+

तौल घटाउने सप्लिमेन्ट खान सुझाउँदैनन् चिकित्सक, बजारमा किन छ्यापछ्याप्ती ?

२०८१ जेठ  ११ गते १४:४५ २०८१ जेठ ११ गते १४:४५
तौल घटाउने सप्लिमेन्ट खान सुझाउँदैनन् चिकित्सक, बजारमा किन छ्यापछ्याप्ती ?

काठमाडौं । पछिल्लो समय जीवनशैली परिवर्तनसँगै मोटोपनको समस्याबाट पीडित हुनेको संख्या बढ्दो छ । बढेको वजनलाई कम गराउन मानिसहरु विभिन्न उपाय अपनाउने गर्छन् ।

कोही व्यायाम गर्न थाल्छन्, कोही खानै छोड्छन्, कोही क्यालोरीरहित खानेकुरा खान सुरु गर्छन् । यति गर्दागर्दै पनि तौल कम नहुँदा उनीहरु निराश हुन पुग्छन् । कोही त तौल कम गर्नका लागि बजारमा जे-जे उपलब्ध छ, त्यो सबै प्रयोग गर्न पछि पर्दैनन् । सजिलो तरिकाले तौल कम गर्ने उपाय खोजिरहेका हुन्छन् मानिसहरु ।

त्यस्ता व्यक्तिलाई लक्षित गरी अहिले बजारमा तौल कम गर्ने भन्दै विभिन्न प्रकारका हर्बल टी, कफी र फुड सप्लिमेन्ट उपलब्ध छ । ती सप्लिमेन्टको सेवनले तौल कम गर्ने आशाको साथ धेरै जनाले यसको उपयोग गरिरहेका छन् ।

यस्ता सप्लिमेन्ट बेच्ने कम्पनीहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट मान्यताप्राप्त भएको हुँदा यसले कुनै साइड-इफेक्ट नगर्ने र ग्यारेन्टीका साथ तौल कम गर्ने भन्ने प्रचार गरिरहेका छन् । ट्याब्लेट, क्याप्सुल जस्ता स्वरूपका कारण डाइटरी सप्लिमेन्टलाई औषधि मान्ने चलन छ । नेपालको सन्दर्भमा बजारमा यसको अव्यवस्थित उपलब्धता देखिन्छ ।

‘तौल घटाउने’ कुराले एउटा ठूलो उद्योग नै खडा गरिसकेको छ । बजारमा उपलब्ध यी तौल कम गर्ने सप्लिमेन्टहरू साँच्चै उपयोगी हुन्छन् त ? विना कुनै मेहनत तौल कम गर्ने चिया कफी र सप्लिमेन्टले साँच्चै काम गर्छ त ?

अहिले सोसल मिडियामा गार्सिनिया कम्बोजिया नामको तौल कम गर्ने सप्लिमेटको बारेमा धेरै नै चर्चा भइरहेको छ । यो बिक्री गर्ने कम्पनीहरूले ग्यान्टीका साथ तौल कम हुने र तौल कम नभए पैसा फिर्ता दिने दाबी गर्छन् ।

सामाजिक सञ्जालमा देखिएका केही विज्ञापन

तर बजारमा तौल कम गर्ने ग्यारेन्टी दिने जति पनि उत्पादनहरू छन्, त्यसले शतप्रतिशत तौल नियन्त्रण गर्छ भन्ने कुरा वैज्ञानिक रुपमा प्रमाणित नभएको पोषणविद् अशेष न्यौपाने बताउँछन् । ‘तौल कम गर्ने यस्ता उत्पादनहरू खासै उपयोगी हुँदैनन् । तौल बढ्ने विभिन्न कारण हुन्छ, त्यसैले एउटा औषधि तथा सप्लिमेन्ट खाँदैमा स्वाट्टै तौल कम गर्ने भन्ने हुँदैन ।’

‘गार्सेनिया कम्बोजिया भनेको एउटा हलुवाबेद जस्तो फल हो, जसमा तौल कम गर्ने तत्त्व ‘हाइड्रोक्साइट्रिक एसिड’ हुन्छ जसले तौल कम गर्नलाई केही मात्रामा सहयोग गरेको भन्ने अध्ययन पाइन्छ । तर एउटा १३५ जनामा गरेको अध्ययनले भने यसले तौल कम गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह नगरेको बताउँछ,’ उनी भन्छन् ।

सप्लिमेन्टको रुपमा आएका यो गार्सेनिया कम्बोजिया यो यो तत्त्वहरू हुन्छन् भनेको त हुन्छ । तर विदेशबाट आएका त्यस्ता सप्लिमेन्टमा हुनुपर्ने तत्त्व ‘हाइड्रोक्साइट्रिक एसिड’ नभएर अन्य मेडिकल औषधिको प्रयोग हुनसक्ने भएकाले उपभोक्ता सजग हुनुपर्ने न्यौपाने सुझाउँछन् ।

‘तौल कम गर्ने चिया कफीले पनि शतप्रतिशत तौल कम गर्छ भन्ने हुँदैन । यस्ता कुराले तौल कम गर्छ भनेर कुनै पनि अध्ययन अनुसन्धानले प्रमाणित गरेको छैन,’ उनी भन्छन् ।

यस्ता सप्लिमेन्ट प्रयोग गर्न चिकित्सकको सिफारिस चाहिंदैन भनेर लेखिएको पनि पाइन्छ । सप्लिमेन्ट सेवन गर्नका लागि चिकित्सकको सल्लाह चाहिंदैन भनिन्छ भने त्यसमा प्रश्न उठ्छ । यस्ता सप्लिमेन्ट तौल कम गर्न शतप्रतिशत उपयोगी नहुने पोषणविद् न्यौपाने बताउँछन् ।

अशेष न्यौपाने, पोषणविद्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि यस्ता सप्लिमेन्टलाई मान्यता दिनुअघि के उद्देश्यको लागि बेच्न लागेको हो ? त्यो बुझेर मात्र मान्यता दिनुपर्ने उनी बताउँछन् ।

‘यस्ता सप्लिमेन्टलाई महंगो मूल्य तिरेर किन्नु भन्दा तौल कम गर्नको लागि पोषणविद्को सल्लाहमा डाइट प्लान फलो गर्दा प्रभावकारी तरिकाबाट तौल कम हुन्छ,’ उनी भन्छन् ।

तौल नियन्त्रण गर्न सबैभन्दा ध्यान दिनुपर्ने खानपानमा हो । स्वस्थ र सन्तुलित खाना खाँदा तौल बिस्तारै नियन्त्रण हुँदै जान्छ । मोटोपन नियन्त्रणका लागि सक्रिय दिनचर्या आवश्यक हुन्छ । व्यायाम गर्ने, पैदल हिंड्ने लगायत शारीरिक गतिविधि बढाएर तौल नियन्त्रण गर्न सकिने न्यौपानेको सुझाव छ ।

तौल कम गर्न यस्ता सप्लिमेन्ट खाने सुझाव दिदैनन् चिकित्सक

कुनै सप्लिमेन्ट खाँदैमा वा ग्रिन टी, कफी खाँदैमा तौल कम नहुने जनरल फिजिसियन, पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउँछन् । ‘बढी तौल बैंक ब्यालेन्स जस्तै हो, जति खर्च गर्‍यो त्यति घट्दै जान्छ,’ उनी भन्छन्, ‘हामी जति क्यालोरी खान्छौं, त्यो शरीरमा एकमुष्ट जम्मा हुन्छ । र, त्यसलाई जति खर्च गरिन्छ शरीरमा रहेको क्यालोरी उति नै घट्दै जान्छ ।’

डा. अवशेष भण्डारी, पेट तथा कलेजो रोग विशेषज्ञ

तौल कम गर्न दुई उपाय उपयोगी हुन्छ । कम क्यालोरी खाने र धेरै क्यालोरी खर्च गर्ने । ‘शरीरको जुन बेसल मेटाबोलिक रेट हुन्छ, त्यो भन्दा कम खानासाथ त त्यसै पनि तौल घटिहाल्छ । सैद्धान्तिक हिसाबले यो कुरा सही हो । तर प्रयोगात्मक हिसाबले यो राम्रो होइन,’ उनी भन्छन्, ‘व्यायाम नगरी आफ्नो शरीरको पचाउने दर भन्दा कम खाइयो भनेको शरीरलाई चाहिने पोषक तत्त्व पुग्दैन र शरीर कमजोर हुन सक्छ ।’

शरीरलाई आवश्यक पर्ने क्यालोरी खाएर साथै व्यायाम गरेर तौल नियन्त्रण गर्न सकिन्छ । मानौं १८ सय क्यालोरी खाएर व्यायाम गरेर २०० देखि ३०० क्यालोरी बर्न गर्न सकियो भने त तौल नियन्त्रण हुने भण्डारी बताउँछन् । ‘यसरी तौल कम गरियो भने केही नकारात्मक  असर पनि हुँदैन र तौल पनि कम हुन्छ । तौल कम गर्न खानपानमा नियन्त्रण, व्यायाम, पूर्ण निद्रा र तनावमुक्त जीवन महत्त्वपूर्ण हुन्छ,’ उनी भन्छन् ।

तौल कम गर्ने विभिन्न औषधि, सप्लिमेन्ट चिया कफी बजारमा आइरहन्छन् तर त्यो साँच्चै उपयोगी हो त भन्ने कुरामा उपभोक्ता सजग हुनुपर्ने उनी सुझाउँछन् ।

‘मोटोपन हुनुमा अरू थुप्रै कारण हुनसक्छन् । कतिपयमा वंशाणुगत कारणले मोटोपन भएको हुन्छ । बुवा आमा मोटा छन् भने उनीहरूको सन्तान पनि मोटो हुन सक्छन्,’ उनी भन्छन्, ‘यसैगरी कतिपयमा हाइपोथारायडिज्मको कारणले अचानक मोटोपन बढेको हुनसक्छ । यसैगरी हार्मोनको असन्तुलनले पनि मोटोपन बढ्न सक्छ । कसैले डिप्रेसनको औषधि खाइरहनु भएको हुन्छ, त्यसको कारण पनि तौल बढेको हुन्छ ।’

मोटोपन के कारणले भएको हो भनेर जान्नु जरुरी हुन्छ । सोही अनुसार सही विधि अपनाएर मोटोपन नियन्त्रण गर्न सकिन्छ । सप्लिमेन्ट खाएर तौल कम हुन्छ भनेर ढुक्क हुन नहुने भण्डारी बताउँछन् । ‘तौल कम गर्न यो औषधि खानुस् वा यो सप्लिमेन्ट खानुस् भनेर हामी सल्लाह दिंदैनौं,’ उनी भन्छन् ।

के भन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन भन्छन्, ‘डाइटरी सप्लिमेन्ट भन्नाले मुखबाट सेवन गरिने खाद्यपदार्थ, जसले सामान्य आहारमा पोषणको मात्रा बढाउने गर्छन् । यसलाई आहार पूरक पनि भनिन्छ ।’

मोहनकृष्ण महर्जन, प्रवक्ता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार डाइटरी सप्लिमेन्ट भन्नाले दैनिक खानपानमा थप पोषक तत्त्वहरूको पूर्तिका लागि प्रयोग हुने खाद्य पदार्थ हुन् । यसमा कार्बोहाइड्रेट, चिल्लो पदार्थ, फ्याट्टी एसिड, भिटामिन, खनिज तत्त्व वा खनिज मिश्रित प्रोटिन, एमिनो एसिड वा इन्जाइम पर्छन् ।

फुड सप्लिमेन्टमा ‘नट फर मेडिसनल युज’ उपचारको लागि भनेर लेखिएको हुन्छ । विभिन्न प्रकारका सप्लिमेन्टहरूलाई मान्यता त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै दिन्छ ।

तर विभागले तौल घटाउने सप्लिमेन्ट भनेर कुनै सप्लिमेन्टलाई मान्यता नदिएको महर्जन बताउँछन् । त्यसरी कसैले विज्ञापन गर्छन् भने त्यो उनीहरूको मार्केटिङ रणनीति हुनसक्ने उनी भन्छन् ।

भ्रामक विज्ञापनबाट बचौं

सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा विभिन्न प्रकार र नामका चिया, तेल, स्याम्पु, औषधिजस्ता वस्तुले विभिन्न खालका रोग निको पार्ने तथा जुनसुकै स्वास्थ्य समस्या पनि समाधान गर्ने भन्दै चर्को मूल्य राखी बिक्री वितरणका लागि भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण गरेको अनुगमनको क्रममा पाइएको छ । त्यस्ता विज्ञापनका विषयमा बोर्डमा उजुरी समेत प्राप्त भइरहेकाले त्यस्ता भ्रामक विज्ञापनबाट बच्न विज्ञापन बोर्डले अनुरोध गरेको छ ।

फुड सप्लिमेन्ट मोटोपन स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

दशैंमा गर्भवती महिलाले यात्रा गर्न मिल्छ ?

दशैंमा गर्भवती महिलाले यात्रा गर्न मिल्छ ?

के कुकुरले टोक्दा मात्रै रेबिज सर्छ ?  ९ मिथक र सत्य जानौं

के कुकुरले टोक्दा मात्रै रेबिज सर्छ ? ९ मिथक र सत्य जानौं

वायु प्रदूषणको असर : समयभन्दा छिटो बुढो हुँदै मुटुका रक्तनली

वायु प्रदूषणको असर : समयभन्दा छिटो बुढो हुँदै मुटुका रक्तनली

आन्दोलनका घाइतेको उपचारका लागि फरच्युना हेल्थकेयरले दियो नि:शुल्क सिरिन्ज

आन्दोलनका घाइतेको उपचारका लागि फरच्युना हेल्थकेयरले दियो नि:शुल्क सिरिन्ज

समय नपुगी जन्मिएका बच्चामा हुन्छ फोक्सोको संक्रमण, के हुन्छ उपचार ?

समय नपुगी जन्मिएका बच्चामा हुन्छ फोक्सोको संक्रमण, के हुन्छ उपचार ?

भ्रामक खबरले पार्छ मानसिक स्वास्थ्यमा ठूलो असर, बच्ने उपाय के ?

भ्रामक खबरले पार्छ मानसिक स्वास्थ्यमा ठूलो असर, बच्ने उपाय के ?