
News Summary
Generated by OK AI. Editorially reviewed.- जापानी लेखक ओसामु दाजाईले आफ्नो ३८ वर्षे जीवनमा पाँचपटक आत्महत्या प्रयास गरे र अन्तिम प्रयासमा सफल भए।
- उनको चर्चित उपन्यास ‘नो लङ्गर ह्युमन’ले मान्छे, समाजबाट अलग हुनुको पीडादायी अस्तित्वको कथा समेट्छ।
- दाजाईका कृतिहरूले निराशा, अस्तित्व संकट र सामाजिक आलोचनालाई ‘म-उपन्यास’ शैलीमा प्रस्तुत गरेका छन्।
आफ्नो किताब ‘क्राइम यान्ड पनिस्मेन्ट’मा दोस्तोवस्की भन्छन्, ‘विशाल बौद्धिता र गहिरो हृदयका लागि पीडा र भोगाइ सधैं अपरिहार्य हुन्छन् । मलाई लाग्छ, साँच्चिकै महान् मान्छेहरूले यो पृथ्वीमा बडेमानका गह्रौं दुःख भोग्नैपर्छ ।’
हो, बाँच्नु र बाँचेपछि यो जीवनमा दु:ख भोग्नु अपरिहार्य छ-बुद्धले भनेका थिए, दोस्तोवस्कीले लेखेका छन् । त्यही दु:खमा गुजुल्टिएको कालो जालोमा फसेर आत्महत्या गर्न, मान्छेको मगजमा कस्तो खाले ख्याल आउनुपर्छ ? त्यस्ता विचारका कति कुरुप बिरुवा उम्रिनुपर्छ ? या कस्ता कीरा दिमागभित्र सलबलाउनुपर्छ ? अनि कस्ता पीडाले उसको मस्तिष्कलाई जीवन सिद्ध्याइदिउँ भन्ने दुष्प्रेरणा दिन्छ ? दु:खको कति गहिराइ या कति उचाइमा पुगेपछि, मान्छे पाँचपटकसम्म आत्महत्या गर्ने कोसिस गर्छ ?
पहिलो : सन् १९२९, डिसेम्बरको चिसो रात ।
स्कूलमा दाजाईका धेरै साथीहरू, जो राजनीतिक गतिविधिमा संलग्न थिए, उनीहरूलाई निलम्बन तथा गिरफ्तार गरियो । आफ्नो राजनीतिक प्रतिबद्धता उनको ‘कुलीन’ परिवारको पृष्ठभूमिका कारण कलंकित भएको थियो, जसले उनलाई कम्युनिस्ट हुन अयोग्य ठहर्यायो । यो अनुभूतिले २० वर्षे उनको मस्तिष्कलाई विचलित बनायो । त्यस रात ओसामु दाजाईले खाएको स्लिपिङ ट्याब्लेटहरूको अत्यधिक मात्रा पर्याप्त थिएन– उनी बाँचे र स्नातक पास भए ।
दोस्रो : सन् १९३० अक्टोबर, कामाकुराको समुद्री तट ।
आफ्नो भाइको मृत्यु, कम्युनिस्ट पार्टीका साथीहरूको गिरफ्तारी र दलबन्दीमा आफ्नो शीर्ष नेतृत्व गुमाएपछि दाजाईले एकदिन हलिउड, गिन्जा क्याफेको बारमा काम गर्ने एउटी युवतीलाई भेटे । चिनजान भएको जम्मा एक हप्तापछि, ती युवती र २१ वर्षीय दाजाईले एकसाथ कामाकुरा नजिकै डुबेर आत्महत्या गर्ने प्रयास गरे । दुःखको कुरा, युवती डुबेर मरिसकेकी थिइन् तर दाजाईलाई भने माछा मार्न डुङ्गामा आएका माझीले बचाए ।
पछि उनलाई सोधपुछ गरिएको थियो तर उनको परिवारको प्रतिष्ठाको कारण तुरुन्तै रिहा पनि गरियो । दाजाईले भनेका छन्, ‘उनको हात्सुयो नाम गरेकी युवतीसँग सम्बन्ध रहेपछि आफ्नो परिवारसँग अलग्गिनु पर्ने परिस्थिति नै यो आत्महत्या प्रयासको कारण थियो ।
तेस्रो : सन् १९३३ मार्च, स्थिर र शान्त अपार्टमेन्ट ।
एउटा शहरी पत्रिकाको रोजगार परीक्षामा असफल भएपछि, दाजाई कामाकुरा फर्किए र आफ्नो शान्त अपार्टमेन्टको बीममा झुण्डिने प्रयास गरे । यसपटक पनि उनी बाँचे र अस्पताल भर्ना भए । त्यहाँ उनलाई मर्फिनको लत लाग्यो । त्यसपछि, उनी टोकियो फर्किए, जहाँ उनले सधैंका लागि विश्वविद्यालय छोडे । त्यसको दुई हप्तापछि उनको तल्लो पेट बेस्सरी दुख्न थाल्यो अनि उनमा क्षयरोगको लक्षण देखियो ।
चौथो : सन् १९३७ को वसन्त ।
उनी अस्पतालमा भर्ना हुँदा उनकी श्रीमती हात्सुयोको दाजाईकै मिल्ने साथीसँग अफियर थियो, जुन विश्वासघातले उनीहरूको विवाह टुट्यो । यसले दाजाईलाई गहिरो असर गर्यो । २७ वर्षको उमेरमा उनले आफ्नै श्रीमती–जसका प्रेमी पनि बेपत्ता भइसकेको थिए, सँग संयुक्त-आत्महत्या गर्ने प्रयास गरे तर उनीहरू सफल भएनन् ।
पाँचौँ : सन् १९४८, जुन, अन्तिम प्रयास ।
दाजाईले ब्यूटी पार्लरमा काम गर्ने विधवा(युद्धका कारण श्रीमान मरेको) यामाजाकी टोमीलाई भेट्न थाले । उनीसँगै रहँदा, उनले आफ्नो जीवनकालको सबैभन्दा चर्चित उपन्यास ‘नो लङ्गर ह्युमन’ लेखे । सन् १९४८, जुन १३, मा दाजाईले उनकी प्रेमिका टोमीसँग आफ्नो घर नजिकै बाढी आएको तामागावा नहरमा डुबेर संयुक्त रुपमा आत्महत्या गरे । उनीहरूको शव ६ दिनपछि मात्र भेटिएको थियो, जुन दिन दाजाईको उन्चालीसौं जन्मदिन थियो । पछि त्यस आत्महत्याको अनुसन्धान गर्दा नाटकीय अनुमान लगाइयो– दाजाईको मृत्यु हुनुभन्दा केही क्षणअघि, उनको जीवनप्रतिको मोह बढेको थियो । तर त्यतिन्जेलसम्म धेरै ढिलो भइसकेको थियो ।
यसरी, जापनी साहित्यका ‘ट्राजिक जिनियस’ ओसामु दाजाईले आफ्नो ३८ वर्षे जीवनकालमा चारपटकसम्म आत्महत्या गर्ने प्रयास गरे र पाँचौंपटकमा सफल भए । आफ्नो व्यक्तिगत जीवन-भोगाइको त्रासदी, अस्तित्व-संकट, समाजमा घुलमिल हुन नसक्नुको कष्ट, आफ्ना विचार र सोचाइसँगको संघर्ष र धेरै आत्महत्या प्रयासहरूले आक्रान्त जीवनले उनको लेखनमा गहिरो प्रभाव पारेको थियो । उनी आफूलाई मान्छे हुन पनि अयोग्य ठान्थे ।
टोकियो विश्वविद्यालयमा फ्रान्सेली साहित्य अध्ययन गरिरहँदा दाजाईको साहित्यिक यात्रा सुरु भएको थियो । यद्यपि, विश्वविद्यालयमा उनी आफ्नो परिवारको अपेक्षाविरुद्ध विद्रोही भएर निस्किए । उनी गीशा (नृत्य, संगीत र कुराकानी जस्ता परम्परागत जापानी प्रदर्शन कलामा दक्ष एक पेशेवर मनोरञ्जनकर्ता) मा संलग्न भए, मार्क्सवादी बने र सन् १९२९ मा पहिलोपटक आत्महत्याको प्रयास गरे ।
पछि यिनै अनुभवहरूले दाजाईका कृतिहरूलाई आकार दिएका छन्, जुन प्रायः एक्लोपना, निराश, अस्तित्व-संकट र सामाजिक आलोचनाका विषयवस्तुहरूसँग सम्बन्धित छन् । सन् १९३३ मा दाजाईको पहिलो कथा प्रकाशित भयो– ‘ट्रेन’ । यसले ‘म-उपन्यास’ अर्थात् ‘लेखनमा आत्मकथात्मक कथाको एक स्वीकारोक्तिपूर्ण शैली’ प्रयोगको सुरुवात गरायो र पछि यही शैली दाजाईको ट्रेडमार्क बन्न पुग्यो ।
नो लङ्गर ह्युमन
‘Mine has been a life of much shame.’
जब मैले पहिलोपटक ‘नो लङ्गर ह्युमन’को पहिलो हरफ पढेँ, मलाई झट्ट सम्झना भयो, यही वाक्यलाई ओसामु दाजाईले जापानीमा कसरी लेखे ? अनि यही वाक्यलाई नेपालीमा त्यही भावसहित ठ्याक्कै अनुवाद गर्न सकिन्छ र ? खै..
यो किताबको जापानी शीर्षकको शाब्दिक अनुवाद ‘मानव हुन अयोग्य’ हुन्छ । किताबको सुरुवातमा एउटा अज्ञात कथावाचकले ओबा योजोले लेखेका तस्बिरसहितका तीनवटा नोटबुकहरू फेला पारेको छ ।
यो ओबा योजोको कथा हो, जसको जीवन जन्मदेखि नै दयनीय छ । उसले कहिल्यै पनि खुसी हुनुको अनुभूतिलाई महसुस गरेको छैन । ऊ सधैं दुर्भाग्यको बोझले थिचिएको छ । उसलाई नश्वर मानव जातिको डर छ र ऊ यो विश्वास गर्छ कि, ऊ मान्छे हुन पनि अयोग्य छ ।
साथीहरूसँग घुलमिल हुन र उनीहरूको कुरा बुझ्न ऊ धेरै मान्छेका सामुन्ने नक्कली बन्दै जान्छ, आफ्नो अनुहारमा मुकुण्डो लगाउँछ, आफूलाई जोकर जस्तो पात्र बनाउँछ, क्रान्तिकारी कार्यमा संलग्न हुन्छ र धेरै प्रेमिकाहरू बनाउँछ ।
तर उसलाई सधैं लाग्छ, यो संसारमा त्यस्तो कोही छैन, जसले उसलाई पूर्ण मान्छे जस्तो महसुस गराओस् । धेरैजसो समय आफूलाई ऊ एक्लो पाउँछ । मानौं, ऊ मात्र यस्तो व्यक्ति हो, जसले कहिल्यै मान्छे हुनुको गुण पाएन, कसैले उसलाई मान्छे हुन योग्य सम्झेन ।
दाजाईलाई युकियो मिसिमा, यासुनारी कावाबाता जस्ता २०औं शताब्दीका सबैभन्दा महत्त्वपूर्ण जापानी लेखकहरू मध्ये एक मानिन्छ । अहिले पनि उनका कृतिहरू जापानमा व्यापक रूपमा पढिन्छन् र उनको यो किताब ‘नो लङ्गर ह्युमन’ सबैभन्दा उत्कृष्ट कृति हो । यो जापानमा सर्वाधिक विक्री हुने उपन्यासहरू मध्ये एक हो । यो काल्पनिक कृति भए पनि, यसमा अहिलेसम्म अस्तित्वमा रहेका अरुभन्दा यातनाग्रस्त र प्रतिभाशाली दिमागमध्ये कै एउटा आत्मचरित्रात्मक झलक हो भन्ने स्पष्ट देखिन्छ ।
यो किताबले मान्छे, समाजबाट अलग हुनुको पीडादायी अस्तित्वको कथा समेट्छ । यो उपन्यासले आफ्नै अस्तित्वसँग जुधिरहेको एउटा मान्छेको त्रासपूर्ण मनोदशाको गहिरो खाडलभित्र डुबुल्की लगाउँछ, जुन धैरै मानेमा लेखक स्वयंको जीवन पढेको अनुभव हुन्छ ।
द सेटिङ सन
‘म यो कुरामा आँखा चिम्लेर विश्वास गर्न चाहन्छु— मान्छे प्रेम र क्रान्तिका लागि जन्मिएको हो ।’
‘द सेटिङ सन’ले दोस्रो विश्व-युद्धपछि जापानमा आएको सामाजिक-आर्थिक परिवर्तनहरूसँग एक समयको कुलीन परिवारले गरिरहेको संघर्षको कथा भन्छ । यसले काजुकोको जीवनलाई पछ्याउँछ, जो आफ्नी विधवा आमासँग बस्छे, जो आफूलाई खुसी बनाउनको निमित्त नयाँ आधुनिकतालाई स्वीकार्दै सामाजिक वर्ग र पहिचानलाई अस्वीकार गर्छे । उसले आफ्नो परिवारको विगत र वर्तमानका संघर्षहरूलाई डायरी जस्तो ढाँचामा कन्फेस गर्दै जान्छे ।
यो किताबले दोस्रो विश्व-युद्धपछि जापानी समाजको माथिल्लो वर्गको पतन, नयाँ आधुनिक युगमा जापानी समाज र त्यसले व्यक्तिमा पारेको प्रभाव, परम्परा र संस्कृतिको अभिव्यक्तिमाथिको क्रूरता र युद्धबाट पुन:निर्माण भइरहेको एउटा समाज र राष्ट्रको अस्तित्वको चित्रण गरेको छ । विनाशकारी युद्धपछि एउटा देश आधुनिक औद्योगिक समाजमा रूपान्तरण हुँदै गर्दा त्यहाँका मान्छेहरूले जुध्नु परेका नैतिक तथा अस्तित्व संकटलाई ‘द सेटिङ सन’ले वकालत गर्छ ।
यस किताबमा दाजाईले एउटा भयंकर युद्ध अन्त्यपछि जापानमा परेको पश्चिमा प्रभाव र जापानी संस्कृतिको पतनलाई यथार्थपरक र नाटकीय ढङ्गले प्रतिबिम्बित गरेका छन् । ‘म-उपन्यास’ शैलीमा लेखिएको ‘द सेटिङ सन’ले पात्रहरू मार्फत् तत्कालिन जापानी समाजको विभिन्न दृष्टिकोण प्रदान गर्छ– जस्तै काजुकोको डायरी, पत्रहरू र इच्छापत्रले विभिन्न पात्रहरूको घनिष्ठ भावना र विचारहरूलाई प्रस्तुत गर्छ: जसमा अस्तित्ववाद, व्यक्तिको बढ्दो आधुनिकीकरण र जापानी समाजमा पश्चिमी मूल्य-मान्यताहरू अपनाउने प्रवृतिलाई चित्रण गरेको छ ।
जापानी साहित्यमा अस्तित्व संकटका प्रबन्धकका रुपमा उभिएका ओसामु दाजाईसँग संसारले देखेका डरलाग्दा तर सुन्दर कथाहरू सिर्जना गर्ने अलौकिक क्षमतामा थियो । हरेका किताबमा उनका पात्रहरू निराशा, असफल र सामाजिक संरचनाहरू भत्काउने उद्देश लिएर उभिन्छन् तर उनका किताब पढिरहँदा त्यो कुरा कहिल्यै बोझिलो लाग्दैन ।
बरु, यो एक पूर्ण रूपमा सुन्दर ढङ्गले कम्पोज भएको उदास ओपेरा जस्तो लाग्छ । उनका पात्रहरू भाँचिएका छन्, उनका संसारहरू भत्किएका छन्, तर उनको लेख्ने तरिका, उनको शैलीले मान्छेको अस्तित्वमा प्रश्न गरिरहेको छ, जसले उनका कृतिलाई सान्दर्भिक साथै उत्कृष्ट बनाएको छ ।
प्रतिक्रिया 4