
९ साउन, काठमाडौं । युवा पुस्ता नेपाली राजनीतिका पुराना अनुहारहरूप्रति दिक्क छन् । २०७९ सालको स्थानीय र संसदीय निर्वाचनमा यो असन्तुष्टि सतहमा आउन थालेको देखिएको थियो । राजनीतिक नेतृत्वमा परिवर्तनको अपेक्षा झनै तीव्र बन्दै जाँदा, प्रमुख दल नेकपा एमाले भने पुरानै अनुहारहरूबीचको शक्ति–संघर्षमा अल्झिएको देखिन्छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकाल दिलाउन एमालेले विधान संशोधन गरेर ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाइसकेको छ । अर्कोतर्फ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरेर प्रतिस्पर्धाको संकेत दिँदा उनको सदस्यता नै खारेज गरिएको छ । यसले पार्टीभित्र पुस्तान्तरणको बहस होइन, व्यक्तिवादी संघर्ष नै केन्द्रमा रहेको पुष्टि गर्ने युवा विश्लेषकहरु बताउँछन् ।
विश्लेषक तथा लेखक उज्ज्वल प्रसाईंका अनुसार, एमालेभित्र देखिएको नेतृत्वको लडाइँ शक्तिको लालसा हो, जबर्जस्ती हो र हिजो गरेको सही निर्णयमा अडिन नसक्ने कुरा हो । उनी भन्छन्, ‘एमाले विधानबाट ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउनु भनेको आफैंले विगतमा गरेको सही निर्णयलाई टिकाउन नसक्ने अपरिपक्वता हो ।’
उनले थपे, ‘केन्द्रीय कमिटीको बैठक सकिँदासम्म एमाले केपी शर्मा ओलीको पूर्ण पकडमा देखिन्छ । यसले ओली र उनी निकटलाई केही शान्ति त दिन सक्ला तर यसको दीर्घकालीन असर नकारात्मक हुन्छ ।’ उनी अन्य दलहरूले पनि यसलाई पाठका रूपमा लिएर सुधारको बाटो रोज्न सक्ने बताउँछन् ।
त्यस्तै, काठमाडौंकी युवा नेतृ रञ्जु दर्शना एमालेमा देखिएको नेतृत्वको विवादभन्दा लोकतान्त्रिक मूल्यमा बढी चिन्तित देखिन्छिन् । ‘विद्या भण्डारीलाई एमालेको अध्यक्ष हुन नदिने निर्णय लोकतान्त्रिक छ कि छैन भन्ने कुरामा एमालेभित्र र बाहिर बहस हुन जरुरी छ,’ उनी भन्छिन् ।
विद्या पुनः राजनीतिमा फर्किंदा संविधानको मर्म र भावनाविपरीत हुन्छ भन्ने एमालेले आफैं कतिपटक असंवैधानिक कदम उठाएको थियो भनेर हेर्नुपर्ने उनी बताउँछिन् । दर्शना भन्छिन्, ‘ओलीले विगतमा संविधान विपरीत संसद विघटन जस्ता कार्य गर्नुभएको छ । त्यसलाई विद्याले पनि साथ दिनु भएको छ । त्यसकारण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा आए गणतान्त्रिक शासन व्यवस्थामै प्रश्न उठ्छ भन्नु एकदमै हास्यास्पद छ ।’
एमालेमा ओली र विद्या बाहेक अरुले नेतृत्व गर्न सक्दैनन् भन्ने सोच नै पश्चगामी भएको उनी बताउँछिन् । एमालेमा ओली र विद्या भन्दा अरु नेता नै छैनन् जस्तो ठान्नेहरु राजनीतिमा फेल भइसकेको उनको टिप्पणी छ । ‘नयाँ नेतृत्व जन्माउन नसक्नु त उहाँहरु नै फेल भएको हो । यसले राजनीतिक नेतृत्वलाई प्रश्न उब्जिरहन्छ र उहाँहरुलाई नै घाटा हुन्छ,’ दर्शना भन्छिन् ।

यदि विद्या भण्डारीले राजनीतिमा नआई नछाड्ने हो भने अभिभावक मात्र बनेर बस्नुपर्ने उनको सुझाव छ । पार्टी संरक्षकको भूमिकाबाट युवालाई मार्गदर्शन गर्न सुझाव दिँदै उनी भन्छिन्, ‘यदि विद्यादेवी भण्डारी राजनीतिमा नआईनछाड्ने हो भने उहाँ पार्टीको संरक्षक बनेर ल युवाहरु हो, तिमीहरु अगाडि बढ भन्न सक्नुपर्छ ।’
यसबीच विश्लेषक यादव देवकोटा भने एमालेमा सामाजिक सरोकारको विषयमा बहस हुनुको साटो नेतृत्व विवादमा अल्झिनु उदेकलाग्दो भएको बताउँछन् । ‘केपी शर्मा ओली कि विद्यादेवी भण्डारी भन्ने विषय टिप्पणी गर्न लायक नै होइन वास्तवमा,’ उनी भन्छन्, ‘नेपाली समाजको आजको समस्या के हो ? युवा पुस्ताले के खोजिरहेको छ भन्ने बहसै छैन । एमाले पार्टीभित्रको यो तमासाले समाजलाई केही दिन सक्दैन ।’
ओली र विद्या दुवैले अहिलेसम्मको राजनीतिक यात्राको क्रममा राज्यका शीर्ष पद सम्हालिसकेकालेअब उनीहरुले समाजलाई थप नयाँ केही दिन नसक्ने बताउँदै देवकोटा भन्छन्, ‘उनीहरूले अब समाजलाई दिन बाँकी कुरा केही छैन । त्यसैले फेरि पनि उनीहरुलाई नै नेतृत्वमा दोहोर्याउनुको कुनै औचित्य पनि छैन ।’
उनको बुझाइमा एमालेभित्र चलिरहेको बहस सत्ता स्वार्थमा आधारित छ । बैठकमा ओली–विद्याको पक्ष–विपक्षमा कित्ताकाट भएकाहरु र मझदारमा देखिएकाहरुमा पनि स्वार्थीपना देखिएको देवकोटाको विश्लेषण छ । ‘केही केन्द्रीय सदस्यहरूले तपाईंहरू मिल्नुस् भनेको खबर आएको छ, केहीले फलानोलाई छाडिदिनुस् भनेको खबर आएको छ’ देवकोटा भन्छन्, ‘त्यसको अर्थ हामीलाई पनि केही दिने ठाउँ राख्नुस् भन्न खोजेको मात्रै हो । यो कुरामा नेपाली समाजका जनताको हितको कुनै सोच छैन ।’
विद्यालाई राजनीतिमा आउन नदिने निर्णयमा ताली पड्काउनेहरुलाई उनी ‘ओलीको दासताको दाम्लोमा बाँधिन तयार झुण्ड’को संज्ञा दिन्छन् । ‘एमालेभित्र अहिले औंलामा गन्न सकिने बाहेक ९० प्रतिशत नेता ओलीको दासताको दाम्लोमा बाँधिन तयार छन् । उनीहरूमा समाजलाई दिन सक्ने केही क्षमता छैन,’ देवकोटाको टिप्पणी छ, ‘अलिअलि झुक्याउने, शक्ति आर्जन गर्ने, केही सिटहरु जित्ने र त्यहाँबाट आर्जन हुने लाभमा छिनाझम्टी गरेर आफ्नो जीवन सुधार्ने बाहेक ती मानिसहरुसँग कुनै पनि एजेण्डा छैन । नेपाली समाजलाई लाभ होला भन्ने केही आश पनि छैन । यदि ओली र विद्याको विरोध गरेर बोलिरहेका छन् भने पनि तिनीहरु नेपाली समाजतिर फर्किएर बोलिरहेका छैनन् । बरु त्यहाँ भित्र मेरो हिस्सेदारी के हुन्छ, मैले के पाउँछु वा पाउँदैन भन्ने बाहेक अरु चिन्तत छैन ।’
मिसन ८४ भन्ने एमाले नेताहरुप्रति पनि देवकोटाको प्रश्न छ, ‘हिजो पनि सत्तामा थिए, आज पनि सत्तामा छन् । दुई तिहाइ बहुमतको बलियो सरकारको पनि नेतृत्व पनि गरेकै हुन् । तर आजसम्म सत्तामा बसेर त्यस्तो के काम गर्न नसकिएको हो र मिसन ८४ चाहिएको ?’
प्रतिक्रिया 4