+
+
दिलै खोलेर :

‘सञ्जालले एउटा कोठा र अर्को कोठामा भएका बीच भेट नहुने अवस्था आएको छ’

सञ्जालको राम्रो पक्ष सूचना र सञ्चारका लागि सारै सहज छ । टाढा-टाढा रहेका साथीभाइ र आफन्तसँग यस मार्फत नै सम्पर्क हुन्छ । नराम्रो कुरा यसले नजिक भएकालाई टाढा बनाइदिन सक्छ । यसमै भुलेर एउटा कोठा र अर्को कोठामा भएकै मान्छेबीच भेट नहुन पनि सक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २६ गते २०:१६

यो समयका सर्वाधिक व्यस्त र चर्चित अभिनेता दयाहाङ राई अहिले मण्डला थिएटरमा हुन लागेको नाटक महोत्सवको आयोजनाको तयारीमा छन् । नयाँ फिल्महरूका स्क्रिप्ट पढ्ने काममा व्यस्त दयाहाङ पछिल्लो समय हरेक दिन ब्याडमिन्टन कोर्टमा पनि देखिन थालेका छन् । सिनेमा, पुस्तक, राजनीतिक, सामाजिक सञ्जाल, सोख र घुमफिर लगायतका विविध विषयमा दयाहाङले अनलाइनखबर सँग दिलै खोलेर गरेको कुराकानी :

हिजोआज

१. हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

यही शुक्रबारदेखि प्रदर्शनमा आएको मेरो फिल्म ‘गाउँ आएको बाटो’को प्रमोसनमै व्यस्त छु । केही नयाँ फिल्महरूको स्क्रिप्ट पढ्ने काम पनि गरिरा’छु । कुन फिल्मको सुटिङमा पहिले जाने, कुन कहिले तयार हुन्छ भन्ने छलफल गर्दै त्यसकै सोच बनाइरहेको छु ।

२. पछिल्लो समय के कुराले वा कुन समाचारले खुशी हुनुभयो ?

नवीन सुब्बा दाइले निर्देशन गरेको फिल्म ‘गाउँ आएको बाटो’ रिलिज भयो, यो नै खुशीको कुरा हो । उहाँको पहिलेको फिल्म ‘गुड बाइ काठमान्डु’ रिलिज नभएकाले मलाई यो फिल्म खेल्ने बेला यो पनि रिलिज होला कि नहोला भनेर साथीभाइले भनेका थिए । रिलिज भयो यो नै खुशीको कुरा हो ।

३. दिक्क बनाएको कुरा ?

खासै दिक्क भए जस्तो लाग्दैन । म खासै दिक्क छैन ।

४. अबका योजना के छन् ?

योजना बनाइरा’को चाहिं मण्डला थिएटरमा हुने ‘नेपाल इन्टरनेशनल थिएटर फेस्टिभल’को । मैले यसपालिको फेस्टिभल डिरेक्टरको जिम्मेवारी लिएको छु । यसलाई कसरी सफलतापूर्वक लैजाने, आर्थिक पाटो कसरी मिलाउने, राम्रा–राम्रा नाटक कसरी खोज्ने भन्ने लगायतकै योजनामा छु ।

जति परिपक्व हुँदै गयो त्यति नै विगतलाई सुधार्न मन त लागिहाल्दो रहेछ । तर, अहिलेको अनुभव लिएर पहिलेका दिनमा पुगेर त्रुटि सच्याउने हो भने फेरि फर्केर यहाँसम्म आइपुग्दा अरू नयाँ त्रुटिहरू भइसक्छन् !

५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?

आजको दिनमा घरपरिवार नै हो । आजसम्म मेरो कामलाई प्राथमिकतामा राखेर मेरो परिवारले, श्रीमतीले, सानै भए पनि छोरोले, आमा बहिनीले यसले काम गरोस् भनेर स्वतन्त्रपूर्वक छोडिदिनुभा’को छ । यो मेरो लागि ठूलो महत्वको कुरा हो ।

६. अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?

म हेरक हरेक साँझ ब्याडमिन्टन खेल्न थालेको छु । अलिअलि पहिले पनि खेल्थें, ‘डिग्री माइला’को सुटिङ सकेर आइसकेपछि लाग्यो– मेरो अरू कुनै एक्सरसाइज गर्ने, ध्यान गर्ने बानी छैन, अब केही त शारीरिक अभ्यास चाहिन्छ । ब्याडमिन्टनले शारीरिक अभ्यास पनि हुने, फोकस पनि हुने । हरेक दिन डेढदेखि दुई घण्टा म खेल्छु । ब्याडमिन्टनले शारीरिक अभ्यास पनि हुने, फोकस पनि हुने । हरेक दिन डेढदेखि दुई घण्टा म खेल्छु । खेल्न थालेपछि थुप्रै पुराना, नयाँ खेलाडी भेटेको छु । रमाइलो लागिरहेको छ । अबदेखि काठमाडौंमा सुटिङ हुँदा साँझ साढे पाँचदेखि मलाई छोड्देऊ भनेर निर्माताहरूलाई भन्ने विचार छ । ६ बजेबाट मेरो खेल सुरु हुन्छ ।

७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

राम्रोचाहिं हाम्रो समाजको विविधता हो । नराम्रो पक्षचाहिं एकअर्काको विविधतालाई गहिराइमा पुगेर बुझ्न सकिएको छैन । आफ्नो दृष्टिकोणमा नै जजमेन्ट गरिहाल्ने र जवाफ दिइहाल्ने गर्छौं ।

८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?

पत्रिकै नपढेको त धेरै भयो । डिजिटल माध्यमबाटै हेरिन्छ । प्रतिस्पर्धाले गर्दा पनि होला समाचारहरूमा विश्वास लागिरा’को छैन । एउटा समाचार पत्याउनलाई पाँच वटा अरू हेर्नुपर्ने स्थिति आएको छ ।

९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

त्यति साह्रो पछुतो पनि छैन हो ! जति परिपक्व हुँदै गयो त्यति नै विगतलाई सुधार्न मन त लागिहाल्दो रहेछ । तर, यही अहिलेको अनुभव लिएर पहिलेका दिनमा पुगेर त्रुटि सच्याउने हो भने फेरि फर्केर यहाँसम्म आइपुग्दा अरू नयाँ त्रुटिहरू भइसक्छन् !

१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

समाजको विविधता बुझाउने र एकअर्काको अस्तित्व स्वीकार्नुपर्छ भन्ने मान्यता यो पुस्ताले स्थापित गरिदिनुपर्छ जस्तो लाग्छ । उदाहरणका लागि हिजो विभेदको कुरा गर्दा यो कुरा गर्नै हुँदैन भन्ने थियो, आज पनि त्यो मत छ । तर, हामी विस्तारै त्यसलाई बुझेर, स्वीकार गरेर त्यसलाई सच्याउनुपर्छ भन्नेमा जानुपर्छ भन्ने भयो नि !

किताब

पहिलो फिल्म भोजपुर सदरमुकाममा हेरेको हुँ । राजेश हमाल दाइको ‘कसम’ भन्ने फिल्म थियो । म त्यतिबेला ६ कक्षामा पढ्थें । मेरो भाइ र साथी पनि थिए, स्कुलबाट भागेर गए जस्तो लाग्छ । तीन वा पाँच रुपैयाँको टिकट थियो

 

१. पढ्ने बानी कसरी बस्यो ?

पढ्ने बानीचाहिं लहड लहडमै लाग्यो । स्कुल पढ्दा मेरो एकजना साथी थियो उसले प्रकाश कोविदको उपन्यास पढ्थ्यो । उसैबाट ल्याएर मैले पनि पढें । उनका उपन्यासको लभस्टोरीले तान्यो । भारतीय लाहुरेका छोरा एकजना दाइ हुनुहुन्थ्यो, उहाँले कमिक्स ल्याउनुभयो । त्यसले पनि तान्यो । मेरो काकाले काठमाडौंदेखि किताब र म्यागाजिनहरू लैजानुहुन्थ्यो । ८–९ कक्षा पढ्दा उहाँले लगेका सत्यकथा, तथ्यकथाका अपराध सिरिजले पनि तान्दै लगे । म एक वर्ष एसएलसी फेल भएँ । त्यो अवधिमा सबभन्दा धेरै पढियो । ‘नवयुवा’मा आउने फिल्म समीक्षा पनि त्यो बेला खुब पढियो । फिल्म नहेरे पनि समीक्षा पढिन्थ्यो ।

२. पढ्न मनपर्ने विधा ?

यही भन्ने छैन । पछिल्लो समय फिक्सन भन्दा ननफिक्सन मजा लागिरा’छ । इतिहासका कुरा पढ्न अझै मजा लागिरा’छ ।

३. सबभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तक ?

मन परेका त धेरै छन् । ‘त्यसबखतको नेपाल’ लगायत हिमाल बुक्सले निकालेका किताबहरू रोचक लाग्छ ।

४. निराश बनाएको पुस्तक ?

म किताब पढ्दा खासै ठूलो परिकल्पना गरेर पढ्दिनँ । त्यसैले खासै निराश पनि हुन्नँ ।

५. नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?

हामीले नपढेको र नजानेको त इतिहासै हो जस्तो लाग्छ । नेपालको खास सामाजिक इतिहास लेखिनु र पढिनुपर्छ भन्ने लाग्छ । हाम्रो पढाइ एकोहोरो खाले मात्रै छ । त्यसले एकथरी मानिसहरूलाई बायस बनाइदिने र अर्कालाई उपेक्षित जस्तो बनाइदिन सक्छ ।

६. तपाईंका प्रिय लेखकहरू ?

थुप्रै हुनुहुन्छ । नाम लिएर साध्य छैन ।

८. कलाकार बन्न चाहनेहरूले पढ्नुपर्ने पुस्तक ?

यही भन्ने त छैन । इतिहास र समाज बुझ्ने कुरा पढ्नुपर्छ । आख्यानले कल्पनाशील बनाउँछ, गैरआख्यानले जानकार बनाउँछ । कलाकारले सकेजति पढ्नुपर्छ । पढ्ने आदत भएकालाई नराम्रै किताब पढेर पनि हानि हुँदैन । कम्तीमा अर्कोपटक राम्रो किताब छान्न सकिन्छ ।

९. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?

लेखकहरूसँग एक दिनभरि कुरा गर्ने आँटै नआउने रहेछ ।

सिनेमा

१. पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?

मलाई दुई छाकचाहिं मजाको दाल-भात–तरकारी चाहिन्छ । मासु मन पर्छ । भेज भयो भने पनि अण्डा वा ससेज चाहिन्छ

पहिलो फिल्म भोजपुर सदरमुकाममा हेरेको हुँ । राजेश हमाल दाइको ‘कसम’ भन्ने फिल्म थियो । म त्यतिबेला ६ कक्षामा पढ्थें । मेरो भाइ र साथी पनि थिए, स्कुलबाट भागेर गए जस्तो लाग्छ । तीन वा पाँच रुपैयाँको टिकट थियो ।

२. कस्ता फिल्म हेर्न मन पर्छ ?

म अहिलेसम्म सोसल ड्रामाले नै अघाएको छैन ।

३. साह्रै मन परेका फिल्म ?

थुप्रै छन् । नाम लिंदा त धेरै हुन्छ होला । फेरि पछिल्लो समय धेरै भयो फिल्म नहेरेको, बासी फिल्मको नाम के लिनु !

४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

म आफैं पनि एक्टर भएर होला, कुनै फिल्मको जति भए त्यसप्रतिको अपेक्षा बढाउदिनँ । त्यसले गर्दा निराश पनि खास भइँदैन ।

५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?

अक्सरचाहिं निर्देशक र एक्टरबाट छान्छु ।

६. मन परेका कलाकार वा फिल्ममेकर ?

थुप्रै हुनुहुन्छ । एक–दुई जनाको मात्रै नाम नलिऊँ !

७. नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?

अबचाहिं हामीले ग्लोबल अडियन्समा पुग्ने खालका फिल्म बनाउनुपर्छ जस्तो लाग्छ । हामीले भन्न खोजेको कुरा संसारले बुझ्ने, संसारभर पुग्ने होस्, साथमा आफ्नोपन पनि होस् । नेपालका विभिन्न समुदायबाट कथाहरू आइरहेका छन् । जस्तो कथामा फिल्म बनाए पनि उद्देश्यचाहिं संसारभर पुग्ने हुनुपर्‍यो । हामीले फिल्म बनाउन थालेको ६० वर्ष भइसक्यो, हाम्रा ६० वटा फिल्म पनि बाहिरको बजारमा/अन्तर्राष्ट्रिय महोत्सवमा पुग्न सकेका छैनन् । यसलाई बढाउने गरी हामीले काम गर्नुपर्छ कि जस्तो लाग्छ ।

८. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्‍याएको ?

मलाई अहिलेसम्म यथार्थमा लैजाने नै ठिक लाग्छ । तर फेरि सिनेमाले आफ्नै यथार्थ, आफ्नो संसारको सृजना गरेर त्यसमा दर्शकलाई त्यो संसारमा छिराउने काम गर्ने भएकाले यी दुवैखाले चाहिएला ।

घुमफिर र सोख

१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?

राजनीतिको धेरै कुराचाहिं फोस्रा आश्वासन र आरोप–प्रत्यारोप कम मात्रै गर्ने हो भने सुध्रिन्छ होला । नेताहरूले आफ्नै दह्रो आत्मसमीक्षा गर्नु जरूरी देख्छु

खासमा म पहिला घुमफिरको निकै सौखिन थिएँ । अहिले कामले नै धेरै ठाउँमा पुगिरहेको हुन्छु । आफैं घुम्न जानु र कामका लागि जानुमा चाहिं आकाश–जमिनको फरक हुँदोरहेछ । कामले जाँदा कामबाहेक केही नदेखिने हुँदोरै’छ । घुम्नुको स्वाद लिन नपाइँदो रहेछ । म कतै गएर आएपछि साथीभाइले त्यहाँ फलानो ठाउँमा पुगिस् भनेर सोध्छन् अनि बल्ल मलाई त्यस्तो पनि थियो भन्ने थाहा हुन्छ ।

२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?

नेपालमा धेरै गएको पनि र अझै जान मन भएको ठाउँ पनि मुस्ताङ नै हो । म २०५८ सालमा पहिलो पटक हिंडेर मुस्ताङ पुगेको थिएँ । पहाडै पहाडको बाटो, हिमालको छेउछेउ जस्तो, कालीगण्डकी तर्दै तर्दै गइएको थियो । मलाई साह्रै मन परेको हो । त्यहाँ गाडी पुग्छ भन्ने कल्पना पनि थिएन । पछि ‘कबड्डी’को सुटिङमा चिप्लिंदै चिप्लिंदै गइयो । त्यहाँ खाना पकाउने चुलोमुनि पाइप हालेर नुहाउने पानी तताउने गजबको विज्ञान थियो । ‘कबड्डी ४’ सम्ममा त पूरै बदलियो । त्यहाँको रैथाने चिज हराउँदै हराउँदै गएको देखें । २५ वर्षमा धेरै बस्ती उठिसकेको छ । ‘कबड्डी २’ को सुटिङमा जाँदा हिउँ पहिरोले याक मरे भन्ने सुनेको थिएँ, ‘कबड्डी ४’ मा आँखा अगाडि नै हिउँ पहिरो देखियो । त्यहाँ पानी पर्दैन भन्ने थियो परेको पनि देखियो । पहिले सिमेन्टका घर थिएनन्, अहिले जतासुकै सिमेन्टका घर र टिनका छाना छन् । हाम्रो चाहना, रहर र आवश्यकताले हो कि ठाउँहरू धेरै परिवर्तन भइरहेका छन् । यो परिवर्तन हेर्न जान मन लागिरहन्छ ।

३. सबभन्दा मन परेको ठाउँ वा यात्रा ?

मन परेको पनि मुस्ताङ नै हो । यात्रा पनि पहिलो पटक मुस्ताङ जाँदाकै हो ।

४. गीत कत्तिको सुन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?

थोरबहुत सुन्छु । पहिला जसरी सुन्दिनँ । कुनै समय एफएम रेडियो हुँदा कानैमा हुन्थ्यो । मन पर्ने गीत र गायक पनि समय अनुसार बदलिने कुरा रहेछ ।

५. आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनुभएको छ ?

पछिल्लो समय कतै जाँदा आनन्दले सुन्ने तृष्णा गुरुङका गीतहरू हुन् ।

६. के कुराको विशेष सोख छ ?

त्यस्तो कुनै कुरा छैन । यस्तो गर्न पाए आहा ! भन्ने केही छैन ।

७. खानाको कत्तिको सौखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?

मलाई दुई छाकचाहिं मजाको दाल–भात–तरकारी चाहिन्छ । मासु मन पर्छ । भेज भयो भने पनि अण्डा वा ससेज चाहिन्छ ! मन पर्ने परिकार दाल–भातै हो ।

राजनीति

१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?

पछिल्लो समयको राजनीतिमा चाहिं सैद्धान्तिक लडाईंभन्दा पनि व्यक्तिगत आरोप-प्रत्यारोप बढी भए जस्तो लाग्छ ।

२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

मुख्य समस्या भनेकै राजनीतिक पार्टीका नेता/कार्यकर्ताले सिद्धान्तभन्दा गुटबन्दीले बढी चलाउनु हो जस्तो लाग्छ । पार्टीहरू राजनीतिक सिद्धान्तको आकारभित्र बसे जस्तो लाग्दैन । व्यक्तिगत स्वार्थ र गुटबन्दी हावी भए जस्तो लाग्छ ।

३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?

धेरै कुराचाहिं फोस्रा आश्वासन र आरोप–प्रत्यारोप कम मात्रै गर्ने हो भने सुध्रिन्छ होला । नेताहरूले आफ्नै दह्रो आत्मसमीक्षा गर्नु जरूरी देख्छु ।

४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?

हामीले भोगेको पालाको कुरा गर्ने हो भने प्रभावशाली नेताका रूपमा देखेको गिरिजाप्रसाद कोइराला हो । उनको व्यक्तित्वले त्यो समयको नेतृत्व गरेको थियो । प्रधानमन्त्री भनेकै गिरिजा हो भन्ने फिल आउँथ्यो । माओवादी युद्ध सकिएर शान्ति प्रक्रियामा आउने समयमा अलिकति आकर्षण प्रचण्डको थियो । एउटा जिज्ञासा थियो । अहिले त धेरै परिवर्तन भइसक्यो, त्यतिबेला लाग्थ्यो ।

५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

पहिलो कुरा त यो हुनसक्ने सम्भावनाको कुरै होइन । भइहालें भने पहिलो काम त कसरी भएँ भनेर सोचेरै बस्थें होला ।

६. एक दिन बिताउनुपर्‍यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?

उत्तरकोरियाको नेता किम जोन उन । उनका बारे थाहा नभएकाले के रै’छ त भनेर बुझ्न चाहन्थें ।

सामाजिक सञ्जाल

१. दिनको कति घण्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

औसतमा हेर्दा दिनको तीन घण्टा त पुग्छ होला । फिल्मको प्रोमोसन हुँदा त्यो समय बढ्छ । समाचारहरू पनि यसमै पढ्छु । सुटिङका बेला फिटिक्कै नहेर्ने पनि हुन्छ । बढी फेसबुक नै चलाइन्छ होला । अनि गुगल ।

२. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?

राति सुत्ने बेलामा चाहिं हेर्दिनँ । राति सुत्नै हतार हुन्छ । बिहान उठेर समय हेर्नैलाई पनि फोन हेरिन्छ । घडी नै यही हो ।

३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

सञ्जालको राम्रो पक्ष सूचना र सञ्चारका लागि साह्रै सहज छ । टाढा–टाढा रहेका साथीभाइ र आफन्तसँग यस मार्फत नै सम्पर्क हुन्छ । नराम्रो कुरा यसले नजिक भएकालाई टाढा बनाइदिन सक्छ । यसमै भुलेर एउटा कोठा र अर्को कोठामा भएकै मान्छेबीच भेट नहुन पनि सक्छ । दोस्रो कुरा यसमा आएका सबै कुरा जस्ताको तस्तै पत्याइयो भने गलत जानकारीको फन्दामा पर्न सकिन्छ । प्रयोगकर्ताले छान्न सक्नुपर्छ ।

४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?

खास त अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचनाको सञ्जालकै काम गरेको छ । हरेक कुराको नराम्रो भए जस्तै यसमा पनि गलत सूचनाहरू पनि आउँछन् । यसमा प्रयोगकर्ताले फिल्टर गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले आफूले कुनै विषयमा अभिव्यक्ति दिंदा पनि सचेत हुनुपर्छ होला । हेर्नेले पनि मलाई कसैले भन्यो भन्दैमा तत्काल प्रतिक्रिया गरिहाल्नुहुँदैन जस्तो लाग्छ ।

५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?

मलाई त्यस्तो लाग्दैन । त्यसको महत्व चाहिं झन् बढाउँछ होला । म कागजको गन्ध सुँघेर, किताब छामेर आएको पुस्ता भएकाले पनि यसप्रति आकर्षण छ । पछिल्लो पुस्तामा पनि त्यो होला ।

पेशा/व्यवसाय

१. कलाकार हुनुको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?

धेरै कुराको अनुभव हुन्छ । थोरै समय भए पनि आफूले नबाँचेको जीवन बाँच्न र समाजलाई महसुस गर्न पाइन्छ । नराम्रो चाहिं लोकप्रिय भएपछि मान्छेमा धेरै किसिमका अपेक्षा जाग्दा रहेछन् । हामी पनि साधारण मान्छे हौं तर यी त विशेष हुन् भन्ने जस्तो बुझाइ बन्दोरहेछ । अपेक्षा र वास्तविकताको तालमेल नमिल्दा भ्रम पैदा हुँदोरहेछ । त्यो अपेक्षाले अप्ठेरो पनि पार्दोरहेछ ।

२. कुन समयमा तपाईंलाई कलाकार नै बन्नुपर्छ भन्ने लाग्यो ?

जुन दिनदेखि सुरु गरें, त्यही दिनदेखि लागेको हो । ‘दासढुंगा’ फिल्ममा अभिनय गर्दै गर्दा चाहिं अब म होलटाइमर कलाकार बन्छु भन्ने लागेको हो । त्यसबेला काम गर्न जुन मजा आयो, अब यही काम गर्नुपर्छ, यसका लागि वातावरण बनाउन लाग्नुपर्छ भन्ने लाग्यो । कस्ता फिल्म बनाउने भनेर साथीभाइहरूसँग सरसल्लाह गर्न थालियो ।

३. कलाकार नबनेको भए के बन्नुहुन्थ्यो होला ?

हदै बनेको भए शिक्षक बन्ने थिएँ होला । नभए किसान त कन्फर्म हो । किसानी आउँथ्यो, अनुभव थियो ।

४. तपाईंको कोही रोलमोडल छ ?

छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?