
News Summary
Generated by OK AI. Editorially reviewed.- जौन एलिया, एक पाकिस्तानी गजलकार, कवि र दार्शनिक, १४ डिसेम्बर १९३१ मा भारतको अमरोहामा जन्मिएका थिए र १९५७ मा पाकिस्तान सरे।
- उनी उर्दू, अरबी, फारसी, संस्कृत, हिब्रु, सिन्धी र अंग्रेजी भाषामा निपुण थिए र आफ्नो गजल तथा शायरीमा गैरपरम्परागत शैली प्रस्तुत गर्थे।
- जौन एलियाको मृत्यु ८ नोभेम्बर २००२ मा भएको थियो र उनको साहित्यिक ख्याति सामाजिक सञ्जाल युगमा बढ्दै गएको छ।
भनिन्छ साहित्य, सिर्जनशीलता, कला अनि विचारको कुनै भौगोलिक सीमा र कुनै निश्चित अवधि हुँदैन। यी विधाहरू आफैंमा तत्कालीन परिवेश, वस्तुस्थिति, सामाजिक तथा शासकीय अवस्थाको उपजको रूपमा रहन्छ, जुन आउने कालखण्डका पाठकहरूका लागि मार्गदर्शनको रूपमा रहने गर्दछ। सोही सन्दर्भमा आज मैले पाकिस्तानका एक फरक तथा खुदरंग गजलकार जौन एलियाको बारेमा लेख्ने जमर्को गरेको छु।
‘जो गुजारी ना जा सकी हक से, हक ने वो जिंदगी गुजारी है’
उपरोक्त शेर उर्दूका एक महान् पाकिस्तानी गजलकार, कवि, लेखक, दार्शनिक, जीवनीकार तथा वक्ता जौन एलियाले लेखेको गजलबाट गरिएको साभार हो। जौनको जन्म १४ डिसेम्बर १९३१ मा भारतको उत्तरप्रदेशको अमरोहामा भएको थियो। पछि भारत पाकिस्तानको विभाजन पश्चात् सन् १९५७ मा पारिवारिक परिवेश र दबाबका कारण पाकिस्तानको कराची बसाइँ सरे। उर्दू, अरबी, फारसी, संस्कृत, हिब्रु, सिन्धी र अंग्रेजी भाषामा निपुणता हासिल गरेका जौनले तर्कशास्त्र, इस्लामी इतिहास, सुफी परम्परा र पश्चिमी साहित्यको गहिरो अध्ययन गरेका थिए।
‘प्रेमको मासुमियत र क्रान्तिकारी भावनाको अनुपम संयोजन’
मुझमे आके गिरा था एक जख्मी, जाने कब तक पडा रहा मुझमे
एउटा सम्भ्रान्त तथा बौद्धिक परिवारमा जन्मिएका जौको पूरा नाम सय्यद हुसैन जौन असगर थियो जुन पछि शायर जगतमा जौन एलिया हुँदै प्रसिद्ध भए। बाल्यकालदेखि नै साहित्यमा रुचि राख्ने जौनले पहिलो हरफ(शायरी) ६ वर्षको कलिलो उमेरमा लेखेका थिए। भारतसँग लगाव हुँदाहुँदै पारिवारिक दबाबका कारण १९५७ मा पाकिस्तान पुगेका जौन आफ्नो माटो तथा देशलाई कहिल्यै भुलाउन सकेनन्।
उनले भन्ने गर्थे, म पाकिस्तान आएपछि बढी हिन्दुस्तानी भएँ। आजका पुस्ताले उनको देश र माटो प्रेमबाट धेरै कुरा सिक्न सक्ने अवस्था रहेको छ। उनको १९७० मा पाकिस्तानी पत्रकार जाहिदा हिनासँग विवाह भए पनि वैवाहिक सम्बन्ध धेरै टिक्न सकेन। वैवाहिक विछोड, पीडा, एक्लोपन तथा खालीपन जौनले लेखेका शब्दहरूबाट स्पष्ट महसुस गर्न सकिन्छ।
‘मै भी बहुत अजीब हुँ, इतना अजीब की खुदको तबाह कर लिया और मलाल भी नही है’
एकदमै मिजासिलो, एकलकाँटे, रिसाहा, आफैंमा उल्झिएको, आफैंमा हराएको, आफ्नै दुनियाँमा रमाउने जौन आफैंमा एक सम्पूर्ण किसिमका व्यक्ति थिए। गर्मीमा कम्बल ओढ्ने र राति घामबाट जोगिने कालो चस्मा लगाउन रुचाउने जौन आफूलाई अजीब देखाई मानिसको ध्यान केन्द्रित गर्न खुब माहिर थिए ।
उर्दू शायरी तथा जगलमा रहेको परम्परागत मिठास तथा शालीनता भन्दा फरक उनको गजल तथ शायरी आफैं गैरपरम्परावादी तथा घोचपेचले भरिएका छन्। तिखो, मुटु छेड्ने, ठाडो शब्द चयनले उनलाई उर्दू गजल जगतमा छुट्टै स्थान प्रदान गरेको छ। उनी लेख्छन्, ‘क्या सितम है, अब तेरी सुरत गौर करने पे याद आती है’ स्टेजमा टाउको पिट्ने, रुने, कराउने शैली उनका विशेषताको रूपमा रहेको पाइन्छ।
आशिकाना मिजासका धनी जौनको कवितामा प्रेम र पीडाको अजीब तथा अनौठो संयोजन देख्न सकिन्छ। प्रेमले भरिपूर्ण आशिकी मिजाजका धनी जौनले प्रेममा आफूलाई दबेको वा कसैसँग भावनात्मक सौदाबाजी गर्ने भन्दा पनि आफ्नै छुट्टै किसिमको रवाफ भएका गजलकार थिए। आफ्नो छुट्टै प्रस्तुत शैली भएका जौन कवि तथा शायरी सम्मेलनमा सबैको ध्यान आफूतिर तान्न सक्ने कलामा एकदमै प्रखर थिए। उलने आफ्नो जीवनकालमा थुप्रै पुस्तक, कविता तथा गजलहरू लेखे।
सबै धर्मको बारेमा जानकारी तथा ज्ञान भएका जौनको धार्मिक कार्यमा भने खासै रुचि थिएन। उनी धार्मिक समारोहमा एकदमै विरलै देखा पर्ने गर्थे। उनले लेखेका थुप्रै गजलबाट धर्मप्रतिको उनको खासै रुचि नभएको कुरा स्पष्ट बुझ्न सकिन्छ।
जौन लेख्छन्, ‘यु जो तकता है आसमानको तु, कोई रहता है आसमान मे क्या’।
स्मरण शक्ति एकदमै तीक्ष्ण भएका जौन आफैंमा हराउने प्रकृतिका व्यक्ति थिए। एकदमै मिश्रित व्यक्तित्वका उनी आफूलाई शालीन र भद्र देखाउन भन्दा पनि एककिसिमको सतहीपना र ओझापनामा रमाउँथे। कतिपय लेखकहरूले उनलाई उर्दूका खलील जिब्रान भनेर समेत लेखेका छन्। अनुशासित शाब्दिक संयोजनका लागि प्रसिद्ध उर्दू साहित्यलाई उनले आफ्नै पाराको रफनेस, रुखोपन रूपमा प्रस्तुत गर्ने शैलीले उनलाई अन्य समकालीन गजलकार भन्दा अलग स्थान प्रदान गरेको छ।
आजका युवा पिंढीमा निकै प्रचलित रहेको नेपालमा समेत उनको लेख, रचना तथा गजल पढ्ने जमातको कमी छैन। फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको युगमा उनको लोकप्रियता तथा स्वीकार्यता दिनदिनै बढ्दै गरेको पाइन्छ। जौन आफैंमा खुदरंग अर्थात् आफ्नै छुट्टै चाल, ढाल, रंग, ढंग भएका व्यक्ति थिए । उनी समकालीन लेखक भन्दा फरक तथा गैरपरम्परावादी लेखक भएकोले उनको आलोचना गर्नेको पनि कमी थिए। एउटा अन्तरवार्तामा उनलाई सोधियो, तपाईंको पुस्तक खासै बिक्दैन, फलानोको धेरै बिक्छ, के कारण हो ? उनले भने कसको पुस्तक बिक्री हुन्छ भन्दा पनि पुस्तक बिक्छ त्यो ठूलो कुरा हो, आज फलानोको बिक्छ भने भोलि मेरो बिक्छ भनेर जवाफ फर्काए ।
आफ्नो पीडामा रमाउने, आनन्द लिने र त्यसलाई गजल तथा शायरीमा ढाल्ने कलामा एकदमै माहिर थिए। चोट, दर्द, बेचैनी तथा पीडामा समेत रमाई त्यो कुरालाई लेखमा उतार्न सक्ने क्षमताका धनी थिए जौन एलिया। जौन दर्शन र प्रदर्शन दुवै विधामा एकदमै माहिर खेलाडी थिए ।
एउटा प्रौढ, प्राज्ञिक, चेतनयुक्त व्यक्तिलाई समेत आफ्नो लेखाइबाट मन्त्रमुग्ध पार्न सक्ने जौन नयाँ पुस्ताका नयाँ चेतनालाई समेत आफूतिर तान्न सक्ने क्षमतामा निकै निपुण थिए। ८ नोभेम्बर २००२ मा मृत्युवरण गरेका जौनको ख्याति मृत्यु पश्चात् यो सामाजिक सञ्जालको युगमा निकै बढ्दै गएको देखिन्छ।
अन्त्यमा, ‘आसमानो मे गिर गए यानी, हम जमीं की तरफ उडान मे थे।’
प्रतिक्रिया 4