‘म यो देशलाई स्विट्जरल्यान्ड बनाउँछु ।’
जब-जब विकासको कुरा आउँछ, हाम्रा नेताहरु यसै भन्छन् । त्यसो हो भने ठोकुवा गरेरै भन्न सकिन्छ, उनीहरुले लोदेनको भूमि टेकेकै छैनन् ।
लोदेन, ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अवस्थित एक मनोहर गन्तव्य । यो लेकाली भूगोल झरना र जलकुण्डहरु यति सुशोभित छ, जहाँ पुगेपछि तपाईंको आँखा अघाउँदैन । लेकाली वनफूलले ढकमक्क भूगोल, पहाडको खोंचबाट झरिरहेको भुवादार झरना, तीव्र वेगमा बगिरहेको कञ्चन खोला, आकाशको प्रतिविम्ब आफूमा समेटेर मस्त सुस्ताइरहेको जलकुण्ड । अनि बेतोडले दौडिरहेका नाउर, आफ्नै सुरमा चरिरहेका चौंरी र भेडाका बथानहरु । ठाउँ-ठाउँमा गोठ, बस्ती ।
यस्तो लाग्छ, कुनै चित्रकारले मिहिनेतसाथ बनाएको मनमोहक ल्याण्डस्केप हो यो ।
मध्य वर्षाको बेला हामी लोदेनको सौन्दर्यमा रमाइरहेका थियौं । समुद्री सतहभन्दा ४ हजार मिटरको यो अग्लाइमा पुगेपछि बेग्लै ताजापन महसुस हुने । प्राकृतिक छटाहरुले आगन्तुकलाई यसरी मोहनी लगाउँछ कि, यो ठाउँ छाडेर जान मन नै लाग्दैन । साँच्चै भन्ने हो भने, मनको उदासी, दुःख, पीडाहरु सबै पखालिने ।
ताप्लेजुङको पश्चिम-उत्तर दिशामा रहेको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेन क्षेत्र एक हिमाली क्षेत्रको घाँसे मैदान क्षेत्र हो । स्थानीयहरु भन्दै थिए, यहाँ सयौं पोखरी छन् । यस आसपासमा कति पोखरी छन् ? ठ्याक्क कसैले गन्ती गरेका छैनन् । कुइने पोखरी, लाम पोखरी, सोना पोखरी, हाँस पोखरी, सोदु पोखरी, भूतपोखरीहरु भर्खरै चर्चामा आउन थालेका पोखरी हुन् ।
लोदेनलाई छाडेर अगाडि बढेपछि भेटिन्छ, तोक्पेगोला । त्यहाँ आगन्तुकलाई सोदु पोखरी र भूत पोखरीले स्वागत गर्छ । मिक्वाखोला गाउँपालिकाको मूल जलाधार मिक्वा खोलाको उद्गमसमेत रहेछ यो । सोदु पोखरीमा टपरीमा दियो बालेर एक छेउबाट अर्को छेउसम्म बगायो भने मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ । भूत पोखरीसँग चाहिं स्थानीयहरु डराउने रहेछन् । उहिले लामाहरुलाई पोखरीमा तानेर डुबाएको कथनले गर्दा पनि उनीहरु पोखरी आसपास जान डराउने रहेछ ।
हुन पनि यो ठाउँ जति सुन्दर छ उत्तिनै विकट पनि । त्यहाँसम्म पुग्न कुनै तेलको विज्ञापनमा भनिए झै, मुटु चाहिन्छ मुटु ।भिरालो र साँघुरो बाटो । एकदमै होशियारपूर्वक पाइला चाल्नुपर्ने । हामी लगभग १५ जनाको टोली जोशमा होश नगुमाई लोदेन पुगेका थियौं । भ्लगर सागर लामिछाने, राजीव श्रेष्ठ, इँगिहिपो कोइँच सुनुवार, तोप्ला शेर्पा, दावा छेतेन शेर्पा, राजन क्षेत्री, मकवान सिं लिवाङ, किरण लिवाङ, दावा शेर्पा, राम कार्की, राजीव मावोहाङ र विरेन पाङ्वोहाङसहित नुपु शेर्पा र ओङचुक शेर्पा लगायतका साथीहरु टोलीमा सामेल थिए ।
यात्राको थालनी भने तीन जनाले गरेका थियौं, काठमाडौंबाट । अरु साथी ताप्लेजुङबाट हाम्रो यात्रामा मिसिएका थिए ।
पहिलो दिन काठमाडौंबाट भिमानको बाटो हुँदै धरान निक्लिएर हामी भेडेटारमा बास बस्न पुगेका थियौं । बिहान ९ बजे खाना खाएर तमोर कोरिडोर हुादै पाँचथरको जोरसाल पुग्यौं र ताप्लेजुङको सदारमुकाम फुङ्लिङमा बास बसियो । यहाँसम्म हामीले मोटरसाइकलमा यात्रा गरेका थियौं । अब भने कहिले गाडीमा त कहिले पैदल हिँड्दै हामी फुङफुङे झरना पुग्यौं । त्यहाँ धीत मरुञ्जेल फोटो खिचेर उक्लिएपछि सिम्बुक भेटियो । त्यहाँको होमस्टेमा हामीले न्यानो आतिथ्य ग्रहण गर्यौं। त्यसको दोस्रो दिन बिहानै खाना खाएर हामी लोदेनका लागि हिंड्यौं ।
लोदेनको रोमाञ्चक यात्रासँगै हामी मोडियौं, छ्योथाङगामागा । त्यसरात हाम्रो वासस्थान यही थियो । छ्योथाङ्गादेखि पाँचमङ्ले, पाँचमङ्गलेदेखि तोक्पेगोला पुग्यौं । हामीले यात्रा थालेको पाँचौ दिन भइसकेको थियो र तोक्पोगोलामामा एक दिन विश्राम गर्ने निधो गरियो । त्यहाँ महोत्सव हुँदै थियो । यो लेकाली महोत्सवको रमझममा दिनभर रमाएपछि अर्को दिन हामीले तोक्पेगोला छाडेर फुङेलिङ हुँदै आफ्नो यात्रालाई बिट मार्यौं।
विकास पूर्वाधार र पर्यटकिय प्रचार प्रसार नहुँदा यति सुन्दर ठाउँहरु अझेलमा छन् । ती ठाउँहरुले आगन्तुकलाई हरदम आमन्त्रण त गरिरहेका छन् तर आवश्यक गाँस बासको लागि ढुक्क हुन सकिदैन । ठाउँ ठाउँको गोठमा बस्ने, उपलब्ध खानेकुरा पकाएर खाने गर्दै त्यस क्षेत्र चाहर्न सकिन्छ ।
भौगोलिक बनौट र प्राकृतिक छटाहरुले मनोरम यी गन्तव्यहरु पुगेपछि लाग्यो, ‘हामीले हाम्रो देश अझै देखेका रहेनछौं ।’
प्रतिक्रिया 4