+
+
Shares
खेल :

डन्डिबियो : एक रैथाने खेल

वि.सं. २०७४ जेठ ८ मा मन्त्रिपरिषद् बैठकले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुपूर्व डन्डिबियो र कबड्डीलाई राष्ट्रिय खेल मानिन्थ्यो ।

ललित केसी ललित केसी
२०८२ असार १४ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखले सल्यान जिल्लाको लामाचौर गाउँको बाल्यकालको स्मृतिहरू र रैथाने खेल डन्डिबियोको इतिहास र वर्तमान अवस्थालाई वर्णन गर्दछ।
  • डन्डिबियो खेलको सुरुवात बेलायतबाट भएको र नेपालको इतिहाससँग यसको सम्बन्ध रहेको उल्लेख गरिएको छ।
  • आधुनिक प्रविधिले रैथाने खेलहरूलाई प्रभावित पार्दै सामाजिक र सांस्कृतिक संरक्षणको आवश्यकता औंल्याइएको छ।

महिना दिन अगाडिको कुरा हो; म मेरो बाल्यकालका सुनौला दिनहरू बिताएको ठाउँ लामाचौर पुगें । सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नं. ५ मा पर्ने यो गाउँ साविकको लेखपोखरा गाविसको अधिकांश ठाउँ सहित साविकको कोर्बाङ झिम्पे गाविस नियाल्ने भ्यु पोइन्टको रूपमा पहाडको शिरमा छ ।

हिंडेर माथिल्लो थुम्कोमा पुगेपछि आउने फाँटमा १५/२० घर भएको अर्को तारुपरे गाउँ भएता पनि त्यो गाउँमा भन्ने जम्मा ४ घर छन् ।

त्यहाँ पुग्दा मलाई स्मृतिको पानामा लागेको धुलो टक्टक्याए जस्तो लाग्दैथ्यो । (पंक्तिकार मात्रै एक बीस काटेको भएतापनि दशक अगाडिका कुरा पनि निकै पुराना लाग्न सक्छन् ।) अहिले राष्ट्रिय प्रसारण लाइन पुगिसकेको छ ।

बत्ती थिएन उबेला । दिनको उज्यालो देखिंदासम्म घरको मूलढोका र रातमा तिनआँखे टुकिमारो बालेर पढेको, काठको गाडीमा बसालेर दाइले घरका करसा–करसामा सयर गराएको, गाउँमा पानी नआउँदा भीरको लामो बाटो पानी पँधेरो गरेको, वर्षात्‌मा पानी पर्दा पारिपट्टि तिर्थो बासेको, सिस्नो घर भित्र लिनुहुँदैन भन्ने मिथका कारण बाहिरै पकाएर आँगनमा बसेर सिस्नोढिंडो खाइरहेको त्यो मिर्मिरे साँझमा नजिकै ‘ट्वाक् ट्वाक् ट्वाक्’ गर्दै चरो बासेको । जसको मिर्मिरे साँझमा त्यहाँ आएर बास्नु एक सिजन नित्यकर्म जस्तै हुन्थ्यो ।

बाल्यकालले त्यसै पनि मोहित बनाउने गर्छ । सामान्य लाग्ने यी घटना त्यो समयमा त्यो ठाउँमा त्यसरी घटेको सम्झिंदा प्रेमिल लाग्ने । भलै त्यतिबेला दु:ख पाएका घटना नै किन नहुन् ।

कुनै समुदायलाई आफ्नो इतिहास र पहिचानसँग किन त्यति धेरै लगाव हुन्छ भनेर म आफ्नै नोस्टाल्जिक मूड सम्झेर अन्दाज लगाउन सक्थें ।

यादहरूका अनेक किस्साहरूको भीडभाड मस्तिष्कमा चलिरहेको छ । म घुम्दै उबेला चारघरको साझा धारो भएको ठाउँ गएँ । अहिले घरघरमा पानी पुगेपछि त्यहाँ धारो, पाइप केही रहेनछ । छ त धारो भएको इतिहास झल्किने संरचना, रित्तो पोखरी र पोखरीसम्म पानी पुग्ने कुलेसोको आकार । हो त्यही पोखरीको छेवैमा एउटा सानो चौर देख्दा याद आयो ‘यारी, दोरी, तेरी, चौरी, चम्फा, झेक, झनक, लाल’ भन्दै आठ एकाई नाप्दै बैयटी खेलेको । डन्डिबियोलाई रैथाने भाषामा हाम्रोतिर बैयटी भनिन्छ ।

डन्डिबियो

डन्डिबियो नेपालीहरूको रैथाने खेल हो । वि.सं. २०६४ मा राखेप अन्तर्गत नेपाल डन्डिबियो संघको स्थापना भएपछि त्यसले केही नियम बनाएर परिष्कृत गरे पनि हरेक रैथाने खेलका नियम जस्तै डन्डिबियोका पनि त्यस गाउँले ऐतिहासिक रूपमा निर्माण गरेका नजिरहरू नै नियम हुन्थे ।

प्राय:जसो बियोदेखि खोपिल्टोसम्म नाप्ने एकाईलाई एको, दुबो, तिबो, झारो, भाँचो, छैमल, सिठी, पिरे भनिदों रै’छ हामी भने यारी, दोरी, तेरी, चौरी, चम्फा, झेक, झनक, लाल भन्थ्यौं । कति लालका खेल सकिने भन्ने खेल सुरु हुनुपूर्व निर्धारण हुन्थ्यो र निर्धारित लाल पहिला पुर्‍याउने व्यक्ति/समूह खेलको विजेता हुन्थ्यो ।

केही साझा नियमका साथै रैथाने खेलका स्थान सापेक्षित आ-आफ्नै नियम हुन्छन् । हाम्रोतिर पनि नियम निकै रोचक हुन्थे । बियो हिर्काउनेले हिर्काएको बियो हरायो भने विपक्षीले ‘बैयटी हराए पाल्जा’ (पालो जाने) र हिर्काउनेले ‘बैयटी हराए पाल्नजा’ भन्ने बडो रमाइलो प्रचलन थियो । जुन पक्षले पहिला भन्छ उसैको पक्षमा निर्णय हुन्थ्यो । बियो भाँचियो वा बियो हिर्काउँदा डन्डी हातबाट फुत्कियो भने पनि त्यसैगरी पहिला कसले भन्ने रस्साकस्सी हुन्थ्यो ।

खोपिल्टोबाट हिर्काएको बियो विपक्षीले समात्यो भने कि हिर्काउनेको पालो जान्थ्यो कि छोप्नेले तीनचोटिसम्म खेल्न पाउँथ्यो । तर खेल शुरू हुनुपूर्व सर्वसम्मतिले यी केही नियमहरू हटाउन वा संशोधन गर्न पनि सकिन्थ्यो ।

औपचारिक घोषणा भएको केही तथ्य नभए तापनि वि.सं. २०७४ जेठ ८ मा मन्त्रिपरिषद् बैठकले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुपूर्व डन्डिबियो र कबड्डीलाई राष्ट्रिय खेल मानिन्थ्यो ।

डन्डिबियो खेलको सुरुवात इतिहासको कुन समयबाट भयो भन्ने यकिन छैन । सन् १८५० मा प्रधानमन्त्री जंगबहादुर राणा युरोप भ्रमण गएका बखत बेलायतकी महारानीलाई सौगातस्वरुप दिन नेपाली संस्कृति र जनजीवन झल्किने सामान पठाउन उतैबाट आदेश दिएछन् । आदेशबमोजिम नेपालबाट पठाइएका सामानहरूमा डन्डिबियो खेलिने दुई काठ पनि भएको दस्तावेजीकृत इतिहासमा रहेछ । (त्रिरत्न मानन्धर, नेपालको इतिहासमा जंगबहादुर)

भलिबल खेलको सुरुवात सन् १८९५ मा अमेरिकी प्रशिक्षक विलियम जर्ज मोर्गनले गरेका थिए ।

यसको मतलब हालको हाम्रो राष्ट्रिय खेल भलिबलको जन्म हुनुभन्दा ४५ वर्ष अगाडि नै हाम्रो डन्डिबियो उपहारको रूपमा बेलायत पुगिसकेको थियो । अझ डन्डिबियो संघका तत्कालीन कार्यवाहक अध्यक्ष मोतीराम फुयालका अनुसार हाम्रा पुर्खाहरूले लाहुर जाँदा डन्डिबियो सँगै लिएर गएका कारण भारत, पाकिस्तान, म्यानमार(बर्मा) सम्मै यो खेल विस्तार भएको दाबी गरेका छन् । (ईकान्तिपुर, १२ भदौ, २०७२ ‘खेल्ने हो त डन्डिबियो ?’)

नेपालीहरू लाहुर जान थालेको त जंगबहादुरको भन्दा अझ पुरानो इतिहास हो ।

यी प्रतिनिधिमूलक उदाहरणहरू यही बिन्दुबाट शुरु भएको भन्नु नभई डन्डिबियोको इतिहासलाई अझ सुदूर समयतिर चियाउने आँखीझ्याल हुन् ।

अन्त्यमा, औपनिवेशिक स्वरुपको बाह्य संस्कृति विस्तारले अन्य संस्कृति जस्तै हाम्रा रैथाने खेल संस्कृति पनि किनाराकृत हुँदैछन्।

हाम्रा रैथाने खेलहरू ऋतु अनुसारका हुन्थे । याम बद्लिएसँगै खेल बद्लिन्थ्यो ।

चौरमा दुबो पलाउने बित्तिकै केटाहरू खुट्टा खुम्च्याएर पछाडिबाट खुट्टाको बुढी औंला हातले र त्यही हातको बुढी औंला अर्को हातले समातेर एकअर्कामा धकेलाधकेल चलिहान्थ्यो । ‘भाले जुधाइ’ अर्थात् ‘घुर्रे खेल्ने’ भन्थ्यौं हामी त्यसलाई ।

केटीहरू पैंयुका पात उनेर चुन्नी बनाउने र बुर्कुसी मारेर खेल्ने गर्थे । त्योभन्दा केही अघि फागुनतिरबाट ‘चारी’ खेल्न पाँच वटा साना गोला ढुंगा गोजीमा बजाउँदै बिहान गोठालो गइन्थ्यो ।

आजभोलि मोबाइलमा एक्लै झुम्मिएर फ्रि-फायर, पब्जी खेल्ने बच्चाहरूको मनोविज्ञानले उनीलाई सामाजिक अन्तरघूलन हुनबाट अलग्याउँदैछ र थपिंदैछ अनावश्यक आर्थिक व्ययभार ।

रैथाने खेलले स्थानीय कला, सीप, संस्कृति सहित सामाजिकीकरणको प्रवर्धन गर्नुका साथै ती प्रकृतिमैत्री पनि छन्, न त आर्थिक व्ययभार नै थप्छन् ।

चलचित्र ‘डमरुको डन्डिबियो’ मा ‘एमए’ पास गरेको ‘डमरु’ भन्ने पात्र गाउँ फर्किएर ‘डन्डिबियो’ खेलको पुनरुत्थान गर्छ । थाहा छैन नेपालका ग्रामीण गाउँहरूमा कति रैथाने खेल ब्युँताउन कति डमरुहरू चाहिने हुन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?