+
+
विचार :

अहिलेकै अवस्थामा कृषिकर्मले समृद्धि ल्याउँदैन

सकिन्छ साना किसानहरूको जीवनको सकारात्मक परिवर्तनको लागि काम गरौं, सकिंदैन भने कम्तीमा उहाँहरूलाई अहिलेकै अवस्थामा कृषिकर्मले समृद्धि ल्याउँछ भन्ने ‘भ्रम’बाट मुक्त गरौं।

सन्देश पौड्याल/सुनिता न्हेम्हाफूकी सन्देश पौड्याल/सुनिता न्हेम्हाफूकी
२०८१ जेठ २८ गते १०:०७

नेपालको समग्र कृषि प्रणालीका मुख्य अंश साना किसानहरू कृषिलाई पेशा वा व्यवसायको रूपमा हेर्न तयार हुनुभएको छैन।

लगानी, नाफा, घाटा, प्रक्षेपण आदि धेरै टाढाका विषय भएका छन्। गरेका थियौं र भइरहेको छ भन्ने चिन्तनले नै अहिलेसम्म डोर्‍याइरहेको छ। जीवन निर्वाह भइरहेको छ भन्ने विश्वास र विदेश जान पैसा जोहो गर्ने माध्यम बनेरै कृषिकर्ममा निरन्तर लागिरहनुभएको जनसंख्या बढी छ।

अपवाद नभएका होइनन् तर समग्रतामा कुरा गर्दा अपवादको कुरा गर्नु ठिक नहोला, त्यसो गर्दा गलत विश्लेषण र निष्कर्षमा पुगिन्छ।

हाम्रो समग्र कृषि प्रणालीमा समस्या छन्, कृषि पूर्वाधार पर्याप्तताको समस्या छ, नीतिगत अस्पष्टताले समस्या बढाएको छ, संरचनात्मक रूपमै बजारदेखि लागतसम्मका समस्या छन्। यी समस्याको महत्वपूर्ण तर एउटा पाटो हो। त्यो सम्बन्धी मुद्दा धेरै राजनैतिक र थोरै सामाजिक होलान् जुन चाँडै नै समाधान हुन गाह्रो छ, कम्तीमा यो आलेखको हिस्सा चाहिं होइनन्।

कृषकसँग धेरै काम गर्ने हामी आफैंलाई प्रश्न गरिरहेका हुन्छौं, ‘के कुनै चमत्कारका कारण नीति र पूर्वाधारको समस्या समाधान भइहालेको अवस्थामा हाम्रो कृषि-प्रणाली व्यावसायिक बन्न तयार छ त?’

उत्तर उत्साहजनक छैन। फेरि अर्को धारणा पनि आउला, व्यवस्था सुध्रियो भने व्यावसायिकता पनि सुध्रिहाल्छ नि!

हामीले बुझेको, व्यवस्था सुध्रिनुसम्म कुर्ने हो भने कहिल्यै पनि व्यावसायिकता आउँदैन। फेरि उही व्यवस्थामा सफल मान्न मिल्ने जलस्रोत, आईटी र धेरै हदसम्म पर्यटन क्षेत्रका दृष्टान्त पनि हामीसँग छन्।

कृषिमा किन त्यसो हुन सकेन ? न त नीति र व्यवस्था सजिलै सुध्रिन्छ न त व्यवसाय गर्ने तरिका नै। आफू तयार हुँदै जाने अनि त्यसैको जगमा व्यवस्था सुधार्न प्रयासरत रहने तरिका नै सबैभन्दा वैज्ञानिक हो। व्यवसाय अघि-अघि र नीति त्यसको पछि हुन नसक्ने केही छ र?

त्यसो भए सुधार्ने भनेको चाहिं के हो ? हाल सालैको ताजा उदाहरण दिन्छौं। शंखरापुर नगरपालिकामा हामी साना कृषकहरूलाई व्यावसायिक साक्षरतामा परिचित गराउने उद्देश्यले गएका थियौँ। एउटा अभ्यास गरायौं, आफ्नो उत्पादनको लागत मूल्य निकाल्ने।

एकजनाले खुसुक्क आएर भन्नुभयो, ‘यस्तो अभ्यास नगरौं, धेरैको कृषिकर्म घाटामा छ, कृषिबाटै भागाभाग होला।’ धेरै यस्तो कार्यक्रममा भाग लिंदा पनि यस्तो प्रतिक्रिया पहिलो पटक आएको थियो, धेरैको अवस्था त्यही हो भन्ने हामी अनुभवको आधारमा भन्न सक्थ्यौं। तर पनि त्यो प्रतिक्रिया त्यसरी पहिलो पटक आएकोले अवाक् भएका थियौं।

नभन्दै, आफ्नो ज्यालाको मूल्य र जग्गाको सामान्य भाडा राख्दा अधिकांश कृषक घाटामै हुनुहुन्थ्यो। कतिपयलाई त विश्वास गर्ने गाह्रो भयो तर पछि किन पैसा बाँच्दैन र ऋण घट्दैन भन्ने आफ्नो कौतूहलताको उत्तर पाएको जस्तो पनि भयो।

नाफा र घाटाको हिसाब गरी हाम्रो सामु कति व्यवसाय बन्द भएका छन्, अन्त सरेका छन्, तर तर्कसंगत ढङ्गले सोच्न नजानी/नपाई कृषिकर्म नै शाश्वत सत्य हो भन्ने सोच्न बाध्य पारिनु चाहिं समस्या हो।

नेपालमा कृषिलाई व्यावसायिक बन्न तगारोको रूपमा रहेको वित्तीय र व्यावसायिक (अ)साक्षरतालाई आत्मबोध गर्दै त्यसलाई चिर्न व्यापक रूपमा व्यावसायिक साक्षरता बढाउन जरूरी छ भन्ने विश्वासका साथ हामी निरन्तर लागिरहेका छौं। घरी कक्षाकोठामा त घरी किसानको दैलोमा हामी व्यावसायिक साक्षरताको कार्यक्रम लिएर पुगिरहेका हुन्छौं।

करिब १२०० साना किसानसँगको प्रत्यक्ष साक्षात्कारको आधारमा हामी के निष्कर्षमा पुगेका छौं भने यथास्थितिमा ‘कृषि’ जीवन निर्वाहको साधन बन्न सक्दैन। पेशा वा व्यवसाय बन्न सक्दैन। यथास्थितिमा हाम्रो कृषि प्रणाली कृषि नीति, पूर्वाधारका साथै किसानहरूकै क्षमता पनि पर्दछ।

 समस्याको चुरो

‘कृषिमा आधुनिकीकरण र व्यवसायीकरण’ भन्ने नारा हामीले सुन्न थालेको कति भयो? तथ्यांकले सापेक्षित रूपमा फरक कुरा भन्न सक्ला तर दुवै पाटोमा हाम्रो प्रगति पट्यारलाग्दो छ।

हामीले नेपालभरका ११ जिल्लाका करिब ४०० साना किसानसँग गरेको सर्वेक्षणले देखाएको छ- करिब १८ प्रतिशत किसानले मात्र जसोतसो आफ्नो व्यवसायको हिसाब-किताब राख्नुभएको छ, करिब ९ प्रतिशतसँग मात्र व्यवसायको योजना छ। त्यो पनि बैंकको ऋण अथवा अनुदानको लागि बनाएको।

करिब २८ प्रतिशत साना किसानलाई मात्र बैंकको ब्याज कसरी हिसाब हुन्छ भन्ने थाहा छ र अझ जम्मा ८ प्रतिशत साना किसानलाई मात्र आफ्नो उत्पादनको लागत मूल्यको जानकारी छ।

हाम्रो सर्वेक्षण नै पूर्ण रूपमा साँचो हो भन्ने दावा हाम्रो छैन। तर करिब ६५ प्रतिशत जनता लागेको क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत मुनि हिस्सा छ भन्ने राष्ट्रिय तथ्यांकले देखाएको अवस्थामा, सत्य त्योभन्दा पर छ भन्ने सङ्केत कदापि हुँदैन। बैंकमा थुप्रिएको खराब कृषि ऋणले पनि हाम्रो अध्ययनलाई थोरबहुत प्रमाणित नै गर्दछ।

समस्या हिसाबकिताब बुझेन भन्ने मात्र होइन, नाफा–नोक्सानको विश्लेषण गर्न जानेन भन्ने मात्र पनि होइन, समस्या कतै हाम्रो साना किसानहरू गलत विश्वासमा स्वर्णिम सपना देख्दै आफू र आफ्नो परिवारलाई ‘अल्झाइ’मात्र रहनुभएको त छैन भन्ने हो। समस्या कतै अपुरो लागतमा पूर्ण आशा गर्नुभएको छ कि भन्ने हो।

कुनै पनि व्यवसाय पूर्ण रूपमा नाफामा मात्र चल्ने हुँदैन, कृषि कुनै पनि हालतमा अपवाद होइन। नाफा–नोक्सानको चक्र यसमा पनि चल्छ। तर पुस्ता दर पुस्ता गरिरहेको तर ‘नाफा’ र ‘नोक्सान’को हिसाब कहिल्यै गर्न नसकेको अवस्था चाहिं समस्या हो।

आफ्नो लागत र त्यसको प्रतिफलको सही हिसाब नगरी जीवनभर अभाव र दु:खमा बाँचिरहेर यही नै मेरो एकमात्र धर्म र कर्म हो भन्ने अनिवार्य सोच रहनु चाहिं समस्या हो।

नाफा र घाटाको हिसाब गरी हाम्रो सामु कति व्यवसाय बन्द भएका छन्, अन्त सरेका छन्, तर तर्कसंगत ढङ्गले सोच्न नजानी/नपाई कृषिकर्म नै शाश्वत सत्य हो भन्ने सोच्न बाध्य पारिनु चाहिं समस्या हो।

अर्को तर्क पनि जबर्जस्त रूपमा आउँछ, नाफा–नोक्सानको हिसाब गरेर धेरैले कृषिकर्म बन्द गरे देशको खाद्य सुरक्षा के हुन्छ, हामीले के खाने? हाम्रो विचार, ‘आफू पिल्सिएर, एक एक रुपैयाँको लागि मिहिनेत पसिना एक गर्ने तर हात लाग्यो शून्य हुने अनि देशको खाद्य सुरक्षा र भान्सामा के पाक्छ भन्ने चिन्ता चाहिं साना किसानहरूले मात्र गरिरहनुपर्ने?’

कतै यही अवस्थाको आकलन गरेरै सम्पूर्ण संयन्त्र नै साना किसानहरूलाई व्यावसायिक रूपमा साक्षर नहोउन् भन्ने धेयका साथ अघि बढेका त छैनन्? भन्ने प्रश्न पनि टड्कारो रूपमा आउँछ।

साना किसानहरूको आँखाबाट हेर्दा अवस्था साँच्चै नै जटिल छ। बीउको लागि, मलको लागि, सिंचाइको लागि, बजारको लागि, मूल्यको लागि आफू तन्नम भएर लाग्ने अनि राज्यको तर्फबाट निरन्तरको उपेक्षासँगै धेरै घाटाको व्यवसायमा निरन्तर लाग्नैपर्ने बाध्यकारी अवस्था सृजना हुनु हरेक हिसाबबाट दुःखद् हो।

आवरणमा प्रयास नभएका पनि होइनन् तर अहिलेसम्म आउँदा तिनले नतिजा निकालिसक्नुपर्ने हो, तर दुःखको साथ भन्नुपर्छ खेतमा काम नै गर्न नदिने त्यस्ता तालिम, गोष्ठी र भेलाहरूले आशातित नतिजा दिनुको साटो उल्टै यस्तो पढेर के हुन्छ र भन्ने अवस्था सृजना गरेको छ। त्यस्तो कार्यक्रम गर्ने मान्छे कि त अमूक आशाका भकारी भएका छन् कि त उपहासको पात्र।

अझ पनि साना किसानहरू कुनै परियोजनाको अपूर्ण टेकोमा लागिरहनुभएको छ। उत्पादन, बजार, लागत र नाफा-नोक्सान नबुझ्दा घरी किबी घरी ड्रयागन फ्रुट, घरी अदुवा त घरी एभोकाडोको ‘नोक्सानीपूर्ण’ जालोमा किसानहरू परिरहनुभएको छ। पत्र-पत्रिका र ‘युट्युब’मा आउने जल्दबाजीका ‘ग्लामरस’ समाचारहरूले पनि सहयोग गरेका छैनन्।

कसैले यो उत्पादन गर्नु राम्रो हुन्छ भनेर भनेको आधारमा सम्पूर्ण साधन–स्रोत खर्च गर्नुभन्दा आफैं त्यसको आलोचनात्मक रूपमा विश्लेषण गर्न सक्ने भएको भए अवस्था कति राम्रो हुनेथियो होला। अनि मात्र त्यो सही मानेमा व्यवसाय ‘नाफा नोक्सान’ वाला हुन्थ्यो होला, जसको जिम्मेवारी उहाँहरूकै काँधमा हुनेछ।

सरोकारवाला सम्पूर्णलाई हाम्रो अनुरोध, यो निकै चुनौतीपूर्ण भए पनि समाधान गर्न सकिने चुनौती हो। तुलनात्मक रूपमा कम साधनस्रोतमै सम्पन्न गर्न सकिन्छ, प्राविधिक र व्यावसायिक साक्षरताको प्रयत्न साथ-साथै जानुपर्ने देखिन्छ।

राज्य, प्राज्ञिक संस्था, विकास साझेदारहरूलाई हाम्रो अनुरोध– विगतमा के भए त्यसलाई शिक्षाको रूपमा लिई हातेमालो गर्दै यो समस्यालाई चिर्न दृढ विश्वासका साथ अघि बढौं। धरातल बुझेर इमानदार प्रयास गरौं। छरिएका प्रयास र स्रोतहरूले हामीलाई नतिजाउन्मुख बनाएका छैनन्।

यसलाई मनन गर्दै हाम्रा अन्नदाताहरूको मिहिनेतको सही ढङ्गले सम्मान हुने अवस्था सृजना गर्नतर्फ लागौं। सकिन्छ उहाँहरूको जीवनको सकारात्मक परिवर्तनको लागि काम गरौं, सकिंदैन भने कम्तीमा उहाँहरूलाई अहिलेकै अवस्थामा कृषिकर्मले समृद्धि ल्याउँछ भन्ने ‘भ्रम’बाट मुक्त गरौं।

(पेशाले सीए पौड्याल किङ्स कलेज काठमाडौंका एग्रीबिजनेस म्यानेजमेन्टका संयोजक हुन् भने विगत डेढ दशकदेखि साना किसानसँग काम गर्दै आएकी न्हेम्हाफूकी त्रिभुवन विश्वविद्यालयमा कृषि संचारमा विद्यावारिधि गरिरहेकी छन् ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?