
News Summary
Generated by OK AI. Editorially reviewed.- रवि लामिछानेको सचिवालय असार १७ मा स्थापना भए पनि अहिले सुनसान देखिन्छ।
- उनको कार्यालयमा कर्मचारी संख्या घटेर एकमा झरेको र समस्या समाधानको जिम्मेवारी केन्द्रलाई तोकिएको छ।
- चितवन-२ मा लामिछानेको कारागार जानेपछि जनताले समस्या सुनाउने र विकासका काममा प्रभाव परेको प्रतिक्रिया दिएका छन्।
५, असार, चितवन । भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बाको ठिक अगाडि छ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन-२ का निलम्बित सांसद रवि लामिछानेको सचिवालय ।
१७ साउन २०८० मा निकै तामझामका साथ लामिछानेले सुरु गरेको सचिवालय हिजोआज सुनसान देखिन्छ । चितवन-२ का जनताका समस्या सुन्न, समस्या राख्न, सम्पर्क गर्न र केन्द्रसँग विकास निर्माणका कामको समन्वय गर्न भन्दै लामिछानेले सचिवालय खोलेका थिए । तर विभिन्न मुद्दामा कहिले हिरासत त कहिले कारागार गएपछि अहिले उनको कार्यालयको रौनक हराएको छ ।
किचेनसहित भुईं तलामा ४ कोठा र माथि सानो हल रहेको सचिवालय खोल्ने र बन्द गर्ने काम भने कर्मचारी कुलबहादुर अधिकारीले गर्दै आएका छन् ।
लामिछानेको विषेश अनुरोधमा विदेशबाट बोलाइएका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले समेत कार्यालय छाडेपछि अफिस कोठा यत्तिकै खाली छ । भित्तामा लामिछानेसँग खिचेको बरालको एउटा तस्वीर भने झुन्डिरहेको देखिन्छ ।
मासिक २५ हजार भाडा बुझाउने गरी खोलिएको सचिवालयमा कसैले केही समस्या वा कुनै विषय ल्याए त्यसलाई केन्द्रीय सदस्य प्रतिभा रावललाई पठाउने गरिएको सचिवालयमा कार्यरत कर्मचारी अधिकारीले बताए ।
उनले भने, ‘म कार्यालय कुरेर बसेको छु, माननीयज्यूसँग सम्बन्धित केही विषय आएमा केन्द्रमा पठाउँछु, जिल्लामा खासै केही हुँदैन ।’ लामिछानेको काम केन्द्रमा हेर्ने जिम्मेवारी रावललाई तोकिएको छ । कहिलेकाहीँ लामिछानेका स्वकीय सचिव अविनाश आचार्यलाई पनि जानकारी गराउने गरिएको अधिकारीले बताए ।
सभापति लामिछानेको सचिवालयमा फाट्टफुट्ट केन्द्र तथा जिल्ला नेताहरू आउँछन् । त्यस बाहेक खासै उपस्थिति हुँदैन ।

कुनै समय लामिछानेको सचिवालयमा ७ जनासम्म कर्मचारी थिए । तर अहिले जम्मा एकजनाले धानेका छन् ।
रास्वपा सभापति लामिछानेले साउन २०८० मा महिलालाई लक्षित गरी सञ्चालन गरेको ‘ब्लू बस’ चलिरहेको छ । पहिले भाडामा लिएर चलाएको भए पनि अहिले पार्टीले नै बस किनेर नियमित सञ्चालन गरेको लामिछानेको चितवन सचिवालय इन्चार्ज रहेका राजेन्द्र अर्यालले जानकारी दिए । अर्यालले नै बसको चाँजोपाँजो र खर्च जुटाउने गरेका छन् ।
निर्वाचन क्षेत्रका विभिन्न स्थानमा नियमित सञ्चालन गर्ने भनिएको स्वास्थ्य शिविर भने बन्द भएको निकै समय भइसक्यो । कलेज अफ मेडिकल साइन्स भरतपुरको सौजन्यमा गरिएको शिविरसँगै एम्बुलेन्स सेवा पनि बन्द भयो ।
मंसिर २०७९ को निर्वाचनमा लामिछाने चितवन-२ बाट ४९ हजार ३०० मतसहित पहिलोपटक निर्वाचित भए । उनका प्रतिद्वन्द्वीहरू कांग्रेस-माओवादी गठबन्धनका उमेश श्रेष्ठले १४ हजार ९८८ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याए । तर नागरिकता काण्डमा उनको पद गयो । उनले फेरि नेपालको नागरिकता लिए ।
रिक्त भएको चितवन- २ मा १० वैशाख २०८० मा पुनः निर्वाचन भयो । लामिछानेले ५४ हजार १७६ मत पाए । पहिलेको भन्दा झन्डै ५ हजार मत उनको थपियो । त्यसबेला कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २१४ मत र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए ।
लोकप्रिय मतसहित चितवनबाट सांसद बनेका रास्वपा सभापति लामिछाने सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा कात्तिक २०७१ मा हिरासत र चैत २०८१ मा कारागार चलान भए ।
कारागार चलान भएपछि उनको निर्वाचन क्षेत्रका जनताले गुनासो, समस्या सुनाउने प्रतिनिधि पाएका छैनन् । विकास निर्माणका काममा लबिइङ गरिदिने उनको प्रतिनिधि भएन ।
रास्वपाले चितवनलाई आफ्नो केन्द्र तथा भोट बैंकका रूपमा मान्दै आएको छ । उनी जनप्रतिनिधि भएर बेलाबखत चितवन आउँदा पार्टी पनि सक्रिय हुने गर्थ्यो । तर अहिले पार्टी गतिविधि समेत सुस्त बनेका छन् ।
लामिछाने पार्टीका अभियानहरू पनि चितवनबाटै सुरु गर्थे । उनी कारागार हुँदा पार्टी समर्थक तथा कार्यकर्तामा निराशा त छाएको छ नै, मतदाता पनि जनप्रतिनिधिविहीन अवस्थामा छन् ।
चितवनवासीले रवि लामिछानेलाई पटकपटक साथ दिँदै आएका छन् । सहकर्मी शालिग्राम पुडासैनी मृत्यु प्रकरणसँग जोडिएर लामिछानेलाई आत्महत्या दुरुत्साहनको मुद्दा लाग्दा चितवनवासीले उनको पक्षमा ठूलो प्रदर्शन गरेका थिए । त्यसपछि चितवनप्रति लामिछानेको मोह जागेको हो । चितवनले आफूलाई पटकपटक बचाएको खुद लामेछानेले बताउने गर्छन् ।
सहकारी ठगी मुद्दामा बयानका लागि चितवन ल्याउँदासमेत कार्यकर्ताले प्रदर्शन गरेर प्रहरीसँग झडप गर्न खोजेपछि लामिछानेलाई रातारात कास्की प्रहरीको हिरासतमा पठाइएको थियो । लामिछाने तथा उनको पार्टी रास्वपाले परेको बेला चितवनले आफूलाई जुरुक्क उठाउने गरेको भन्दै आएका छन् ।
‘भएर पनि केही भएन, अभिभावकविहीन जस्तो भयो’
रवि लामिछानेले जितेको चितवन-२ मा इच्छाकामना गाउँपालिकाका ७ वटै वडा, कालिका नगरपालिकाका ११ वटा वडा र भरतपुर महानगरपालिकाका १, २, ३, ४, ५, ७, १०, ११ र १२ नम्बर वडा पर्छन् ।
रवि लामिछाने कारागार गएपछिको अवस्थामा यो निर्वाचन क्षेत्रका मतदाताले उनका बारेमा मिश्रित प्रतिक्रिया दिएका छन् । कसैले लामिछाने हुँदा र नहुँदामा खासै फरक नपरेको प्रतिक्रिया दिए भने केहीले क्षेत्र नै अभिभावकविहीन जस्तो भएको बताए ।
भरतपुर महानगरपालिका-११ का मतदाता बलराम बोहोराले लामिछाने नहुँदा पनि निर्वाचन क्षेत्रमा कुनै मर्का नपरेको दाबी गरे । उनले भने, ‘थुतुनो मात्रै बजाएर भएन, काम नगर्ने, सबै पार्टी उस्तै हुन् । कुन ठाउँमा कसले के गरेको छ र, यहाँ भएन भन्नु ? वडाबाट नै विकासका काम हुन्छन्, सांसद भए पनि नभए पनि के भो ?’ लामिछाने कारागार गएको बारेमा बोहोराले कानुनअनुसार नै ठहर गरेर गएको भन्ने बुझेको बताए ।
बाइपास सडक नजिकैको एक पाटीमा भेटिएका भरतपुर-११ कै ७३ वर्षीय वीरबहादुर हमालको दृष्टिकोण पनि बोहोराको भन्दा फरक छैन । जनप्रतिनिधि नहुँदा निर्वाचन क्षेत्रमा कस्तो प्रभाव परेको छ भन्ने जिज्ञासामा हमालले भने, ‘केही असर परेको छैन । जे गर्छ, नगरपालिका र वडाले गर्छ ।’
कालिका नगरपालिका-९ का हिम्मत पुरीले भने निर्वाचित सांसद नहुँदा निर्वाचन क्षेत्र ५ वर्ष पछाडि पर्ने बताए । उनले सांसद भनेको निर्वाचन क्षेत्रको अभिभावक जस्तो भएको भन्दै जनताले केन्द्र सरकारसँग आफ्ना कुराहरू सुनाउने च्यानल नै टुटेको प्रतिक्रिया दिए । उनले लामिछानेलाई दागरहित भएर आउन शुभकामनासमेत दिए ।
भरतपुर-४ का जोन कँडेलले चितवन-२ का समस्या राखिदिने, सुनाउने मान्छे नभएको बताए । सांसदको भूमिका कानुन निर्माण र स्थानीय विकास निर्माणमा हुनुपर्नेमा दुवै भूमिकामा चितवन२ चुकेको कँडेलको भनाइ छ । उनले सिंहदरबारसँगको चितवन-२ को नेक्सस नै टुटेको बताए ।
लामिछानेबाट उति ठूलो अपेक्षा नगरे पनि जनप्रतिनिधि नै जेलमा हुँदा यहाँका जनताप्रतिको दृष्टिकोण नै फरक हुने बताए । उनले लामिछाने गृहमन्त्री हुँदासमेत जिल्लाको विकासका लागि बजेट ल्याउन नसकेको स्मरण गर्दै उनी हुँदा र नहुँदा त्यति तात्विक फरक भने नहुने बताए ।
पालिका प्रमुखहरू भन्छन्- ठूला पूर्वाधारमा काम हुन सकेन
सांसद रवि लामिछाने नहुँदा चितवन-२ का पालिकाहरूलाई ठूला पूर्वाधारहरूमा लबिइङ नपुगेको हो कि भन्ने आभाष भएको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ आफ्नो क्षेत्रको सांसद नै कारागारमा छन् भन्दा अफ्ठ्यारो महसुस हुने गरेको बताउँछन् ।
लामिछानेबाट ठूलो अपेक्षा भने केही नगरेको उनको भनाइ छ । लामिछाने नहुँदा पूर्व माननीयहरूलाई लिएर लबिइङ गरेर केन्द्र सरकारबाट बजेट पार्ने काम गरेको गुरुङले बताए ।
गुरुङको जस्तै भनाइ छ, कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीको । उनले लामिछाने गृहमन्त्री हुँदासमेत निर्वाचन क्षेत्रमा पूर्वाधार निर्माणमा बजेट पार्न नसकेको बताए । ‘उहाँ भएको भए ठूला पूर्वाधारहरू तयार गर्न सहज हुन्थ्यो कि भन्ने हो, तर विगतमा त्यस्तो त देखिएन,’ नगर प्रमुख रेग्मीले भने, ‘आफ्नो क्षेत्रको सांसदलाई ल यति काम गरिदिनु भन्ने ठाउँ हुन्थ्यो । त्यो भएन, केही न केही रिक्तता महसुस त हुँदो रहेछ । उहाँ पहिला हुँदा पनि खासै समन्वय हामीसँग गर्नुहुन्थेन ।’
लामिछाने नगरेका काम मैले गरेको छु- कृष्णभक्त पोखेरेल
चितवन-२ बाट २ पटक निर्वाचित बनेका एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल तेस्रोपटक लामिछानेसँग चुनाव हारे । पहिलोपटक २०७० सालमा संविधानसभामा निर्वाचित भएका पोखरेल २०७४ मा वाम गठबन्धनका उम्मेदवार बनेर जिते ।
चितवन–२ का विकट ग्रामीण भेगमा सडक, विद्युतीकरण, स्वास्थ्य चौकी जस्ता पूर्वाधार बनाउन पोखरेलले भूमिका पनि खेले । उनी निर्वाचन हारे पनि हरेक २/२ महिनामा निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा जनताको बीचमा जाने गरेको बताउँछन् ।
चितवन-२ बाट लामिछानेले जिते पनि जनताप्रतिको आफ्नो कर्तव्य नभुलेको भन्दै पोखरेलले आगामी आर्थिक वर्षका लागि शक्तिखोर–फिस्लिङ सडकको लागि ११ करोड, भोर्ले–दाहाखानी सडकका लागि ३ करोड, गणेशधामदेखि सिमलधापसम्म जाने सडक कालोपत्रे गर्न ६ करोड, बेलचोकमा खानेपानी आयोजनाका लागि १२ करोड रकम पारेको बताए ।
सांसदको काम कानुन बनाउने, सरकार नीति तथा योजनामा निगरानी गर्ने, जनताका आवाजलाई मागलाई केन्द्रीय सत्तासँग जोड्ने भए पनि अहिले चितवन-२ प्रतिनिधिविहीनताको अवस्था आएको उनले बताए । जनताको आफू प्रतिनिधि नभए पनि प्रतिनिधिसरह नै काम गरिरहेको पोखरेलको दाबी छ ।
लामिछानेलाई कसैले फसाएको नभई उहाँ आफ्नै कारणले कारागार पुगेको पोखरेलको तर्क छ । ‘दुई नागरिकता, दुई पासपोर्ट, सहकारीको रकम हिनामिना गर्न अरुले लगाइदिएको त पक्कै हैन होला,’ उनले, ‘देशको नागरिकता नै त्यागेर हिँड्ने सोचलाई प्रोत्साहन गर्दा त्यसको मार जनतालाई पनि परेको छ ।’
जनताले रवि नै खोज्छन्, हाम्रा कुरामा चित्त बुझाउँदैनन्- केन्द्रीय सदस्य गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतमले जनताले रवि लामिछाने नै खोज्ने गरेको बताए । ‘उहाँ नहुँदा हामीले जनतालाई सम्झाउने प्रयास त गरेका छौं, उहाँको अभाव नहोस् भनेर मिहिनेत पनि गरेका छौं,’ केन्द्रीय सदस्य गौतम भन्छन्, ‘तर जनताले चित्त बुझाएको देखिँदैन, रवि नै खोज्छन् ।’
उनले सभापति नै कारागारमा हुँदा पार्टीलाई परेको क्षति वा असर स्वाभाविक भए पनि जनतालाई समेत त्यसले मार परेको बताए । आगामी आर्थिक वर्षको बजेटमा चितवन नै छुटेको भन्दै केन्द्रसम्म आवाज उठाउने क्षमतावान मानिसको अभाव भएको गौतमले बताए ।
लामिछाने माथि भएको प्रतिशोधपूर्ण राजनीति अन्त्य हुनुपर्ने कामना सबैले गरेको उनको भनाइ छ । चितवनको भूगोल र देशले नै लामिछानेलाई खोजेको उनको धारणा छ ।
सभापतिको अभावमा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम बाग्ले बेलाबखतमा चितवन आउने र नेता/कार्यकर्ता तथा जनतासँग भेटघाट गर्ने गरेको केन्द्रीय सदस्य गौतमले सुनाए ।
प्रतिक्रिया 4