बिहान झिसमिसेमै पँधेरा गई नुहाएर
रंगीचंगी नयाँ लुगा लगाएर
बजारमा लागेको जात्रा हेर्न
दिदीबहिनीको एक हुलसँगै दौडिन्थेँ म ।
पल्लाघरे ममता र अर्चनाहरु
तीजका गीत गाउँथे
पूजा, निशा र सुशिलाहरु छमछमी नाँच्थे
जाने नि नजाने नि तान्न आउथे
मेरा हात
हल्लाउथेँ म पनि जिउ
हाँस्थे सिउँदोको सिन्दुर र टीका,
बज्थे चुरा र पाउजू,
लर्कन्थे फूलबुट्टे सारी ।
आज वर्षौं भयो,
त्यस्तो तीज फेरि आएन
बरु तीजको मुखैमा समाचार बनेर आए
निर्मला र भगिरथहरुको बलात्कारको घटना
हिंसामा परि मारिइन् ममता र नवोदिता
दाइजोको नाममा जले खुश्बु र परी
बोक्सीका नाममा दिसा खान बाध्य भइन् मरनीदेवी
सृष्टिहरुका अनुहारमा खन्याइए तेजाब ।
आफ्नै दिदीबहिनी र आमाहरुमाथि अन्याय हुँदा
बलात्कार हुँदा र मारिँदा
कसरी,
आउँछ मलाई तीज ?
कसरी ल्याउनु तीजको रौनक ?
एउटाको आँखामा आँसु देख्दादेख्दै
कसरी आउँछ हाँसो ?
कसरी सजिनु, चुरा र पोतेमा ?
पल्लाघरकी काकी माथि वर्षौं भयो रातो निषेध भएको
कसरी लगाउनु रातो साडी ?
आजकल,
तीज, तीज मात्रै बनेर आउन्न
लेराउँछ विधवाका आँसु
खोस्छ माइती नभएकाका हाँसो
चेली विनाको घरमा पनि कहाँ आउँछर तीज ?
तीज त आजकल,
घाइते भएको छ
बलात्कृत भएको छ
दाइजोको नाममा जलेको छ
बोक्सीकोे नाम कुटिएको छ,
पिटिएको छ
यस्तो अवस्थामा तीज,
कहाँ आउँछ र ?
– नुवाकोट-१, विदुर ।
प्रतिक्रिया 4