+
+
Shares

‘खुसीको गाउँ’ भुटानबाट लखेटिएकाको व्यथा, संघर्षपूर्ण कथा

शरणार्थी जीवनको प्रतिनिधि पात्रका रूपमा आएका छन्। उनीहरूले भोगेका पीडा, सपना र संघर्षलाई लेखकले गहिरो मनोवैज्ञानिक रूपमा प्रस्तुत गरेकी छन् ।

देवी बाँस्कोटा देवी बाँस्कोटा
२०८२ साउन २४ गते ७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साहित्यकार खगिन्द्रा खुसीद्वारा लिखित उपन्यास ‘खुसीको गाउँ’ले भुटानी शरणार्थीहरूको जीवन संघर्ष र पुनर्वासको यथार्थपरक चित्रण गरेको छ।
  • उपन्यासले सन् १९९० को दशकमा भुटानबाट निर्वासित नेपालीभाषीहरूले झापा र मोरङका शरणार्थी शिविरमा भोगेका पीडा र सामाजिक परिवर्तनों समेटेको छ।

साहित्यकार खगिन्द्रा खुसीद्वारा लिखित उपन्यास ‘खुसीको गाउँ’ भुटानी शरणार्थीहरूको कारुणिक जीवन र संघर्षको यथार्थपरक चित्रण हो । उपन्यासमा सन् १९९० को दशकमा भुटानबाट निर्वासित भएर नेपाल आएका नेपालीभाषीले भोगेका कथाव्यथा पाइन्छ ।

उनीहरूले झापा र मोरङका शरणार्थी शिविरमा बिताएका कष्टपूर्ण दिनदेखि तेस्रो देशमा पुनर्वास हुँदासम्मका आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक अवस्थाहरूलाई समेटेर यसमा समेटिएको छ ।

विषयवस्तु र यथार्थवाद

‘खुसीको गाउँ’को मूल विषयवस्तु शरणार्थी जीवनको पीडा र संघर्ष हो । यसले आफ्नै देशबाट निकालिएपछि शरणार्थी शिविरमा भोगेका असीमित दुःख, अभाव, असुरक्षा र अनिश्चित भविष्यलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । उपन्यासले शिविरभित्र विकसित भएका प्रेम सम्बन्ध, मानवीय संवेदना र आशालाई महत्वका साथ समेटेको पाइन्छ ।

उपन्यासकार खगिन्द्रा खुसी स्वयं शरणार्थी शिविर बाहिरको नेपाली वस्तीमा जन्मिए, हुर्किएका व्यक्ति हुन् । त्यहाँको जनजीवनलाई नजिकबाट देख्ने व्यक्ति हुनुले पनि यसमा व्यक्त भएका भावना, घटना र पात्रहरूको भोगाइ एकदमै यथार्थपरक र मार्मिक लाग्छ ।

मुख्यतया पहिचान गुमाएर बाँच्न विवश भएका शरणार्थी शिविरका मानिसले जीवनलाई बुझ्ने र बाँच्ने तरिका, उनीहरूले पाएका र गुमाएका अवसर तथा प्रेम र जीविकोपार्जनमा शिविर बाहिरका नेपाली बस्तीसँगको सम्बन्ध र पुनर्वासपछि आएको आर्थिक र सांस्कृतिक परिवर्तन र उतारचढावलाई उपन्यासमा असाध्यै कलात्मक र मार्मिक रुपमा प्रस्तुत गरिएको छ।

भाषाशैली र शिल्प

उपन्यासको भाषाशैली सरल, सहज र नेपाली ग्रामीण परिवेश सुहाउँदो छ। लेखकले जटिल शब्दको प्रयोग गर्नुको सट्टा सर्वसाधारणले बुझ्ने सरल तर असाध्यै कलात्मक शब्दहरूलाई प्राथमिकता दिएका छन् । यसले गर्दा उपन्यासले पाठकलाई कथासँग भावनात्मक रूपमा जोड्न मद्दत गर्छ ।

प्रेम टुटेका पाठकका मनहरू उपन्यासका पात्रहरू राधा, राजेन्द्र र धनमायाको भोगाइले भक्कानिएर रुन सक्छन्। आफूलाई पुनः समाल्दै जीवनलाई सकारात्मक बाटोमा उभ्याएर अन्ततः प्रेमको शक्तिशाली आदर्शमा रुपान्तरित हुनेछन्। कथ्य शैलीमा लेखिएको यो उपन्यासले पाठकलाई आफ्नै आँखाले घटनाहरू देखिरहेको जस्तो अनुभूति गराउने छ।

पात्र र चरित्र–चित्रण

उपन्यासका पात्रहरू शरणार्थी जीवनको प्रतिनिधि पात्रका रूपमा आएका छन्। उनीहरूले भोगेका पीडा, सपना र संघर्षलाई लेखकले गहिरो मनोवैज्ञानिक रूपमा प्रस्तुत गरेकी छन् । हरेक पात्रको आ-आफ्नो कथा र पृष्ठभूमि छ, जसले गर्दा उनीहरूको चरित्र जीवन्त र विश्वसनीय बनेको छ। यी पात्रहरूको माध्यमबाट लेखकले शरणार्थी जीवनका विभिन्न आयामहरूलाई उजागर गरेकी छिन्।

भौगोलिक परिवेश र नवीन आयाम

उपन्यास झापा जिल्लाको खुदुनाबारी, शनिश्चरे, बिर्तामोड र इलामका विभिन्न गाउँ र शहरको भौगोलिक परिवेशमा गुज्रिएको छ । विशेष गरी खुदुनावारी र त्यहाँ बसेको भुटानी शराणार्थी शिविरसँगको अन्तर सम्बन्धले यसको जग बसाएको छ । कृषि व्यवसायमा आधारित रहेको खुदुनाबारी गाउँ भुटानबाट लखेटिएर आएका शरणार्थीका छाप्राहरूले भरिन थालेपछि समाजमा थपिएको नयाँ दायित्व, अवसर र चुनौतीको उपस्थितिले स्थानीय गाउँलेहरूको जीवनमा आएको परिवर्तनलाई उपन्यासमा कलात्मक र मार्मिक रुपमा व्याख्या गरिएको छ ।

आफ्नो मुलुकमा स्वाभिमानपूर्वक आफ्नै पौरखमा रमाएका भुटानी नागरिक भुटानबाट लखेटिएपछि शिविरका कमजोर छाप्रामा विदेशी दातृ निकायले दिएको रासन (चामल) थापेर बाँच्न विवश भए । यस विवशताको कारुणिक पक्ष र उनीहरूले जीविकोपार्जनका लागि गरेका अनेकौं प्रयत्न, दुःख, संघर्ष र त्यो संघर्षले जोडेको शिविर बाहिरको वस्तीसँगको सम्बन्ध, शरणार्थीको तेस्रो मुलुकको पुनर्वासपछि त्यहाँ छाएको सन्नाटा र वियोगान्त परिवेश यो उपन्यासको कथावस्तु रहेको छ । यही कथा वस्तुभित्र विकसित भएको एउटा प्रेम सम्बन्धले निर्माण गरेको प्रेमको आदर्श नै यो उपन्यासको मुख्य विशेषता रहेको पाइन्छ।

प्रेमीप्रेमिकाको विछोड र शरणार्थीहरूले भोगेको पीडा पढ्दा बारम्बार पाठकको आँखामा आँसु आइरहन्छ। यसो भन्नुको अर्थ यो उपन्यास आँसुको पसल हो भन्न खोजिएको होइन। यसमा उपन्यासकार खगिन्द्राले आँसुको बजारीकरण गर्ने प्राय उपन्यासका प्रवृत्तिलाई यो पूर्णरुपमै निषेध गरेकी छन् ।

स्वाभिमानपूर्ण प्रेमको आदर्शमा पात्रलाई सशक्त उतारेर पर्याप्त माया पोख्न सफल भएकी छन् । मायाप्रेम मात्र होइन उपन्यासमा श्रम र उद्यमको आत्मनिर्भर बाटोमा लाग्न सबैलाई प्रेरित गरिएको छ । सकारात्मक सोचाइ र प्रेमको आदर्शले उजाड जिन्दगी कसरी उत्साह र प्रेरणाले भरिन सक्छ भन्ने कुराको जिउँदो प्रमाणको रुपमा यो उपन्यास उभिएको छ ।

प्रभाव र महत्व

‘खुसीको गाउँ’ को मुख्य महत्व भनेको यसले भुटानी शरणार्थी समस्यालाई साहित्यिक रूप दिएर दस्तावेजीकरण गर्नु हो । यसले भावी पुस्तालाई आफ्नो इतिहास, पीडा र संघर्षबारे जानकारी दिएको छ । साथै, यो उपन्यासले विश्वव्यापी रूपमा शरणार्थी र मानव अधिकारका विषयमा बहस गर्न र चेतना फैलाउन पनि मद्दत गर्ने देखिन्छ । नेपाली साहित्यमा शरणार्थी जीवनमाथि लेखिएको यो एक महत्त्वपूर्ण र शक्तिशाली कृति हो।

कमजोर पक्ष

पुनर्वासपछिको भुटानबाट लखेटिएकाहरू अवस्थालाई प्रतिनिधिमूलक दायरामा मात्र प्रस्तुत गरिएको छ । उनीहरूमा पुनर्वासपछि आएका सांस्कृतिक परिवर्तन र धार्मिक प्रश्नहरूलाई सशक्त रुपमा देखाउन सकिएको छैन । पुनर्वासपछि उनीहरू आफ्नो देश भुटान र नेपाली जातिबारे के कस्तो बुझाइ राख्छन् ? भन्ने कुरामा पाठकहरूले पर्याप्त मात्रामा जानकारी नपाएको अनुभूति गर्ने स्थिति छ।

अन्त्यमा,
‘खुसीको गाउँ’ एउटा भावनात्मक र यथार्थपरक उपन्यास हो । जसले भुटानी शरणार्थीहरूको समग्र जीवन संघर्षलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। यसको सरल भाषा, जीवन्त पात्रहरू र मार्मिक विषयवस्तुले यो उपन्यास पढ्ने सबै पाठकहरूलाई उपन्यासको कथावस्तु उपन्यासकार खगिन्द्राको आफ्नै भोगाइ र संघर्ष हो कि भन्ने भ्रम पनि हुन्छ।

यो एक उपन्यास मात्र होइन, नेपाली आधुनिक इतिहासको दुःखान्त भएर रहेको शरणार्थी संघर्षको एउटा जीवन्त दस्तावेज हो। नेपाली महिला साहित्यकारहरूले पनि यो तहको आख्यानमा हस्तक्षेप राख्नु आफैंमा गौरवको कुरा पनि हो । प्रेम र प्रेमको आदर्शमा उभिएको कल्पनाशीलतालाई यस्तो शक्तिशाली र उन्मुक्त रुपमा आख्यानमा उतार्न सक्ने उपन्यासकार खगिन्द्र खुसीबाट धेरैले लेख्ने कला पनि सिक्न सक्छन् । यो उपन्यासमा जीवनका निम्ति धेरै लोभलाग्दा संयोग र लोभलाग्दा गौरवशाली पक्ष पनि रहेको छ।

सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?