
News Summary
Generated by OK AI. Editorially reviewed.- नविन चौहानले युट्युबमार्फत आफ्नो सिर्जना देखाउँदै ठूलो पर्दामा सफल भए।
- अभि साम्पाङ र अनिल न्यौपानेले युट्युबलाई आफ्नो कामको प्रचार र प्रमाणको माध्यम बनाएका छन्।
- इन्डी फिल्ममेकरहरूले युट्युबलाई स्वतन्त्रता र अवसरको स्रोत मान्दै आफ्नो कला प्रस्तुत गर्छन्।
म्युजिक भिडियोहरूमा ‘नाच्ने’ शैली मात्र भइरहेको अवस्थामा उनी आउँछन् । र, नाचको साटो कथाहरू भन्न एउटा म्युजिकल फिल्म बनाउँछन् । जुन हिट हुन्छ । अनि एकपछि अर्को उस्तै दमदार म्युजिकल फिल्महरू बनाउँछन् । ती सबै हिट हुन्छन् । अनि एउटा फिचर फिल्म बनाउँछन् । त्यो पनि हिट हुन्छ ।
यो कथा नविन चौहानको हो । सन् २०१८ ताका आफ्नो सिर्जना देखाउन गतिलो माध्यमको रूपमा चौहानले युट्युब (आर्टमान्डु) रोजेका थिए । अहिले उनी ठूलो पर्दामा पनि सफल भइसकेका छन् ।
000
भारतको मुम्बईमै हुँदा अनिल न्यौपानेले युट्युबमा आफ्नो कामहरू राख्न थालेका थिए । विशेषत: उनी सर्ट फिल्म राख्थे । म्युजिक भिडियोहरू पनि राख्थे ।
पछि युट्युबमा राखेका तिनै काममार्फत उनलाई थप काम मिल्न थाल्यो । उनी नेपाल फर्के । साथीहरूसँग मिलेर एउटा प्रोडक्सन कम्पनी खोले । अहिले त्यस कम्पनी, ‘ज्याज प्रोडक्सन’ ले नेपालको भिडियो विज्ञापनमा तहल्का पिटिरहेको छ ।
कलाकार बन्ने सपना बोकेर भीष्म जोशी काठमाडौँ पसेका थिए । कलाकारिता गरिरहँदा लामो समय उनी डेरा खोजेर बसेनन् । साथीहरूसँगै बसे । पछि आफ्नै डेरामा बसे पनि त्यसलाई कहिल्यै आफ्नो जस्तो मानेनन् ।
उनको त्यही अनुभवले ‘कोठा’ जन्म्यो । ‘कोठा’ उनको लेखन/निर्देशनमा बनेको म्युजिकल फिल्म हो । ‘कोठा’लाई उनले आफ्नै कम्पनी आर्टघरको युट्युब च्यानलमा राखेका छन् । यसमा शहरमा सङ्घर्षरत युवाहरूको साझा पीडा देखाइएको छ ।
अहिले उनलाई उद्योगमा ‘कोठा’ले चिनाइरहेको छ ।
000
सिकज्यामका लागि अभि साम्पाङ राईले ‘हेरेको हेर्यै’ नामक म्युजिक भिडियो बनाए । त्यसबेला उनी भर्खर हङकङबाट नेपाल फर्केका थिए । ‘एउटा भिडियो बनाउँछु, अनि फर्कन्छु’ भन्ने सोच राखेर उनी उक्त परियोजनामा जोडिएका थिए । तर, युट्युबमा राखिएको उक्त भिडियो चल्यो । त्यसपछि उनलाई अरू प्रोजेक्टहरू आउन थाले । उनी यतै रोकिए ।
त्यसपछि ‘चिनोटेल्स’ नामक कम्पनी खोले । अहिले उनको यस कम्पनीले पूर्ण राई, एज ब्यान्ड, स्वर, एकदेव लिम्बु लगायतका चर्चित कलाकारहरूको म्युजिक भिडियो बनाइसकेको छ ।

अभिषेक सुवेदीले पनि आफ्नो ससाना कामहरू युट्युबमा राखिरहेका थिए । त्यसबाहेक केही म्युजिक भिडियो निर्देशन गरिरहेका थिए । त्यस्तैमा उनलाई अंकिता पुनको ‘माइली’को म्युजिक भिडियो निर्देशन गर्ने मौका आउँछ । उनले लाहुरे जोडीको कथा देखाएको भिडियो बनाउँछन् । जुन निकै लोकप्रिय हुन जान्छ । त्यसयता सुवेदीले पछाडि पर्खनु परेको छैन ।
उनको आफ्नै कम्पनी मिडिया पोर्ट त अघि बढिरहेको छ नै, सँगै उनले उद्योगमा राम्रो काम पनि पाइरहेका छन् ।
000
माथिका सबै जना कुनै समय इन्डी अर्थात् स्वतन्त्र फिल्ममेकर थिए । अहिले पनि धेरैलाई इन्डी फिल्ममेकर भन्न सकिन्छ ।
सामान्यतया ठूला स्टुडियो वा व्यावसायिक निर्माण कम्पनीहरूबाट कुनै पनि सहायता नलिई स्वतन्त्र रूपमा काम गर्ने व्यक्तिहरू नै इन्डी फिल्ममेकर हुन् ।
प्रश्न आउँला, निर्देशक चौहानबाहेक कसले फिचर फिल्म बनाएका छन् ? म्युजिक भिडियोमा पनि कथावाचन गरिरहेका हुनाले माथिका पात्रहरूलाई इन्डी फिल्ममेकर भन्न सकिन्छ ।
केही दशकअघिसम्म आफ्नो काम देखाउन फिल्ममेकरसँग हल वा फेस्टिभल मात्र विकल्प थियो । इन्टरनेटको विकासपछि युट्युब, भिमियो, रम्बल जस्ता भिडियो शेयरिङ प्लेटफर्म आए ।
हुन त फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालमा पनि भिडियो शेयर गर्न सकिन्छ । तर यी प्लेटफर्ममा भिडियो सेयर गर्ने विकल्प आएको भर्खर मात्र हो । त्यसमाथि नेपालमा युट्युबबाहेक अन्य भिडियो शेयरिङ टुल्स त्यति चर्चामा छैनन् । र, यो पनि हालैका वर्षहरूमा मात्र आक्रमक रुपमा नेपाली प्रयोगकर्ताबीच प्रयोगमा आएको हो ।
आजकल ओभर द टप (ओटीटी) प्लेटफर्महरू पनि नेपालमा छन् । तर, त्यसमा हलबाट उत्रेका अथवा सीमित व्यक्तिहरूको मात्र प्रोडक्ट छन् । यसकारण इन्डी फिल्ममेकरका लागि नेपालको सन्दर्भमा ओटीटी प्लेटफर्म माध्यम बन्न सकेको छैन ।
त्यसको अभाव युट्युबले परिपूर्ति गरिरहेको छ । धेरै फिल्ममेकरका लागि युट्युब आयको स्रोत बनेको छ । काम देखाउने माध्यम बनेको छ । सिक्ने अनि सिकाउने माध्यम बनेको छ ।

काम देखाउने मञ्च
पछिल्लो सुपरहिट ‘ऊनको स्वीटर’का निर्देशक तथा आर्टमान्डुका सीईओ नविन चौहानले युट्युबलाई आफ्नो काम देखाउने मञ्च मानेको सुनाउँछन् । हुन पनि हो, तीनपाते, के माया लाग्छ र ?, बाफ लगायतका धेरै गीतहरू युट्युबको कारण उनले देखाउन पाएका थिए ।
‘सन् २०१७/१८ तिर नेपालमा युट्युब निकै बुम भइरहेको थियो । तर मान्छेहरूले प्रिमियम क्वालिटीको गीत तथा भिडियो हेर्न पाइरहेका थिएनन्’ उनी सुनाउँछन्, ‘त्यसैले केही नसोची कथा भन्ने गरी म्युजिकल फिल्महरू हाल्न थालियो । पछि हिट भएपछि पछाडि हेर्नु परेन’
त्यस्तै युट्युबलाई उनी अनौपचारिक सिकाइको माध्यम पनि मान्छन् । प्राविधिक सीपहरू युट्युबबाट नै सिक्न सकिने भएकाले सिकाइको माध्यम भएको उनको भनाइ छ ।
यसैगरी फिल्म बनाउनेसम्मको प्रेरणा, ऊर्जा पनि युट्युबाट मिलेको उनी सुनाउँछन् । ‘एउटा म्युजिक फिल्म बनाउँदा अर्को बनाउन पनि पैसा उठ्थ्यो । त्यो आर्थिक पाटो भयो भने,’ थपमा उनी भन्छन्, ‘हामीलाई हेर्ने एउटा दर्शक वर्ग पनि तयार भइरहेको थियो । त्यसले हामीलाई फिल्म बनाउने पनि कतै न कतैबाट हौसला दिएको थियो’
भर्सटाइल प्लेटफर्म
ज्याज प्रोडक्सनका सहसंस्थापक तथा सीईओ अनिल न्यौपाने युट्युबलाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिने बताउँछन् । सन् २०१६ ताका उनले ‘बब’ नाम सर्ट फिल्म बनाएका थिए ।
उनले ‘बब’लाई विभिन्न फिल्म फेस्टिभलहरूतिर पठाएका थिए । तर, कुनैमा पनि छनौट भएन । त्यसपछि उनले युट्युबमा अपलोड गरे । लगत्तै एक भारतीय फिल्ममेकरसँग ‘बब’ चोरीको विषय सतहमा आयो ।
त्यसमा ती फिल्ममेकरले फेस्टिभलबाट फिल्म चोरी गरेको अनिल सुनाउँछन् । र त्यस काण्डमा आफूले युट्युबमा फिल्म अपलोड गरेर प्रमाण पेश गर्न धेरै उपयोगी भएको अनिलको भनाइ छ ।

त्यसैगरी सोही वर्ष आफ्नो रुचिहरूलाई प्रतिबिम्बित गर्ने गरी उनले एउटा भिडियो बनाए । त्यहाँ उनले आफ्नो उत्कृष्ट कामहरू समेटेका थिए । त्यो काम हेरेर उनलाई मन पर्ने आयरल्यान्डका विन्डर एड नामक कलाकारदे सहकार्यको प्रस्ताव गरे । त्यसलाई अनिलले स्वीकार नगर्ने कुरै भएन !
त्यस्तै उनले आफूलाई मन पर्ने विधाका केही सर्ट फिल्म बनाएर युट्युबमा राखे । जुन काम हलमा आधारित भएर गर्नु परेको भए सम्भव हुने थिएन । आजकल भने उनले आफ्नो कामहरूको ‘बिहाइन्ड द सिन’ युट्युबमा हाल्ने गर्छन् । पर्दा पछि कसरी काम गरिन्छ भन्ने शिक्षा दिन त्यसो गर्ने गरेको उनको भनाइ छ ।
स्वतन्त्रता र स्वाधीनता
आर्टघरका सहसंस्थापक भिष्म जोशी भने युट्युबलाई स्वतन्त्रता र स्वाधीनता दिने प्लेटफर्म मान्छन् । यसमा आफ्नो काम अपलोड गर्दा राज्यको सेन्सरशिप नहुने, निर्माता/वितरक/हलवालाहरूसँगको तनाव नहुने भएकाले आफूले त्यसो भनेको उनी पुष्टाईँ गर्छन् ।
अहिलेसम्म उनले आर्टघरमा ‘समय र उमेर’ र ‘कोठा’ गरी दुई वटा म्युजिकल फिल्म राखेका छन् । आफूलाई कथा भन्न मन पर्ने र त्यसको राम्रो माध्यम युट्युब भएकाले आफू यता तिर मोडिएको पूर्व नाटककलाकार जोशी सुनाउँछन् ।

‘फिल्म फेस्टिभलतिर आफ्नो काम पठाउँदा सीमित दर्शक पाइन्छ । तर युट्युबमा प्रत्यक्ष दर्शकसँग जोडिन पाइन्छ,’ उनी सुनाउँछन्, ‘अनि कम बजेट, सानो टिम र सीमित उपकरणमा पनि काम गरेर राख्न पाइन्छ । राम्रो गए पैसा पनि आउँछ । अनि ब्रान्डिङ र पोर्टफोलियो त हुने नै भयो।’
उद्योगका लागि सेतु
अभि चाम्लिङ राई र अभिषेक सुवेदीले आफ्नो युट्युब च्यानलमार्फत त्यति काम सार्वजनिक गरेका छैनन् । तर उनीहरूलाई काम आइरहेको भने युट्युबकै कारण हो । चिनोटेल्स अहिले चल्तीका कलाकारहरूको भिडियो बनाउन परिचित हुँदैछ । यता मिडिया पोर्ट क्लाइन्टहरूको वृत्तचित्र, म्युजिक भिडियो बनाउन व्यस्त छ ।
अन्य पक्षको काम गरिदिँदा उनीहरूले आफ्नो च्यानलमार्फत नै अपलोड गर्छन् । त्यसले गर्दा आफ्नो च्यानलहरू खासै सक्रिय नदेखिएको राई र सुवेदी सुनाउँछन् । लकडाउनको समयमा अभिषेकले आफ्नो च्यानलमा कविता भिडियोहरू राख्न थालेका थिए । तर जसै लकडाउन खुल्यो, च्यानलमा उनले समय दिन पाएनन् । च्यानल निष्क्रिय हुन गयो ।
यता अभिको चिनोटेल्सको युट्युब च्यानल केही सक्रिय हुन थाल्दै छ । त्यसमा उनले आफूले गरेका कामहरूको ‘बिहाइन्ड द सिन’ राख्न थालेका छन् । त्यसो गर्दा च्यानल पनि सक्रिय हुने र दर्शकलाई एक प्रकारले शिक्षा पनि प्रदान गरिने उनको भनाइ छ ।

बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड
समग्रमा इन्डी फिल्ममेकरहरूले युट्युबलाई यस उखानटुक्कासँग तुलना गर्छन् । यद्यपि निचोड के छ भने, सुरुका दिनहरूमा आउने नतिजाका आधारमा आफ्नो यात्राको न्याय गर्नु हुन्न । त्यसो गर्दा काम गुणस्तरीय नहुने उनीहरूको बुझाइ छ ।
बरु युट्युबले दिएको अवसरलाई के-कसरी आफ्नो फाइदाका लागि उपयोग गर्न सकिन्छ, त्यता ध्यान दिनुपर्ने उनीहरूको निष्कर्ष छ ।
प्रतिक्रिया 4