+
+

दुबइको महत्त्वाकांक्षी परियोजना ‘द वर्ल्ड’ के भयो ?

एजेन्सी एजेन्सी
२०८१ जेठ ३० गते १३:५४
Photo Credit : GETTY IMAGES

पछिल्लो करिब एक दशक या त्यसभन्दा पनि अघिबाटै दुबइले आफ्ना ठुलाठुला परियोजनाका कारण संसारलाई नै चकित बनाइरहेको छ ।

चाहे संसारको सबैभन्दा ठुलो भवन बुर्ज खलिफा होस् वा विश्वको सबैभन्दा स्मार्ट होटल बुर्ज अल अरब होस् अनि दुबइको सामुद्रिक तटको नजिकै विकसित गरिएको कृत्रिम पाम टापु नै किन नहोस् ।

तर, अरबौं डलरको एउटा यस्तो योजना पनि छ जो अधिकांश खाली तथा सुनसान बनेको छ । यो परियोजना २६० वटा स-साना टापुहरूको एउटा सञ्जाल हो, जसलाई विश्वका सबै महादेशहरूको आकारमा विकसित गरिएको छ ।

यो टापु समूह परियोजनामा काम सुरु भएको २ दशकभन्दा धेरै समय बितिसकेको छ ।

आखिर यति लामो समय व्यतीत भैसकेको ‘द वर्ल्ड’ आइल्याण्डस् परियोजना अहिले के भइरहेको छ त ? उक्त टापु समूह किन बनाउन थालिएको थियो ?

‘द वर्ल्ड’ नामक उक्त परियोजनाको परिकल्पना २६० वटा कृत्रिम टापुहरूको रुपमा गरिएको थियो । त्यसलाई यस्तो प्रकारले बनाउनु पर्ने थियो जुन रुपमा पृथ्वीमा सबै सातवटा महादेश अवस्थित छन् ।

यो परियोजना दुबइको समुद्री तटभन्दा करिब चार किलोमिटर टाढा बनाइँदै थियो । प्रत्येक टापुको नाम उक्त देश, इलाका वा सहरको नाममा राखिएको थियो जुन महादेशमा त्यो अवस्थित थियो ।

उक्त परियोजनाअन्तर्गत निजी कम्पनीहरूले ती टापुमा अ‍ेनक सुविधाहरू, जस्तै होटल, रेष्टुरेन्ट, रिसोर्ट वा बंगलाहरू विकास गर्नु थियो । जसले त्यहाँ पुग्ने व्यक्तिहरुले विश्वका फरक-फरक संस्कृतिहरूको झलक देख्न पाउनेछन् ।

सरकारी सहयोग प्राप्त कम्पनी नखिल प्रपर्टिजले पाम जुमेराह नामको एउटा कृत्रिम टापु तयार गरेको थियो ।

त्यसमा चार हजारवटा लग्जरी भवन तथा दर्जनौं होटेल बनाइएको थियो । ‘द वर्ल्ड’ परियोजनाचाहिं त्यसभन्दा पनि विशेष तथा आलिशान परियोजना हो ।

उक्त परियोजनामा टापुहरू बनिसकेपछि दुबइको समुद्री तटरेखामा २३० किलोमिटरले वृद्धि हुने थियो । यसबाट दुबइ आउने पर्यटकको संख्यामा पनि उच्च वृद्धि हुने विश्वास गरिएको थियो ।

‘द वर्ल्ड’ परियोजनाको घोषणा दुबइका शासक शेख मोहम्मद अल मक्तूमले सन् २००३ मा गरेका थिए।

कसरी बनाइयो ‘द वर्ल्ड’ ?

पाम जुमेइरा से भी ज्यादा भव्य प्रोजेक्य वर्ल्ड दुबई है.

नखिल प्रपर्टिजले ‘द वर्ल्ड’ परियोजनामा सन् २००३ देखि नै काम सुरु गरेको थियो । पर्सियन खाडीको समुद्री पिंधबाट ३२.१ करोड घनफुट बालुवा निकालेर ती टापुहरू बनाइएको थियो ।

पर्यावरणविद्हरूका अनुसार समुद्री पिंधबाट बालुवाको उत्खनन गर्दा पर्सियन खाडीमा रहेका मुटाका चट्टानमा गम्भीर क्षति पुगेको छ ।

नखिल प्रपर्टिजले त्यसलाई पुनः बनाउन र मुगालाई पुनर्स्थापित गर्नका लागि जीव वैज्ञानिकहरूको सेवा लिएको थियो ।

‘द वर्ल्ड’ कसरी समस्यामा पर्‍यो ?

नखिल प्रपर्टिजले सन् २००८ मै उक्त कृत्रिम टापुहरू तथा आसपासको समुद्री इलाकाको निर्माण सम्पन्न गरेको थियो । र, त्यसको ७० प्रतिशत हिस्सा उसले निजी कम्पनीहरूलाई बेच्न सफल भएको थियो ।

यद्यपि गम्भीर वित्तीय संकटका कारणले ती टापुहरूमा थप सुविधाहरूको निर्माणको काम रोकियो । अमेरिकाबाट सुरु भएको उक्त वित्तीय संकटले सन् २००७ मा दुबइलाई पनि आफ्नो चपेटामा पार्‍यो त्यसको असर सन् २०१० सम्म रह्यो ।

त्यसक्रममा दुबइमा घरजग्गाको मूल्यमा तीव्र गिरावट आयो । जसका कारणबाट धेरै निजी कम्पनीहरूले या त उक्त योजनाबाट आफ्नो हात झिके वा त्यसलाई रोकिदिए ।

स्वयं नखिल प्रपर्टिजलाई पनि अर्बौं डलरको ऋण लागेको थियो ।

तर, सन् २००९ मा दुबइको छिमेकी इमिरेट्स अबुधाबीले दुबइमा १० अर्ब डलर लगानी गरेपछि नखिललाई केही राहत मिल्यो । त्यसको अर्थ थियो कि नखिललाई उसको मातृ कम्पनी दुबइ वर्ल्डका माध्यमबाट उक्त वित्तीय संकटमुक्त बनाउन सकियोस् ।

‘द वर्ल्ड’मा अहिलेसम्म के के बन्यो ?

 उक्त परियोजनातर्फ विश्वको ध्यान खिच्नका लागि नखिल प्रपर्टिजले ल्यापल्याण्ड नामक टापुमा प्रदर्शनका लागि एउटा घर बनाएको थियो ।

त्यस्तै फर्मुला वानका विश्व च्याम्पियन माइकल शुमाकरलाई उनको सफलताको सम्मान गर्दै टापु उपहार दिइयो । सो टापुमा पनि एउटा शानदार भवन बनेको छ।

सन् २०१२ मा लेबनान नामक टापुमा द रोयल आइल्याण्ड बीच क्लब खुल्यो जुन रेष्टुरेन्ट तथा बारको सुविधायुक्त एक रिसोर्ट हो ।

सन् २०२२ मा अनातारा वर्ल्ड टापु पनि सञ्चालनमा आयो । त्यहाँ पनि एउटा लग्जरी रिसोर्ट बनेको छ। तर, ‘द वर्ल्ड’का बाँकी सबै टापुहरु बालुवाको उजाड ढिस्का जस्तै अलपत्र अवस्थामा छन् ।

बेलायतको न्युक्यासल विश्वविद्यालयमा अध्यापनरत भूगोल विषयका प्राध्यापक तथा ए जर्नी इनटू द एरा अफ आर्टिफिसियल आइल्याण्डस्का लेखक एलेस्टर बनेट भन्छन्- ‘द वर्ल्ड’को एउटा ठुलो समस्या भनेकै यो द पाम जस्तो दुबइसँग सिधा रुपमा जोडिएको छैन । यस्तो कुनै पुलपनि छैन जसको माध्यमबाट कारमा चढेर ती टापुमा जान सकियोस् । ती टापुहरूलाई आपसमा जोड्ने कुनै सडक पनि बनाइएको छैन ।

जसका कारण त्यहाँ भौतिक निर्माणका लागि निर्माण सामग्रीहरु तथा मजदुरहरू ल्याउनका लागि समेत ठुलो चुनौती बन्यो । ती टापुहरूमा बिजुली तथा पानी उपलब्ध गराउनु पनि एउटा चुनौती हो ।

ती टापुहरूलाई दुबइसँग जोड्ने एउटै माध्यम हो पाम जुमेराहबाट चल्ने एउटा फेरी सेवा ।

के होला ‘द वर्ल्ड’को भविष्य ?

पछिल्लो एक दशकमा दुबइस्थित क्लेनडिएन्स्ट ग्रुप नामको एक कम्पनीले ‘द हर्ट अफ युरोप’ नामको परियोजनामा काम गरिरहेको छ, जसको लागत पाँच अर्ब डलर हुनेछ।

सो कम्पनी अष्ट्रियन उद्यमी जोसेफ क्लेनडिएन्स्टको हो । उक्त परियोजना अन्तरगत विभिन्न लग्जरी होटल, निजी घर तथा युुरोपेली शैलीका तैरिने भिल्लाहरू बनाइनेछ।

ती सबै संरचनाहररू ‘द वर्ल्ड’कै जर्मनी, मोनाको, स्वीडेन तथा भेनिस नामका टापुहरुमा निर्माण गरिनेछ ।

सो परियोजना अन्तरगत एउटा वर्षात् गल्ली पनि बनाइनेछ जहाँ मानिसहरुले तीव्र गर्मीको बेलामा समेत वर्षातको पानीमा भिजेको आनन्द लिन सक्नेछन् ।

उक्त कम्प्लेक्स सन् २०२६ मा निर्माण भईसक्नेछ ।

‘द वर्ल्ड’को बनावटमा वृहत काम गर्नका लागि नखिल प्रपर्टीजले ठेकेदारको खोजी गरिरहेको छ । यस परियोजनाअन्तर्गतका सबै २६० वटा टापुहरूलाई महादेशको रुपमा एक अर्कासँग जोडिनेछ ।

आधारभूत रुपमा ‘द वर्ल्ड’का हरेक टापुका लागि पानी तथा बिजुलीको आफ्नै अलग अलग व्यवस्थाको योजना थियो । जुन धेरै महँगो र अव्यवहारिक विकल्प थियो ।

जब ती कृत्रिम टापुहरूलाई महादेशको रुपमा एकअर्कासँग जोडिनेछ तब ती टापुहरूले बिजुली तथा पानीजस्ता सुविधाहरू शेयर गर्नेछन् ।

  • बीबीसीबाट
लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?