+
+
Shares

गल्ती सच्याउने प्रतिबद्धतासहित मध्यपहाडी लोकमार्गमा माओवादी

अभियानका क्रममा नेताहरूले माओवादी उत्पीडित वर्ग समुदायको पक्षमा रहेको सन्देश दिन खोजिरहेका छन् । कर्णाली, सुदूरपश्चिम, महिला, दलित, विपन्न वर्गका साथमा माओवादी रहेको नेताहरूले बताइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते २२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूले आइतबार दैलेखमा शहीद परिवारलाई भेटेर प्रतिबद्धता जनाए।
  • प्रचण्डले पार्टीको सच्चिने र जनतासँग नजिक हुने प्रतिबद्धता व्यक्त गरे र विगतका गल्ती सच्याउने बताए।
  • माओवादीले मध्यपहाडी लोकमार्ग अभियानमार्फत आफूहरु विकास, सुशासन र उत्पीडित वर्गको पक्षमा रहेको बताएको छ।

४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूले आइतबार साँझ शहीद तथा बेपत्ता परिवारलाई भेटेका छन् । नारायण नगरपालिका–७, दैलेखकी पवित्रा शर्मा र उनकी छोरी हरिमायासँग प्रचण्ड सहित माओवादी नेताहरूले घरमै पुगेर भेटेका हुन् ।

माओवादीको १० वर्षे सशस्त्र विद्रोहका बेला राज्य पक्षबाट पवित्राकी पति कविराज, छोरा नारायण र छोरी सीताको ज्यान गएको थियो । ज्वाईं लक्ष्मी अधिकारी अझै बेपत्ता छन् । उनै पवित्रालाई भेट्न घरमै पुगेका प्रचण्ड सहितका नेताहरूले शहीदहरूको संकल्प पूरा गर्ने यात्राबाट बिचलित नभएको प्रतिबद्धता जनाएका छन् ।

पवित्राले प्रचण्डसँग परिवारका सदस्य गुमाउनुको पीडा र त्यसपछि उत्पन्न संकटहरू सुनाएकी थिइन् । त्यो दृष्यका सहभागीहरूका अनुसार पवित्राको कुरा सुनेर प्रचण्ड सहित नेताहरू केहीबेर भावुक बनेका थिए ।

माओवादी नेताहरूले पवित्राको परिवारलाई योजना बनाएरै भेट्न पुगेका थिए । बैतडीको पाटनबाट गत २ जेठमा सुरु भएको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानका क्रममा माओवादीले शहीद तथा बेपत्ता परिवारसँग नियमित जसो भेटिरहेका छन् ।

‘शहीद तथा बेपत्ता परिवारसँग भेट्ने, उनीहरूको कुरा सुन्ने र पार्टीको कुरा राख्ने तालिका नियमित जस्तो चलिरहेको छ,’ प्रचण्डका प्रमुख स्वकीयसचिव गोविन्द आचार्य भन्छन् । उनका अनुसार दैलेखमा पवित्रा शर्माको परिवारलाई भेट्नुअघि राकममा पनि शहीद परिवारसँग भेटवार्ता भएको थियो ।

माओवादीले मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानका क्रममा शहीद तथा बेपत्ता परिवारलाई प्राथमिकताका साथ भेटेर पार्टी सच्चिएको सन्देश दिन खोजिरहेको छ । पार्टी निर्णय र सार्वजनिक सम्बोधन मार्फत् पनि माओवादी नेताहरूले सच्चिने प्रतिबद्धता गरिरहेका छन् ।

अध्यक्ष प्रचण्डसहित नेताहरूले हरेकजसो सार्वजनिक मञ्चबाट सच्चिएर अगाडि बढ्ने प्रतिबद्धता गरिरहेका छन् । ‘हामीले सरकारबाट हटेपछि केन्द्रीय समितिमा गम्भीर ढंगले आफ्नै समीक्षा गर्‍यौं– कही त्रुटि त गरेका छैंनौं ? हाम्रो वर्गसँग, मजदुर–किसानसँग, आदिवासी जनजातिसँग, महिलासँग, दलितसँग, मधेशीसँग, थारुसँग, मुस्लिमसँग,’ आइतबार दैलेख सदरमुकाममा आयोजित सभाबाट प्रचण्डले भने, ‘हिजो जनक्रान्तिका बेला र पहिलो निर्वाचनका बेलामा हाम्रो जति गहिरो आत्मीय सम्बन्ध थियो, आज कमजोर किन भयो ? हामीले त्यसको समीक्षा गर्‍यौं ।’

विगतको तुलनामा जनतासँग दूरी बढेको प्रचण्डले सार्वजनिक मञ्चबाटै स्वीकारे, ‘हाम्रा महान् शहीदहरूको घरमा के समस्या छ, उनीहरूले के भोगेका छन् भन्ने बारेमा जति गहिरोसँग उनीहरूसँग सम्वाद गर्नुपर्ने, भेटघाट गर्नुपर्ने र समस्या समाधानमा पहल गर्नुपर्नेमा केही न केही कमी भयो ।’

विगतका गल्ती सच्याएर जानकै लागि माओवादी जनताको घरआँगनमा आएको पनि प्रचण्डले प्रष्टोक्ति दिए, ‘…(सत्ताबाट बाहिरिएपछि लाग्यो) यथास्थितिलाई तोड्नैपर्छ, र हाम्रो वर्गतिर फर्कनुपर्छ । जनताको बीचमा र जनताकै काखमा हामी जानुपर्छ ।’

मध्यपहाडी लोकमार्गको अभियानका क्रममा माओवादी नेताहरूले जनताको बीचमा फर्कने निर्णयपछि माओवादीले उत्साहजनक परिणाम हासिल गरिरहेको सन्देश पनि दिइरहेका छन् । ‘उपनिर्वाचनमा एक्लै लड्दा एक नम्बर पार्टी बन्यौं । स्ववियू निर्वाचनमा एक्लै लड्दा धेरै उपलब्धि हासिल गर्‍यौं,’ प्रचण्डले आइतबार भने, ‘पत्रकार महासंघमा पनि मानिसहरूले नसोचेको कुरा भयो ।’

अर्थात् हुलाकी राजमार्गकेन्द्रित अभियानका क्रममा माओवादीले जस्तो सन्देश दिने प्रयास गरेका थिए, मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान त्यसैको निरन्तरताका रूपमा विस्तार गर्न नेताहरू लागिपरेको देखिन्छ ।

‘सबभन्दा होचो भू–भाग कचनकवलबाट हुलाकी राजमार्गकेन्द्रित अभियान थालेका थियौं, अब संसारको सवभन्दा अग्लो शिखर सगरमाथाको जिल्ला सोलुखम्बू पुगेर अभियान टुंग्याउँछौं,’ आचार्य भन्छन् ।

सुशासन र विकासमा दाबी

मध्यपहाडी लोकमार्ग भएर चलिरहेको यो अभियानबाट माओवादी नेताहरूले सुशासन र विकासमा पार्टीको भूमिकाबारे प्रचार गरिरहेका छन् । विशेषगरी, माओवादी नेतृत्वको सरकारले गरेको कामको प्रचार गर्नु यो अभियान महत्वपूर्ण काम बनेको देखिन्छ ।

अध्यक्ष प्रचण्डले त मध्यपहाडी लोकमार्ग निर्माणको प्रस्तावकर्ता पार्टी नै माओवादी भएकाले पनि यो मार्गमा अभियान चलाउनुपरेको बताइरहेका छन् । ‘यो देशलाई राष्ट्रिय रूपले एकताबद्ध गर्न, सांस्कृतिक रूपले देशलाई एकजुट बनाउन भौतिक रूपमा रणनैतिक योजना अगाडि सार्नुपर्छ भन्ने सोचेर मध्यपहाडी लोकमार्गको प्रस्ताव प्रस्तुत गरे । आज मलाई खुसी छ, त्यही मध्यपहाडी लोकमार्गकेन्द्रित भएर ‘जनतासँग माओवादी जागरण अभियान हुँदैछ,’ दैलेखकै कार्यक्रममा पनि प्रचण्डले भने ।

हरेकजसो सम्बोधनमा प्रचण्डले मध्य पहाडी लोकमार्ग बन्नुको श्रेय माओवादीलाई दिइनुपर्ने दाबीसहित विकास निर्माण र सुशासनका लागि पार्टीले गरेको कामहरूको प्रचार गरिरहेका छन् । लोडसेडिङ अन्त्यको जस माओवादीले पाउनुपर्नेमा उनको विशेष जोड देखिन्छ । तर, सुशासन स्थापित गर्ने प्रयत्नकै क्रममा आफू नेतृत्वको सरकार ढलेकाले जनताको साथमा आएको प्रष्टोक्ति प्रचण्डले दिइरहेका छन् ।

उत्पीडितसँग अपिल

अभियानका क्रममा नेताहरूले माओवादी उत्पीडित वर्ग समुदायको पक्षमा रहेको सन्देश दिन खोजिरहेका छन् । कर्णाली, सुदूरपश्चिम, महिला, दलित, विपन्न वर्गका साथमा माओवादी रहेको नेताहरूले बताइरहेका छन् ।

‘फेरि पनि उत्पीडित वर्ग समुदायलाई अपमानित गर्ने, उनीहरूको हक अधिकार खोस्ने, हाम्रा छोराछोरीहरूले बलिदान दिएर ल्याएको उपलब्धि खोस्ने जमर्को (सत्तारुढले) गर्दैछ,’ दैलेखकै कार्यक्रमबाट पनि प्रचण्डले भने, ‘तपाईंहरूले हेर्नुभयो भने त्यहाँ महिला अधिकार खोसिएको छ, दलितको त नाम पनि उच्चारण गरिएको छैन अहिलको नीति तथा कार्यक्रम र बजेटमा ।’

तर, विगतदेखि नै माओवादी उत्पीडित वर्ग समुदायको पक्षमा रहेको सम्झाउने काम नेताहरूले गरिरहेका छन् । १० वर्षे सशस्त्र विद्रोह र त्यसयताका जनआन्दोलनहरूमा माओवादीले सधैं उत्पीडितको पक्षधरता लिएको नेताहरूले बताइरहेका छन् । प्रमुख वक्ता रहेका प्रचण्डले माओवादी बलियो हुँदा उत्पीडित वर्ग समुदाय पनि बलियो हुने तर्क गर्दै आएका छन् ।

‘आउने समयमा माओवादी बलियो हुँदा दलित बलियो हुनेछन्, माओवादी बलियो हुँदा महिलाहरू बलियो हुनेवाला छन् । माओवादी बलियो हुँदा मजदुर र किसानहरू बलियो हुनेवाला छन् । माओवादी बलियो हुँदा नेपाल बलियो हुनेवाला छ,’ प्रचण्डले भनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?