मेलो पस्नुभन्दा पहिले
ब्रेडबेरीको एक भनाइले मलाई निकै पोलिरहेको छ। उनले भनेका छन् कि किताब नपढ्नु भनेको किताब जलाउनु जस्तै अपराध हो। उनलाई आधार मान्ने हो भने मैले निकै अपराध गरेको छु किनकि साथीहरूले उपहार दिएका कैयौं किताब मेरो पुस्तकालयमा सुरक्षित छन् र मैले पढ्न भ्याएको छैन। आफैंले किनेर ल्याएका कतिपय किताबहरू पुस्तकालयमा नै धुलिधुसर भएर बसिरहेका छन् र मदौरु अनुहारले सत्तोसराप गरिरहेका छन् कि जस्तो लाग्छ।
प्रेमले सुम्सुम्याएर पढ्ने समयको प्रतीक्षा गराइरहेको हुन्छु। जर्ज लुइसलाई सम्झन्छु उनले भनेका थिए कि म सधैं कल्पना गर्छु स्वर्ग भनेको एक प्रकारको पुस्तकालय नै हो। लुइसले सायद मलाई नै सान्त्वना दिए कि पढ्न नभ्याए पनि पुस्तकहरूको सुवासमा बाँचेको छस्, तिनीहरूको सुगन्धमा नै रमाएको छस् र तिनले दिने सन्तुष्टिको वरपर रहेर भुलिरहेको छस् भन्दै मलाई नै ढाडस दिएका छन् जस्तो पनि लाग्छ।
राजकुमार राईजीसँग मेरो स्पष्ट परिचय थिएन। सञ्जालमा अक्षरहरूकै नाताले मित्रतामा उनिएका हौं सायद। उनको किवाहाङ आउनुभन्दा केही अघिबाट शुभेच्छुकहरूले बधाईको ओइरो लगाएका थिए। मैले पनि शुभेच्छाका शब्दपुष्पहरू टक्र्याएँ। उनले राजधानीमा छानिएका लेखक, पत्रकार र समीक्षकहरूलाई बोलाएर पुस्तक सार्वजनिक गर्ने भए।
अक्षरहरूको प्रेम र सुगन्धले तानिएर कहिले कहिले अथवा भनौं संयोगले पुग्छु राजधानीका कार्यक्रमहरूमा। कतै अति प्रशंसा सुन्छु, कतै देवतालाई गरे जस्तो भजन आरती सुन्छु अनि लाग्छ वानीरा गिरीले भने जस्तै राजधानीले चोरलाई चोखो र चोखोलाई चोर बनाउँदो रहेछ।
राजकुमार राई एक सग्लो अभियानको नाम हो। उनले नेपालका दुर्गम गाउँबस्तीहरूमा पुस्तकालय अभियान चलाएका छन् र ज्ञानको दीपशिखा जलाइरहेका छन्। अक्षरहरूको नाता र त्यही सुकर्मप्रतिको श्रद्धाले मैले उनको पुस्तकमाथि अभिलेखनको साहस गरें।
विमोचनका दिन राजधानी जान मन नलाग्ने मलाई त्यो सजाय राजकुमारजीले पनि दिए आफ्नो कार्यक्रममा निम्तो गरेर तर जान सकिनँ। शानदार कार्यक्रमका बीचमा किवाहाङलाई उनले घुम्टो खोलाए। संखुवासभाका राईलाई धादिङमा पनि पुस्तकालय खोल्न निम्तो गरेको छु। श्रद्धामाथि अपमान गरे जस्तो थकथकी लागिरह्यो। मनमनै भने किवाहाङको अलिकति अप्रेसन गरेर निम्ताको बदला तिरौंला भन्ने उतिबेला नै लागिरहेको थियो। यहाँ ब्रेडबेरीलाई फेरि सम्झन्छु कि मैले किवाहाङ घरमा ल्याएर राखें तर झण्डै दुई महिना घरमा राखेर अपराध गरिरहें। अब पल्टाएर केही धारणा बनाएको छु।
किवाहाङको पटाक्षेप
क. कथाको अस्थिपञ्जर
उपन्यास इतिहासको परिघटनालाई मौलिक कथ्य मिसमास गरेर बनाइएको छ। सम्भवतः यो कथाको भोक्ता र प्रत्यक्षदर्शी राजकुमार राईका पिता वा दाजु पुस्ता हुनुपर्छ। आफैंले घटनाहरू देखे जस्तै, भोगे जस्तै किसिमले उपन्यासको वस्तुविन्यास गरिएको छ।
किवाहाङ एक निडर, निर्भीक, इमानदार र दायित्वप्रति अविचल निष्ठा भएको उपन्यासको नायक पात्र हो। ऊ लाहुरे हुने सपनाले गल्लावालसँग भर्तीका लागि गएदेखि २८ वर्षे फौजी जीवनमा जे जति देख्नु र भोग्नु परेको थियो त्यसको सिंगो कहानी यसभित्र समेटिएको छ। तालिमको अवधिका पूर्ण फौजी शिक्षाको अभावमै लडाइँमा खटाउनु। खाने र बस्नेको उचित प्रबन्ध नगरिदिनु, युद्धका डरलाग्दा र जोखिमयुक्त क्षेत्रमा गोर्खाहरूलाई अग्र मोर्चामा सामेल गरिदिनु, बिमार हुँदा रेखदेख र उपचार नपाइने अनेक कहर गोर्खाहरूले उपनिवेशकालमा भोगेका छन्।
जङ्गलमा पाइलैपिच्छे एम्बुस र गोला बारुदको भयको त्रासदमा गोर्खाहरूले ब्रिटिशहरूका लागि लडे। स्थानीय स्वतन्त्रताका लागि लडेका मलेहरू, सिंगापुरेहरू, ब्रुनियनहरूको दमनमा उनीहरू परिचालित हुनुपरेको थियो।
राणाकालीन नेपाली समाजको अन्तर्राष्ट्रिय सम्बन्ध अङ्ग्रेजहरूको आशीर्वाद र उनीहरूको आवश्यकता पूरा गर्ने कार्यदिशाले निर्देशित थियो र देशको मूल ध्येय त्यतैतर्फ केन्द्रित पनि। किवाहाङको अघिल्लो पुस्ता राणा प्रधानमन्त्रीको निर्देशनमा जबरजस्त १५ देखि ३० उमेर समूहकाहरूलाई सेना प्रहरी लगाएर नै गोर्खा सेनामा भर्ना गरिएको प्रसङ्गको पटाक्षेप पनि किवाहाङका प्रमुखको माध्यमबाट प्रकट गरिएको छ।
आज अङ्ग्रेजहरू जति मानवाधिकारवादी देखिए पनि हिजो उनीहरू उठेको जग आततायी, क्रूर, हिंस्रक र अमानवीय आपराधिक प्रवृत्तिकै द्योतक थियो। उनीहरू आज जति आँसु बहाए पनि आजको मानवाधिकारको पालुवामा नयाँ दृष्टि निस्कन कठिन छ भन्ने कुरा त्यतिबेला गोर्खाहरूले भोगेका दुर्दान्त पीडाका कथाहरूले बकेका छन् भन्ने यथार्थलाई किवाहाङले पटाक्षेप गरिरहेको छ।
वर्णनको जस्ताको तस्तै उतार्दा शब्दचित्र यस्तो देखिन्छः
‘हवल्दार बाजेले बर्मादेखि ब्रुनाई, फ्रान्स, इटालीसम्मका अनेक युद्धका अनुभवहरू बटुलेका छन्। हजारौं लासहरूमाथि टेकेर हिंड्नु, बस्नुपरेको युद्धका कथाहरू सुन्दामात्र पनि जीउ नै सिरिङ्ग हुन्छ। उनले आफूसँगै हिंडेका साथीलाई गोलीले ढालेका दृश्यहरूका साथै पानी पानी, आमा आमा भन्दै चिच्याइरहेका घाइते साथीहरूलाई युद्धभूमिमै छोडेर हिंड्नुपरेका पीडाहरू पनि बोकेका छन्।
‘… … भोकमा जङ्गली बिरुवाका मुन्टा खाएर भोक मेटाएको, आफ्नै पिसाब पिएर तिर्खा मेट्नुपरेको तीतो अनुभव पनि साथै छन्। … … दोस्रो विश्वयुद्धमा चार लाख गोर्खालीमा आधा भोकका साथै गोली बारुद र बमले मरे, बेपत्ता भए। उनीहरू आधाजति जीवित फर्के, त्यसमा आधा त घाइते भएर फर्के।’
धनले किवाहाङलाई गोर्खाहरूको इतिहासको प्रारम्भ सुनाउँदै भन्छ कि दोस्रो विश्वयुद्धमा सोझा नेपालीहरूलाई राणा सरकारले उर्दी जारी गरेरै गाउँ–गाउँबाट भर्ती हुन आदेश दियो। नेपालका सेना र प्रहरी लगाएर भारतमा रहेको इष्ट इन्डिया कम्पनी अन्तर्गत गोर्खा सेनामा भर्ती गरायो। मंगोलियादेखि अफ्रिकासम्मका अनेक युद्धमा लड्न बाध्य बनायो।
बिमार परेकाहरूले औषधि उपचार नपाएर मर्न बाध्य भए। कति गोली लागेकाहरू पानी पानी भन्दाभन्दै छट्पटाएर जङ्गलमा प्राण त्याग गरे। उद्धार गर्न सक्दा पनि गरेनन्। अङ्गभङ्ग भएकाहरू पनि उतै भौंतारिए। तिनलाई विरोधीहरूसमक्ष आत्मसमर्पण गर्न बाध्य बनाइयो अथवा अनाम गाउँहरूमा शरण खोज्दै छिप्न बाध्य भए। ती मरे या बाँचे आजसम्म थाहा छैन।
युद्धका पनि केही आचारसंहिताहरू थिए। मानवीय पक्षहरू थिए ती कुनै पनि अङ्ग्रेजहरूले परिपालन गरेको देखिएन। गोर्खाहरू त उनीहरूकै पक्षबाट न लडेका थिए तर तिनको खानपान, ओखतीमूलो, बन्दोवस्तीमा रत्तिभर ध्यान दिएका थिएनन्। जङ्गलका कन्दमूल खाएर, झारपात चबाएर, भोकभोकै लड्नुको दर्दभरि संस्मरण किवाहाङलाई उनका प्रमुखले सुनाएका छन्।
विस्तारवादको विकासकै लागि प्रयोग गरिएका किवाहाङले भोगेको ब्रुनाइको युद्ध, मलेसियाको युद्ध पनि यस्तै प्रकृतिको अभावग्रस्त र असुरक्षित नै थियो तर अघिल्लो पुस्ताले भोगेको भन्दा केही सुधारयुक्त। युद्धको कहालीलाग्दो इतिहास र त्यसको माध्यमबाट वर्तमान पुस्तालाई दिने पाठको सानो अंश यसभित्र अभिलेखन गरिएको छ।
ख. सैद्धान्तिक आधार
विवेच्य उपन्यासको सैद्धान्तिक आधार इतिहासको अलिखित गर्भगृह हो। त्यसैले यस उपन्यासलाई इतिहासका परिघटनाहरूको कसौटीबाट मूल्याङ्कन गर्नु उत्तम हुन्छ। यसले बोकेको वैचारिकी प्रगतिशीलता देखिन्छ। किवाहाङको व्यक्तित्व जसरी विकास भएको र उभित्र आफ्नो देशको शासन व्यवस्था, ब्रुनाइ विद्रोहप्रतिको अन्तस्करणको समर्थन, सिंगापुरे जनताको माग र त्यहाँको आवश्यकतालाई जसरी उसले मनोगत विश्लेषण गरेको छ त्यहाँनेर प्रगतिशीलता त जन्मन्छ तर जीवनदृष्टिमा प्रगतिचेत प्रयोग हुनसकेको छैन।
उसभित्र विचारको अन्तरद्वन्द्व आँधी–तूफान जस्तै मडारिन्छ तर बाहिर प्रकट हुनसकेको छैन। आफ्ना साथीहरूलाई किवाहाङले इटाली, सिंगापुर, ब्रुनाई, मलेशियाको इतिहास, वस्तुतथ्य र घटनावली बारे पर्याप्त बोध गराएको छ। त्यसतर्फबाट दृष्टिगोचर गर्दा प्रगतिचेत पनि मूल नायकमा देखिन्छ।
पौरस्त्य दर्शनले नायक धीरोदात्त, धीरललित र धीरप्रशान्त मध्ये एक हुनुपर्ने बताएको छ। त्यस आधारबाट हेर्दा यहाँको मूल नायक किवाहाङ धीरोदात्त चरित्रको छ। उसको नाम किराँत भाषाबाट लिइएको हो र त्यसको अर्थ बाघहरूको राजा भन्ने लाग्दोरहेछ। प्रतीकात्मक अर्थ बोकेको किवाहाङको ध्वन्यात्मक अर्थ प्रकृतिसँग उसको चारित्रिक सामीप्यता अनुकूल देखिन्छ।
बाघको राजा नाम रहे पनि युद्ध मोर्चामा किवाहाङ बाघ नै हो। झुक्न र हार्न उसले जानेको छैन यद्यपि युद्धभन्दा बाहिर वैयक्तिक अनुशासन, चरित्र निर्माण र दान दयावीरताको अनुपम नमूना चरित्रको रूपमा उपस्थित गराइएको छ।
ग. भाषाशैली तथा कला पक्ष
लेख्य अभिव्यक्तिको माध्यम भाषाको लिखत नै हो र यसले अभिव्यक्तिको लिखित पक्षको पोषण वृद्धि गर्दछ। कमजोर भाषाले अभिव्यक्तिलाई विद्रुप बनाउँछ र सशक्त भाषिक प्रस्तुतिले अभिव्यक्तिको कौशललाई कलात्मकता थप्दै लैजान्छ।
राजकुमार राईले किवाहाङ उपन्यासमा भाषिक सरलतालाई ख्याल गरेका छन् र तदनुरूप प्रस्तुति दिएका छन्। उनको भाषामा वर्णनात्मकता र चित्रमयताको स्वरूप देखिन्छ जस्तो ‘गाउँका समकालीनहरू हवल्दार बाजे भन्छन्– म भए उतै बस्ने थिएँ। नुनतेल लिन पनि दश दिनको बाटो हिंड्नुपर्छ।’ यता हवल्दार बाजे भावुक हुँदै भन्दछन्– ‘साथीहरू, तिमीहरूलाई के थाहा ? बिरानो देश पुगेपछि आफ्नो गाउँ ठाउँको सम्झना आएर भुतुक्क भइन्छ। इटालीको डाँडामा घनघोर लडाइँमा मरिने रहेछ। तिमीहरूसँग भेट नहुने भयो भनेर रोएको थिएँ।’
किराँत भाषाका शब्दहरूको मिसमास प्रयोगले कोड मिश्रित रूप पनि देखिएको छ-
‘पर्सि इक्सङमाङको निम्तो पठाउनुभएको छ।’ ‘आप्पा, नानाहरूको स्मृति ताजा भएर आउँछ।’ अन्य भाषा भाषिकाका शब्दहरूलाई पनि यसरी मिसमास बनाइएको छ।
‘फोरटन ट्रक हवाई मैदानमा रोकिन्छ। यात्रुहरू ओर्लन्छन्। किवाहाङलाई ड्राइभरले स्यालुट गर्छ। … … ड्राइभर फोरटन ट्रक स्टार्ट गर्छन्।’
उपन्यासको भाषिक पक्ष बोधगम्य र सरल छ। अधिकांश शब्दहरू बोलचालकै नेपाली भाषाका बिम्ब, प्रतीक र कला पक्षलाई उनले यसरी प्रस्तुत गरेका छन्ः
‘सबै खुशी दुःखले थिचिदिएको छ।’ ‘गुरु तपाइँको आजको कुराले केटाहरूको दिमाग हल्लाइदिएको छ।’ ‘नम्बरी क्षणिक मजाले आफ्नो र अरुको जीवन बर्बाद गर्नुहुँदैन।’
घ. उपन्यासको उद्देश्य
लेखकले किवाहाङ मार्फत ६० वर्ष अगाडि विश्वयुद्धकालीन समयमा अङ्ग्रेजहरूले संसारभर युद्धको त्रासदी मात्रै मच्चाएका थिएनन् उनीहरूले अमानवीय हिंसा, आतङ्क र अवर्णनीय मृत्युका राक्षसी रूप प्रदर्शन गरेका थिए भन्ने दृष्टान्तहरू दिएका छन्। युद्धको रापतापले संसारभर मृत्युको बजार लागेको डरलाग्दो शब्दचित्र उतारेका छन्।
अङ्ग्रेजहरूको शक्तिको आडमा राणाहरूले नेपाली राजनीतिमा पनि निरङ्कुश, अमानवीय, क्रूरताको पराकाष्ठा प्रदर्शन गरेका, विश्वयुद्धमा होमिएका अबोध नेपाली नागरिकहरूको बेतन समेत आफैंले खाएर निमुखा नागरिकहरूको भोक, प्यास र रगतको मूल्यमा पनि निन्दनीय भ्रष्टाचार भएको तथ्य चिरफार गरेका छन्।
जनतालाई विश्वयुद्धको भुङ्ग्रोमा पर्परी भुटेर त्यसको तर मार्ने सत्ताधरीहरूको दुर्नियतलाई उदाङ्गो मात्रै बनाएका छैनन् कि आज पनि निकृष्ट श्रमका लागि विदेशिन बाध्य बनाएर रेमिट्यान्स मार्फत नवसामन्तवादी बादशाह बनिरहेकाहरूलाई प्रकारान्तरले व्यङ्ग्य गर्नु यस उपन्यासको मूल अभीष्ट रहेको छ।
अन्त्यमा उपन्यासको कथातत्व करिब २८ वर्ष लामो आयाममा फैलिएकोले यसको संरचनात्मक फेरो तन्किएको छ तर घटनाका कतिपय प्रसङ्गलाई पट्यारलाग्दो किसिमले नतन्काएको भए केही सटिक र बान्किलो बन्न सक्थ्यो भन्ने ठाउँ प्रशस्त छन्। उपन्यासको उठान किवाहाङको लाहुरे जीवनको प्रारम्भबाट भएको छ र यसको विकासको उत्कर्ष कहाँ गएर भएको भन्न अलि अलमल नै छ।
विवाह, युद्धका विभीषिका वा उसको सुखाय जीवनको परिणति ? छुट्याउने सन्दर्भमा भ्रम पनि पर्न सक्छ। उत्कर्ष चरणमा कथातत्वको बहुआयामिक समानान्तर फैलावटले अन्योल सिर्जना गर्छ। त्यसलाई पनि अझ निर्दृष्ट उद्देश्य केन्द्रित बनाउन सकेको भए अझै किवाहाङको संरचनात्मक सुसङ्गठन अब्बल हुन्थ्यो।
घटना प्रसङ्गहरू मसिनोसँग केलाइएको छ र तिनै मसिना घटनाहरूले इतिहासका अँध्यारा पाटाहरूलाई उधिनिएको पनि छ। त्यहाँनेर वर्णन कौशलको कलामा निखार ल्याउन शब्द, वाक्य, वाक्यांशहरूको पुनरावृत्तिलाई कम गर्न सकिन्थ्यो र त्यसले पाठकमा थप जिज्ञासा पैदा गरिदिन्थ्यो र बोझिलो हुनबाट बचाउँथ्यो पनि।
जे होस् किवाहाङ मौलिक कथावस्तुमा बनेको, आञ्चलिक पात्र तथा प्रसङ्गबाट उठेर अन्तर्राष्ट्रिय विषय सन्दर्भलाई सशक्त र निर्भयतापूर्वक प्रस्तुति दिएको अब्बल उपन्यास हो।
प्रतिक्रिया 4