सुरुवाती चरणमै पत्ता लाग्ने भएकाले उपचारको पहुँचसमेत बढी छ ।

मायोपिया बाहेक आँखा सुक्खा हुने समस्या पनि बढेको छ । आँसुले हाम्रो आँखाको सतहलाई संक्रमणबाट पनि बचाउँछ । यस्तोमा धेरै समय मोबाइल कम्प्युटरमा बिताउँदा त्यसबाट निस्कने परावैजनी किरणले आँखाको मांसपेशीको तन्तुलाई हानि गर्छ । र, नानीलाई ढाक्ने आँसुका तहहरू फाट्छन् । जसले कर्नियाको सतह चिप्लो हुन नसकेर, आँसुको ग्रन्थीमा आँसु कम उत्पादन हुँदा आँखा सुक्खा भई पोल्ने र चिलाउने हुनसक्छ । लगातार आँखा सुक्खा भई आँसुको कमीले आँखाको संक्रमणको जोखिम समेत बढ्छ ।

त्यस्तै, अर्को समस्या भनेको एकै ठाउँमा मात्र हेरिरहँदा आँखाको मांसपेशी कमजोर भएर तथा आँखाको नसा प्यारालाइसिस भएर भविष्यमा आँखा डेढो हुने सम्भावना बढ्छ । डेढोपन भएमा आँखाले सिधा आँखाले जस्तो राम्रोसँग देख्दैन । र, समयमा उपचार नगर्दा आँखाको आकारप्रकार र दृष्टिमा फरक आउनसक्छ । र, चस्माको सहारामा जीवनयापन गर्नुपर्ने हुन्छ । एकपटक चस्मा लगाएपछि त्यो हटाउन मुस्किल हुन्छ ।

यसरी सरसर्ती हेर्दा अभिभावकले नै बच्चालाई दृष्टि समस्यामा धकेलेको देखिन्छ । यदि बच्चालाई समय दिएर खाना खुवाउने, उनीहरुसँग खेल्ने, मोबाइलको पहुँचको संयन्त्र कम गर्ने, कुनै गृहकार्य भए आफैंले बुझाएर गर्न लगाउने र समय समयमा खुल्ला ठाँउमा घुमाउन लाने गरेमा यस्ता उमेरअगावै आँखाको समस्याले सताउन सक्दैन ।

अस्वस्थकर खानपान

बालबालिकालाई मनपर्ने खानेकुराको नाम सोध्यो भने जवाफमा पहिलो रोजाइमा जंकफुड हुन्छ । उनीहरु जंकफुड बढी खाने र घरमा पाकेका खानेकुरा कम खान रुचाउँछन् । जसले शरीरलाई पोषक तत्व कम र अनावश्यक रोग बल्झाउने तत्व शरीरमा प्रवेश गर्छ ।

हाल आँखालाई स्वस्थ राख्ने भिटामिन ए, सी, ई, एन्टी अक्सिडेन्ट पाउने सागपात र फलफूल विषादीयुक्त पाइन्छन् । यस्ता खानेकुराले मात्र पनि अहिले पर्याप्त आँखालाई फाइदा दिन्छ भन्न गाह्रो छ ।

यसो भन्दैमा यी खानेकुरा खान रोक्ने भन्ने होइन । बजारबाट ल्याइएका खानेकुरा राम्रोसँग पखालेर र पकाएर खान सकिन्छ ।

समाधानका उपाय

– बच्चालाई मोबाइलबाट सकेसम्म टाढा राख्ने, अभिभावकले पनि उनीहरुको अगाडि मोबाइल कम चलाउने ।

– शिक्षामूलक सन्देश भएका सामग्री टिभीमार्फत टाढा राखेर हेर्ने बानी बसाउने ।

– २० मिनेट किताब, ल्यापटप वा वा टिभी हेरेपछि आफू र बच्चालाई पनि आँखालाई २० सेकेण्ड विश्राम दिने र २० फिट टाढा हेरेर आँखा झिम्काउन सिकाउने ।

– वर्षमा एकपटक आँखाको जाँच गराउन लैजाने ।

– जंकफुडबाट सकेसम्म टाढा राखेर भिटामिनयुक्त खानेकुरा बढी खुवाउने ।

– घरभित्रभन्दा घरबाहिर हरियालीमा समय बिताउन लैजाने ।

– परिवारले पनि आफ्नो बच्चाले कसरी हेर्छ, आँखाबाट आँसु आउँछ कि आउँदैन । धमिलो देख्ने, आँखा पोल्ने, पाक्ने समस्या छ कि छैन भन्ने जस्ता कुरामा गम्भीर ध्यान दिने ।

दीपककुमार साह
दीपककुमार साह
लेखक
दीपककुमार साह
वरिष्ठ दृष्टि विशेषज्ञ

साह दृष्टि विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय