+
+
Shares
सिनेमा :

झरी, सिनेमा र सम्झना

यो शहरमा वर्षा पनि सालैपिच्छे खुम्चिँदै गइरहेको छ । यहाँको आकाशले असिना ओकल्दैन, यहाँ झरी र जस्तापाताको गीत सुनिँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अकिरा कुरोसावाको फिल्म रासोमोनले एक सामुराई हत्या घटनाको चारवटा फरक भर्जन प्रस्तुत गरी सत्यको व्यक्तिपरकता र न्यायको दर्शन प्रस्तुत गरेको छ।
  • फिल्म रासोमोनको कथाले मान्छेको स्मृति र धारणा फरक हुनसक्ने र सत्यको अविश्वसनीयता देखाएको छ।
  • रितुपोर्न घोषको फिल्म रेनकोटले दुई पात्रको झुटो संवाद र विगतको सम्झनालाई वर्षाको पृष्ठभूमिमा भावनात्मक रूपमा चित्रण गरेको छ।

प्राय: हरदिन झ्याल बन्द रहन्छ कोठाको । शरीरमा घामको प्रकाश पर्नेबित्तिकै छाला चहर्‍याउँन थाल्छ । अँध्यारोसँगको लगाब होइन तर उज्यालोसँगको सहजता कहिले कता हरायो पत्तो छैन।

जब पानी पर्छ, तब झ्याल खोल्छु, बाहिर कर्कलाका बोटहरू छन् । तर ठ्याक्कै हाम्रो गाउँतिर उम्रने कर्कलाको बोट जस्ता छैनन् ती । झट्ट हेर्दा जलुका हो कि जस्तो पनि । ‘जलुका’– कस्तो मिठो, कुनै छोरी मान्छेको जस्तो नाम ! लिम्बू गाउँछेउ हुर्केको हुनाले मैले यसलाई मानेको पात भनेर चिन्छु । साह्रो नजिकको लाग्छ यसको बोट । अनौठो पनि लाग्छ सम्झेर, यसको पातलाई कहिल्यै पानीले भिझाउँदैन ।

बाहिर पानी परिरहेछ । झ्याल खोल्छु, मानेका पातमा वर्षातका थोपाहरू अडिने स्वाङ मात्र पार्छन् । आकाशबाट थोपा-थोपा पातमा खस्छन्, पातबाट भुइँमा पछारिन्छन् र माटोमा विलुप्त हुन्छन् । झरीको आयतन बढ्छ, मानेका पातहरूलाई थोपा-थोपाले चुट्न थाल्छन्, पात भुईंतिर लत्रिन खोज्छ । झट्ट एउटा प्रश्न घुम्छ मस्तिष्कमा र त्यो सँगै एउटा दृश्य, सम्झना हो कि जस्तो, छताछुल्ल हुने तरखर गर्छ ।

‘तेरा आँखा किन यति उदास छन् ?’

छन् । थुप्रै छन्, मेरो जिन्दगीमा सेल्फहेल्प किताबजस्ता मान्छेहरू । जो बेला न कुबेला किचकिच गर्न आउँछन् । गनगनाउँछन् । कुन्नि कसले सुनाएको, कहाँबाट सुनेको, कतै पढेका सकारात्मक कुराहरूलाई आफ्नै मौलिक भाका हालेर मेरो कानमा गुनगुनाउँछन्, व्यावहारिक लिरिक्सका हरेक शब्दलाई अर्थ्याउँछन्, मलाई सम्झाउँछन् ।

बुझाउँछन् । बुझिस् भन्छन्, म बुझेको टाउको हल्लाइदिन्छु । के बुझिस् भन्छन्, तिम्रो कुरा भन्दिन्छु । के कुरा भन्छन्, राम्रा कुरा भन्दिन्छु । फेरि सोध्छन्, ल भन् त, किन उदास थिइस् तँ ? कति सजिलै, वर्तमानबाट भूतमा पुग्छन्, छस्-बाट थिइस्-मा पुग्छन् । लाग्छ, एउटा अर्को जवाफ दिनुपर्ने बाध्यता । ढिच्च हाँसिदिन्छु र बोल्न कै लागि बोलिदिन्छु– ‘म पानी परेको दिन जन्मेको हुँ नि त !’

हुन त यो कुनै जवाफ होइन, यो कुराको कुनै तुक छैन, यसै बकवास गरिदिन्छु । तर मेरी आमाले भुलिनन् होला आफ्नो पहिलो प्रसवपीडा, उनलाई म विश्वास गर्छु र उनका अनुसार यो सत्य हो, म भीषण पानी परेकै दिन जन्मिएको थिएँ । र, मलाई लाग्छ, झरी रोमान्स कम, उदासीको प्रतीक ज्यादा हो ।

यो एउटा मुख्य कारण हुनसक्छ, झरीसँग मेरो यतिबिग्न लगाब हुनुको । वर्षा मेरो सबैभन्दा प्रिय याम हो । यो वर्ष पनि एक दिन, दुई दिन बिराउँदै काठमाडौंमा झरी पर्न सुरु भइसकेको छ । तर सधैं लाग्छ यहाँ केही अपुग छ । लाग्छ,, बहुलाएका बतास यो शहरको बाटो भएर हिँड्दैनन् र त्यही बतासको लयमा लतारिएर भुइँ छुन खोज्ने बाँसहरू यहाँबाट गायब भइसकेका छन् । यो शहरमा जब-जब पानी पर्छ, मलाई केही सिनेमाका दृश्यहरू याद आउँछन् ।

‘गर्मीको घाम म जस्तो ठिटोका लागि होइन । म जस्ता ठिटाहरू वर्षामा झरी मन पराउँछन्।’

-बेन्जामिन अलिरे साएन्ज, एरिस्टोटल यान्ड दाते डिस्कभर द सिक्रेट्स अफ युनिभर्स

१.

मुसलधारे पानी परिरहेको छ । पानीबाट बच्न एउटा दाउरे, एउटा पुजारी पुरानो रासोमोन गेटमुनि ओत लागिरहेका छन् । उनीहरू एउटा भयङ्कर घटनाका बारेमा कुरा गर्न थाल्छन् । त्यति नै बेला एउटा साधारण मान्छे ओत खोज्दै त्यही गेटमुनि आइपुग्छ । उनीहरूसँग कुराकानी गर्न थाल्छ र उसले यो थाहा पाउँछ कि, एक सामुराईको हत्या भएको छ र उसकी श्रीमतीलाई बलात्कार गरिएको छ र त्यसको आरोप एउटा कुख्यात डाँकुलाई लगाइएको छ ।

त्यस मान्छेलाई आफूले जानेको कुरा बताउने क्रममा, दाउरे र पुजारीले अदालतको घटनालाई वर्णन गर्न थाल्छन् । फिल्म फ्ल्यासब्याकमा जान्छ– तीन प्रमुख व्यक्तिहरू डाँकु, सामुराईको आत्मा र उसकी पत्नी विवादास्पद बयान दिन अदालतमा उपस्थित हुन्छन् । एउटै घटनालाई लिएर उनीहरूको आ-आफ्नै कथाहरू हुन्छन् । र अन्तिममा दाउरेले पनि त्यो हत्याको आफू साक्षी रहेको भन्दै आफ्नो भर्जनको कथा पनि सुनाउँछ ।

अकिरा कुरोसावाको रासोमोन(१९५०) एउटा घटनाको चारवटा फरक फरक भर्जनहरूको वरिपरि घुम्छ र प्रश्नहरूमा अल्झिन्छ: सामुराईलाई कसले मार्यो ? के उसकी पत्नी वास्तवमै बलात्कृत भएकी थिई ? सत्य कसले बोलिरहेको छ ? प्रत्येक व्यक्तिलाई अरुको भन्दा आफ्नो कथा ज्यादा साँचो लाग्छ । प्रत्येक व्यक्ति सत्यको आफ्नै संस्करण भनिरहेको छ, जुन मूल रूपमा एउटा झुट हो । मान्छे वास्तविक घटनालाई ढाकछोप गर्न अर्को परिदृश्य बनाउँदै जान्छ, जसमा ऊ आफूलाई सजिलो पाउँछ र जुन आफ्नो पक्षमा हुन्छ ।

शंकाको छायाँभन्दा बाहिर, यो फिल्म न्यायको दर्शनको नजिक पुग्छ र मान्छेको मानसिकतालाई केलाउँछ । मानवतामाथि प्रश्न गर्छ । यसले घटनाको बारेमा मान्छेहरूको धारणा उनीहरूको व्यक्तिगत अनुभवहरूको आधारमा फरक-फरक हुनसक्छ भन्ने कुरा प्रस्तुत गरेको छ ।

रासोमोनको सुटिङ सुरु हुनुअघि, अकिरा कुरोसावाका तीन सहायक-निर्देशकहरू उनलाई भेट्न आएका हुन्छन् । उनीहरूले फिल्मको कथा बुझेका थिएनन् । कुरोसावाले भने, ‘यदि तिमीहरूले यसलाई ध्यानपूर्वक पढ्यौ भने यसलाई बुझ्न सकिन्छ, किनकि यो बुझ्न सकिने उद्देश्यले नै लेखिएको हो ।’ तर उनीहरूले पुन: आफूले यसको कथालाई ध्यानपूर्वक नै पढेको र त्यसलाई बुझ्न असमर्थ रहेको बताउँछन् । त्यस दिनलाई सम्झँदै, कुरोसावाले आफ्नो किताब ‘समथिङ लाइक एन अटोबायोग्राफी’मा उनीहरूलाई फिल्म रासोमोनको बारेमा व्याख्या गर्छन् ।

सन् १९२२ मा र्युनोसुके अकुतागावाले लेखेको जापानी कथा ‘इन अ ग्रोभ’मा आधरित रासोमोनले विश्व सिनेमाको दुनियाँमा आफ्नो एउटै छुट्टै विचार सिर्जना गरेको छ– ‘रासोमोन इफेक्ट’, अर्थात् सत्यको व्यक्तिपरकता र स्मृतिको अविश्वसनीयतामाथि टेकेर एउटै घटनाको धेरै अनि विरोधाभासी विवरणहरू प्रस्तुत गरिएको कथाको वर्णन गर्नु ।

हरेकपल्ट यो फिल्म हेरिसकेपछि म झ्यालबाहिरको आकाशलाई हेर्छु । हरेकचोटि आकाश सफा र बाहिर घाम लागिरहेको पाउँछु तर अझैपनि यो फिल्म हेरिरहँदा मलाई बाहिर पानी परिरहेको छ झैं लाग्छ ।

हरेकपल्ट यो फिल्म हेरिसकेपछि म झ्यालबाहिरको आकाशलाई हेर्छु । हरेकचोटि आकाश सफा र बाहिर घाम लागिरहेको पाउँछु तर अझैपनि यो फिल्म हेरिरहँदा मलाई बाहिर पानी परिरहेको छ झैं लाग्छ । सधैं यो फिल्मभित्रबाट म निथ्रुक्क भिझेर बाहिर निस्किन्छु । र मलाई लाग्छ, यो फिल्मको मुख्य पात्र झरी हो । झरीले ओत खोज्छ, ओतमा तीनजना मान्छे छन् । पानी रोकिने छाँटकाँट छैन । समय छ, र कथा छ । झरीले फिल्मलाई एउटा रहस्यमयी र थ्रिलिङ मुड दिन्छ । फिल्म मुसलधारे वर्षा खसिरहेको दृश्यबाट सुरु हुन्छ, जसले वर्तमानलाई विगतबाट स्पष्ट रूपमा अलग गर्छ तर फिल्मको हरेक कथा हेरिरहँदा यस्तो लाग्छ तपाईं त्यही रासोमोन गेटमा ओत लागेर एउटा हत्या भएको घटनाको विभिन्न भर्जनहरू सुनिरहनुभएको छ ।

२.

“जीवन रुवाइ, सुँघाइ र मुस्कानले बनेको हुन्छ, जसमा सुँघ्नेहरू नै प्रबल हुन्छन् ।”
– ओ. हेनरी, द गिफ्ट अफ म्यागी

कुनैकुनै कथाहरू यस्ता हुन्छन्, जो घुटन बोकेर आउँछन् र उदासी छोडेर जान्छन् । रितुपोर्न घोषको रेनकोट(२००४) ले तितो-मीठो प्रेमको कथा मात्र भन्दैन, एउटा उदास गीत गाइरहन्छन् र सोधिरहन्छन् आफ्नो प्रेमीलाई– ‘पिया तोरा केसा अभिमान ?’

‘रेनकोट’ सन् १९०५ मा प्रकाशित अमेरिकी कथाकार ओ. हेनरीको कथा ‘द गिफ्ट अफ द म्यागी’बाट प्रेरित छ । बेरोजगार मन्नु (अजय देब्गन) आफ्नो नयाँ व्यवसायको लागि आर्थिक सहयोग जुटाउन कलकत्ता जान्छ । आफ्नो पुरानो स्कुले साथी, जो अहिले एक सफल टिभी निर्माता हो, सँग बस्न थाल्छ । उसले आफ्ना पूर्व सहपाठीहरूसँग आर्थिक सहयोग माग्न असहज महसुस गर्छ तर ऊसँग कुनै विकल्प हुँदैन । यस यात्रामा ऊ आफ्नी पूर्वप्रेमिका नीरु(ऐश्वर्य राय), जसको विवाह भइसकेको हुन्छ, लाई खोज्न निस्किन्छ । आफ्नो साथीबाट ठेगाना र उधारो रेनकोट लिएर एक झरी परेको दिन, मन्नु निरुको घर पुग्छ ।

मन्नु आफूलाई एक सफल व्यवसायीको रूपमा चित्रण गर्न खोजिरहेको छ, जसको पर्सनल सेक्रेटरी छ र ऊ चाँडै नै आफ्नी आमाले खोजेकी केटीसँग विवाह गर्नेवाला छ । अर्कोतर्फ, नीरु आफूलाई एक धनी परिवारको खुशी पत्नीको रूपमा स्थापित गर्न खोज्छे । उनीहरू गर्वका साथ घोषणा गरिरहेका छन् कि उनीहरू आआफ्नो जीवनमा धेरै खुसी छन् । तर उनीहरू झुटा छन्, उनीहरूको कथा झुटो छ । र उनीहरू दुबैलाई थाहा छ, उनीहरूले झुट बोलिरहेका छन् । त्यो झुट पछाडिका एकअर्काका पीडा सुँघ्न सकिरहेका छन् । त्यहीपनि उनीहरू साँचो बोलेको अभिनय गरिरहेका छन् ।

बाहिर पानी परिरहेको छ । समय छ, उनीहरूको व्याथा छ, यादहरू छन् । फिल्मले दुई पात्रहरूको भावनात्मक यात्रालाई सुन्दर ढङ्गले चित्रण गरेको छ । झुटो संवादमा उनीहरू आफ्नो विगतको सम्झनामाथि टेकेर आफ्नो वर्तमानसँग सम्झौता गरिरहेका छन् । यो फिल्मभित्र गुमाउनुको पीडा, पश्चाताप र आत्मदोषको भावना झरीजस्तै गुम्सिरहेका छन् । झरी परेर नै ती पात्रहरूबीच त्यो संवाद भइरहेको छ । मलाई लाग्छ, यो फिल्मको पनि मुख्य पात्र झरी हो । अझैपनि ‘रेनकोट’ हेरिरहँदा मलाई, म कुनै झरी परेको एकलास दिनमा छु जस्तो लाग्छ । झरीले यो फिल्मलाई एउटा उदास गीत गाउँदै, एउटा उदास मुड दिन्छ– ‘पिया तोरा केसा अभिमान ?’

सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?