+

अन्तर्राष्ट्रिय योग दिवसको सान्दर्भिकता र योगको महत्व

२०८१ असार  ७ गते १६:५५ २०८१ असार ७ गते १६:५५
अन्तर्राष्ट्रिय योग दिवसको सान्दर्भिकता र योगको महत्व

वर्षकै सबैभन्दा लामो दिन अर्थात् २१ जुन योगका लागि एक विशेष महत्वको दिन रहिआएको छ । विगतमा जस्तै यस वर्ष पनि ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने मूल भावका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस संसारभर मनाइँदैछ ।

यस वर्षको योगको यो थिमले महिलाहरूको सशक्तीकरण गराउने एउटा माध्यम योग हो, जसले महिला स्वास्थ्यको सुरक्षा गर्छ, तनाव व्यवस्थापन गर्छ र स्वास्थ्यका हरेक पक्षको विकास गर्छ । फलस्वरुप महिला सशक्तीकरणमा टेवा पुग्छ भन्ने सन्देश दिन्छ । यसैगरी महिलालाई योगसम्बन्धी चेतना प्रदान गरे घरपरिवार, समुदाय र समाजमा सकारात्मक परिवर्तन समेत देखापर्छ भन्ने समेत यस वर्षको योग दिवसको उद्देश्य रहेको छ ।

योग महिला, पुरुष, बच्चा, प्रौढ, वृद्धा सबैका लागि उमेर र शारीरिक क्षमताअनुसार सबैले गर्नु आवश्यक छ । तर पनि यस वर्षको यो थिमले महिलालाई योगमा जोड्नका लागि विशेष आह्वान गरेको बुझ्न सकिन्छ ।

त्यसो त विश्व योग दिवस बाहेक प्रत्येक वर्ष माघ १ गते नेपालमा राष्ट्रिय योग दिवस मनाइन्छ । तर विश्वभर विश्व योग दिवस विगत ९ वर्षदेखि मनाउने गरिएको छ । विश्वभर एकताको सन्देश दिने विश्व योग दिवस मनाइरहँदा हामीले महान् योगी र योगका प्रवर्तक भगवान शिव, भगवान कृष्ण, गौतम बुद्ध र महर्षि पतञ्जलिका बारेमा चर्चा गरेको सुन्छौं । किनकि यी देवता र ऋषिलाई योगका प्रवर्तक र विकासक मानिन्छ । संसारमा धेरै विद्वानले हालसम्म योगका सन्दर्भमा धेरै अनुसन्धान, प्रयोग र विकास गरेका छन् । तापनि नेपालका मानसाग्नि भन्ने साधक वा योगमा एक त्यागी व्यक्तित्वको बारेमा पनि हामीले बुझ्नुपर्ने हुन्छ ।

दशौं अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भ

सन् २०१४ को २७ सेप्टेम्बरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्रसंघको सभाले ११ डिसेम्बर २०१४ मा प्रस्ताव पारित गरी २०१५ जुन २१ का दिनदेखि विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेपछि सन् २०१५ देखि विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको हो । सदा झैं यस वर्ष पनि २१ जुन वा असार ७ गते विश्व योग दिवस राज्यकै तर्फबाट मनाइँदैछ ।

विश्व योग दिवसको सन्दर्भ पारेर देशका विभिन्न ठाउँमा विभिन्न योगसँग सम्बन्धित संस्थाहरूबाट समेत योग दिवस मनाउन आव्हान गरी सप्ताहव्यापी योगका कार्यक्रम पनि आयोजना गरिएको छ ।

योग र यसको महत्व 

योग दिवस मनाउने सम्बन्धमा कुरा गर्नुअघि योग भनेको के हो र यसको महत्व के छ भन्ने बुझ्नु आवश्यक छ । वास्तवमा योग भनेको जोड हो र योगले मानिसको आत्मा, मन, मस्तिष्क र शरीरलाई जोडेर एक स्वच्छ र पवित्र आत्माको रूपमा रूपान्तरण गर्छ । यसको अर्थ नियमित योग गर्नाले व्यक्तिमा मानसिक तनावको अन्त हुने, मनमा आउने विभिन्न नकारात्मक र अनावश्यक कुराहरू नियन्त्रित हुनुका साथै शरीर र मांसपेशी मजबुत हुन्छ । योगमा गरिने विभिन्न आसन, प्राणायाम, ध्यान र आध्यात्मिक चिन्तनले मानिसको आन्तरिक तथा बाह्य क्षमता बलियो हुन पुग्छ । व्यक्ति शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक र आध्यात्मिक दृष्टिकोणले समेत स्वस्थ हुन्छ । भर्खरै सार्वजनिक भएको एक प्रतिवेदनअनुसार हाल संसारभरका ३०० मिलियन व्यक्तिले दैनिक योग अभ्यास गर्ने गर्छन् र अमेरिकामा १० प्रतिशत मानिस दैनिक योग अभ्यासमा सरिक भइरहेको बताइन्छ । यसले पनि योगको महत्वलाई अझ प्रष्ट पार्छ ।

वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । महर्षि पतञ्जलिको योग दर्शनअनुसार योग त्यो प्रयत्न हो, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा राखिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ । शरीर, इन्द्रिय, मन, बुद्धि र अहंकारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरुप पाउन सकिन्छ र त्यही शुद्ध स्वरुप प्राप्त गर्ने माध्यम नै योग हो । वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइनुले योग प्राचीन ऋषिमुनिहरूको अनवरत तपस्या र साधनाबाट विकसित भएको विद्या हो भन्न सकिन्छ । त्यस्तै बुद्ध धर्मका पालित्रिपिटकहरूमा र प्राचीन संस्कृत ग्रन्थहरूमा पनि योगका चर्चा भएका छन् ।

जैनधर्ममा पनि महावीर स्वामी आफैं योगी थिए र उनको समयमा योगको विवेचना बढी भएको पाइन्छ । गोरखनाथको नाथ सम्प्रदायमा पनि योगको यति आदर गरिन्छ कि त्यस सम्प्रदायलाई योगी सम्प्रदाय भनिन्छ । यसरी योग हरेक धर्म, समाज र सम्प्रदायमा लोकप्रिय नै रहेको पाइन्छ ।

योगदर्शनका प्रतिपादक ऋषि पतञ्जलि हुन् । त्यसैले योग दर्शनलाई पातञ्जल योग पनि भनिएको हो । भारतीय तथा पश्चिमाहरूले योगलाई योगा भन्ने गर्छन् । योगदर्शन भारतीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो, जसलाई व्यवस्थित रुप दिने काम ऋषि पतञ्जलिले गरेका हुन् । हाल स्वामी रामदेवले पतञ्जलिकै नामबाट योगलाई बढी लोकप्रिय गराउने काम गरेका छन् ।

जति जति समाजको विकासको गति बढ्दै गइरहेको छ, त्यति त्यति नै योगको आवश्यकता र महत्व पनि महसुस हुँदै गइरहेको पाइन्छ । ५-१० वर्षअघिसम्म पश्चिमा विकसित देशहरूमा योगतर्फ थोरै मानिसको मात्र संलग्नता थियो, जबकि आजको अवस्थामा विकसित देशका अधिकांश मानिसहरूले पनि योगलाई अपनाउन थालेका छन् ।

योग दर्शनमा धर्मकर्मका लागि यज्ञ, यज्ञादि र पूजापाठको कुनै गुञ्जायस छैन । केवल यस दर्शनमा शारीरिक तथा मानसिक शक्तिको उचित प्रयोग गर्ने प्रेरणा पाइन्छ । सबै किसिमका धर्म तथा सम्प्रदायले यसको अभ्यास गरेका हुनाले योगलाई सार्वभौम अभ्यास पनि भन्ने गरिन्छ । लगभग सबै खालका धर्म तथा दर्शनहरूमा योगाभ्यासको महत्व दिइएको हुनाले योगदर्शनको महत्व धेरै छ । योग दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक, मानसिक, संवेगात्मक तथा शारीरिक उपलब्धि पाउन सकिन्छ भन्ने कुरा दर्शाइएको छ ।

योग दर्शनले मुक्ति प्राप्तिका लागि आठवटा मार्गहरू (अष्टाङ्ग योगमार्ग) उल्लेख गरेको छ । ती हुन्

– यम : हिंसा, चोरी, लोभ आदि नगर्नु अर्थात् अहिंसा, सत्य, अस्तेय, ब्रह्मचार्य र अपरिग्रहका नियम पालना गर्नु ।

– नियम : पाँच नियमहरूको पालना गर्नु जस्तै– शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रति विश्वास गर्नु ।

̵ आसन : मन एकाग्र गरी सुखासनमा बसी आनन्दको अनुभूति गर्नु ।

̵ प्राणायाम : श्वासप्रश्वासलाई उचित परिचालन गरी यसलाई नियन्त्रण गरी मनलाई एकाग्र राख्नु ।

̵ प्रत्याहार : इन्द्रियहरूको कुप्रभाव मनमा पर्न नदिनु ।

– धारण : अन्तरनिहित वस्तुको पहिचानमा मन लगाउनु ।

̵ ध्यान : निश्चित विषयमा एकाग्रतापूर्वक सोचविचार गर्नु ।

̵ समाधि : सम्पूर्ण चेतनालाई खिचेर आत्मामा लिन गराउनु । उल्लेखित यस्ता उपायहरूद्वारा मुक्ति मिल्छ भन्नु योगदर्शनको मुख्य मर्म हो ।

योगबाट हुने लाभहरू

योग अभ्यास गर्दा बिहान अमृत समय (४–५ बजेभित्रै) मा उठी हल्का मनतातो २-३ गिलास पानी पिएर, दिसा पिसाबबाट निवृत्त भएपछि, खाली पेटमा, हल्का वस्त्र धारण गरेर, राम्रो योगम्याटमा र खुला ठाउँमा बसेर मात्र गर्नुपर्छ । योग अभ्यास गर्दा जानेको व्यक्तिबाट सिकेर वा समूहमा रहेर आफ्नो शरीरको अवस्थालाई हेरेर सकेको मात्रामा गर्नुपर्छ । यसरी नियमित रूपमा योग अभ्यास गर्नाले शरीरमा लचकता, चपलता, सन्तुलन, तनाव नियन्त्रण लगायत स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ । साथै आफ्ना परिवारका साथमा योग अभ्यास गर्दा थप सन्तुष्टि मिल्नसक्ने हुँदा सकभर परिवारका सदस्यहरू सहित योग गर्न सकिन्छ भन्ने मान्यता छ ।

योगबाट हुने फाइदा

̵ शरीर एक मन्दिर हो, यसलाई शुद्ध र सफा राख्न पवित्र आत्मा हुनुपर्छ, जुन योगबाट मात्र प्राप्त गर्न सकिन्छ ।

̵ टाउको र शरीर उठाइ शारीरिक अभ्यास गर्नु मात्र योग होइन, मनलाई समेत आनन्दित राख्न सक्नु नै योग हो ।

– शरीरको अँध्यारो कुनामा रहेका अपवित्र सोंच र वस्तुलाई चेतनारूपी उज्यालो छर्कन सक्नु नै योगको विशेषता हो ।

̵ योग अभ्याससँगै गरिने प्राणायाम विना योगको उद्देश्य पूरा हुनै सक्दैन । जुन प्राणायामले हाम्रो सम्पूर्ण शरीर र आत्मालाई सक्रिय तुल्याउँछ ।

̵ चिन्ता र तनाव हटाउने सबैभन्दा उपयुक्त र चातुर्य बाटो नै योग हो ।

̵ योगले जति बढी फाइदा आत्मालाई पुर्‍याउँछ, त्यति फाइदा शरीरलाई दिनै सक्दैन । त्यसकारण आत्माको महत्वपूर्ण खुराक योग हो ।

विश्व योग दिवस र मानसाग्निको सन्दर्भ

विश्व योग दिवसमा महर्षि पतञ्जलि, संयुक्त राष्ट्रसंघ, भारतका प्रधानमन्त्री मोदी लगायतलाई विशेष सम्झिने गरिन्छ । तर नेपालमा योगको इतिहासको चर्चा गर्दा उपर्युक्त व्यक्ति वा संस्थाको भूमिकासँगै मानसाग्निको भूमिका समेत सम्झनुपर्छ । नेपालमा योगको इतिहासको बारेमा आम पाठकहरू अनभिज्ञ समेत हुनसक्ने भएकाले योग दिवसको इतिहास सुरु गर्नुअघि मानसाग्निको बारेमा चर्चा गर्नु उत्तम र मानसाग्निका लागि सम्मान समेत हुने ठानिएको छ ।

मानसाग्नि नेपालमा योग र प्राकृतिक चिकित्साका अभियन्ता र नेपालकै पहिलो प्राकृतिक चिकित्सक पनि हुन् र उनले यस अभियानमै आफ्नो जीवन व्यतीत गर्ने अठोट गरेका छन् । मानसाग्निले गरेको अनुसन्धान, साधना र इतिहासले समेत यो कुराको पुष्टि गर्छ । मानसाग्निका अनुसार शैव दार्शनिक विचार र साधनाबाट योगले विज्ञानको रूप लिएको र यस्तो दर्शनका प्रतिपादक महादेव अर्थात् शिवलाई मानिन्छ । नेपालमा भएका शिव सभ्यता, बुद्ध सभ्यता र जनक सभ्यताबाट विभिन्न दर्शनहरू आएका हुन् भन्ने कुरामा प्रमाण सहित मानसाग्नि बहस गर्छन् । यिनै दर्शनमा टेकेर आफूलाई साधक बनाई निरन्तर यसै क्षेत्रमा लागि नेपालमा प्राकृतिक चिकित्सासँग जोडेर अघि बढाउने योग, आयुर्वेद र प्राकृतिक चिकित्साका विशेषज्ञ व्यक्तित्व र प्रकृतिप्रेमी महान् दार्शनिक विद्वान मानसाग्नि हुन् । साधनाको नामबाट मानसाग्नि नामाकरण गरेका नेपालका प्राकृतिक चिकित्साका जनक तथा योग र आयुर्वेदका प्रणेता डा. हरिप्रसाद पोखरेल नै मानसाग्नि हुन् ।

पाल्पाको मदनपोखरामा वि. सं. २०२० सालमा जन्मेका मानसाग्नि सोह्र वर्षको उमेरमै हरिप्रसाद पोखरेलबाट मानसाग्नि बनेका हुन् । मानसाग्निले वि. सं. २०३६ साल माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन नेपालमा योग सम्वत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी उद्घोष गर्दै नेपालमा योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गरेका हुन् । योगमा शारीरिक शुद्धता भन्दा मानसिक शुद्धता धेरै गुणा उत्तम मानिने हुँदा यस्तो बहुउपयोगितापूर्ण योगलाई प्राकृतिक चिकित्सासँग जोडेर मानसाग्निले नेपालमा अतुलनीय योगदान दिइरहेका छन् ।

२०३६ सालदेखि हालसम्मको निरन्तर उनको यात्राले चार दशक पूरा हुँदा नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको छ, प्रत्येक वर्ष असार २० गते राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस समेत मनाउन सुरु गरिएको छ ।

योग दिवस मनाउनुको तात्पर्य

हामीले योग दिवस किन मनाउने भन्ने सन्दर्भमा कुरा गर्दा योग नै अहिलेको अवस्थामा सम्पूर्ण शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, आत्मिक र आध्यात्मिक स्वास्थ्यको परिपूरक उपचार पद्धति पनि हो । विभिन्न मानसिक रोग, जीवनशैलीमा आएको विचलनस्वरुप देखापर्ने रोगहरू र कतिपय नसर्ने रोगहरूको उपचार, रोकथाम र नियन्त्रणको एउटै उपाय योग चिकित्सा नै हो । योग अहिले आएर चिकित्सा विज्ञानको महत्वपूर्ण हाँगा बन्न पुगेको छ । अहिलेको अस्तव्यस्तताको दुनियाँमा योग नगर्ने व्यक्तिको जीवनआयु समेत छोटिने सुनिश्चित छ । अर्को कुरा बदलिंदो वातावरणमा समायोजन हुनका लागि समेत योगले महत्वपूर्ण काम गर्छ । त्यसकारण यति महत्वपूर्ण योगका बारेमा चर्चा गर्नु र अन्तर्राष्ट्रिय जगतले समेत महत्व दिनुको पछाडि यसको उपलब्धि अत्यधिक हुनु नै हो ।

यस्ता यावत् कुराहरू जनमानसमा पुर्‍याउन योग दिवसले समेत सहयोग पुर्‍याउने आँकलन गर्न सकिन्छ ।

योग दिवसले दिने सन्देश

̵ योग शारीरिक अभ्यास, ध्यान र मानसिक शीतलताका लागि आवश्यक छ जसले व्यक्तिको स्वास्थ्यका विभिन्न पक्षहरूमा सुधार गर्छ र व्यक्ति स्वस्थ हुन्छ ।

̵ योगले आत्मिक पक्षमा सुधार गरी असीमित ऊर्जा प्रदान गर्छ र व्यक्तिलाई शान्ति प्राप्त गर्न मद्दत पुग्छ ।

̵ योग दिवसले योगको महत्व, प्रभावकारिता र यसका फाइदाहरूका बारेमा जनचेतना फैलाउन मद्दत गर्छ ।

̵ योग दिवस मनाउने क्रममा विभिन्न योग शिविर, प्रवचन, बैठक, छलफल, विभिन्न कार्यक्रम, कार्यशाला, अनुसन्धान, प्रतियोगिता आदि आयोजना गरिन्छ, जसले पनि योगको महत्व र सान्दर्भिकता प्रष्ट पार्न सहयोग पुर्‍याउँछ । योगप्रति आकर्षण बढाउन मद्दत गर्छ ।

(जीवनशैली व्यवस्थापनमा विद्यावारिधि गरेका डा. पाण्डे प्राध्यापक तथा सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन् । उनी पतञ्जलि योग समिति नवलपुरका अध्यक्ष समेत हुन् ।)

अन्तर्राष्ट्रिय योग दिवस योग स्वास्थ्य
डा. नरनाथ पाण्डे
लेखक
डा. नरनाथ पाण्डे
जनस्वास्थ्यविद्

डा. पाण्डे नवलपुरको कावासोतीस्थित मध्यबिन्दु बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । सेवानिवृत्त जनस्वास्थ्य निरीक्षकसमेत रहेका उनले जीवनशैली व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?

हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?

सलाइन पानी कस्तो अवस्थामा दिइन्छ ?

सलाइन पानी कस्तो अवस्थामा दिइन्छ ?

राति निद्रा नपरेर अफिसको काम प्रभावित भएको छ ? यस्ता छन् ५ उपाय

राति निद्रा नपरेर अफिसको काम प्रभावित भएको छ ? यस्ता छन् ५ उपाय

खानालाई ऊर्जामा बदल्ने मेटाबोलिजम के हो ?

खानालाई ऊर्जामा बदल्ने मेटाबोलिजम के हो ?

बच्चाले छिटो छिटो सास फेर्नु कस्तो समस्या हो ?

बच्चाले छिटो छिटो सास फेर्नु कस्तो समस्या हो ?

प्रत्यारोपण गर्दा किन निकालिंदैन बिग्रिएको मिर्गौला ? (भिडियो)

प्रत्यारोपण गर्दा किन निकालिंदैन बिग्रिएको मिर्गौला ? (भिडियो)