News Summary
Generated by OK AI. Editorially reviewed.- तेस्रो महिनामा गर्भावस्थाको पहिलो त्रैमासिक लगभग समाप्त हुन्छ र नयाँ लक्षणहरू देखिन सक्छन्।
- महिलाले हर्मोनल परिवर्तन र शारीरिक परिवर्तनका कारण थकान, चिडचिडापन र भावनात्मक उतारचढाव अनुभव गर्न सक्छन्।
- सामान्य जटिलता जस्तै अत्यधिक वान्ता, गर्भपातको जोखिम र संक्रमणको सम्भावना हुन सक्छ, जसको समयमा चिकित्सकको परामर्श आवश्यक हुन्छ।
तेस्रो महिनासम्म आइपुग्दा गर्भावस्थाको पहिलो त्रैमासिक लगभग अन्त्यतिर पुगिसकेको हुन्छ । तेस्रो महिनामा प्रवेश गर्दा महिलाले अनुभव गर्ने लक्षणहरूमा केही पहिलेका निरन्तर देखिन्छन् भने केही नयाँ लक्षणहरू थपिन पनि सक्छन् ।
वाकवाकी वा वान्ता आउनेजस्ता समस्या यस चरणमा पुगेपछि क्रमशः कम हुन थालेको महसुस हुन सक्छ । तर, ध्यान दिनुपर्ने कुरा के हो भने हरेक गर्भवती महिलाको अनुभव भिन्न हुन्छ । कसैलाई कुनै लक्षण एकदम तीव्र रूपमा देखिन सक्छ भने कसैलाई अत्यन्त हल्का ।
यस अवधिमा भ्रूण पनि निकै महत्वपूर्ण विकास प्रक्रियाबाट गुज्रिरहेको हुन्छ । अघिल्ला हप्ताको तुलनामा भ्रूण बढी परिपक्व हुँदै जान्छ, जसले आगामी महिनाहरूका लागि शारीरिक तथा मानसिक तयारी आवश्यक बनाउँछ ।
आमामा देखिने परिवर्तन
तेस्रो महिनामा केही लक्षणहरू पहिलो दुई महिनाकै निरन्तरता हुन सक्छन्, भने केही नयाँ लक्षणहरू पनि थपिन्छन् । हर्मोनल परिवर्तन र शरीरमा रगतको प्रवाह बढ्दा सेतो र गन्धरहित योनीस्राव हुन सक्छ । यस्तो अवस्थामा सुतीको कपडा वा पेन्टी प्रयोग गर्नु राम्रो हुन्छ ।
केही महिलालाई यो समयमा पनि बिहान वाकवाकी लाग्न सक्छ, तर यो क्रमशः कम हुँदै जान सक्छ । हर्मोनल परिवर्तनका कारण शरीरमा थकान महसुस हुनसक्छ । यो समयमा सामान्यभन्दा बढी आराम आवश्यक हुन्छ ।
पाठेघरको आकार बढ्दा पिसाबथैलीमा दबाब पर्छ, जसले बारम्बार पिसाब लाग्ने अनुभव हुन्छ । हर्मोनको उतारचढावले चिडचिडापन, रिस वा भावनात्मक परिवर्तन हुनसक्छ । केही खानेकुराप्रति तीव्र इच्छा वा पहिले मनपर्ने खानाप्रति अरुचि हुन सक्छ ।
मेलानिन हर्मोनको वृद्धिले छालाको रङ गाढा भई अनुहारमा चाया पोतो देखिनसक्छ । हर्मोनल परिवर्तन र पाठेघरको दबाबले पाचन प्रक्रिया सुस्त हुन सक्छ, जसले कब्जियत हुनसक्छ । पेटमा हावा भरिएको जस्तो हुने र खानामा अरुचि हुनसक्छ। गर्भाशयको आकार र शरीरको तौल बढ्न थाल्छ ।
तर, वाकवाकीका कारण केही महिलाको तौल कम पनि हुन सक्छ । यो समयमा अत्यधिक थकान र निद्रा लाग्नसक्छ ।
मानसिक स्थिति
सबैभन्दा बढी भावनात्मक उत्तारचढाव पहिलो त्रैमासिकमै हुन्छ । यो महिना महिला एकैछिनमा झन्नक रिसाउने, झर्को मान्ने, एकैछिनमा भावुक हुने, सानो कुरामा पनि रुने वा हास्ने खालको स्वभाव हुन्छन्। यो बेला डर र चिन्ताले पनि अत्यधिक सताउँछ।
किनकी, यो बेला सन्तान खेर जाने होकी, बच्चाको धडक्न नआउने हो वा गर्भपात हुने होकी भन्ने अनेकौं विचारले सताउन सक्छ । यो तीन महिनाको अन्तिमसम्म गर्भपातको सम्भावना घट्दै गइरहेको हुन्छ ।
सम्भावित जटिलताहरू
यो महिनामा सामान्यदेखि गम्भीर जटिलताहरू देखिन सक्छन् । जसको समयमै पहिचान र उपचार गर्नु आवश्यक हुन्छ ।
यो बेला अत्यधिक वान्ता आएर पानी पनि पिउन नसक्ने अवस्था केही महिलामा देखिनसक्छ । बान्ता मात्र भइरहने केही खान पिउन नसक्ने भने पछि एसिड शरीरभर फैलिएको बुझिन्छ ।
यो भनेको गम्भीर अवस्था हो । यस्तोमा आत्तिने होइन तुरुन्त चिकित्सकलाई भेट्नुपर्ने हुन्छ । आवश्यक परे भर्ना गरी स्लाइन पानी दिनुपर्ने हुनसक्छ । अर्को जटिलता भनेको गर्भपातको जोखिम हुनसक्छ । पहिलो र दोस्रो महिनाभन्दा कम जोखिम भए पनि गर्भपतन नहोला भन्न सकिन्न ।
बच्चाको धड्कन नआउने, मासुको पोकामा गएर बस्ने वा पाठेघरको मुख खुल्ने, शारीरिक रुपमा अस्वस्थ बच्चा भएमा गर्भपतन हुनेसम्भावना हुनसक्छ । पिसाब संक्रमण, रक्तअल्पता, संक्रमण, छालामा चाया पोतो र एलर्जी आउनसक्ने सम्भावना रहन्छ ।
बच्चाको विकासको गति
तीन महिना सुरु भएसँगै बच्चाको अंगहरू बन्ने र आकारप्रकार लिन थाल्ने प्रक्रियामा हुन्छ । बच्चाको मुटुको धड्कन बन्ने, मिर्गौला, कलेजो, फोक्सोको विकास हुन थाल्छ । नाक, कान, घाटी, हातखुट्टाले आकारप्रकार लिन थाल्छ । भ्रूणको आकार लगभग साढे ५ देखि ६ सेन्टिमिटर पुग्छ ।
खुट्टा लम्बिन्छ, औंला र नङहरू बन्न थाल्छन् । अनुहारको आकार बन्दै जान्छ, आँखा, नाक र मुखको रूपरेखा स्पष्ट हुन्छ । बच्चाको लिङ्ग बन्न थाल्छ, र अल्ट्रासाउन्डबाट लिङ्ग पहिचान गर्न सकिन्छ। मांसपेशीहरूको विकास सुरु हुन्छ, र बच्चाले हलचल गर्न थाल्छ (यद्यपि आमाले यो महसुस गर्न अझै समय लाग्छ ।
मस्तिष्क विकासले पनि द्रुत गति लिन थाल्छ । बच्चामा कुनै किसिमको समस्या छैन भने अल्ट्रासाउण्डमा धड्कन स्पष्ट रुपमा सुन्न सकिन्छ ।
यात्रा गर्न मिल्छ ?
यदि छोटो दूरीको बाटो सहज छ भने यात्रा गर्न मिल्छ । तर, यो समय भू्रणको सन्तुलन बलियो नभइसकेकोले उचाई, अवरुद्ध र असमान बाटोमा स्कुटर र बाइकमा यात्रा गर्दा गर्भपात हुनसक्ने सम्भावना उच्च हुन्छ ।
के परीक्षण गर्ने ?
तेस्रो महिनामा नियमित स्वास्थ्य जाँच र परीक्षणहरू गर्नु आवश्यक हुन्छ । यो समयमा स्वास्थ्य जटिलता बढी देखिने हुँदा फलोअप छुटाउनुहुँदैन ।
कुनै पनि परीक्षण राम्रोसँग भइसकेको छैन भने हेमोग्लोबिन, पिसाब, थायराइड, मधुमेह, एचआइभी, हेपाटाइटिस बी परीक्षण गरिन्छ ।
यो महिना पहिलो भिडियो एक्स रे र स्क्रिनिङ गरिन्छ । एन्टी एनबी स्क्यान नामक भिडियो एक्स रेबाट बच्चाको नाकको हड्डी (नेजल बोन) बनेको छ/छैन र घाँटीको पछाडि पानी जमेको छ/छैन हेर्ने गरिन्छ ।
यो जाँचले क्रोमोजोमल असामान्यता (जस्तै डाउन सिन्ड्रोम) वा मानसिक/शारीरिक अस्वस्थताको जोखिम पत्ता लगाउँछ ।
डुअल टेस्ट र क्वाड्रुपल टेस्ट गरी डाउन सिन्ड्रोम वा अन्य क्रोमोजोमल असामान्यता भएका बच्चा जन्मने जोखिम पत्ता लगाउन गरिन्छ ।
के खाने ?
– सागसब्जी, मौसमी फलफुल प्रशस्त मात्रामा खाने ।
– प्रोटिनको लागि दाल, अण्डा, दुध, माछामासु खानुपर्छ ।
– फलाममा पकाएको खानेकुरा खान सकिन्छ । यसले कमी भएको आइरनको पुर्ति गर्छ ।
– पानी दुई देखि तीन लिटर खानुपर्छ । वाकवाक लागिरहेको छ भने जीवनजल खान सकिन्छ ।
– चिकित्सकले सुझाएको फोलिक एसिड, भिटामिन र आइरनचक्की नछुटाइ खानुपर्छ ।
के नखाने ?
– अत्यधिक चिया, कफीको सेवन नगर्ने ।
– धुम्रपान र मदिरापानबाट टाढै रहने ।
– नुन बढी भएको फास्ट फुड, प्याकेटको खानेकुरा नखाने ।
– काँचो मासु, नपाकेको अण्डा सेवन नगर्ने ।
– जथाभावी औषधि नखाने ।
चिकित्सकलाई तत्काल भेट्नुपर्ने अवस्था
निम्न लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।
– यो महिनामा थोरै रगत देखिएमा पनि उच्च जोखिम रहेको मानिन्छ ।
– पानी समेत पचाउन नसक्ने, तीव्र पेट दुखाई, ज्वरो आउनु र पिसाब पोल्नु ।
– योनीको पानी दही, चउलानीको छेक्रा बग्ने, चिलाउने र गन्हाउने हुनु ।
– बेहाशी हुनु, चक्कर लाग्नु ।
परिवारको साथ र सहयोग
पहिलो नयाँ बन्दै गरेकी आमाको लागि श्रीमान र परिवारको साथको एकदमै आवश्यकता पर्छ । यो बेला वाकवाक र चक्कर लाग्दा शरीर सन्चो नहुने हुँदा आराम गर्न लगाउने, कामहरू आफै गरिदिने, मनलागेको खानेकुरा बनाइदिने, उनले नभने पछि बुझेर उसले गरिरहेको कामहरू गरिदिने गर्नुपर्छ ।
हर्मोनल उत्तारचढावका कारण गर्भवती महिला अत्यधिक रिसाउने र झर्किने हुनसक्छ । कतिपय अवस्थामा त सही र गलत हो भनेर छुटाउन पनि नसक्ने हुनसक्छिन् । यस्तोमा उनलाई गाली होइन उसको भावना बुझेर सम्झाउने र सहज वातावरण सिर्जना सबै मिलेर गरिदिनुपर्छ ।
त्यस्तै, तनावको कुरा नसुनाउने र चिकित्सकलाई भेट्न जाँदा एक्लै नपठाइकन जसको फुर्सद छ त्यही व्यक्ति जानुपर्छ । परिवारको सदस्यमा पनि श्रीमानले हरेक तवरबाट साथ, माया र हेरचाह दिनुपर्छ ।
(चिकित्सकको फलोअप कुनै पनि बेला छुटाउनु हुँदैन । किनकि, एउटा छुटेमा पनि जटिलता आएको थाहा नभई पछि समस्या हुनसक्छ ।)
ध्यान दिनुपर्ने कुरा
– देब्रे कोल्टे फर्केर सुत्नुपर्छ ।
– निद्रा पर्याप्त पुर्याउने कोसिस गर्ने ।
– ढाड सिधा पारेर बस्ने ।
– हल्का फुल्का व्यायाम, जस्तै १५ देखि २० मिनेटको हिँडनुपर्छ ।
– हल्का संगीत सुन्ने, पढ्ने वा बाहिर घुम्ने ।
– पोषिलो खानेकुरामा मात्र जोड दिने ।
– भारी सामान नउठाउने, झट्ट उठ्ने बस्ने नगर्ने र बिस्तारै उठ्ने ।
– तोकिएको सप्लिमेन्ट र नियमित जाँचलाई निरन्तरता दिने ।
सावधानी
– भारी वस्तुहरू नउठाउने।
– पेटलाई टेकेर नसुत्ने ।
– कुनै पनि औषधि लिनुपुर्व चिकित्सको परामर्श लिने ।
– तनाव नलिने र तनावपूर्ण वातावरणमा नबस्ने ।
– सडक अवरुद्ध भएको स्थानमा नजाने ।
– लामो समयसम्म बसेर वा उभिएर काम नगर्ने ।
प्रतिक्रिया 4