 
																			मानिसहरू काया हेरेर उनको उमेर जति हो त्योभन्दा दश वर्ष कमै आकलन गर्थे। किनभने ढकराज आफूलाई फिट राख्नमा कुनै सम्झौता गर्दैनथे। दिनहुँ ‘क्लिन सेभ’ गर्थे। फुलेका दाह्रीलाई ढिम्किनै दिंदैनथे। कपालमा कहिले रातो, कहिले कालो रंग लगाइरहन्थे। मेहेन्दी बाक्लै लगाइरहन्थे।
तरह–तरहका कसरतहरू गरेर भुँडी उछिट्टिनै दिंदैनथे। घरैमा ब्युटिसियन बोलाएर फेसियल लगायतका ब्यूटीपार्लरीय उपक्रमहरू पनि गरिरहन्थे। खै किन हो कुन्नि ? ढकराजलाई आफ्नो नामप्रति भने बेपत्तै घृणा थियो। त्यसैले कोही नौलो मान्छेसँग चिनापर्ची गर्नुपर्दा म सौरभ भनेर परिचय दिन्थे। ढकराज भन्दैनथे। उनलाई जिस्क्याउनु वा चिढ्याउनु पर्यो भने उनको वास्तविक नाम सम्बोधन गरिदिए पुग्थ्यो।
सौरभलाई पुरुष मित्रहरूसँग हात नमिलाए पनि हुन्थ्यो तर महिला मित्रहरूसँग हात नमिलाई हुँदैनथ्यो। पुरुष मित्रहरूसँग उनी रोजी–रोजी र महिला मित्रहरूसँग खोजी–खोजी हात मिलाउँथे। महिलाले हात दिनै पर्दैनथ्यो ‘मान न मान में तेरा मेहमान’ शैलीमा आफैं हात पसार्थे।
फेरि उनको हात मिलाउने स्टाइल पनि महिला र पुरुष मित्रसँग फरक–फरक थियो। पुरुषसँग हात मिलाउँदा यसरी मिलाउँथे मानौं पुरुषका हात आगोका गोला हुन्। अर्कोतिर महिलासँग हात मिलाउँदा यसरी मिलाउँथे मानौं महिलाका हात सिमलका भुवा हुन्। महिलाले हात नझट्कारुन्जेल उनको हात हट्दैनथ्यो। तर जति झट्कारे जति फट्कारे पनि उनलाई यसबाट कुनै अपमानबोध वा लज्जाबोध भने हुँदैनथ्यो।
यिनको शरीरमा शायद यस्तो कुराको प्रतिरोध गर्ने एन्टिबडी नै बनिसकेको हुँदो हो। त्यसैले फेरि अर्को दिन उही दैनिकी हुन्थ्यो। उनलाई चिन्ने प्रायः महिला मित्रहरूमा उनलाई देख्नासाथ तर्किने होडबाजी शुरू हुन्थ्यो। उनको यो चरित्रको कारणले कतिपटक हप्कीदप्की पनि खान्थे। तर ती सब पचाउँथे।
एक पटकको कुरा हो उनी र म हाम्रो दलको कामले कलंकीबाट कपन जानु थियो। उनलाई रुघाखोकी लागेको रै’छ। मोटरबाइक नचढी बसबाटै जाने भइयो। अगाडि सादा यातायात, साइडमा ‘राता मकै’लेखिएको एउटा पब्लिक बस कलंकी चोकमा रोकिराखेको थियो। त्यो बसमा पाँच सात जना भन्दा यात्रुजन थिएनन्। अगाडिको सीटमा दुईजना युवक–युवती गफ गरेर बसिरहेका थिए। युवक छेउपट्टि थिए भने युवती झ्यालपट्टि। हामी पनि बस भित्र छिर्यौं। प्रायः सबैतिर खाली थियो। सीटमा बस्यौं।
करीब पन्ध्र बीस मिनेट त्यो बसमा बसेपछि बल्ल बस गुड्यो। गुडेको करीब पौने घण्टापछि ठाउँ कुठाउँ रोक्दै जाउँ कि नजाउँ गर्दै बस सामाखुशी पुग्यो। त्यहाँ अघिका जोडीमध्ये युवक उत्रिए। उत्रिनासाथ सौरभ हत्तपत्त त्यही सीटमा गएर बसे। युवतीले असजिलो मानेको उनलाई कुनै मतलबै थिएन।
हामी सुकेधारा झरेर कपन गयौं। कपनको हिलिम पार्टी प्यालेसमा त्यो दिन दिनभरि कार्यक्रम भयो। बेलुकी घर फर्कन भ्याइएन। उतै बसियो।
भोलिपल्ट उनी र म बालुवाटार जानुपर्ने थियो। कपनबाट हिंड्दै सुकेधारामा आएर ‘नेपाल यातायात’ कुर्न थाल्यौं। यो स्टेशनमा नेपाल यातायातको धेरै सीट खाली नै हुन्छ किनभने यसको उद्गमस्थल त्यहीं नजिक गोपीकृष्ण हलको छेउमा छ।
सीट खाली देख्नासाथ हत्तपत्त म बसमा चढ्न खोजें तर उनले मेरो सर्ट पछाडि च्याप्पै समातेर ताने। अनि बसका सहयोगीलाई- जानू जानू हामी अर्कैमा आउँछौं भनेर पठाइदिए।
बसमा सीट खाली छ, अर्कोमा जाने भन्छन्। हुनत खासै हतारो पनि नभएकोले गइहाल्न जिद्दी गरिनँ। अर्को बस पनि उस्तै खाली आयो। त्यसलाई पनि रोक्यो, यसो चियायो अनि यसमा पनि नजाने भन्यो। यही क्रम उनले निकैबेर चलाएपछि मैले सोधें-
‘हैन के भयो सौरभजी केही समस्या छ र ?’
‘हैन खास समस्या केही होइन। हतार छैन नि त! यति चाँडो गएर के गर्नु! त्यहाँ पनि कुर्नुपर्ने त हो नि! त्यहाँ कुर्नु भन्दा यहीं कुर्न ठीक हो नि! त्यसैले’, उनले भने।
एकछिन पछि फेरि अर्को गाडी आयो त्यसमा चियाइसकेपछि बल्ल उनी चढे। उनको पछिपछि म पनि चढें। यो बसका सीट पनि धेरै जसो खाली थिए। दुईतीन जना मात्रै यात्रु थिए। तीमध्ये एकजना केटी मान्छे पनि रहिछन्। सौरभ सरासर तीनै केटी मान्छेको छेउमा गएर बसे।
ती युवतीले पनि आँखा फुकालेर हेर्दै ‘त्यत्रा सीट खाली भै–भै मेरै छेउमा टाँसिन किन आएको होला’ झैं गरिन्। तर केही बोलिनन्। ‘सभ्य मान्छेलाई इशारै काफी हुन्छ असभ्यलाई नारै लाए पनि सुन्दैन।’
वास्तवमा सौरभ यो मामिलामा असभ्य नै भइसकेका थिए। त्यसैले त उनी ढस्स परेर बसेको बस्यै भए। बस टिचिंग हस्पिटल पुग्दा सीट करीब–करीब भरिइसकेको थियो। उनको छेउमा बसेकी केटी मान्छे झरिन्। उनी झ्यालतिर सरे। उनको छेउमा एकजना लोग्नेमान्छे आएर बसे। बसमा भीड बढ्दो थियो। सौरभ यसो दायाँ–बायाँ हेर्न थाले। बसको अगाडिको प्यासेजमा महिलाहरूको बाक्लै भीड देखे। एकछिनपछि उनी आफ्नो सीट एकजना अधबैंसेलाई ‘दान’ दिएर बसमा उभिएका महिलासँगै टाँसिएर उभिए।
गन्तव्य आएपछि हामी दुवै झर्यौं। त्यहाँ हाम्रो काम सकिएपछि फेरि पार्टी अफिस गयौं। पार्टी अफिसमा उनले आफ्नो मोटरसाइकल राखेका थिए।
उनी प्राय: मोटरबाइक चढेरै आवतजावत गर्थे। उनको बाइकमा केटा मान्छेलाई लिफ्ट दिनु पर्यो भने यहाँ काम छ, उहाँ काम छ, यस्तो उस्तो भन्दै अनेकथरी बहानाबाजी गर्थे। कहिलेकाहीं त सीधै ‘केटाहरूलाई लिफ्ट दिइँदैन’ नै भन्थे। यसको शिकार कैयौं पल्ट म पनि भएको थिएँ।
पुरानो बानेश्वरबाट चाबहिल जानु छ तर कोटेश्वर जाने महिलाले लिफ्ट मागिन् भने ‘म पनि त्यतै गएर चाबहिल फर्किने हो, आउनुस् छोडिदिन्छु’ भन्दै बाइकमा लिफ्ट दिन्थे। उनको यो बानीको लाभ कतिपय चलाख महिला सहकर्मीले मज्जैसँग उठाए।
त्यस्तै चलाख, रूपकी राम्री, बोल्नमा प्रखर एकजना कार्यकर्ता थिइन्। उनी भर्खर–भर्खर प्रेममा परेकी रहिछन्। विद्यार्थी जीवन भर्खरै सकेकी। राजनीतिमा लागेकी थिइन्। आम्दानीको दह्रो स्रोत केही थिएन। तर उनका ‘अराजनीतिक’ प्रेमीले डेटिंगमा बाक्लै बोलाउँथे। बिचरीलाई टेन्सन भयो।
सौरभको यो बानी उनका लागि वरदान साबित भो। दैनिक सौरभसँग लिफ्ट माग्दै डेटिंग प्वाइन्ट भन्दा अलिकति वरसम्म छोडिदिनु सौरभको ड्यूटी बनाइदिइन्। केही दिन दुवै जना मख्ख परे। करीब एक महिनापछि सौरभको यो ड्यूटी खत्तम भो। कारण ती नानीको प्रेम पनि खत्तम भो।
प्रेम खत्तम भए पनि पार्टीको जिम्मेवारी त खत्तम भएको थिएन। त्यसैले उनी, म, सौरभ लगायत पाँच जना साथीहरू पार्टीकै कामले धुलिखेल जानुपर्ने भो। धुलिखेल जाने गाडी चढियो। बाटोमा अरू थुप्रै प्यासेन्जर चढे। एउटी युवती पनि त्यो गाडीमा चढिन्। एकछिन पछि सौरभ हामीलाई छाडेर ती युवतीसँग मज्जासँग गफिन थाले। हामी पनि आफ्नै तालमा गफिन थालेछौं।
करीब डेढ घण्टा पछि धुलिखेल आइपुग्यो। हामी झर्यौं तर हामीसँग सौरभ थिएनन्। हामीले उनी त ती युवतीसँगै भक्तपुरमा झरेको थाहै पाएनौं। न उनले नै थाहा दिए। पार्टीको कार्यक्रम सकिएर बेलुकीपख उनी आइपुगेपछि मात्र थाहा दिए।
त्यसको आठ-दश दिनपछि हामी ६-७ जना साथीहरू सुन्दरीजल घुम्न जाने सल्लाह भयो। हाम्रो ग्रुपमा सौरभ पनि थिए। बिहान आठ बजेतिर सबै जना गौशालामा भेला भयौं। सुन्दरीजल जाने बस आइपुग्यो। बिहानै भएर होला बस खाली खाली नै रै’छ। हामी सब साथीहरूलाई उछिन्दै सौरभ बसमा चढिहाले।
यो स्टेशनमा धेरै बेर गाडी रोकेन। हामी चढ्नासाथ बस कुदिहाल्यो। उनको ताल त्यही त हो, महिला कता छन् भन्दै खोज्न थालेछन्। यत्तिकैमा बसले हुत्याउँदा उनी एक जना महिलाको काखमा ह्वात्तै बस्न पुगेछन्। अरू बेला झैं उनी ती महिलाको छेवैमा लगभग टाँसिएर बस्न खोजेका थिए होलान्। गाडीको हलचलले त्यस्तो भयो। अथवा रुन खोजेको आँखो घोचेको पो थियो कि!
ती महिला पनि निकै कडा स्वभावकी परिछन्। कडैसँग थर्काइन्। भित्र होहल्ला कोकोहोलो भए पनि बस गुडिरहेकै छ। सौरभले कुनै प्रतिवाद गरेका छैनन् केवल माफी मात्र मागिरहेका छन्। मैले लख काटिहालें यसमा गल्ती सौरभकै छ। उनले अन्जानवश गल्ती भयो भन्दै निकैबेर माफी मागेपछि बल्ल कुरो मिल्यो।
बसमा सारा सीट खाली भए पनि उनी महिला बसेकै सीटमा ढेपिएर बस्नुपर्ने बानीले उनीसँग हिंड्न पनि डरमर्दो भइसकेको थियो।
उनीसँग हिंड्न डर लागी–लागी पार्टी कामकै सिलसिलामा उनी र म इटहरी जानुपर्ने भयो। इटहरीको काम सकाएर बिर्तामोडमा पनि कार्यक्रम थियो। हामी इटहरी गएर काम सकायौं। अब बिर्तामोड जान गाडी चढ्यौं। बसका सीटहरू करीब करीब प्याक भइसकेको रहेछ। पाङ्ग्रा माथिको दुइटा सीट खाली रै’छ। दुई भाइ त्यहीं बस्यौं।
एकछिनपछि बस गुड्यो। बेलबारीबाट एकजना युवती चढिन्। हाम्रो सीटको छेवैमा उभिइन्। बस गुड्यो। सौरभ छट्पटिन थाले। एकछिन पछि उनले मुखै फोरे- ‘महिलालाई सीट छोदिदिउँ न यार।’ मैले भने- ‘तपाईं नै उठेर सीट खाली गरिदिनुस् न त यार।’
उनले भने– ‘म भित्तापट्टि छु तपाईं छेउमा हुनुहुन्छ छाडिदिनुस् न त।’
मैले उनको कुरा नमाने उनी रिसाउँथे। त्यसैले सीट खाली गरिदिएँ। म उठ्नासाथ सौरभ हल्का वर सरे। ती युवती सीटमा बसिन्। सौरभ उनीसँगै ढेपिए। दमकमा ती युवती झरिन्। सीट खाली भो। सौरभलाई व्यङ्ग्यपूर्वक सोधें- ‘म बसौं ? खाली भो, अब त!’
दमकबाट गाडी अगाडि बढ्यो। दुइटा सीटमा उनी र म मात्रै छौं। एकछिनपछि पाडाजुँगी भन्ने ठाउँबाट अर्की युवती हाम्रो बसमा चढिन्। उनले फेरि एकछिन अघिको प्रवृत्ति दोहोर्याए। मैले थपक्क आफ्नो सीट उनलाई छाडें। नछाडे एकछिनमा उनले छाड्न बाध्य पारिनै हाल्थे। एकछिनपछि उनी पनि झरिन्। फेरि म बसें।
करिब आधा घण्टापछि झिलझिलेमा गाडी रोकियो। एकजना ज्येष्ठ नागरिक चढे। मैले थपक्क आफ्नो सीट ज्येष्ठ नागरिकलाई छाडें। यतिखेर भने सौरभको मुर्मुरिएको अनुहार हेर्नलायक थियो।
आफूसँगैको खाली सीट रोकेर उभिइरहेकी युवतीलाई बोलाई-बोलाई बसाउने तर अरू बस्न आए यो सीट खाली छैन ‘रिजर्भ हो’ भन्दै बस्नै नदिने हर्कत त कति गरे कति ! हाम्रो बस बिर्तामोड पुगेपछि हामी झर्यौं।
बिर्तामोडमा एकजना सेल्स गर्ल बाटोमा ग्यास स्टोभ बाल्ने लाइटर लगायत सामान बेच्दै रहिछिन्। सौरभले देखे। नजिकै गएर गफिन थाले। निकैबेर गफिएपछि मात्रै लाइटरको मोल सोधे। उनले भनिन्- ‘तीनसय पचास।’
अस्ति भर्खर उनले काठमाडौंमा हुबहु त्यस्तै लाइटर एकसय बीसमा किनेका थिए। आज त्यसलाई फेरि तीनसय पचास हालेर किने। र दुवै मख्ख परे। किनमेल गर्दा सामान बेच्ने मान्छे केटी भए उनी जति भन्यो त्यति यसरी तिर्छन् मानौं साक्षात् उर्वसी उनलाई स्वर्गको अफर गरिरहेकी छिन्। तर अरू भए यसरी बार्गेनिङ गर्छन् कि मानौं साक्षात् यमराज उनलाई लिन आएका छन्।
पछिसम्म पनि उनका यी बानी उस्ताको उस्तै थिए। सुध्रिएका थिएनन्। आफ्नो राजनीतिक करियर नै चौपट पार्न सक्ने उनको यस्तो अराजनीतिक र असामाजिक बानीव्यहोराको अन्त्य नजाने कहिले र कसरी होला भनेर मलाई अत्यास लागेर आउँथ्यो।
यो देशमा ‘सत्ता राजनीति’ गर्नेहरूको भविष्य उज्ज्वल नै हुने गर्दछ। यस हिसाबले उनको भविष्य पनि उज्ज्वल नै थियो।
तैपनि आफ्नो सुन्दर राजनीतिक करियर छोडेर उनी विदेश भासिए। यसरी मेरो चिन्ता दूर भो। तर उनको त्यो प्रवृत्ति भने यतै छोडेर गएछन्। सँगै लिएर गएनछन्। शायद ढकराजको मात्रै भिसा लाग्यो ‘ढकराज प्रवृत्ति’को भिसा लागेन। त्यसैले त यहाँ अझै पनि ‘ढकराज प्रवृत्ति’ तपाईं हामी यत्रतत्र भेटिरहन्छौं। देखिरहन्छौं। भोगिरहन्छौं।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4