
News Summary
Generated by OK AI. Editorially reviewed.- गणेश रसिकलाई साहित्यिक गोष्ठीमा भेटिएको लेखकले बताए, उहाँले प्रेमपूर्वक सम्बोधन गर्नुभयो।
- उहाँले इलामको ठाउँमा साहित्य रोप्दै, ग्रामीण जीवन अपनाउनुभयो र फिक्कल एफएम चलाउनुभयो।
- उहाँको निधनको खबरले लेखक र साहित्यिक समाजमा शोक छाएको छ।
वि.सं. २०५४ सालको कुरा हो । म जागिरे जीवनको क्रममा फिक्कल पुगेको थिएँ । जागिर थियो, चिया तथा कफी विकास बोर्डको ।
डेढ वित्ताको पेट पाल्न जागिर गरे पनि मन भने साहित्य–कलामा हुन्थ्यो । जागिरले डोहोर्याउँदै मलाई त्यही ठाउँमा पुर्यायो, जहाँ गणेश रसिक थिए । जहाँ गणेश रसिक थिए, त्यहाँ सांगीतिक र साहित्यिक माहोल हुन्थ्यो ।
भूगोलले गणेश रसिक र मेरो दूरी नजिक बनाइदिएको थियो । तर, भेट्ने मेसो मिलेकै थिएन ।
एकदिन फिक्कलकै पान्दामस्थित अलैंची विकास केन्द्रमा साहित्यिक गोष्ठी हुने भयो । म दौडिएर त्यहाँ पुगें । मैले पहिलो पटक त्यही भेटें, गणेश रसिकलाई । तर, के भनेर बोलाउने ? कसरी बात गर्ने ? असहज लाग्यो । म यत्तिकै फर्कन लागेको थिएँ । अचानक उहाँ मेरो अघिल्तिर आउनुभयो । अनि, ‘सेवारो मिनेन्द्र भाइ’ भनी प्रेमपूर्वक बोलाउनुभयो । मेरा लागि यो अनपेक्षित थियो । उहाँको यति प्रेमिल सम्बोधन सुनेर म मख्ख परें । उहाँले के पनि भन्नुभयो भने, ‘तपाईंलाई भेट्न तपाईंको अफिसतिर आउँछु है ।’
उहाँलाई स्वागत गर्नका लागि मसँग हार्दिक मन त थियो तर सुविधापूर्वक बसाउनका लागि सुकिलो ठाउँ थिएन । बाँसको टाटीले बारेको सानो कटेरो थियो । त्यस्तो ठाउँमा कसरी उहाँ जस्तो दिग्गज व्यक्तिलाई राख्ने ? म रातभर निदाउँन सकिनँ ।
पाँचथरको दूरदराजबाट एउटा मादले झोलमा एकसरो लुगा मात्रै लिएर आएको मसँग चिया खुवाउने भाँडो र गिलास समेत थिएन । भोलिपल्ट बिहान म सबेरै उठें, ता कि उहाँ मेरो कार्यलय आइपुग्नुअघि म उहाँको घर पुग्न सकौं ।
म हत्तपत्त उहाँको घरतर्फ लागें । घर ठ्याक्कै कहाँ छ थाहा थिएन । सोध्दै खोज्दै अगाडि बढें । पान्दामस्थित चिटिक्क परेको एउटा घर भेटियो । आसपासमा चियाबारी । त्यसैसँग मितेरी गाँसेझैं देखिने धूपी सल्लाका बोटहरू । लहलह फूलहरू ।
अलि चिसो मौसम थियो सायद त्यो । भुइँ कुहिरोले ढम्म ढाकेको थियो । भुइँ कुहिरो ठोक्किएर धूपीको बोटबाट तपतप पानी चुहिँदै थियो । यतिबेला गणेश रसिक भान्सामा चिया पकाइरहेका थिए ।
‘अहो, सेवारो है’ उहाँले भन्नुभयो, ‘तपाईंलाई भेट्न आउन लागेको थिएँ, यतै पो आउनुभएछ । लु बसौं ।’ उहाँले बिहान तात्तातो चिया पस्कनुभयो । चियाको चुस्कीसँगै मैले उहाँको न्यानो आतिथ्यता पाएँ ।
म अलि आलोकाँचो नै थिएँ सायद । त्यसैले कुराको चुरो समाउने र त्यसलाई लम्बाउने भाका टिपिसकेको थिइनँ । सायद मेरो मौनता देखेर उहाँ नै कुराकानी गर्न तम्सनुभयो । उहाँले भन्नुभयो, ‘म भोजपुरको मान्छे । इलामको यस ठाउँमा आएर साहित्य रोप्दैछु भाइ ।’ अब मैले पनि त्यसमा एक दुई शब्द थपथाप गरें । म पनि त कर्म खोज्दै पाँचथरबाट यहाँ आइपुगेको थिएँ ।
त्यस भेटमा उहाँले ‘साहित्यिक माहोल बनाउनु सहयोग गर्नुस् है’ भन्नुभयो ।
अब भने मलाई उहाँसँग भेट्नका लागि बाटो खुकुलो भएको थियो । कुरा गर्ने मेलो सहज भएको थियो । हाम्रो बसाइ बाक्लिन थालेको थियो । र, घनिष्ठता बढ्दै थियो । जब-जब उहाँसँग भेट हुन्थ्यो, साहित्यको कुरा हुन्थ्यो । लेखनको कुरा हुन्थ्यो । कलाको कुरा हुन्थ्यो । उहाँले अक्सर एउटा कुरा भन्न छुटाउनु हुन्नथ्यो, ‘भाइ, लेखिरहनुपर्छ है ।’
उहाँको उपमा जस्तै मान्छे पनि रसिक लाग्थ्यो मलाई । एकदमै मिजासिलो । शान्त र सौम्य । सधै नमस्कार गरेर प्रस्तुत हुने । चिटिक्क परेको लुगा लगाउने । मलाई उहाँको विनयी भाव साँच्चै मन पर्थ्यो ।
जतिबेला मैले उहाँसँग भेटेको थिएँ, त्यसबेला गणेश रसिक एक स्थापित गायक, संगीतकार र लेखक भइसकेका थिए । उनलाई नचिन्ने बौद्धिक जमात कोही थिएनन् । उनलाई सम्मान र आदर नगर्ने कोही थिएनन् । आफ्नो कला र साधनाले सुशोभित भइसकेका दिग्गज व्यक्तित्व हुनुहुन्थ्यो ।
कति गीत गाइसकेका, कति गीतमा धुन भरिसकेका, कति किताब लेखिसकेका गणेश रसिकको अगाडि म एकदमै फुच्चे केटो थिएँ । गाउँबाट निस्किएर साहित्यमा केही लेख्न खोजिरहेको सिकारु केटो थिएँ । तर, मेरो अगाडि उहाँले मलाई कहिल्यै फुच्चे हुन दिनुभएन । सम्मानजनक व्यवहार गर्नुभयो । मलाई मात्र होइन, सम्भवत सबैसँग उहाँको व्यवहार यस्तै हुन्थ्यो ।
गणेश रसिक एक पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट उठ्नुभयो । तर, उहाँको जित भएन । त्यसबेला भन्नुभएको थियो, ‘म जस्तो भावुक मान्छेका लागि राजनीति होइन रहेछ ।’
गणेश रसिकको प्रेरणा र सहयोगमा मैले एउटा कविता संग्रह निकालें । त्यसको शीर्षक जुराइएको थियो, घायलका स्वरहरू । त्यो कविता संग्रह काठमाडौं मित्रपार्क चाबहिलको अभिव्यक्ति छापाखानामा छापियो । उहाँ आफ्नो डेराबाट पैदल हिँडेर छापाखानासम्म आउनुभएको थियो । केवल मलाई ढाडस दिनका लागि । कति मनकारी मान्छे ?
काठमाडौंमा उहाँ स्थापित भइसक्नुभएको थियो । सबैले चिन्ने अनुहार । तर, करियर उत्कर्षमा रहेकै बेला इलाम फर्कनुभयो । र, गाउँमा घर बनाएर ग्रामीण जीवनयापन सुरु गर्नुभयो । घर गज्जबको थियो र त्यसमा उहाँले एफएम पनि चलाउनुभयो, फिक्कल एफएम ।
म जागिरको फेरो समाएर कहिले कहाँ, कहिले कहाँ पुगें । हाम्रो भेटघाट छुट्यो । संगत टुट्यो । त्यसपछि उहाँ कहाँ हुनुहुन्छ, के गर्नुहुन्छ थाहा पाइएन । भर्खरै मात्र रोगले थलिएको र संसार छाडेको खबर सुनियो । सम्भवत यतिबेला उहाँलाई जीवन भन्दा मृत्यु सहज थियो । किनभने अनेक वियोग र शारीरिक पीडा खेपेर अस्पतालको शय्यामा लडिरहनुपर्दा जीवन पनि जीवन जस्तो कहाँ हुन्छ र !
प्रतिक्रिया 4