
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री रमेश लेखकले २१ असोज २०७५ मा निर्मला पन्तको हत्याराले संरक्षण पाइरहेको बताएका थिए तर एक वर्षमा अनुसन्धानमा कुनै प्रगति देखिएको छैन।
- निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा ७ वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकिएपछि परिवारले न्याय पाउने आशा गुमाउन थालेका छन्।
- नेपाल प्रहरीले १२४ जनाको डीएनए जाँच गरिसकेको छ र अनुसन्धानमा ३३ लाख बढी खर्च भइसकेको छ, तर अहिलेसम्म कुनै नयाँ तथ्य खुल्न सकेको छैन।
९ साउन, काठमाडौं । रमेश लेखक (हाल गृहमन्त्री) ले २१ असोज २०७५ मा भनेका थिए, ‘निर्मला पन्तको हत्याराले संरक्षण पाइरहेको छ ।’ निर्मला हत्यापछि भएको सडक आन्दोलनमा समेत कञ्चनपुरका कांग्रेस नेता लेखक सहभागी थिए ।
काठमाडौंको एक कार्यक्रममा लेखकले हत्याराले संरक्षण पाइरहेको बताउँदै घटनाको प्रकृतिमाथि केही विसंगतिहरू देखिएको र प्रमाण मेटाउने काम भएको आरोपसमेत लगाएका थिए ।
हत्याराले संरक्षण पाएको गम्भीर आरोप लगाउने उनै लेखक पछिल्लो एक वर्षयता अनुसन्धान गर्ने निकायकै (प्रहरी) कमान्ड गर्ने गृहमन्त्रालयको कुर्सीमा छन् । अझ यो घटना उनकै गृहजिल्ला कञ्चनपुरकै हो ।
यो बीचमा गृहमन्त्री रमेश लेखकले आफैंले भनेजस्तो संरक्षण पाएको भनिएको अभियुक्तलाई न पहिचान गर्न सके न अनुसन्धानमा कुनै तदारुकता देखाउँदै केही प्रगति नै भयो । लेखक गृहमन्त्रीको पछिल्लो एक वर्षपछि अघिल्ला वर्षजस्तै निर्मला पन्त बलात्कार हत्या प्रकरणको अनुसन्धानमा शून्य प्रगति रह्यो ।
लेखक गृहमन्त्री भएपछि निर्मलाले न्याय पाउने आस भने परिवारले राखेका थिए । गृहजिल्लाका नेता गृहमन्त्री बन्नु, यसअघि लेखक स्वयंले हत्याराले संरक्षण पाएको सार्वजनिक रूपमा बताउनुले पनि उनीमाथि आस बढी राख्नु स्वाभाविक पनि थियो ।
तर, लेखक गृहमन्त्री भएको एक वर्ष बितिसक्दा समेत निर्मला बलात्कार र हत्या प्रकरणमा कुनै प्रगति नभएपछि न्याय पाउने आस परिवारले मार्न थालिसकेका छन् ।
त्यसो त यो विषय राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले समेत संसद्मा उठाएकी थिइन् । २ वैशाख २०८२ मा सांसद गौतमले संसद्मा प्रश्न दर्ता गरेर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीलाई सोधेकी थिइन् ।
‘तपाईं कञ्चनपुरकै गृहमन्त्री हुनुहुन्छ, तर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन सक्नुभएको छैन । आफ्नै निर्वाचन क्षेत्रको जघन्य अपराधको सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन तपाईंलाई गृहमन्त्रीको हैसियतमा केले रोकेको छ ?,’ गौतमले प्रश्न गरेकी थिइन् ।
जवाफमा लेखकले अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका थिए । गृहमन्त्री लेखकले भनेजस्तै अनुसन्धान जारी छ भन्नु बाहेक प्रहरीले केही बताउन सकेको छैन । हत्यारा पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने गृह प्रशासनमा यसमा चुकेको छ ।
२० भदौमा महेन्द्रनगर पुगेर प्रेस युनियनको कार्यक्रममा बोल्दै निर्मला हत्या प्रकरण सूक्ष्म रूपमा अनुसन्धान भइरहेको दाबी लेखकले गरेका थिए । ‘यो प्रकरणलाई मैले गम्भीरतापूर्वक लिएको छु । सूक्ष्म ढंगले अनुसन्धान हुन्छ,’ लेखकले भनेका थिए ।
उनले यो अभिव्यक्ति दिएको एक वर्ष पूरा हुन लाग्यो । तर हत्याराको नामोनिशान पहिचान हुन सकेको छैन ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरे निर्मला हत्या प्रकरणको अहिले पनि अनुसन्धान जारी रहेको बताउँछन् । ‘सीआईबीको एउटा टिम कञ्चनपुर नै बसेर अनुसन्धान गरिरहेको छ । जिल्ला र प्रदेशको टोलीले आफ्नो ढंगले अनुसन्धान गरिरहेको छ । सफलता हात पार्न सकिएको छैन,’ डीआईजी घिमिरेले अनलाइनखबरसँग भने । अनुसन्धान भइरहेको बताउने बाहेक यो प्रकरणमा प्रहरीले थप केही बताउने गरेको छैन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको ७ वर्ष पुगेको छ । यो ७ वर्षको अवधिमा ५ जना गृहमन्त्री र ६ प्रहरी प्रमुख फेरिए, थुप्रै समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । पन्तले न्याय पाउने कुनै सुरसार र संकेतसमेत देखिएको छैन ।
१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी निर्मला भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त-१८ का १५ वर्षीय सनी खुनाको ज्यानै गयो ।
निर्मलाको हत्या भएदेखि अहिलेसम्मको अवधिमा पाँचजना (रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, फेरि रवि लामिछाने र हाल रमेश लेखक) गृहमन्त्री भए ।
नेपाल प्रहरीमा (सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह, बसन्तबहादुर कुँवर र अहिले दीपक थापा) आईजीपी भए । हरेक गृहमन्त्री र प्रहरी प्रमुखले निर्मला पन्तको हत्यामा संलग्नको पहिचान गरी कारबाही गर्ने बताए । तर नतिजा भने उही ७ वर्ष पहिलाको भन्दा केही फरक छैन ।
पछिल्लो समय यसअघि पक्राउ परेर छुटेका दिलिप सिंह विष्टविरुद्ध बालिका निर्मलाको परिवारले जाहेरी दिएको थियो । जाहेरी लिएर अनुसन्धान अघि बढाएको प्रहरीले बताए पनि केही प्रगति हुन सकेको छैन ।
विष्टले गलत हर्कतले महिलाहरूलाई हेर्ने गरेको भन्दै बेलाबेला प्रहरीमा गुनासो पनि आउने गरेको छ । तर विष्टविरुद्ध प्रहरीले केही निष्कर्ष निकाल्न सकेको छैन ।
यो प्रकरणमा प्रहरीले १२४ जना बढीको डीएनए जाँच गरिसकेको छ । बहालवाला प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट र उनको छोराको समेत डीएनए जाँच गरिएको थियो । एउटै घटनाको अनुसन्धानका लागि यति धेरै मान्छेको डीएनए जाँच गरिएको यो पहिलो रहेको प्रहरी अधिकारीहरू बताउँछन् । तर अहिलेसम्म कसैसँग पनि डीएनए म्याच गरेको भएको छैन ।
पक्राउ परेका संदिग्धहरूको डीएनए स्याम्पल निकालेर नेपाल प्रहरीकै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गरियो । तर डीएनए जाँच पनि नमिलेपछि मन्त्रीस्तरीय निर्णयबाट २६ भदौ २०७६ मा डीएनएको वैधता नै जाँच गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक जीवन रिजालको संयोजकत्वमा तीन सदस्यीय प्राविधिक समिति गठन गरिएको थियो ।
समितिले ५ कात्तिक २०७६ मा बुझाएको प्रतिवेदनमा डीएनए संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको औंल्याउँदै डीएनए बाहेकलाई पनि आधार मानेर अनुसन्धान गर्नुपर्ने सुझाव दिएको थियो । त्यसपछि दुवै कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
७ वर्षको अवधिमा अहिलेसम्म साढे ६०० बढी व्यक्तिसँग सोधपुछ गरिएको प्रहरीले बताएको छ । तर घटनामा कुनै नयाँ तथ्य खुल्ने छाँट देखिएको छैन ।
पन्तको अनुसन्धानमा पनि अहिलेसम्मकै महँगो भएको प्रहरी अधिकारीहरू बताउँछन् । अनुसन्धानका लागि ३३ लाख बढी खर्च भइसकेको छ । निर्मला हत्या घटनाको अनुसन्धानका लागि आधा दर्जन बढी समिति पनि बने । पछिल्लो पटक दुर्गा सिंहको नेतृत्वमा समिति बनाइएको थियो । उनी एआईजी भएर गत चैतमा अवकाशमा समेत गइसकेकी छिन् ।
यसअघि कारागार व्यवस्था विभागका तत्कालीन महानिर्देशक हरिप्रसाद मैनाली, एआईजी उत्तमराज सुवेदी, एआईजी धिरु बस्न्यात, डीआईजी सुरज केसी नेतृत्वमा समिति बनाएर घटनाको अनुसन्धान गरिएको थियो । तर नतिजा भने उही ७ वर्ष पहिलेकै अवस्था छ ।
प्रतिक्रिया 4