
२४ असार, काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र स्ट्यान्डर्ड चार्टर्ड बैंकले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन र त्यसको सब्सिडियरी डेटा वर्ल्ड लिमिटेडमा करिब ४ अर्ब रुपैयाँ (२ करोड ९० लाख अमेरिकी डलर) ऋण लगानी गर्ने भएका छन् ।
यो लगानीले नेपालको फाइबर नेटवर्क विस्तार तथा नयाँ डेटा सेन्टर निर्माण हुने आईएफसीले जनाएको छ । ‘यसले देशभरि इन्टरनेटको पहुँच विस्तार भई डिजिटल विभाजन कम गर्न तथा समावेशी आर्थिक विकास हासिल हुन मद्दत पुग्ने छ,’ आईएफसीले भनेको छ ।
‘कनेक्टिभिटी नै अवसरसम्म पुग्ने सेतु भएको कुरामा हामी विश्वास गर्छाैं । आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको यो रणनीतिक साझेदारीले नेपालभरि कनेक्टिभिटीको सेतु अझ बलियो बन्नेछ,’ वर्ल्डलिंकका संस्थापक तथा अध्यक्ष दीलिप अग्रवालले भने ।
यो सहकार्य डिजिटल रूपमा सशक्त समाज निर्माण गर्ने आफूहरूको साझा प्रतिबद्धताको प्रमाण भएको उनले बताए ।
आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्ने करिब ४ अर्ब लगानी देशभरि फाइबर नेटवर्क विस्तार गर्न तथा १० ठाउँमा आधुनिक डेटा सेन्टर निर्माणमा खर्च हुने वर्ल्डलिंकका प्रबन्धक सुनिल यादवले जानकारी दिए ।
अर्थतन्त्रका धेरै क्षेत्र प्रविधिमा निर्भर हुँदै गएको परिस्थितिमा आर्थिक वृद्धिका लागि डेटा सेन्टर पूर्वाधार अत्यन्तै महत्त्वपूर्ण हुने अपेक्षा छ । आईएफसी र स्ट्यान्डर्ड चार्टर्डको लगानीबाट निर्माण हुने पूर्वाधार आईएफसीको एज–प्रामाणिक हुने जनाइएको छ ।
फाइबर नेटवर्क विस्तार तथा अत्याधुनिक डेटा सेन्टर देशभरि निर्माण हुँदा त्यसले नेपालमा दिगो र नवप्रवर्तकारी वृद्धिको नयाँ मापदण्ड तय गर्ने पनि आईएफसीले जनाएको छ ।
‘यो लगानी नेपालको १६औं राष्ट्रिय योजना तथा डिजिटल नेपाल फ्रेमवर्कको सर्वसुलभ इन्टरनेट पहुँच, एकीकृत पूर्वाधार विकास र प्रविधिको उपयोग मार्फत सामाजिक–आर्थिक उन्नति हासिल गर्ने सरकारको दृष्टिकोण अनुरूप छ,’ दक्षिण एसियाका लागि आईएफसीका क्षेत्रीय निर्देशक इमाद एन फाखुरीले भने ।
सेवा नपुगेका क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्ने, गुणस्तरीय रोजगारी सिर्जना गर्ने, नेपालको डिजिटल रूपान्तरण, कनेक्टिभिटी र आर्थिक वृद्धिमा सहयोग गर्न पाउँदा आईएफसी खुसी भएको उनले बताए ।
नेपालको डिजिटल क्षेत्रले नवप्रवर्तन र वृद्धिको सम्भावना बोकेको आईएफसीका एसिया तथा प्रशान्त क्षेत्रका पूर्वाधार तथा प्राकृतिक स्रोत विभाग निर्देशक विक्रम कुमारले बताए ।
‘डिजिटल प्रविधिको पूर्णआर्थिक लाभ प्राप्त गर्न व्यापक अनुकूलन र पहुँच आवश्यक छ, विशेषगरी ग्रामीण क्षेत्रमा जहाँ फिक्स्ड ब्रोडब्यान्ड पूर्वाधार अझै सीमित छ । डेटा सेन्टर पूर्वाधारले यो रूपान्तरणलाई सहयोग गर्ने छ,’ उनले भने ।
यो सहकार्य नेपालको डिजिटल पूर्वाधार सुदृढ गर्नेतर्फको महत्त्वपूर्ण कदम भएको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत तथा हेड अफ कभरेज (नेपाल) गोरख राणाले बताए ।
‘देशभित्र डिजिटल पूर्वाधारमा लगानी गरेर हामी इन्टरनेट पहुँचमा उल्लेखनीय सुधार ल्याउन र देशभरि ब्रोडब्यान्ड तथा डेटा सेन्टरको क्षमता विस्तार गर्न चाहन्छौं, जसबाट विश्वव्यापी अवसरहरू खोलिनेछन्,’ उनले भने ।
आईएफसी, विश्व बैंक समूहको निजी क्षेत्रमा लगानी गर्ने संस्था हो । यसले १ सयभन्दा बढी देशमा काम गर्ने जनाएको छ । आर्थिक वर्ष २०२४ मा आईएफसीले विकासशील देशका निजी कम्पनी तथा वित्तीय संस्थालाई कुल ५६ अर्ब अमेरिकी डलर बराबर ऋण प्रतिबद्धता जनाएको थियो ।
सन् १९९५ मा स्थापना भएको वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) हो । अहिले वर्ल्डलिंकले १० लाखभन्दा बढी घरधुरी र हजारौं संस्थालाई सेवा दिइरहेको जनाएको छ ।
वर्ल्डलिंकले देशभरि ७ हजार ५ सयभन्दा बढी स्थानमा फाइबर नेटवर्क विस्तार गरेको छ भने ५ हजार ५ सयभन्दा बढी रोजगारी सिर्जना गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय बैंक हो । यो एक अग्रणी अन्तर्राष्ट्रिय बैंकिङ समूह हो जसले विश्वका ६० देशमा काम गरिरहेको छ ।
प्रतिक्रिया 4